20170416

धुर्मुस र सुन्तलीले यसरी हस्तान्तरण गरे मुसहर बस्ती ! मुसहरहरुका "भगवानहरु" तिमीहरु प्रति हामीलाई गर्ब छ ! - नेपाल मदर











महोत्तरी । नयाँ वर्ष हर्ष र उमंगको दिन पनि हो । पुस्तैनी दुःख र दरिद्रीको आहालमा चुर्लुम्म डुबेको विपन्न मुसहर बस्तीमा घाम लाग्ला भनेर शायदै कसैले कल्पना गरेको थियो । तर, ०७४ सालको सूर्योदय बर्दिबासका मुसहर समुदायको वास्तवमै समुन्नतीको बिहानी बन्यो ।
हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले एकीकृत नमुना बस्ती बनाएर नयाँ वर्षको बिहानीमा हस्तान्तरण गरेपछि उनीहरूको अनुहारको सन्नाटा दूर भएको हो । र, अहिले बस्तीमा वास्तवमै नयाँ वर्षको उल्लास छाएको छ ।
बस्ती हस्तान्तरण गर्दै वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले नकारात्मकले भरिएको समाजमा सकारात्मक कुरा भेटिनु निकै गौरव भएको चित्रित गरे । आफूहरूलाई सम्मान गर्ने दम्पतीले उदाहरणीय कार्य गरेर देखाउँदा आफू नतमस्तक भएको बताए । “भेट हुँदा आदरभाव व्यक्त गर्दै उहाँहरू हाम्रो हात ढोग्नुहुन्थ्यो, अब हामी उहाँहरूलाई सम्मान गर्छौं,” उनले थपे ।
त्यस्तै उनले करोडौँ बन्द, हड्ताल देखेको बताउँदै आन्दोलन र चक्काजामले मुलुक नबन्ने ठोकुवासमेत गरे । नेताहरूले जनतालाई भोट बैंक मात्रै बनाउन उद्यत रहेको भन्दै निराशासमेत व्यक्त गरे ।
त्यस्तै हास्य कलाकार हरिवंश आचार्यले त नेताहरूले गर्न नसक्ने काम धुर्मुस सुन्तलीले गरेको भन्दै खुसी व्यक्त गरे । उनले मुसहर समुदायलाई तल्लो जात, दलित भन्दै उनीहरूले पानी छोएको पानी समेत नखाने दुःखद् अवस्था रहेको बताउँदै मुसहरले छोएको पानी होइन भ्रष्टचारीले छोएको पानीचाहिँ नचल्ने बताए । उनले धुर्मुस सुन्तलीलाई विकासको बीजको संज्ञासमेत थिए ।
देशका चर्चित कलाकारहरूको विशेष जमघट रहेको हस्तान्तरण समारोहमा चर्चित अभिनेतृ बसुन्धरा भुसाल पनि सरिक भइन् । उनले कुनै बेला हास्यकलाकारलाई जोकरसँग तुलना गरेको स्मरण गर्दै धुर्मुस सुन्तलीको उदाहरणीय कार्यले आफ्ना आँखा रसाएको बताइन् । उनले नेपाल सरकारले भए यस्तो बस्ती बनाउनै नसक्ने जिकिर गर्दै धुर्मुस सुन्तलीले देशै बनाउन जुट्नुपर्ने तर्क गरिन् ।
त्यस्तै नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीले धुुर्मुस सुन्तली अनुकरणीय व्यक्तित्व भएको बताउँदै बस्ती विकासमा सरकारले सहयोग गर्ने वचनवद्धता व्यक्त गरे । त्यस्तै आसन्न स्थानीय निर्वाचन समुदायलाई अघि बढाउन कोशेढुंगा हुने विश्वास व्यक्त गरे ।
बस्तीमा केके छ ?
सुरुमा ५० घर निर्माण गर्ने योजना बनाएको भए पनि पछि ३ घर थपिएको परियोजनाका व्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिए । त्यस्तै बस्तीमा सिमेन्ट ढलान गरिएको भित्रिबाटो, मुसहर समुदायको कुलायन मन्दिर, सामुदायिक भवन र प्रतीक्षालय बनाइएको छ । बस्ती मात्र होइन बस्ती बाहिरको दृष्य अवलोकनका लागि बस्तीको पश्चिमपट्टि भ्यू टावर बनाइएको छ । त्यस्तै बालबालिकाहरू खेल्नका लागि चिल्ड्रेन पार्कसमेत सोही ठाउँमा छ ।
लागत
बस्ती बनाउन पाँच करोड चार लाख लागत लागेको न्यौपानेको भनाइ छ । सुरुमा चार करोड ७८ लाख  लागत इस्टिमेट तयार भएको भए पनि बस्तीमा भ्यु टावर र भित्रिबाटो ढनाल गर्दा खर्च बढेको उनको भनाइ छ । गिरानचौर एकीकृत बस्ती निर्माण गरि बँचेको एक करोड तीन लाख रुपैयाँबाट निर्माण सुरु गरिएको र संसारभर छरिएर रहेका नेपाली, नेपालीभाषी दाजुभाइको सहयोगबाट बस्ती निर्माण कार्य पूरा भएको उनले जानकारी दिए ।
अमेरिकाका नेपाली कम्युनिटी अफ मिनेसोटा, अष्ट्रेलियाबासी नेपाली समुदाय, कतारका प्रकाश कोइराला आदी बस्ती निर्माणका ठूला चन्दा दाता हुन् । मिनेसोटाको नेपाली समुदायले त बस्ती हस्तान्तरणको दश दिन अगाडि दुई करोड १० लाख हस्तान्तरण गर्यो । त्यस्तै अस्ट्रेलियाको एडेलडलगायतका राज्यबाट करिब ६५ लाख सहयोग जुट्यो । कतारका कोइरालाले व्यक्तिगत ४० लाख सहयोग गरेको न्यौपानेको भनाइ छ । 
सरसफाइ कोष
बस्ती निर्माण जत्तिकै महत्त्वपूर्ण बस्ती सफाइ पनि भएकाले कोष खडा गरिएको छ । र, कोषमा मह जोडीले एक लाख शुक्रबारै हस्तान्तरण गरेको छ । जोडीले यसअघि शिलान्यासकै दिन उक्त सहयोगको घोषणा गरेको थियो । त्यस्तै दीपक लामाले ५० हजार, रामजी दाहाल÷ नर्मदा आचार्यको दम्पतीले एक लाख एक हजार पनि हस्तान्तरण समारोहमा सहयोग थमाए ।
नाष्टको सीप विकास
मुसहर समुदायको सीप विकास र स्तर अभिवृद्धिका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले व्यवसायीक तालिम दिने सम्झौता गरेको छ । प्रतिष्ठानका कुलपति जीवराज पोखरेलले सम्झौता गरेका हुन् । मुसहर समुदायको विकासमा प्रतिष्ठानले भरपूर सहयोग उपलव्ध गराउने उनको प्रतिवद्धता पनि थियो ।
त्यस्तै तरकारी खेती, बंगुरपालन लगायतका आय आर्जन र सीप विकासका अन्य काममा मुसहर समुदायलाई लगाउने धुर्मुस्ले समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक