(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20170315

कमल थापाजस्ता सिद्धान्तहीन मानिससँग जोडेर मुसाको चरम अपमान गर्नुचाहिँ सर्वथा नाजायज छ !


दुई ‘महान्’ राजनीतिक ठग !


– देवप्रकाश त्रिपाठी
Dev Prakash Tripathi 17************ कमल थापालाई खास अवस्थामा राष्ट्रपति या प्रधानमन्त्री बन्ने अवसर प्राप्त हुने भएछ भने अर्को रहस्य पनि राम्रैसँग खुल्नेछ । राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डा औपचारिक रूपमै परित्याग गर्न उनी त्यसवेला अवश्य तयार हुनेछन्, जब उनलाई राष्ट्रपति या प्रधानमन्त्री पद प्राप्त गर्न ती एजेन्डा बाधक बनेको महसुस हुनेछ । कमल थापाले बोकेको ‘राजा’ र ‘हिन्दूराष्ट्र’को एजेन्डा उनलाई राष्ट्रपति या प्रधानमन्त्री बन्ने अवसर नआउन्जेलका लागि मात्र हो भनेर सोझै बुझ्न सकिन्छ । त्यसर्थ कमल थापाले ‘हिन्दुत्व’ र ‘राजा’लाई आफ्नो स्वार्थ सिद्धि गर्ने ‘बार्गेनिङ चिप्स’ मात्र बनाएका हुन् भनियो भने सोह्रैआना गल्ती हुनेछैन ******************************
सिद्धान्ततः सर्वहितमा केन्द्रित रहनुपर्ने राजनीतिसँग इमानदारीलाई अलग गरिँदा के होला भन्ने प्रश्न गरियो भने त्यसको सटिक जवाफ ‘नेपालको वर्तमान स्थिति’ हुन सक्छ । राजनीतिकर्मीहरू आत्मकेन्द्रित र सामूहिक स्वार्थबाट मुक्त हुँदा जे हुन्छ, हामीले भोगिरहेको वर्तमान त्यसैको सजीव दृष्टान्त हो । राजनीतिक दलहरूको विचार, दर्शन र सिद्धान्त आफ्ना दस्तावेजहरूमा सीमित भएका छन्, दलका नेताहरूको सोच–व्यवहार पूर्णतः व्यक्तिवादी र निर्दलीय चरित्रको छ । देशभन्दा दललाई, दलभन्दा गुटलाई र गुटभन्दा आफूलाई प्राथमिकता दिने ‘नयाँ लोकतान्त्रिक संस्कृति’को विकास र विस्तारले नेपाली राजनीतिलाई छियाछिया बनाएको छ । कम्तीमा
आफ्नै दलको दस्तावेजमा उल्लिखित सिद्धान्तबाट समेत दलका नेताहरू च्यूत भइदिँदा नेपाली राजनीति सिद्धान्त र नैतिकताविहीन हुन पुगेको छ, जसका कारण राजनीति र राजनीतिकर्मीप्रतिको आस्था, भरोसा र विश्वासको विनास भएको छ ।
नेपाली काङ्गे्रसले आफ्नो स्थापनाकालदेखि अवलम्बन गरेको संवैधानिक राजतन्त्रसहितको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तथा बहुलवादमा आधारित संसदीय प्रणालीप्रतिको प्रतिबद्धतालाई सुजाताका पिता गिरिजाप्रसाद कोइरालाले परित्याग गरेपछि काङ्गे्रस सिङ हराएको जरायो या मणि गुमाएको नागजस्तो हुन पुगेको छ । गिरिजाप्रसादले काङ्गे्रसको मौलिक विचार, सिद्धान्त परित्याग गरेपछि नयाँ पुस्ताले त्यसलाई सुधार गर्ने अपेक्षा राखिएको थियो, तर नयाँ पुस्ता पनि सिद्धान्तविहीनतामै रमाएको छ र काङ्गे्रसको नेतृत्व पार्टी र प्रजातन्त्रको स्थान पुनर्वहाली गर्नमा भन्दा आफ्नो निजी स्पेसको खोजीमा रुमल्लिएको छ । नेपाली काङ्गे्रस मात्र आफ्नो मौलिक विचार, सिद्धान्तमा अडिएको भए नेपाली राजनीतिले सम्भवतः यसप्रकारको दुरावस्था व्यहोर्नुपर्ने थिएन भन्न सकिने पर्याप्त आधार छन् । काङ्गे्रसभित्र बीपीका अनुयायीमा बढेको छटपटीले निकास पाउन नसक्दा काङ्गे्रस कुहिरोको कागझैँ गन्तव्य र दिशाहीन बन्न पुगेको छ । देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति यसरी अलमलिँदा नेपाली राजनीतिमा सिद्धान्त र नैतिकताविहीनहरूको रजगज बढेको छ । काङ्गे्रस अलमलमा परेकै कारण अतिवामपन्थी धु्रवका प्रचण्ड र अति दक्षिणपन्थी धारका मानिने कमल थापाहरू निर्णायक तहमा विराजमान हुन पुगेका छन् । उच्च हैसियत प्राप्त गर्न सिद्धान्त र नैतिकताविहीन बन्नुपर्छ भन्ने सन्देश जाने गरी कमल र पुष्पकमलहरूको हालिमुहाली नेपालको सत्ता–राजनीतिमा चलेको छ ।
प्रचण्ड उर्फ पुष्पकमल दाहालले सुदृढ राष्ट्रियता, नौलो जनवाद, समतामूलक समाज र सर्वहारा वर्गको अधिनायकत्वको साम्यवादी शासन व्यवस्था स्थापनाका लागि भन्दै संसदीय प्रजातन्त्रका विरुद्ध हिंसात्मक सङ्घर्ष सुरु गरे । वि.सं. २०५२ मा राष्ट्रियतासँग सम्बन्धित नौसहित विभिन्न चालीस सूत्रीय माग प्रस्तुत गरेर सुरु गरिएको जनता मार्ने जनयुद्धका क्रममा करिब सत्र हजार निर्दोष नेपालीले ज्यान गुमाउनुप¥यो । राज्यको खर्बौं रुपैयाँबराबरको क्षति पुग्यो भने देश पचासौँ वर्ष पछाडि धकेलिने स्थिति बन्यो । हिंसात्मक सङ्घर्षको जगमा प्रचण्डहरू सत्ताको मालिक बन्ने अवस्थासम्म आइपुग्दा देशको सार्वभौमिकता दुर्बल बनाइएको छ, राष्ट्रियता र राष्ट्रिय एकता क्षतविक्षत हुन पुगेको छ, जनप्रतिनिधिमूलक अवस्था–व्यवस्थाको स्थान नेतातन्त्रले लिएको छ, सामाजिक सद्भाव र जातीय तथा क्षेत्रीय एकता पुनः स्थापित हुन मुस्किल पर्ने गरी बिथोलिएको छ । राजनीतिको आपराधीकरण र अपराधको राजनीतीकरण भएको छ, लगानीको वातावरण तहसनहस बनाइएको छ, आर्थिक विकासको गति अवरुद्ध तुल्याइएको छ र समग्रमा देशलाई अनिश्चित भविष्यको अन्योलपूर्ण आहालमा डुबाइएको छ ।
पुष्पकमलले देशलाई त धोखा दिए नै, उनले सबल सार्वभौमिकतासहितको राष्ट्रियताका पक्षधरहरूलाई निरास बनाएका छन् र साम्यवादमा आधारित समाजवाद र नौलो जनवादी क्रान्तिका अनुयायीहरूसमेत प्रचण्डबाट धोखा भएको महसुस गर्दै छन् । जनवादी क्रान्तिको सपना देखेर प्रचण्डलाई साथ दिनेहरू यतिबेला आफू नराम्रोसँग ठगिएको महसुस गर्दैै छन् । क्रान्तिकारीहरूलाई जिल्ल्याउँदै सत्तामा पुगेका प्रचण्डको सोच र व्यवहार कुनै पनि महासामन्तको भन्दा सामन्ती, कुनै पुँजीवादीका भन्दा पुँजीवादी र कुनै पनि आकारप्रकारका मण्डलेहरूको भन्दा बढी मण्डले भइदिँदा हिजो उनलाई क्रान्तिकारी नेताका रूपमा साथ दिनेहरू आज आफैँ लाजले मुख छोप्नुपर्ने अवस्थामा पुगेका छन् । यसरी क्रान्तिका नाममा ‘बेबकुफ’ बन्नुपर्छ भन्ने आभास मात्र भएको भए पनि सम्भवतः मोहन वैद्यदेखि नेत्रविक्रमसम्मले यसरी लज्जित हुनुपर्ने थिएन । प्रचण्डको एक मात्र र अन्तिम उद्देश्य नै आफूलाई सत्ताको मालिक बनाउनु हो भन्ने बुझेका भए हजारौँ युवा शहीद बन्न किमार्थ तयार हुने थिएनन् भन्ने सहज अनुमान गर्न सकिन्छ । २०६३ को परिवर्तनपछि प्रचण्ड भियतनामका हो चि मिह्नजस्तो बन्न खोजेनन्, उनी जिम्बाबेका रोबर्ट मुगाबेको अर्को रूपमा देखापरे । मुगाबेले क्रान्ति र क्रान्तिकारिताको आवरणमा जसरी आफूलाई धनाढ्य र देशलाई कङ्गाल बनाए, जसरी जनतालाई निरीह र आफूलाई सर्वशक्तिमान तुल्याए ठीक त्यसैगरी प्रचण्डले पनि देश र जनतालाई कङ्गाल र कमजोर, आफूलाई महाधनाढ्य र सर्वशक्तिमान बनाएका छन् । क्रान्तिकारी सिद्धान्त र विचार दस्तावेज तथा भाषणमा सीमित गर्दै प्रचण्डले आफूलाई सत्ता र सम्पत्तिका मालिक बनाउने भूमिका जसरी निर्वाह गरिरहेका छन्, उनको ठीक विपरीत धु्रवको वैचारिक, सैद्धान्तिक आवरणमा कमल थापाले पनि आफैँलाई शक्तिमान र धनवान बनाउने राजनीतिक अभ्यास गरिरहेका छन् ।
प्रचण्डले क्रान्तिकारीहरूलाई जुनस्तरको धोखा दिए, कमल थापा राजा र राजसंस्थाका हिमायती जनसमुदाय तथा हिन्दूराष्ट्रका पक्षधरहरूलाई त्यसरी नै ‘उल्लु’ बनाउँदै छन् । थापाले राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनाको नाममा आफ्नो हैसियत बनाएको तथ्यबोध आमनेपाली जनता र अन्तर्राष्ट्रिय समुदायलाई समेत भएको विषय हो । राजा र हिन्दुत्वको एजेन्डा झिकिदिने हो भने कमल थापाको हैसियत राप्रपाकै किरण गिरीको भन्दा माथिल्लो तहको हुन सक्छ भन्ने विश्वास कदापि गर्न सकिँदैन । आकाशको एउटा चिल देखाएर भुइँका कुखुरा चोर्ने जुन प्रकारको शैली पुष्पकमलले अपनाएका छन्, ठीक त्यसैगरी आकाशको बाज देखाएर जमिनका परेवा सत्यानास गर्ने भूमिकामा कमल थापा देखिएका छन् । नारायणहिटी राजदरबारमा चुपचाप बसिरहेका राजालाई प्रजातन्त्रविरुद्ध उकास्ने, तर उकासिएका राजाको रक्षा गर्न नसक्ने कमल थापा हिजो राजालाई अघि सारेर सत्ताको सयर र सयल गर्न उद्यत् देखिन्थे, आज तिनै राजालाई देखाएर सत्तासीन बनिरहने जालझेलपूर्ण खेलमा केन्द्रित देखिन्छन् । जनताका नाममा पुष्पकमलले जनता र देशलाई ठगिरहेकै शैलीमा कमलले राजा र हिन्दुत्वका नाममा राजा र जनता दुवैलाई ठगेका छैनन् भनेर अरू त अरू तिनकै सहोदर भाइ गणेश थापा पनि भन्न सक्ने अवस्थामा छैनन् । प्रजातन्त्र बहाल रहँदा प्रजातन्त्र र राजनीतिक दलविरुद्ध राजालाई अघि सारेर ‘पावरफुल’ हुन खोज्ने कमल थापा सङ्घीय, धर्मनिरपेक्ष, लोकतान्त्रिक गणतन्त्र भनिने कागजी प्रणालीमा चाहिँ धर्म र राजाको नाममा व्यापार गरेर ‘कमाइ गर्ने’ योजनामा ‘सफल’ देखिँदै छन् । यदि राजनीति भनेकै पद प्राप्तिका लागि खेलिने झेली खेल मात्र हो भने पुष्पकमलझैँ कमल पनि सर्वाधिक ‘सफल’ खेलाडी हुन् भन्नुपर्ने अवस्था पैदा भएको छ ।
****************************************
नारायणहिटी राजदरबारमा चुपचाप बसिरहेका राजालाई प्रजातन्त्रविरुद्ध उकास्ने, तर उकासिएका राजाको रक्षा गर्न नसक्ने कमल थापा हिजो राजालाई अघि सारेर सत्ताको सयर र सयल गर्न उद्यत् देखिन्थे, आज तिनै राजालाई देखाएर सत्तासीन बनिरहने जालझेलपूर्ण खेलमा केन्द्रित देखिन्छन् ।
000
पुष्पकमलले देशलाई त धोखा दिए नै, उनले सबल सार्वभौमिकतासहितको राष्ट्रियताका पक्षधरहरूलाई निरास बनाएका छन् र साम्यवादमा आधारित समाजवाद र नौलो जनवादी क्रान्तिका अनुयायीहरूसमेत प्रचण्डबाट धोखा भएको महसुस गर्दै छन् । जनवादी क्रान्तिको सपना देखेर प्रचण्डलाई साथ दिनेहरू यतिबेला आफू नराम्रोसँग ठगिएको महसुस गर्दैै छन् ।
*********************************************************************
सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विरुद्ध मन्तव्य प्रकट गर्ने कमल थापा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक, धर्मनिरपेक्ष संविधान जारी हुन सघाएपछि दोस्रोपटक त्यस्तो मन्त्रालय सम्हाल्न पुगेका छन् जसले सङ्घीयताको कार्यान्वयनमा सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यसबाट कमल थापाको मन र मन्तव्यबीच कुनै स्तरको तालमेल नरहेको स्पष्ट गर्दछ । राप्रपाको एकता महाधिवेशनबाट राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डा पारित गराएपछि कमल थापा साँच्चैका राष्ट्रवादी, धर्म र राजसंस्थाका पक्षधर हुन् कि भन्ने सन्देश प्रवाहित भएको थियो । अहिले पनि जनताको ठूलो हिस्सा कमल थापालाई धर्म र राजसंस्था पक्षधर राष्ट्रवादीकै रूपमा देख्दै छ । तर, थापाले राजा र हिन्दुत्वलाई किन राजनीतिक एजेन्डा बनाएका छन् भन्ने अन्तर्यमा विचरण गरियो भने बेग्लै तस्बिर प्रकट हुन्छ । थापाले राजसंस्था र हिन्दूराष्ट्रलाई ‘मूल’ एजेन्डा बनाउनुको एउटा कारण राजसंस्था र हिन्दूराष्ट्र चाहने राष्ट्रवादी समुदायको मत प्राप्त गर्न हो भन्ने स्पष्ट भए पनि उनी अर्को कुन कारणले राजा र हिन्दुत्वका एजेन्डा बोक्दै छन् भन्ने रहस्यचाहिँ खुल्न बाँकी नै छ । कमल थापालाई खास अवस्थामा राष्ट्रपति या प्रधानमन्त्री बन्ने अवसर प्राप्त हुने भएछ भने अर्को रहस्य पनि रामै्रसँग खुल्नेछ । राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डा औपचारिक रूपमै परित्याग गर्न उनी त्यसवेला अवश्य तयार हुनेछन्, जब उनलाई राष्ट्रपति या प्रधानमन्त्री पद प्राप्त गर्न ती एजेन्डा बाधक बनेको महसुस हुनेछ । कमल थापाले बोकेको ‘राजा’ र ‘हिन्दूराष्ट्र’को एजेन्डा उनलाई राष्ट्रपति या प्रधानमन्त्री बन्ने अवसर नआउन्जेलका लागि मात्र हो भनेर सोझै बुझ्न सकिन्छ । त्यसर्थ कमल थापाले ‘हिन्दुत्व’ र ‘राजा’लाई आफ्नो स्वार्थ सिद्धि गर्ने ‘बार्गेनिङ चिप्स’ मात्र बनाएका हुन् भनियो भने सोह्रैआना गल्ती हुनेछैन ।
दुई शताब्दीअघि भीमसेन थापाले राष्ट्रवादी आवरणमा प्रकट भएर जे गरे त्यसको नेपाली इतिहासले उच्च सम्मान गर्दै उनलाई राष्ट्रिय विभूतिको दर्जा दिएको छ । राष्ट्र र राष्ट्रियताका पक्षमा भावावेशमै उनले लिएको निर्णयले देशको सीमा सङ्कुचित हुने परिणाम ल्याएको भए पनि भीमसेन थापालाई महान् राष्ट्रवादी तथा बहादुर व्यक्तिका रूपमा इतिहासले ग्रहण गरेको छ । भीमसेन थापाले पनि राष्ट्रवाद र राष्ट्रियताको एजेन्डामा मुलुकलाई भुलाउँदै राजामा निहित शक्ति आफूले प्रयोग गरेको र नेपाली इतिहासको पहिलो ‘नागरिक’ तानाशाह बनेको विषयप्रति हामीले त्यति चासो राखिरहेका छैनौँ । तीन दशक लामो उनको निरङ्कुश शासनमा राजा र जनताले भोग्नुपरेको पीडा र विपक्षी पाँडेहरूमाथि भएको अत्याचारबारे चर्चा गर्न पनि आवश्यक ठानिएको छैन । राजाबाट सम्पूर्ण अधिकार हात पारेर तीन दशक लामो शासन गर्ने भीमसेन जातीय रूपमा थापा क्षेत्रीय हुनु र राजा ज्ञानेन्द्रलाई काँध दिएझैँ गरी अप्ठ्यारो परेपछि ‘बीचडकमै’ अलपत्र छोडेर हिँड्ने प्रमुख पात्र (प्यारजंग, श्यामभक्त, कमल, डा. भेषबहादुर र सूर्यबहादुर) पनि थापा नै हुनु एउटा रोचक तर दुःखद् संयोग हो । नेपाल राष्ट्र निर्माणमा थापाहरूले पु¥याएको योगदान इतिहास–स्मरणीय भए पनि उल्लिखित थापाहरूले खास समयमा राजालाई धोखाधडी गरेको तथ्यलाई चाहिँ अस्वीकार गर्नुपर्दैन । राजाको कृपाबाट उचालिएको आफ्नो राजनीतिक व्यक्तित्वको कमल थापाले ‘राजा र राष्ट्रवाद’ शब्दलाई आफ्नो तुच्छ स्वार्थका लागि जसरी दुरुपयोग गर्दै छन् यसले ‘…देख्नेलाई लाज’ को उक्ति चरितार्थ गरेको छ । यसअघि २०५२ तिर ‘हङ पार्लियामेन्ट’ हुँदा कमल थापा रातारात बदलिन्थे र त्यसबेला बारम्बार सरकार परिवर्तन भइरहनुको मुख्य कारण कमल थापा बनेका थिए ।
यो दशकमा कमल थापाले राजा र हिन्दूराष्ट्रलाई आफ्नो एजेन्डा बनाएपछि उनी बदलिएको र सिद्धान्तको राजनीति गर्न कटिबद्ध भएको ठानिएको थियो । हिन्दू र राजाको नाममा राजनीति सुरु गरेपछि कमल थापाले खोलेको राप्रपा नेपाललाई जनताले संसद्को चौथो ठूलो दलको हैसियतमा पु¥याइदिएका हुन् । तर, उनले आफ्नो हैसियतको दुरुपयोग यसरी गरिरहेका छन् कि राजनीति नै बदनाम हुन पुगेको छ । पहिले उनी आफ्नो सिद्धान्तविपरीत जारी गर्न लागिएको संविधानको सहयोगी बने । त्यसपछि आफूलाई राष्ट्रवादी दाबी गर्ने केपी ओली नेतृत्वको सरकारमा सामेल भएर संविधान र सरकारको मुख्य रक्षक र प्रवक्ताको रूपमा देखापरे । त्यसपछि संविधान संशोधनका विरुद्ध बोल्दाबोल्दै उनी आफैँले राष्ट्रघाती संज्ञा दिएको सरकारमा सामेल भएर संविधान संशोधनको सहयोगी बन्न पुगेका छन् । देखावटीका लागि भए पनि थापाले हिन्दूराष्ट्रका पक्षमा मत जाहेर गर्ने सम्भावना त छ, तर उक्त एजेन्डामा टिकिरहने सम्भावनाचाहिँ देखिँदैन ।
व्यक्तिपिच्छे मानिसका पृथक् विचार हुन सक्छन्, विचारका आधारमा कसैका प्रति वैरभाव या पूर्वाग्रह राख्नुलाई प्रजातन्त्र र मानवतासम्मत मानिँदैन पनि । तर, विचारअनुरूपको व्यवहार प्रस्तुत नगर्ने, गर्न नखोज्ने या नचाहनेलाई चाहिँ कसैले ‘खलपात्र’का रूपमा बुझ्न चाह्यो भने त्यसलाई गलत मान्नुपर्दैन । आफ्नो सिद्धान्त र विचारअनुरूपको व्यवहार गर्नुलाई सामान्य धर्म मानिन्छ । पानीको धर्म बग्नु हो, सूर्यको धर्म ताप पैदा गर्नु हो र आफूलाई कसैले चोर घोषणा गर्दछ भने उसको धर्म नै चोरी गर्नु हो । यसर्थमा मुसाको धर्म कपडा या त्यस्तै सामग्री काटेर क्षति पु¥याउनु या खाद्यान्न चोरेर लैजानु र खानु हो । मुसाले जे गरिरहेको छ त्यो पनि उसको धर्म, सिद्धान्त, विचार, नीति र कार्यक्रम हो । तर, त्यस्तो सिद्धान्तनिष्ठ मुसालाई कमल थापाजस्ता सिद्धान्तहीन मानिससँग जोडेर मुसाको चरम अपमान गर्नुचाहिँ सर्वथा नाजायज छ । मुसाले जे गर्नुपर्ने हो आफ्नो विचार, सिद्धान्त, प्रवृत्ति र धर्मअनुसार गर्दछ । कमल र पुष्पकमलहरू स्याउ देखाएर झ्याउको व्यापार गर्दै छन्, राजनीतिक ठगीमा यिनले विश्वमै नयाँ कीर्तिमान राखेका छन्, तर हामी नेपालीले चाहिँ यस्तो प्रवृत्तिलाई तह लगाएर नयाँ कीर्तिमान कहिले कायम गर्ने हौँला ? प्रश्न खडा भएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक