20170806

नेपाली अवसरवादी राजनीतिका शिखर पुरूष कमल थापाको लुट र रा.प्र.पा.को भर्खरैको फुटलाई नियाल्दा !

- भुप नारायण घर्तिमगर 

 ( रोल्पाली भुप नारायण घर्तिमगर रा.प्र.पा.को स्थापना कालदेखीका खम्बा र रा.प्र.पा.मा योगदानका हिसाबले हेर्दा कमल थापाको भन्दा बढी योगदान भएका राजनीतिज्ञ पनि हुन तर केही बर्ष यता उनी आफैले मलजल गरेको र रोल्पामा माओवादी सँग जुध्दै बिस्तार गरेको रा.प्र.पा. एक पछि अर्को गर्दै गलत निर्णयमा फस्दै जान थाले पछि र कमल थापाहरुले भ्रमको राजनीति पालेपछि वाक्क दिक्क भै स्वतन्त्र रुपमा रहदै आएका, मन भरी नेपाल र नेपाली दुई शब्द छाएका घर्तिमगरले भर्खरै भएको रा.प्र.पा को फुटलाई यसरी शब्दचित्रमा  उतारेका छन । यो उनको निजी बिचार हो र यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएकोछ : सम्पादक )         
    राजनीति मूल्य, मान्यता, आस्था, निष्ठा, सिद्धात, विचारका निम्ती हुन्छ। यसलाई आदर्श,आचरण ,त्याग, तपस्या, वलिदान, संघर्ष जस्ता उच्चतम राजनैतिक कर्महरूले उचाई दिदै वैचारिक मान्यताहरूलाई ब्यबहारमा उतार्छन् र समाजलाई नयाँ सकारात्मक अनि श्रृजनशील दिशा प्रदान गर्दछन्। तर नेपालको राजनीतिमा यि कुराहरू कोरा कल्पनाहरू मात्र भए। विचारलाई ब्यापार बनाउदै ब्यक्तिगत स्वार्थ सिद्ध गर्ने माध्यम  बन्यो राजनीति।
                  नक्कली एकता र नक्कली हाँसो आखिर कतिदिन टिक्थ्यो र !!
नेपालका सबै राजनैतिक दलहरू यि बिकृतिहरूबाट पूर्णत: अछुतो नभए पनि मुख्य रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी र यसभित्र राजनैतिक मर्यादा मूल्य मान्यता सबैलाई कुल्चदै राजनीतिलाई पूर्णतः ब्यक्तित्व बिकासको माध्यम  बनाउदै नेपाली अवसरवादी राजनीतिका शिखर पुरूषको रूपमा उदाएका श्री कमल थापालाई राम्रो
उदाहरणका रूपमा लिन सकिन्छ।

 २०४६ सालको परिवर्तन पश्चात स्थापित राप्रपा राजनैतिक आवश्यकताकै कारण स्थापित भएको थियो। पञ्चायत भित्र थुप्रै ईमान्दार देशभक्तहरू थिए। देशमा काँग्रेस र कम्यूनिस्ट हुन नसक्ने ठूलै जमात थियो। हजारौं कार्यकर्ताले रगत पसिना बगाए। जसको पुष्टी २०५१ सालको मध्यावधि चुनावले राप्रपा लाई सशक्त तेश्रो राजनैतिक शक्तिको रूपमा स्थापित गर्दै त्रिशंकु संसद बनाएर गरेको थियो।उक्त सफलतालाई आत्मसात गर्दै विचारलाई ब्यबहारमा उतार्दै जनविश्वास जित्न लागि पर्नु पर्नेमा "म भए ठिक अरू भए बेठिक" भन्ने सिद्धातलाई आत्मसात गर्दै सिड़्गो पार्टी अगाडी बढ्यो। परिणाम मण्डलेको आक्षेप  र जनआन्दोलन दबाएको आरोप लागेका श्री कमल थापा राजनैतिक सत्ता सौदाका मुख्य सौदागर बने। सत्ता ढाल्नु पल्टाउनु उनको बायाँ हातको खेल बन्यो। यसै क्रममा "मूसा" उपाधिले पनि नेपाली राजनैतिक क्षेत्रमा पहिलो पटक आफ्नै नेताबाट सुशोभित हुन पुगे। राजालाई गलत सल्लाह दिदै अन्तत्वगत्वा राजतन्त्र धरापमा पार्ने काम जानि नजानि गर्न पुगे। राजतन्त्रको राजनैतिक अन्त्य पश्चात हिन्दू धर्म र राजसँस्थाको नारा दिएर समानुपातिकको माध्यामबाट चौथो शक्ति बन्न पुगे। यतिञ्जेल जनताले बिगतका कुरा बिर्सेर अब विचारका निम्ती श्री कमल थापाले केही गर्छन् भनेर आशा गर्दै गर्दा गणतान्त्रीक संविधानमा सही गर्दै उपप्रधान मन्त्री खांदै सबलाई आश्चर्यमा पारे। गणतान्त्रीक संविधानलाई विश्वको उत्कृष्ट संबिधान भन्ने देखि चुनावको ढोल पिटेर गणतन्त्र सँस्थागत गर्नमा कुनै कसर बाँकी राखेनन्। गणतान्त्रीक कालमा पनि मूसा प्रवृतिको पूनरावृति गर्दै एक पछि अर्को पार्टीलाई उपयोग गर्दै धोका दिदै आफ्नो पूर्व उपाधिलाई प्रमाणित गरिदिए।

 यिनै कर्महरूले समानुपातिकको सम्भावना क्षीण हुदै गरेको देखेर पार्टी एकताको नाटक रचेर पार्टी कब्जा गरे। पार्टी कब्जा संगसंगै सर्वसत्तावादी हुकुमी प्रवृति चलाउदै पुराना नेताहरूलाई मान मर्दन गर्दै पाखा लाउन थाले पहिले झैं। डा• लोहनी निस्केर आफ्नो यात्रा तय गरिसकेको अवस्थामा श्री पशुपति समशेर संग धेरै बिकल्पहरू थिएनन्। या त थापाज्यूको सर्वसत्तावादलाई स्वीकारेर आत्मसमर्पण गर्नु पर्थ्यो, या आत्मसम्मानका निम्ती स्वाभिमानको यात्रा थाल्नु पर्थ्यो। श्री राणाले आत्मसम्मानको बाटो रोजे छन्। राणाले त आत्मसम्मानको यात्रा रोजे जहाँ पुग्लान पुग्लान आत्मसमर्पणबाट बचे। तर आत्मसमर्पण गर्दै समानुपातिकको लोभमा थापा कहाँ झुत्ती खेल्न पुगेकाहरू कहाँ पुग्लान  कुन्नी ?



********

सान्दर्भिक केही समाचारहरु: 
पार्टी एकता भएको ८ महिनामा नै राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन 
 पार्टी एकता भएको ८ महिनामा नै राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएको छ। वरिष्ठ नेता पशुपति शम्शेर जबरा नेतृत्वको टोली आइतबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेको छ। पार्टीका ३८ सांसदमध्ये २१ जना सांसदर ६८ जना केन्द्रीय सदस्य सहित नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग आएको सांसद रेशमबहादुर लामाले जानकारी दिए। यद्यपी नयाँ पार्टी दर्ता गर्ने वा के गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए। २०७३ मंसिर ६ गते राप्रपा र राप्रपा नेपाल एकीकरण भएको थियो। एकीकरणपछि भएको महाधिवेशनबाट अध्यक्षमा कमल थापा निर्वाचित भएका थिए। तर पछिल्लो समय सरकारमा जाने या नजाने लगायतका विषयमा भएका विवादका कारण गत साउन ५ गते काठमाडौंमा भएको केन्द्रीय समिति बैठक नेता पशुपति शम्शेर जबरा सहभागी नै भएका थिएनन्। - Thaha Khabar
*******

२२ सांसद लगेर पशुपतिले फेरि फुटाए राप्रपा, कमल थापासँग १५ सांसद मात्रै

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि फुटेको छ। राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर राणाले निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ता गराएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक नाम राखेर दल दर्ता गराएको एक नेताले बताए। उनले २२ जना सांसदसहित नयाँ पार्टी गठन गरेका छन्। निर्वाचन आयोग र संसद सचिवालयमा भने २० सांसादको मात्र हस्ताक्षर बुझाइएको छ ।  
अब कमल थापासंग १५ सांसद मात्र रहेका छन्। पार्टी एकीकरण हुनुअघि थापा नेतृत्वको तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसंग २४ सांसद थिए भने राप्रपासंग १३ सांसद थिए। पार्टी एकीकरण भएको बर्ष दिन नपुग्दै राप्रपा विभाजित भएको हो।
पछिल्लो समय संविधान संशोधनका विषयमा अध्यक्ष कमल थापासंग फरक मत राख्दै आएका राणाले अन्तत पार्टी नै विभाजित गरेका हुन्। राणा संविधान संशोधनका पक्षमा रहेका थिए।
यस्तै अध्यक्ष थापाले एकलौटी रुपमा पार्टी सञ्चालन गरेको आरोप राणाले लगाउँदै आएका थिए। अध्यक्ष थापाले एकलौटी रुपमा पार्टी केन्द्रीय समिति विस्तार गरेको भन्दै राणाले प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्षको कार्यशैलीप्रति आपत्ति जनाएका थिए।
राप्रपा अध्यक्ष थापाको विर्ता नभएको भन्दै राणाले नेतृत्वले कार्यशैली नसच्याए पार्टी विभाजन हुन सक्ने चेतावनी दिएका थिए।
निर्वाचन आयोग र संसद् सचिवालयको सूचना अनुसार २० जना सांसदले कमल थापा नेतृत्वको राप्रपा छोडेर पशुपति शम्शेर राणा नेतृत्वलाई समर्थन जनाएका हुन् ।
 राणा नेतृत्वलाई समर्थन गर्ने सांसद
१, आनन्दी पन्त कञ्चनपुर
२,विराज विष्ट ललितपुर
३,सीता लुइटेल काठमाडौ
४,कमलादेवी शर्मा कास्की
५,धानो महरा सिराहा
६,राजेश्वरी देवी सर्लाही
७,रेशमबहादुर लामा काभ्रे
८,शयन्द्र वान्तवा मोरङ
९,दिपक बोहोरा रुपन्देही
१०,रमेश कुमार लामा सिन्धुपाल्चोक
११,सरोज शर्मा काठमाडौ
१२,सुनिलबहादुर थापा धनकुटा
१३,गीता सिंह बाँके
१४,रामकुमार सुब्बा सुनसरी
१५,लिलादेवी श्रेष्ठ इलाम
१६,बबिना मोक्तान पाँचथर
१७,इस्तियाक अहमद खान रुपन्देही
१८,विक्रम पाण्डे चितवन
१९,राज्यलक्ष्मी श्रेष्ठ नुवाकोट
२०,लक्ष्मी थापा पासवान धनुषा - Annapurna 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक