20170814

नेपाल पत्रकार महासंघको आशन्न महाधिबेशनमा अध्यक्षमा भिडदै पत्रकार तीर्थ कोइराला । सम्पूर्ण पत्रकारलार्इ सहयोग गर्न आग्रह

पत्रकार तीर्थ कोइरालाले पत्रकार महासंघको अध्यक्षमा उमेदवारी प्रस्तुत गरेका छन् । उनले सोमबार विज्ञप्ति जारी गर्दै भदौ ४ र ५ गते हुने महाधिवेशनमा अध्यक्ष पदमा उमेदवारी घोषणा गरेका हुन् । अहिले पत्रकारले पेशाको मर्यादा नराख्दा नै पत्रकारितामाथि प्रश्न उठेकाले सबै पत्रकार त्यस्ता हुँदैनन् भन्ने सन्देश दिन पनि आफूले उमेदवारी दिएको बताएका छन् । उनले सम्पूर्ण पत्रकारलार्इ सहयोग गर्न पनि आग्रह गरेका छन् ।
कोइरालाले जारी गरेको विज्ञप्ति 
प्रिय पत्रकार मित्रहरु
आज म जुन भावनाका साथ उभिएको छु, बहुसंख्यक मित्रहरु पनि यही भावनाका साथ टक्क अडिनु भएको हुनुपर्छ- अबको पत्रकारिताको बाटो कुन हो, कता लाने हो र कता लाग्ने हो ? यस्ता प्रश्नहरुको उत्तर खोज्दै । पत्रकारिता अब विशुद्ध पत्रकारको मात्र रहेन, सरकार र राजनीतिक दलहरुको
मिशनमुखी मात्र पनि रहेन । अब यो पत्रकारका लागि पेशावृत्ति बन्यो र व्यवसायीका लागि नाफाका साथै राज्य र समाजलाई वशमा राख्‍ने व्यवसाय पनि बन्यो । हामी उभिएको अवस्था यही नेर नै हो । यो उपलब्धिसँगै खडा भएको चुनौति हो ।
हिजोका दिनमा नेपाली पत्रकारिता जगत यति जटिल थियो भन्ने मलाई लाग्दैनथ्यो । सम्भवत हाम्रा अग्रज पत्रकारहरुले यस्ता जटिलताहरुलाई समाधान गर्दै हामीलाई सरल र सुगम बाटो बनाई दिनु भएकोले होला । हामी सोही बाटोमा चुपचाप हिड्यौं । २०४६ को राजनीतिक परिवर्तन अघि हाम्रा अग्रज पत्रकारहरुले हामीलाई आत्मसात् गराउनु भयो कि, प्रजातन्त्रमा सबै बिषय र गतिविधि प्रजातान्त्रिक मूल्य र मान्यता अनुसार नैं चल्दै जाने छन् । 
हामीले यस्तै स्वाभाविक सोचाई राख्यौं । प्रजातान्त्रिक मान्यता अनुरुप तपाई हामीले विश्वास गर्‍यौं कि पेशागत संगठनहरु सामाजिक संघ संस्थाहरु कर्मचारीतन्त्र सबैले आफ्नो मर्यादामा चल्नु पर्छ । र, राजनीति र पेशा व्यवसायबीच आपसमा सद्भाव सहयोगको अपेक्षा गर्नु जायज छ । तर हाम्रा कथन, मान्यता र विश्वासहरु कताकता बरालिए जस्तो देखियो । पत्रकारिता र राजनीति छ्यासमिस भयो । पत्रकारिताको समाजप्रतिको उत्तरदायित्वलाई नाफामुखी व्यवसायले अँचेट्यो, र मुलुकको राजनीतिलाई मूलप्रवाहीकरण गर्ने पत्रकारिता दलीय खोल्सामा माछा मार्न थाल्यो । यस्तो पनि देखियो कि मुलुक र राष्ट्रले तय गरेको मार्गमा पत्रकारिताले कतिपय घटनामा जनसमुदायलाई दीक्षित गर्नुको बदला भ्रमित गरायो । यो मेरो समीक्षा मात्र हो । यो कसैप्रतिको मेरो आग्रह वा विरोध होइन । पत्रकारिता र यसका मूल पात्र पत्रकार विचारविहीन हुन्छ वा दृष्टिकोण र सिद्धान्त नभएको हुन्छ वा हुनुपर्छ भन्ने  कदापि होइन । पत्रकार स्पष्ट विचार सिद्धान्त भएको हुनुपर्छ र मुलुकले तय गरेको मार्गलाई फराकिलो बनाउने कार्ययोजनाका साथ उसले संचार गर्नु पर्छ । यसो गरे पत्रकारिताले विश्वसनीयता गुमाउने छैन । एक अग्रज पत्रकारका शब्दमा “अहिले  पत्रकारले पेशाको मर्यादा राख्न नसकेकैले पत्रकारिता माथि प्रश्न उठ्न थालेको छ । " चिन्ता यहि हो । सबै पत्रकार यस्ता छैनन् र पत्रकारिताको आमचरित्र पनि यस्तो होइन ; तर  केहीमा यो प्रवृत्ति देखिनाले समग्र पत्रकारिताले आक्षेप खेप्नु परेको छ र पत्रकारिता विश्वास गुमाउने दिशातर्फ उन्मुख भइरहेको छ। 
अहिले हरेक दलका नीति योजना र प्रचार प्रभावकारी बनाउन प्रचार संयन्त्र छन् प्रेस संयोजक वा प्रचार विभाग प्रमुख छन्, यो राम्रो पक्ष हो । दलहरुका भातृसंगठनहरु सरह पत्रकार संघ संगठन युनियन, चौतारी मञ्च वा सेन्टर पनि खुला रुपमा रहेका छन्, ती हाम्रो देशको पत्रकारितामा पक्षधरता देखिने देखाउने जिउँदा सत्यहरु हुन् । उनका गतिविधि, तीनले दिने अभिव्यक्ति, क्रिया र प्रतिक्रिया स्पष्ट उनका माउ संगठनसँग मिल्दाजुल्दा हुन्छन् जसलाई सोही ढंगले हेरिन्छ यसमा कुनै लप्पनछप्पन पनि रहदैन । तर जब हामी ती भातृ संगठन भन्दा फरक संघ संस्थाको कुरा गर्छौ तिनको गरीमा र निस्पक्षता कायम राखिनु पर्छ । यसका लागि नेपाल पत्रकार महासंघलाई सत्ता राजनीतिको गठबन्धनबाट मुक्त मञ्च भइरहन दिनु पर्छ  भन्ने मेरो स्पष्ट अडान रहदै आएको छ । राजनीतिक सद्भावसहित पेशागत मर्यादा र मान्यतायुक्त पत्रकार महासंघ बनाउनै पर्छ । यसो गरिएन भने पत्रकार महासंघको अझ हामी हरेक पत्रकारको विश्वसनीयता र इज्जतको एकमुष्टमा हत्या हुनेछ, साथै दलहरुको पनि । 
त्यसैले अहिलेको आवश्यकता भनेको बृहत लोकतन्त्रमा विश्वास राख्ने तर दलीय राजनीतिको दैनिक खेल भन्दा अलि परको महासंघ हो । हामी दलीय व्यवस्थामा भएकै कारणले महासंघको निस्पक्षता जोगाउन आवश्यक हुन्छ । कुनै एउटा दलको पक्षधर होइन कुनै दल विशेषको राजनीति भन्दा पर रहेर बेलाबखत आइपर्ने दलहरुबीचको असमझदारी हटाउन मद्दत गर्ने, बेलाबखत दलहरुलाई मार्गदर्शन गर्ने जस्ता मध्यस्थकर्ता वा मार्गदर्शकको भूमिका पनि निर्वाह पनि गर्नु पर्ने हुन्छ । कतिपय अवस्थामा सञ्चार अनूगमन गर्ने, निर्वाचन पर्यवेक्षण, राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका घटनामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने, अनुसन्धान, बिश्लेषण र कुनै पनि बिषयमा यसले दिने प्रतिक्रिया टिप्पणीलाई सच्चा न्यायालयबाट आउने ठहर सरहको मान्यता पाउने अवस्था कायम राख्न सक्यो भने मात्र प्राप्त लोकतन्त्रले पनि स्थायित्व प्राप्त गर्न सक्छ । स्थायी प्रजातन्त्र विना प्रेस स्वतन्त्रताको कल्पना गर्न सकिदैन र स्वतन्त्र पत्रकारिता विना लोकतन्त्रले स्थायित्व पनि प्राप्त गर्न सक्दैन ।
यसबेला नेपाली पत्रकारितामा अकल्पनीय प्रविधि, उल्लेखनीय पूँजी र उत्साहजनक ढंगले जनशक्ति आकर्षित भएको छ । तर यस्ता अवसरहरुसँगै हाम्रा सामू जटिल प्रश्नहरु उव्जिएका छन्, जुन माथि उल्लेख गरिएका भएपनि दोहोर्‍याउन चाहन्छु । कतै पत्रकारिताले विश्वसनीयता गुमाउदै गएको हो कि ? बढी राजनीतिकरण भएको हो कि ? व्यवसायिक हुने नाउँमा व्यापारले बढी थिचेको हो कि ? भाषा, शिप, शैली र खोजमा पत्रकारिता कमजोर हुँदै गएको हो कि ? जस्ता प्रश्न मात्र होइन हामीलाई बेलाबखत जागिरमुखी बनेको र आफ्नैं देश पृष्ठभूमि र परिवेश नबुझेको आरोप पनि लाग्न थालेको छ । अर्कातिर महिना बितेर तलबको आशामा भौतारिनु पर्ने अवस्था पनि हामीबीच कम पीडादायी रुपमा रहेको छैन । आएको प्रविधिमा कुशल हुनु पर्ने चुनौती एकातिर छ भने अर्कातिर सानो ठूलो जुन लगानी आएको छ त्यसलाई सुरक्षित गर्ने परिस्थिति तर्फ सोच्नु पर्ने पनि कर्तव्य थपिएको छ । पत्रकारको दक्षता अभिवृद्धि गरेर विश्वसनीयता बढाउनु र पेशागत सुरक्षा तथा प्रेस स्वतन्त्रताका खातिर प्रजातन्त्रको पहरेदार पनि बन्नु परेको छ । यसरी हेर्दा नेपाल पत्रकार संघको स्थापनाकालदेखि पत्रकार महासंघ पछिल्लो कालखण्डसम्म जारी लडाईं यसरी नयाँ परिवेसमा प्रवेश गरेको देखिन्छ । 
यीनै अबस्था र मान्यता भित्र रहेर महासंघको लागि अबको नेतृत्व निर्माण गर्ने सहमतिका लागि म केही प्रमुख दल र तिनका सम्बद्ध संगठन समक्ष पुगेर प्रयाश पनि गरें। उहाँहरु यस बिषयमा सहमत भए पनि यसलाई परिणामको तहमा पुग्ने गरी प्रस्तुत हुनु भएको छैन। तर मेरो आशा पनि मरेको छैन । त्यसैले दलहरुको सद्भाव कायम राख्दै प्रजातान्त्रिक/लोकतान्त्रिक मूल्य मान्यता अनूकुल पत्रकार महासंघको स्वत्व जोगाएर अगाडि बढ्ने नेतृत्व चयन गर्न पत्रकारहरु आफैं सक्षम छन् भन्ने कुरा सिद्ध गर्ने चुनौति तपाईं हाम्रा सामू खडा भएकोछ । विगत छ दशक भन्दा लामो इतिहास बोकेको महासंघ यसबेला आफ्नैं भवनमा छ, श्रमजीवि पत्रकार ऐन कार्यान्वयन र पत्रकारको न्यूनतम पारिश्रमिकको बिषयमा उल्लेखनीय काम भएका छन् विमा र औषधि उपचारका कामले सार्थक रुप लिदै गएका छन् अग्रज पत्रकारलाई सांकेतिक भए पनि सुविधा दिलाउने काम भएका छन् । स्वतन्त्रताको लडाईं सकिदै गएपछि भएका यी र यस्ता उपलव्धिलाई अझ प्रभावकारी बनाउदै जानु पर्ने छ । तपाईं हाम्रो थप प्रयाशले मात्र यो सम्भव छ भन्ने विश्वासका साथ म तपाईं सामू उपस्थित  भएको छु । यहि विश्वास बोकेर यी र यस्तै चुनौतिको सामना गर्ने उद्धेश्यका साथ मैले नेपाल पत्रकार महासंघको आगामी भाद्र ४ र ५ गते हुने महाधिवेशनमा आफू अध्यक्ष पदको उम्मेद्वार बन्ने निर्णय गरेको छु । 
मेरो पृष्ठभूमि सबै सामू खुला छ मेरो पक्ष वा विपक्षमा उभिन तपाईं पनि स्वतन्त्र हुनुहुन्छ । हाल मेरा लागि सबै राजनीतिक सिद्धान्तमा विश्वास राख्ने सबै दल संगठन र व्यक्ति समान हुनुहुन्छ । अन्त्यमा म के स्मरण गर्न र गराउन चाहन्छु भने, मैले मेरो पेशागत जीवनमा आफ्नो कामका सिलसिलामा कही कतै कहिल्यै आग्रह राखेर समाचार सम्प्रेषण गरेको र गर्न लगाएको छैन । तर तपाईँले तथ्यका आधारमा सार्वजनिक जीवनमा रहनेहरुका गतिविधि असल वा खराब भन्नु पत्रकारिताको धर्म हुनेछ जुन धर्म मैले पनि निर्वाह गर्दै आएको छु । यसबाहेक पटक पटक मैले नेतृत्व गरेका नेपाल वातावरण पत्रकार समूह र नेपाल प्रेस इन्ष्टिच्युट समेत म जहाँ जहाँ कार्यरत रहें राजनीतिक आग्रह विना सञ्चालन गरेको अग्रज पत्रकार, सहकर्मी साथीहरु जानकार हुनुहुन्छ । यसर्थ मेरो जीवनका ३४ वर्ष विताएको पत्रकारिताको मूल्य मान्यता कायम राख्दै यसलाई अझ समुन्नत तुल्याउँदै संस्थागत प्रयाशमा जुट्ने मेरो अठोटमा सबैले पत्रकारको मत पत्रकारलाई भन्ने मान्यतामा रहेर आ-आफ्नो स्थानबाट सद्भाव सहयोग र आफ्नो अमूल्य मतदिनु हुने अपेक्षा गरेकोछु । 
धन्यवाद ।        
तीर्थ कोइराला
२०७४ साउन ३०
काठमाडौं ।
*******
यदी कोइरालाले जिते भने महासंघले सहि नेत्रित्व पाउने छ भन्ने कुरामा नेपाल मदर डट कम पूर्ण बिश्वस्त छ र उनको उमेदवारीलाई नैतिक समर्थन गर्दै हार्दिक शुभेक्षा ब्यक्त गर्दछ ।    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक