(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20170417

हामीले के हेरेनौं ? के भोगेनौं ? अव के भोग्ने ??

- राजन कार्की , प्रधान सम्पादक - गोरखा एक्स्प्रेस
    हामीले के हेरेनौं, के भोगेनौं । पञ्चायत हेर्‍यौं, पञ्चायत विरुद्धको ०३६ साले आन्दोलन, जनमत संग्रह हेर्‍यौं । सुधारिएको पञ्चायत सुध्रिएन, ०४६ सालको बहुदलको आगमन हेर्‍यौं । बहुदलको बहुलाचाल, बहुमत हुँदाहुँदैको मध्यावधि, मनमोहनको अल्पमतको सरकार पनि हेर्‍यौं । स्वयं शेरबहादुर देउवाले किस्तीमा राखेर राजालाई सत्ता बुझाए, राजाको शासन पनि हेर्‍यौं । राजा निरंकूश भए भनेर माओवादीसहितको दलीय जनआन्दोलन हेरियो । १९ दिने जनआन्दोलनका सामु राजा झुकेको, माओवादी नेताहरु प्रकट भएको र प्रचण्डको प्रधानमन्त्रीकाल पनि हेरेकै हौं, भोगेका हौं । त्यसपछिका ८ सरकार हेर्‍यौं, पुन: प्रचण्ड सरकार प्रमुख छन्, उनको हिलोको किलो शासन हेरिरहेकै छौं । यसअघि प्राकृतिक विपदा पर्‍यो, भूकम्प आयो, देशै भूकम्पग्रस्त बन्यो, खण्डहर भएर पनि चुपचाप नाममात्रको लोक शासन हेरिरहेका छौं ।
    ०४६ र ०६३ सालमा जनताका सामु राजा झुकेको हेर्‍यौं र त्यसपछि नेताहरुले जनताको टाउकामा घिरिङ खेलेको, खेलिरहेको हेरिरहेछौं । नेताहरु देशका सामु होइन, विदेशीका सामु झुकेको देखेर हामी थकित, चकित परिरहेका छौं । राजनीतिले बिगारेको कानुनव्यवस्था, बेथिति हेरिरहेका छौं, असरल्ल भइरहेका छौं । थिति बसाल्ने कसले, सम्हाल्ने कसले ? आशाका त्यान्द्राहरु दिनदिनै चुडिरहेका छन्, जोड्ने कसले ? हामी अहिले पनि हेरिरहेका मात्र छौं । हाम्रो काम हेर्नेमात्र हो ।
    हाम्रो समाजमा उखान छ– होलाकीले बुलाकी लायो, बुलाकीले नाकै खायो ।
    परिवर्तन भयो, परिवर्तनले धर्मदेखि कर्मसम्मका बिबादहरु उठाएको छ । घटनाक्रम होलाकी र बुलाकीमै सिमित छ । संविधान निर्माणको सकस घटाउन रिसोर्टको आतेजाते खुब चलेको थियो । खर्च भयो, नेताहरुलाई रमाइलो भयो तर रिसोर्टको सहवासले संविधान जन्मिन सकेन । पहिलो संविधानसभा बिघटन नै भयो र २०६५ सालदेखिको राजनीतिक घर्षणको नतिजा २०७२ असोज ३ गते बल्ल निस्कियो :संविधान जारी भयो । त्यो पनि सर्जरी बालक अर्थात फास्ट ट्य्राकबाट संविधान जन्माइयो । संविधान पेण्डोराको बाकस खुलेजस्तै खुल्यो, अनेकन समस्याहरु पनि साथसाथै सतहमा आएका छन् । समस्याको भारी बोकेर पनि तमासा देखाउने देखाइरहेका छन् र लोक तमासा हेरिरहेका छन् ।
    आज २०७३ सालको अन्तिम दिन, १९ महिनासम्म पनि संविधान कार्यान्वयन हुनसकेन । संविधानप्रति जारी गर्नेको आत्मविश्वास र कार्यान्वयन गर्नेको आमविश्वास दुबै खण्डित छन्, स्खलित भइसकेका छन् । आजको महिना दिनमा स्थानीय चुनाव गराउने साइत जुरेको छ, त्यो साइत छोप्न राजनीतिक दलहरु घाइते संविधानको काइते संशोधन गर्ने प्रयासमै छन् । एउटा संशोधन प्रस्ताव ४ महिनापछि फिर्ता लिएर अर्को संशोधन प्रस्ताव दर्ता गरिएको छ । वैशाख ७ गते छलफल हुने भनिए पनि न त असन्तुष्ट मधेसी मोर्चाले ठिक छ भन्यो, न प्रतिपक्षी एमाले नै सन्तुष्ट हुनसक्यो । चुनाव घोषणा त भयो, चुनावी माहोल कतै देखिदैन । चुनाव एक चरण कि दुई चरणमा, चुनाव सार्ने कि गर्ने ? अन्यौल अझै घनिभूत हुँदै जाँदोछ ।
    भूकम्पले क्षतविक्षत, अस्वस्थ छ मुलुक । आपत र बिपतमा छन् मुलुकवासी । तिनका लागि नाना, खाना र छानाको प्रवन्ध गर्न सकेन सरकारले । ५ करोडमा ७० घर बनाउने धुर्मुस दम्पत्ति जति पनि सक्षम देखिन सकेन सरकार । संवैधानिक पदहरुमा, आइजीपी, आयुक्त, राजदूतदेखि न्यायाधीश पदमा नियुक्तीको लाभ उठाउनमै र आलोपालो सरकार चलाएर भागशान्ति जय नेपाल गर्दैमा फुर्सद भएन सरकारलाई ।
    कस्तो अचम्म, भूकम्पपीडितका लागि भनेर चीनले पठाएको इन्डक्शन चुलो एयरपोर्टको गोदाममै सडरहेको छ अहिलेसम्म । पीडितको मुखमा माड लागेन, बंगलादेशले पठाएको एकलाख टन चामल गोदाममै कुहिएछ । पाकिस्तानले पठाएको खाद्य सामानमा गाईको मासु भनेर भारतले निकै हल्ला गरिदियो, सरकारले ती खाद्यमा गाई थियो कि थिएन कुनै जवाफ दिएन । खाद्य सामान खाल्डो खनेर पुरिदियो । नूनदेखि जस्तापातासम्म अनेकन सामान अहिले पनि गोदाममै छन्, ती बिक्री गर्ने तरखर गरिदैछ । विश्वभरिबाट ओइरिएका राहतका सामान पहुँचवालाका घरघरमा पुगे । त्रिपालले अफिसरका मोटर छोपिएका छन्, पीडित आजसम्म पनि पीडामै छन् । पुनर्निर्माण प्राधिकरण गठन गरियो, पुनर्निर्माण पार्टीकरण भएर ६ खर्वभन्दा बढी रकम राजनीतिकरण गरिरहेको छ । आइएनजीओहरुलाई पुनर्निर्माणका जिम्मा दिइयो, खर्ब खर्चेर खराव नतिजा बाहेक केही आएन ।
    व्यक्ति, समाज वा देशको भविष्य कोर्न भिजन चाहिन्छ । कुनै पनि नेतामा भिजन देखिएन । अव त स्थिति यतिसम्म गएगुज्रेको भइसक्यो कि हाम्रा सार्वभौम नेताहरु, तिनका नीति र नेतृत्व क्षमता रिमोट कन्ट्रोलबाट चल्ने टीभीजस्तो छ । स्वधीनता के हो, स्वाभिमान कस्तो हुन्छ, राजनीतिले खुट्टा लरबराउँदा अस्तित्व धरमराउन थालेको अनुभूति हुनथालेको छ । यस्तो बिजोग छ लोकसरकारको ।
    कुनै बेला सिंगापुर यसैगरी लडेको थियो । लिक्वान यु दह्रोसाग उभिए र सिंगापुरलाई उठाएको इतिहास छ । लिक्वान जसरी न जनयुद्धकारी, न बहुदलीय जनवादवादी, न समाजवादी दलहरु नै उभिन सके । सबै कानै चिरिएका, सबै उही ड्याङका मूला । चमत्कारिक र चर्को भाषण गर्न सबै खप्पीस छन्, बिधिमा चल्न कोही तैयार छैनन् । सबैलाई सत्ता, शक्ति र सम्पत्तिकै लोभ छ । लोभमा पर्ने नेतृत्व नेता त हुनसक्छ, राजनेता बन्न सक्दैन ।
    हिजो पञ्चायत गनायो, त्यसपछि राजतन्त्र गनायो, त्यसलाई फालेर ल्याएको बहुदलपछि लोकतन्त्र पनि कुहिएको सिनो गनाएजसरी गनाइरहेको छ । लोकतन्त्रको ब्यानरले छोपेको निरंकूशतन्त्रले लोकतन्त्रको बेइजत भइरहेको छ । यस्तो नग्न र नैतिकहीन शासनलाई कसरी लोकराज भन्नु र ? बुद्धिजीवीहरु, नागरिक समाजदेखि समान्यजन समेत भन्न थालेका छन्– यही हो लोकतन्त्र ?
    जनताले विधिको शासनका लागि मतदान गरेका थिए, नेताहरु त्यही जनबलका आधारमा सांसद बनेका छन् । सांसदले विधिलाई अवसरवादमा बदलिदिएका छन् । एक नेपाल अव बिखण्डन र बिभाजनको कगारमा पुगिसक्यो, अखण्ड नेपाल कसरी यथावत राख्ने, शान्ति र समृद्धिमा रुपान्तरण गर्ने भन्ने चिन्तन पटक्कै छैन । यी सबै उदाहरणबाट थाहा हुन्छ– सत्ता र सडक कव्जा गर्दैमा राष्ट्र बन्दैन, त्यस्तो राजनीति सफलताको मानक पनि होइन । सफल राजनीतिका लागि राष्ट्र र जनताका निम्ति सैध्दान्तिक आधार, निष्ठा र त्याग चाहिन्छ । उन्नत समाज निर्माणका लागि त्याग गर्न कुनै नैता तैयार छैनन् । सबैको दोहन र शोषण देश र जनतामाथि नै भइरहेको छ ।
    फरक यत्ति छ, बंगलादेशका निर्माता जियाउर रहमानको देहाबसान भएपछि उनले च्यातिएको पेटीगन्जी लगाएको देखियो । हाम्रा चप्पलछापे नेताहरु यति छिटो पजेरो, प्राडोका मालिक भएका छन्, महलमा बस्छन्, पैसा खेलाउँछन् । तिनका व्यवहारमा नवसामन्तपन देखिन्छ, भेटिन्छ । मर्न त यिनीहरु पनि मर्छन्, तर यिनको मृत्युमा कुन जनता मलामी जालान् र ? यिनले देश र जनताका लागि के नै गरेका छन् र ? दिल्लीलाई राजनीतिक तीर्थ सम्झने हाम्रा नेताहरुले बुझ्न सकेनन्– पेरिसमा धोएको लुगा लगाउने र लण्डनमा पढेका नेहरुले सत्तामा पुग्नासाथ बहुमूल्य आनन्द भवन देशलाई किन सुम्पिए ? हाम्रा नेताहरु त देशबाट लिइरहेका छन् । हालैमात्र पूर्व विशिष्टहरुका लागि सम्भ्रान्त जीवन बिताउन पुग्ने थप पेन्सन, सुविधाको बन्दोबस्तसमेत गरिसकेका छन् । निर्लज्जताको यो हद लोकतन्त्रको मजाक नभए के हो ? जसले राजनीतिलाई सत्ताप्राप्ति गर्ने व्यापारका रुपमा लिन्छ, त्यस्ताबाट के आशा राख्ने ? राजनीतिलाई उच्चतम समाजसेवाको रुपमा जबसम्म अंगीकार गर्ने नेता जन्मदैन, जननेतामा व्यक्तिगत स्वार्थ हावी रहन्छ, प्रबृत्ति र संस्कार नै हालीमुहालीको रहन्छ, तवसम्म राजनीतिले जनतामा राम्रो छाप छाड्न सक्दैन । सरकार र नेतृत्वतह यसैगरी निर्लज्जतहमा उत्रिएका छन् ।
    आज राष्ट्रलाई दह्रो आधार चाहिएको छ । त्यो आधार इमान्दार नेताले मात्र दिनसक्छ । जनताको नजरमा कुन नेता छन् इमान्दार ?
    हामी हिजोका दिनमा देखिएको रिसोर्ट राजनीतिक संस्कृति नदोहोरियोस् भन्ने चाहन्छौं । आज संविधान कार्यान्वयनका नाममा जुन रिहर्सल भइरहेको छ, त्यो पनि नकारिरहेका छौं । ९१ प्रतिशत सांसदले संविधान जारी गर्ने अनि त्यसलाई लागू गराउन संशोधनमाथि संशोधन गर्दै जाने र हिमालबाट पहाड, पहाडबाट मधेस अलग पारेर राजनीतिक लाभ लिन खोज्ने राजनीतिको पनि आलोचना गरिरहेका छौं । हुन पनि यो देश दह्रो र मजबुत आधार तयार गर्ने तरिका हुँदै होइन । यसकारण जनतामा क्रोध छ ।
    हामी चाहन्छौं, अँध्यारो कोठामा, विदेशीको लहैलहैमा कुनै निर्णय नहोस् । संसदमा खुल्ला बहस होस्, आवश्यक परे राउण्ड टेबुल छलफल गर्दा पनि फरक पर्दैन । हाम्रा नेताहरुले कहिले कुन पार्टीसँग, कहिले कुन पार्टीसँग साँठगाँठ गरेर सत्ता हत्याउने, सत्ता टिकाउने जुन खेललाई लोकतन्त्र भनिरहेका छन्, यथार्थमा त्यो खेल संक्रमण समाप्त गर्नभन्दा संक्रमण बढाउन मद्दत भइरहेको समयमै बुझुन्, आत्ममिमांसा गरुन् । समय घर्किएपछि पछुताएर के काम ? !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक