20170824

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा के के भैरहेको छ ?

नयाँदिल्ली, भदौ ८ गते । भारतको पाँचदिने भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भारतको छिमेकी मात्र नभएर एक असल मित्र पनि भएको स्पष्ट गर्नुभयो । उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज नयाँ दिल्लीको हैदरावाद
भवनमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुभएको हो ।
भारत भ्रमणका क्रममा आजै दुई देशका प्रधानमन्त्रीबीचको औपचारिक द्विपक्षीय भेटवार्तापछि सहमति र सम्झौतालगत्तै भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “खुला सिमानाका  साथै अरु कैयौँ कारणले पनि नेपाल र भारतबीच महत्वपूर्ण र ऐतिहासिक सम्बन्ध रहिआएको छ । नेपालको आर्थिक समाजिक विकासका साथै नेपाल र नेपालीप्रति भारतले सधैंँ देखाउँदै आएको ऐक्यबद्धता, सद्भाव र सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि दुई देश र जनस्तरमा पनि यस्तै सौहार्द सम्बन्धको अपेक्षा नेपालले गरेको छ ।”
प्रधानमन्त्री देउवाले नेपालको विकासमा प्रयासमा भारतको सौहार्दता र सहयोग अत्यन्त महत्वपूर्ण छ भन्दै विद्युतीय टान्समिसन लाइन, पञ्चेश्वर आयोजनाको सम्पन्नता एवम् नेपालमा सञ्चालनमा रहेका भारतीय सहयोगका आयोजनालाई समयमै सम्पन्न गर्न भारतीय पक्षबाट र विशेषगरी प्रधानमन्त्री मोदीबाट व्यक्त चासोप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।
दुई देशबीचको सहयोग र सम्झौताको क्षेत्रलाई दुवै देशको तहमा थप लाभदायक बनाउन संयुक्त रुपमै भेटघाट र वार्ताजस्ता कुरालाई निरन्तर गर्ने र थप गति दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । उहाँले नेपालले नयाँ संविधानको कार्यान्वयनसँगै अब नेपाल राजनीतिक स्थायित्व प्राप्त गरी आर्थिक विकासको चरणमा प्रवेश गरेकाले नेपालमा जलस्रोत, पर्यटनलगायत कैयौँ क्षेत्रमा वैदेशिक लगानीका लागि नेपाल सरकारले आग्रह गरिरहेको र त्यसतर्फ विदेशी समुदायको आकर्षणका लागि पनि पहल गरिएको बताउनुभयो ।
उहाँले भारतसँग नेपालको खुला सिमाना रहेको र यो सिमानाको फाइदा उठाएर अरु कुनै पनि तत्वले नेपाल वा भारतलाई हानि गर्ने खालका कुनै क्रियाकलाप नगरुन् भनेर नेपाल सचेत रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले समृद्धि र आर्थिक विकासका क्षेत्रमा सफलताको उदाहरण भारतबाट नेपालले पनि सिकेर र उसको समृद्धिबाट फाइदा लिएर अघि बढ्न चाहेको उल्लेख गर्नुभयो । उहाँले आजै केही क्षणअघि भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाको सम्पन्नताका लागि नेपालसँग विस्तृत परियोजना प्रतिवेदन९डिपिआर० माग गर्नुभएको र त्यसलाई नेपालले जति सक्दो चाँडै सकेर पठाइने पनि जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाले नेपालले नयाँ संविधानको निर्माण र यसको कार्यान्वयनसँगै नयाँ राजनीतिक अध्यायमा नेपाल प्रवेश गरेको भन्दै वर्तमान संविधानमा कतिपय विषयप्रति असन्तुष्टि राखिरहेकाले उनीहरूलाई पनि सम्बोधन गरी सबैको साझा धारणा र साझा राजनीतिक सहमतिका साथ अघि बढ्ने बताउनुभयो ।
ती माग सम्बोधनका लागि हालै मात्र पनि नेपालको संसद्मा संविधान संशोधनको प्रस्ताव लगिएको र संसदीय प्रक्रियामा प्रवेश गरेको त्यो मुद्दाले पूर्णता नपाएको स्मरण गर्दै संविधानप्रति असहमति राखेका नागरिकको मागलाई सम्बोधन गर्ने गरी भविष्यमा पनि संविधान संशोधनको प्रक्रियालाई निरन्तरता दिइने स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री देउवाले ती असहमतिका बुँदामा सहमति कायम गर्ने गरी सबैलाई आगामी निर्वाचनमा ल्याइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले भारतले भूकम्पपछिको पुनःनिर्माणका लागि देखाएको सदाशयता र सहयोगको सराहना गर्दै भारतद्वारा प्रदान गरिएको यस सहयोगको पूर्णरुपमा सदुपयोग गरिने बताउनुभयो ।
सोही पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालको बृहत्तर विकासका लागि सहयोग गर्न भारत सँधै तत्पर रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, भारत सँधै समृद्ध र शान्त नेपालको पक्षमा छ र यस्तो नेपाल देख्नका लागि सहयोग र साझेदरी बढाउन भारत सधैँ तयार छ । प्रधानमन्त्री मोदीले सुरुमै नेपाली भाषामा छोटो सम्बोधन गर्दै प्रधानमन्त्री देउवा र नेपाली प्रतिनिधिमण्डललाई स्वागत पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालका प्रधानमन्त्री मान्यवर शेरबहादुर देउवा र तपार्इँको भ्रमणमा रहनुभएका सबै जनालाई भारतमा स्वागत गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ ।” उहाँले प्रजातन्त्रको अभियान र त्यसको कार्यान्वयनका माध्यमबाट नेपाल शान्ति र समृद्धिको मार्गमा अघि बढ्न सकोस् भनी कामना गर्दै संविधानको सफलताका साथ कार्यान्वयन गरी हालै मात्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सकेकामा नेपाललाई उहाँले विशेष बधाई दिनुभयो ।
भारत र नेपालको सम्बन्ध सामान्य नभएर विशिष्ट खालको रहेको बताउँदै उहाँले दुवै मुलुक असल छिमेकी मात्र नभएर असल मित्र पनि रहेको र एकार्काको खुसी र पीडामा पनि अनुभूति हुने खालको सम्बन्ध यी दुई देशको रहेको बताउनुभयो । नेपालमा गएको भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माणको काम भारत र नेपालले एकसाथ मिलेर गरिरहेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री मोदीले दुःखको बेलामा गरिएको सहकार्यले असल सम्बन्ध र छिमेकीको उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।
भारतले आफ्नो स्वतन्त्रताको ७० औँ वर्षगाँठ मनाइरहेको यस महत्वपूर्ण क्षणमा नेपालका प्रधानमन्त्रीको भ्रमण धेरै महत्वपूर्ण रहेको टिप्पणी उहाँले गर्नुभयो । उहाँले भारतीय सहयोगमा नेपालमा जारी रहेका आयोजनाको सफल कार्यान्वयन तथा समयमै सम्पन्न गर्न प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभएको प्रतिबद्धताका लागि विशेष धन्यवाद दिनुभयो ।
अरुण आयोजनामा जमीन समस्या हल
अरुण तेस्रो जलविद्युत् आयोजनामा जमीनको प्राप्तिमा देखिएको समस्या हल भइसकेको जानकारी गराउँदै आयोजनाको शिलान्यासका लागि आफूलाई नेपाल आउन प्रधानमन्त्री देउवाले गर्नुभएको निमन्त्रणाले आफूलाई निकै खुसी लागेको उहाँले बताउनुभयो ।
त्यस्तै भारत सरकारका तर्फबाट माग भइआएको पञ्चेश्वर आयोजनाको डिपिआर चाँडै नेपालले भारतलाई पठाउने जानकारी प्रधानमन्त्री देउवाले दिएको प्रति पनि उहाँले खुसी व्यक्त गर्नुभयो । नयाँ संविधान र त्यसमार्फत स्थानीय निकायको निर्वाचन गरी लोकतान्त्रिक अभियानमा व्यक्तिगत रुपमा प्रधानमन्त्री देउवा र नेपाली जनताले गरेको संघर्षको प्रधानमन्त्री मोदीले प्रशंसा गर्नुभयो ।
यसअघि आजै उहाँहरूबीच हैदरावाद भवनमा द्विपक्षीय भेटवार्ता भएको थियो । भेटका क्रममा उपप्रधानमन्त्री कृष्णबहादुर महरा पनि उपस्थित हुनुहुन्थ्यो । सो भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज पनि रहनुभएको थियो । सोही द्विपक्षीय वार्तामा भएको सहमतिबमोजिम आठ समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग राष्ट्रपति निवासमा शिष्टाचार भेट गर्नुभयो ।
भारतको पाँचदिने राजकीय भ्रमणका क्रममा बुधबार नयाँदिल्ली आइपुग्नुभएका प्रधानमन्त्री देउवासँग भएको भेटका क्रममा उहाँहरुबीच नेपाल भारत द्विपक्षीय हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो ।
यसैगरी आजै साँझ प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति वेंकैया नायडुसँँग पनि शिष्टाचार भेट गर्नुभयो । उहाँहरुबचि हैदरावाद भवनमा शिष्टाचार भेट भएको हो । 
भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रक्सोल परवानीपुर र कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।
दुई महत्वपूर्ण अन्तरदेशीय प्रसारण लाइनको आज भारतको राजधानी नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
आगामी हिउँदको विद्युत् मागलाई धान्न भारतबाट थप एक सय मेगावाट विद्युत् आयात हुने भएको छ । ती अन्तरदेशीय प्रसारण लाइनमार्फत थप ५०÷५० मेगावाट विद्युत् आयात हुने छ । हैदरवाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले स्विच थिचेर ती प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको समयमा पनि ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरिएको थियो ।
ती दुवै आयोजनाको क्षमता १३२ केभी रहेको छ । नेपालको विद्युत् मागलाई सम्बोधन गर्ने लक्ष्यअनुसार सरकारले भारतसँग ती दुई अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात गर्ने सहमति यसअघि नै भइसकेको छ ।
आज उद्घाटन गरिएका दुईवटै प्रसारण लाइन गत माघमा नै निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । नेपालको विद्युत् मागलाई सम्बोधन गर्ने लक्ष्यअनुसार नै ती अन्तरदेशीय प्रसारण लाइनको आज संयुक्त रुपमा उद्घाटन गरिएको प्रधानमन्त्री देउवाको भनाइ छ ।
वीरगन्ज औद्योगिक कोरिडोरलाई पूर्णरुपमा विद्युत्भार कटौती गर्ने लक्ष्यका साथ प्रसारण लाइन निर्माण गरिएको रक्सौल परवानीपुर प्रसारण लाइन आयोजनाका प्रमुख लक्ष्मीनारायण मुखियाले राससलाई बताउनुभयो ।
विद्यमान ३३ केभी प्रसारण लाइनबाट हाल १० मेगावाट विद्युत् आयात भइरहेको छ । नयाँ प्रसारण लाइनबाट थप ५० मेगावाट विद्युत् आयात गरिनेछ । यसले वीरगञ्ज औद्योगिक कोरिडोर र आसपासका क्षेत्रलाई पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त गर्ने योजना प्राधिकरणको छ ।
भारतीय ठेकेदार मोहना इनर्जीले सो प्रसारण लाइन निर्माण गरेको हो । हाल भारतबाट नेपालले ३५० मेगावाट विद्युत् आयात गरिरहेको छ । ती प्रसारण लाइनबाट थप एक सय मेगावाट विद्युत् आयात भएपछि ४५० मेगावाट पुग्नेछ ।
प्राधिकरणले यसअघि प्रसारण लाइन क्षमताको अभावमा चाहे जति विद्युत् ल्याउन सकेको थिएन । रक्सोल–परवानीपुर र कुृशाहा–कटैया प्रसारण लाइन निर्माण सम्पन्न भए पनि विभिन्न प्राविधिक कारणले विद्युत् आयात हुन सकेको थिएन । ती प्रसारण लाइनबाट आयात हुने विद्युत्को मूल्य अन्य कम क्षमताको प्रसारण लाइनको भन्दा कम रहेको छ । केही समय पहिले विद्युत् आदान प्रदान समितिको बैठकबाट १३२ केभी क्षमताको प्रसारण लाइनबाट आयात हुने विद्युत्को मूल्य प्रतियुनिट रु ८।८८ ९भारु ५।५५० हुने तय गरिएको थियो ।
प्राधिकरणकाअनुसार ती प्रसारण लाइनले चर्केको जग्गाको मुआब्जा नेपाल सरकारले र प्रसारण लाइन निर्माणको काम भने भारतीय कम्पनीले गरेको हो । प्राधिकरणका अनुसार आव २०७३÷७४ मा रु १४ अर्ब २० करोड बराबरको विद्युत् आयात गरेको थियो । भारतबाट आयातीत ऊर्जा ३४।७६ प्रतिशतले बढेको छ ।
अरुण तेस्रोको शिलान्याश गर्न मोदीलाई प्रधानमन्त्री देउवाको निमन्त्रणा
भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्याशका लागि आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई निमन्त्रणा गर्नुभएको छ ।
भारतीय कम्पनी एसजेभीएनले निर्माण गर्न लागेको कुल नौ सय मेगावाट क्षमताको उक्त आयोजना आगामी दसँैपछि शिलान्याश गर्ने कार्यतालिका तय गरिएको छ । भारतीय लगानीकर्ता कम्पनी एसजेभीएनले निर्माणको आवश्यक प्रक्रिया शुरु गरिसकेको छ । वन क्षेत्रको जग्गा प्रयोगका सन्दर्भमा पनि लगानी बोर्डले केही समय पहिले निर्णय गरिसकेको छ ।
राष्ट्रिय योजना आयोगले गत साउन २९ गते जलविद्युत् आयोजना र प्रसारण लाइनलाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा राखी सोही अनुसार व्यवहार गर्न ऊर्जा र वन तथा भूसंरक्षण मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।
प्रधानमन्त्री देउवाले आफूले भारतीय प्रधानमन्त्री मोदीलाई अरुण तेस्रोको शिलान्याशका क्रममा नेपाल आउन आग्रह गरेको हैदरावाद हाउसमा आयोजना गरेको संयुक्त पत्रकारसम्मेलनमा जानकारी दिनुभयो ।
यस्तै भारतीय प्रधानमन्त्री मोदीले पनि अरुण तेस्रो शिलान्याश समारोहमा नेपाल आउन नेपालका प्रधानमन्त्री देउवाले निमन्त्रणा दिएको पत्रकारसम्मेलनमा उल्लेख गर्नुभयो ।
वन क्षेत्रको जग्गा प्रयोग गर्न नपाएको भन्दै आयोजनाको प्रवद्र्धकले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । तर पछिल्लो पटक सरकारले भारतीय लगानीका माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनालाई आवश्यक पर्ने वन क्षेत्रको जग्गा प्रयोगका लागि मार्ग प्रशस्त गरेको थियो ।
पञ्चेश्वरको विस्तृत आयोजना प्रतिवेदनलाई पूर्णता दिइने
लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०लाई अन्तिम रुप दिइने भएको छ ।
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवा र उहाँका समकक्षी मोदीबीचको भेटका क्रममा सो आयोजनाको डिपिआरलाई अन्तिम रुप दिने समझदारी भएको हो । भारतीय कम्पनी वापकोषले लामो समयदेखि तयारी गरिरहेको डिपिआरका विषयमा दुवै मुलुकका ऊर्जा सचिवको संयुक्त बैठकले अन्तिम रुप दिने भनेको पनि तीन वर्ष बितिसकेको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा आएको प्रतिबद्धतापछि डिपिआरलाई अन्तिम रुप दिन लागिएको हो ।
पञ्चेश्वर विकास प्राधिकरण गठन गर्ने विषयमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा सहमति भएको र सोही अनुसार काम भइरहेको छ । प्राधिकरणको कार्यालय भीमदत्तनगरमा स्थापना गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक महेन्द्रमान गुरुङले डिपिआर तयारीलाई अन्तिम रुप दिने प्रधानमन्त्रीको प्रतिबद्धतापछि काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।  - रासस
************

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक