20170720

“जनताद्वारा जनताका लागि” भन्ने मूल मन्त्र रहेको जनता टेलिभिजनको समुद्घाटन


हामी अरू टेलिभिजनका प्रतिस्पर्धी होइनौँ: अध्यक्ष पौडेल
“जनताद्वारा जनताका लागि” भन्ने मूल मन्त्र रहेको जनता टेलिभिजनको समुद्घाटन कार्यक्रम बिहीबार काठमाडौँको होटेल  सोल्टीमा भव्य कार्यक्रमबिच सम्पन्न भएको छ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा स्थापित र सञ्चालित जनता टेलिभिजनका अध्यक्ष डा. विजयकुमार पौडेलले समुद्घाटन कार्यक्रमलाई सम्बोधन
गर्दै नेपाली सञ्चार जगतमा फरक छाप छाड्ने गरी आफूहरू आएको बताउनुभएको छ ।
उहाँले नयाँ खालको सेवा प्रदान गर्नका लागि आफूहरू बजारमा आएको बताउनुभएको छ । ‘हामी नयाँ खालको सेवा प्रदान गर्नका लागि आएका हौँ’, सम्बोधनका क्रममा उहाँले भन्नुभएको छ, ‘हामी पुराना र पछि खुल्ने सबै टेलिभिजन च्यानलहरुसँग अत्यन्त मित्रतापूर्वक काम गर्न उत्सुक छौँ ।’
अध्यक्ष पौडेलले देशलाई एकताको सूत्रमा बाँध्नका लागि जनता टेलिभिजनले सक्दो प्रयास गर्ने पनि बताउनुभयो । ‘तराई–पहाड–हिमालको एकताले नै यस देशको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राष्ट्रिय एकतालाई बलियो बनाउँछ भन्ने विषयमा हामी स्पष्ट छौँ’, उहाँले भन्नुभयो, ‘देशको हरेक कुना–काप्चाका जनताको अधिकार सुनिश्चित होस तथा एक समुदायको अधिकारबृद्धिबाट अर्को समुदायको अधिकार नखोसियोस् भन्ने विषयलाई पनि हामी निरन्तर उठाइरहने छौँ ।’

अध्यक्ष पौडेलको लिखित सम्बोधनको पूर्ण पाठ
सम्माननीय प्रधानमन्त्रीज्यू,
सम्माननीय सभामुखज्यू,
सम्माननीय पूर्व प्रधानमन्त्रीज्यूहरु,
सम्माननीय पूर्व उपप्रधानमन्त्रीज्यूहरु,
माननीय मन्त्रीज्यू तथा विभिन्न संवैधानिक निकायका प्रमुखज्यूहरु
विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु,
माननीय सभासद्ज्यूहरु,
नेपाल सरकारका सचिवज्यूहरु,
सञ्चारकर्मी मित्रहरू
विभिन्न लब्धप्रतिष्ठित महानुभावहरु
कलाकार महानुभावहरु,
सञ्चालक समितिका सदस्यहरू,
सुरक्षाकर्मी मित्रहरू,
तथा हाम्रो संस्थाका शेयरधनी महानुभावहरु,
कर्मचारी मित्रहरू
सबैभन्दा पहिले देश र जनताका लागि प्राणको आहुति दिनुहुने ज्ञात–अज्ञात सहिदहरुमा भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्न चाहन्छु ।  
“जनताद्वारा जनताका लागि” भन्ने मूल मन्त्र रहेको यस जनता टेलिभिजनको समुद्घाटन कार्यक्रममा सम्माननीय प्रमुख अतिथि, विशिष्ट अतिथि र यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछु । यो टेलिभिजन श्री जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा स्थापित र सञ्चालित रहेको छ ।
यस कम्पनीले ‘जनता प्रकाशन’ अन्तर्गत विभिन्न स्तरीय पुस्तकहरू प्रकाशन गर्दै आइरहेको छ भने प्रसारण अन्तर्गत जनता टेलिभिजन र समाचार पोर्टल जनता समाचार डट कम सञ्चालन गरिरहेको छ । यसै गरी निकट भविष्यमा एफएम रेडियो र समाचारपत्र पनि प्रकाशन गर्ने लक्ष्य रहेको कुरा यहाँहरु सबैमा विनम्रतापूर्वक जानकारी गराउन चाहन्छु ।
धेरै महानुभावहरुको सहभागिता र शेयर लगानीमा यो संस्था स्थापना भएको छ । जनस्तरबाट सानोसानो लगानी जुटाई स्थापना गरिएको हुँदा यो टेलिभिजन र हाम्रा अन्य सञ्चार माध्यमहरूले अवश्य पनि जनताको हित र एकतालाई ध्यान दिने छन् भन्ने विषयमा हामी पूर्णतः स्पष्ट छौँ । हामी अग्रगामी वैज्ञानिक सोँच र दृष्टिकोणलाई निरन्तर प्रोत्साहित गरिरहने विषयमा पनि कृतसंकल्पित रहेका छौँ । हामी छुवाछुत लगायतका मानव मर्यादा विरोधी संस्कारको विरुद्धमा छौँ तथा निरन्तर मानव मर्यादाको पक्षमा उभिने छौँ ।
सुशासन र भ्रष्टाचारमुक्त समाज स्थापनाको अभियानमा हामी निरन्तर लागिरहने छौँ । जननी, जन्मभूमी र आधा धरती ढाक्ने महिला समुदाय हाम्रालागि उच्च आदरका पात्र हुनुहुन्छ । मानव श्रमले नै सभ्यताको विकास गरेको हो । यसैले समाजमा श्रमिकहरूको उच्च सम्मान हुनुपर्दछ भन्ने कुरालाई हामी निरन्तर जोड दिइरहने छौँ । हामी समानताको पक्षमा छौँ ।
उद्यमशीलतालाई प्रोत्साहित गरेर मात्रै देशको आर्थिक विकास सम्भव छ भन्ने विषयलाई हाम्रो टेलिभिजन र यससँग जोडिएका सञ्चार माध्यमहरूले निरन्तर उठाइरहने छन् । कुनै पनि निहुँमा उद्योग र उद्यमीलाई हतोत्साहित गरिनुहुँदैन भन्ने मान्यतामा हामी दृढ छौँ । सरकारले सक्ने काम सरकारले गरोस्, सरकारी बजेट र साधन–स्रोतले नसक्ने क्षेत्रहरूमा निजी र सहकारी क्षेत्रलाई निर्वाधरुपमा काम गर्न दिइयोस् भन्ने मान्यतालाई हामी निरन्तर उठाइरहने छौँ । यसो गर्दा मात्र संविधानले परिकल्पना गरेको ३ खम्वे अर्थतन्त्रको माध्यमबाट देशमा समृद्धि भित्र्याउन सकिन्छ भन्ने हाम्रे विश्वास रहेको छ ।

तराई–पहाड–हिमालको एकताले नै यस देशको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राष्ट्रिय एकतालाई बलियो बनाउँछ भन्ने विषयमा हामी स्पष्ट छौँ । देशको हरेक कुना–काप्चाका जनताको अधिकार सुनिश्चित होस तथा एक समुदायको अधिकारबृद्धिबाट अर्को समुदायको अधिकार नखोसियोस् भन्ने विषयलाई पनि हामी निरन्तर उठाइरहने छौँ ।
हाम्रा हरेक कार्यक्रमहरुले परम्पराका राम्रा तथा अग्रगामी पक्षलाई अवश्य पनि समेट्ने छन् । विदेशी छाडा संस्कृतिको हमलाबाट नेपाली मौलिक संस्कृतिको रक्षा गर्नु हाम्रो ध्येय हुने छ तर मौलिकता वा परम्पराको नाममा मानिस–मानिसका बिचमा जात–भात, रङ्ग, भूगोल धर्म र अन्धविश्वास इत्यादिका आधारमा गरिने भेदभाव हामीलाई स्वीकार्य छ्रैन ।
हाम्रा कार्यक्रमहरुले युवाहरूलाई देशकै माटोमा दस नंग्रा खियाउने कुरामा प्रेरित गर्ने छन्, विदेशिएका नेपालीहरूलाई देश फर्केर आउने प्रेरणा दिने छन्, विदेश जानै परे पनि फजुल खर्च कम गर्न र बचत गरी देशमै लगानी गर्न प्रेरित गर्ने छन् । हाम्रा कार्यक्रमहरू हरेक घरका सबै सदस्यहरू सँगै बसेर हेर्न सकिने शिष्ट, भद्र र मर्यादित हुने छन् । श्रमप्रति सम्मान बढाउने र पठन संस्कृतिको विकास गराउनेतर्फ हाम्रा कार्यक्रमहरू लक्षित रहने छन् ।
हामी रचनात्मक तथा ऐतिहासिक विषयवस्तु समेटेर बनाइएका टेलीश्रृंखलाहरु निर्माण गरी नियमितरुपमा प्रसारण गर्ने छौँ । युवाहरूको क्षमता विकासका लागि विशेष कार्यक्रमहरू निर्माण गरी प्रसारणको तयारी पनि गरिएको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारका विकास–निर्माणका कामलाई हाम्रो टेलिभिजनको माध्यमबाट उजागर गर्न मद्दत गरिने छ ।
हामी सकारात्मक समाचार सम्प्रेषण गर्ने कुरामा विशेष सतर्क रहने छौँ । देशमा हालसम्म विभिन्न टेलिभिजन च्यानलहरुले आफू सक्दो सेवा पु¥याइरहेका छन् । हामी नयाँ खालको सेवा प्रदान गर्नका लागि आएका हौँ । हामी पुराना र पछि खुल्ने सबै टेलिभिजन च्यानलहरुसँग अत्यन्त मित्रतापूर्वक काम गर्न उत्सुक छौँ ।

हाम्रा कार्यक्रमहरुले युवाहरूलाई देशकै माटोमा दस नंग्रा खियाउने कुरामा प्रेरित गर्ने छन्, विदेशिएका नेपालीहरूलाई देश फर्केर आउने प्रेरणा दिने छन्, विदेश जानै परे पनि फजुल खर्च कम गर्न र बचत गरी देशमै लगानी गर्न प्रेरित गर्ने छन् ।
हामी अग्रज टेलिभिजन च्यानलहरुलाई उच्च सम्मान गर्दछौँ भने पछि खुल्ने च्यानलहरुलाई आफू सक्दो माया–ममता र सहयोग प्रदान गर्ने छौँ । हामीले हामी आफैँसँग र आफ्ना कमजोरीहरुसँग मात्र प्रतिस्पर्धा गर्ने छौँ । अरू टेलिभिजन च्यानलहरुसँग हाम्रो कुनै प्रतिस्पर्धा हुने छैन, सबैलाई हामी अनन्य मित्र ठान्दछौं । प्रसारण उद्योगको क्षेत्रमा हामी आफ्नै क्षमताले टिक्ने र विकास गर्ने हो भन्ने कुरालाई राम्ररी आत्मसात गरेका छौँ ।
सेवासहितको ब्यावसायिकता हाम्रो लक्ष्य रहेको छ । यसमा हामी सम्बन्धित सबैसँग सहयोगको आव्हान गर्न चाहन्छौँ । वर्तमान संविधान र यससँग नबाझिने कानुनहरू नै हाम्रा विचारधारा हुन्, लोकतन्त्रिक आचरण र सहिष्णुता हाम्रा आचरण हुन् भने छिटो–छरितो अत्याधुनिक प्रविधिलाई पछ्याउँदै सही सूचना प्रवाह गर्नु हाम्रो कार्यशैली हुनेछ ।
देश र जनताको निरन्तर सेवा हाम्रो लक्ष्य हुनेछ । हाम्रो यस पवित्र भावनालाई सबै बुद्धिजीवी, राष्ट्र सेवक, उद्योगपति, व्यवसायी, बैंकर, विज्ञापन एजेन्सीहरु, केवल सेवा प्रदायकहरु र पेशागत तथा श्रमिक सङ्घ–संगठनहरुले बुझिदिनुहुनेछ भन्ने कुरामा विश्वस्त छौँ ।
आदरणीय प्रमुख अतथि तथा उपस्थित सबै विशिष्ट महानुभावहरु, गत साल आजकै दिन हामीले नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयबाट टेलिभिजन स्थापनाको अनुमतिपत्र (लाइसेन्स)  लिएका थियौँ र आजकै दिन नियमित प्रसारणको उद्घाटन पनि गर्दै छौँ । स्मरण रहोस्, आज आदिकवि भानुभक्त आचार्यको जन्मदिन पनि रहेको छ । नेपाली जातिलाई भाषिक एकीकरण गर्ने स्रष्टाप्रति हाम्रो हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छौँ ।
हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँहरु आइदिनु भयो । यहाँहरूको आगमनप्रति हामी अत्यन्त हर्सित छौँ । यहाँहरु सबैबाट निरन्तर सहयोग पाइरहने छौँ भन्ने कुरामा हामी विश्वस्त छौँ ।
धन्यवाद !
सबैमा जय नेपाल !
डा.विजयकुमार पौडेल
अध्यक्ष
जनता प्रसारण तथा प्रकाशन लिई.
२०७४-३-२९

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक