(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20171006

वाम एकता : प्रचण्डको आखिरी चमत्कार - प्रदीप गिरी

(प्रदीप गिरीले कहिलै हावादारी बोलेको, लेखेको हामीले पाएका छैनौँ । यिनी जत्तिको राजनीति बुझेको काङ्रेस हामीले अर्को देखेका पनि छैनौँ । हाम्रो  मन भित्रको कुरा जुन हामी लिपिबद्ध गर्दै थियौँ आज प्रदीप गिरीले लेखी भ्याएछन । बिश्लेशण होस् त यस्तो । हरेक नेपालीले पढ्नै पर्ने बर्तमान नेपाली राजनीतिको एउटा वास्तविक बिश्लेशण । समसामयिक लागेर यहाँ प्रस्तुत गरिएको छ - सम्पादक )
२०७४-काठमाडौं उपत्यका सधैं रोमाञ्चको प्रतीक्षामा रहन्छ । तदनुरूप नेकपा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल यस साता छापाहरूका बिकाउ समाचार भएका छन् । माओवादी अध्यक्ष प्रचण्डको १२ वर्षअघिको त्यो अवतरण यस्तै हर्षबढाइँसाथ भएको थियो । प्रवासी प्रचण्ड एक करिश्मायी व्यक्तित्वको रूपमा प्रकट भएका थिए । रूपान्तरण खोजिरहेका सबैथरीका नेतृत्व वर्गले प्रचण्डको खुला हृदयले स्वागत गरेका थिए । प्रधानमन्त्री प्रचण्डले नेपाललाई अर्को स्विट्जरल्यान्ड बनाउने सपना दिएका थिए । तर काठमाडौं उस्तै छ । अब प्रस्तावित कम्युनिस्ट एकताले आगामी संसद्मा दुई तिहाइ बहुमत दिने अरे । त्यसपछि काठमाडौं अमरावती हुनेछ । भानुभक्तले उहिल्यै काठमाडौंलाई ‘अलकापुरी कान्तिपुरी नगरी’ त्यसै भनेका थिएनन् । ‘राष्ट्रवादी’ र ‘साम्यवादी’ नेताद्वयले भानुभक्तको सपना साकार गर्न खोज्नु सर्वथा बुझ्न सकिने
कुरा हो ।
लामो समयदेखि नेपाल एक स्थिर र जड समाज थियो । यस्तै समाजले चमत्कारको प्रतीक्षा गर्छ । त्यस्तै चमत्कारको आशा देखाएर माओवादीको जनयुद्ध उचाइमा पुगेको थियो । त्यस उचाइको प्रवेगमा उम्लिएर प्रधानमन्त्री प्रचण्डले एकसाथ पशुपति, सेनापति र राष्ट्रपतिलाई तह लाउन खोजेका थिए । सकेनन् । परिणामत: उनी सत्ताच्युत भए । दोस्रोपटक सत्तामा उनी किन र कसरी आए, सबैलाई थाहा छ ।

कम्युनिस्ट एकताको सम्भावनाले प्रजातान्त्रिक कित्ता आत्तिएको हो कि जस्तो देखिएको छ । नेपाली कांग्रेसले बृहत् प्रजातान्त्रिक मोर्चाको प्रस्ताव अघि सारेको छ । देशी/विदेशी शक्तिहरू पनि प्रस्तावित कम्युनिस्ट एकीकरण र बृहत् प्रजातान्त्रिक मोर्चामा आफ्नो जित वा हार देख्दै होलान् । यतिसम्म ठीकै छ । तर राजनीतिक परिवर्तनको वास्तविक प्रक्रियातर्फ पनि ध्यान दिनु उत्तिकै आवश्यक छ । 
जनताको स्मरणशक्ति दीर्घकालीन हुँदैन । लाहुरे आर्थिकीको दलदलमा भासिएको छ, नेपाल । गाँस, बास र कपासको महाभारतमा प्रत्येक नेपाली आकण्ठ डुबेको छ । त्यसैले जनताले हाम्रा नेताहरूको चटके चालबाजी आजको भोलि नै बिर्सन्छन् । यसमा कुनै आश्चर्य भएन । तर राजनीतिक विश्लेषकहरूले यस्ता चटकबाजीको निहितार्थ बुझ्नु र बुझाउनुपर्छ । एउटा मोटरका चालकले गाडीको गतिशास्त्र नबुझ्दा पनि काम चल्छ । तर गाडीको मोडल फेर्न खोज्ने अभियन्ताले अध्ययनशील हुन आवश्यक छ ।
सर्वप्रथम बुझ्नुपर्ने एउटा कुरो छ । लोकतान्त्रिक राजनीति कुनै एक दिनमा चामत्कारिक ढंगले परिणाम दिने व्यवसाय होइन । संसदीय राजनीति भाग्योदय चिठ्ठा होइन । स्वस्थानी व्रतकथाका नवराजलाई हात्तीले माला लगाइदिएको थियो । कलियुगको चौथो चरणमा यो हुँदैन । समसामयिक राजनीति लिगलिगे दौड पनि होइन । दोस्रो जनआन्दोलनको सफलतापछि प्रचण्ड ठूलो हावाहुरीसाथ राजनीतिक क्षितिजमा उदाएका थिए । त्यसैको आस प्रकाशमा माओवादी पार्टीले २०६४ सालको संविधानसभा चुनावमा अप्रत्यासित विजय प्राप्त गर्‍यो । पछि मधेसको पक्षमा उर्लिएको समर्थनले त्यसरी नै केही मधेसी दलहरू हौसिएका थिए । उक्त दुवै सफलतापछि आ–आफ्नो हैसियत र ठाउँमा उभिन पुगे । राज्य र राजनीतिभन्दा धेरै बलियो समाज र संस्कृति हुन्छ । कम्युनिस्ट एकताको तात्कालिक उल्लास र त्रासले त्यो कुरो बिर्सनु हुंँदैन । 
मौका–कुमौकामा नेताहरूमाथि पुष्पवृष्टि भइरहन्छ । रामराजाप्रसाद सिंह र गणेशमान सिंहमात्र होइन, प्रचण्ड र गिरिजाप्राद कोइराला पनि पुष्पवृष्टिका दाबेदार हुन्छन् । अहिले प्रचण्ड र ओलीमाथि कथित कम्युनिस्टहरूले पुष्पवृष्टि गर्नैपर्छ । उतिबेला नेपाली कांग्रेस फुट्दा प्रजातान्त्रिक पक्षका नेताहरूउपर यस्तै पुष्पवृष्टि भएको थियो । जुट्दा पनि भयो । नेताहरूका उपर जुट्दा पनि र फुट्दा पनि पुष्पवृष्टि हुन्छ । त्यो हुनैपर्छ । नत्र पुष्प व्यवसाय शिथिल हुन्छ । वृष्टिकर्ता बेरोजगार हुन्छन् । गहिरिएर हेर्नेले यस परिदृश्यबाट भ्रमित हुनु हुँदैन । व्यक्ति, व्यतित्व र दलहरू राजनीति र इतिहासको आदि र अन्त्य होइनन् । वर्ग, जाति, प्रजाति, लिंग र जातीयता समाजका प्रभावशाली वास्तविकता हुन् । राष्ट्रिय राज्यको भू–अवस्थिति अर्को अकाट्य तथ्य हो । 
२०६४ पछि भएको २०७० सालको संविधानसभा चुनावमा नेकपा माओवादी नराम्ररी पराजित भयो । पराजयको त्यस पीडाले तिलमिलाएर प्रचण्डले चुनाव बहिष्कारसम्मको धम्की दिए । धन्न उनी सम्हालिए । थोरै मात्र सिट लिएर पनि संसदीय राजनीतिमा प्रधानमन्त्री भएर देखाउन उनी सफल भए । तर त्यो उनको व्यक्तिगत उपलब्धि थिएन । सत्ता राजनीतिमा आकण्ठ डुबेको सम्भ्रान्त वर्गको सततको बुभुक्षा थियो । त्यस बुभुक्षालाई निम्न मध्यम वर्गको हतार र हतासको चाहनाले मलजल गर्छ । त्यो परिस्थिति अझै यथावत् छ । महत्त्वाकांक्षी प्रचण्ड यसपटक फेरि ओलीका शरणमा पुगेका छन् । शरणदाता र शरणार्थीको यो नयाँ गठबन्धनको भविष्य के हुन्छ, अहिले भन्न सकिँदैन । तर प्रचण्डको यसपटकको यो शीर्षासन अथवा ‘एवाउट टर्न’ ले उनको राजनीतिक विश्वसनीयतालाई आखिरीपटक मरणासन्न बनाएको छ । तर उनको पोल्टामा मात्र सारा दोषारोपण अटाउँदैन । एमाले र कांग्रेस आपैंm पालोपालो उनीसँग लगनगाँठो कस्न तम्सिएका हुन् । सैद्धान्तिक आधारको कुनै आवरण र आभाससमेत छैन । अंकगणित नै सबकुछ हो भनेर हिजो शेरबहादुर र आज ओली जोसिनुभएको छ । पुर्खाको पुण्यले होला, कांग्रेस उम्किएको छ । ओलीको हौसला भोलि देखिएला ।
यसपटकको चुनावको परिणाम के हुनेछ भनेर प्रचण्ड सारै आत्तिएका थिए । त्यसो हुँदा उनी विगत एक महिनादेखि हारगुहार गर्दै थिए । आगामी संसद्मा मेरो सम्मानजनक उपस्थिति हुनुपर्‍यो भन्न उनी कहीँ चुकेका थिएनन् । उनले यो कुरा कांग्रेस सभापति शेरबहादुर देउवालाई अनेकौंपटक भने । त्यति मात्र होइन, प्रचण्डको स्वभावअनुसार उत्तर–दक्षिणसँग पनि सम्पर्क गर्न भ्याएको हुनुपर्छ । प्रचण्डको यो अत्याहट नितान्त स्वाभाविक थियो । मान्छेले जोगी बन्न राजनीति गर्दैन । प्रधानमन्त्री पदका दाबेदारले कसैले गर्दैन । प्रचण्डलाई आगामी संसद्मा त्यस्तै परे प्रधानमन्त्रीसमेत बन्न पुग्ने सिट चाहिएको छ । यसपटक उनको त्यो अभीष्ट पूरा होला त ?
राजनीतिक दललाई अंग्रेजीमा ‘पार्टी’ भनिन्छ । समाजको एक हिस्सा अर्थात् ‘पार्ट’ भएकाले राजनीतिक दललाई ‘पार्टी’ भनिएको हो । माओवादी केन्द्र अझै पनि नेपाली समाजको स्वाभाविक अंग भएको छैन । कांग्रेस र एमाले भइसकेका छन् । सशस्त्र विद्रोहको त्रास, आसमा ०६४ को चुनावमा माओवादीले धेरै सिट ल्याएको अवश्य हो । तर नेपाली समाजमा वा अन्तर्राष्ट्रिय जगत्मा पनि प्रचण्डको क्रियाकलाप अझै पनि प्रश्नवाचक रहेका छन् । यसपटकको नाटकीय फड्कोपछि प्रचण्डको बेचैनी एउटा बिसौनीमा पुग्न सक्छ । माओवादी केन्द्रले भने त्यसको ठूलो मूल्य तिर्नुपर्छ । 
अहिलेको यो प्रस्तावित चुनावी तालमेल सत्ताको तृष्णा मात्र हो । कम्युनिस्ट एकताको कुरा सर्वथा हास्यास्पद हो । भूमण्डलीकरणको हुरीमा आकण्ठ डुबेका मित्रहरूले यो कम्युनिस्टको नाम कति दिनसम्म भजाउन सक्लान् ? यसको अर्थ कांग्रेस वा उसले बनाउन खोजेको प्रजातान्त्रिक मोर्चा भने चोखो र चुस्त हुनेछ भन्ने होइन । प्रचण्ड र ओलीको त नाम र काममा साम्य छ, साम्यवाद छ । प्रस्तावित प्रजातान्त्रिक मोर्चाको बारेमा झन् धेरै प्रश्न उठ्न सक्छन् । प्रजातान्त्रिक मोर्चाको सिद्धान्त पनि भूमण्डलीकरणबाट नि:सृत भएको छ । कांग्रेसले बीपी कोइरालाको वैचारिक उत्तराधिकारलाई सम्झिदिएको भए यस्तो बिजोग हुने थिएन । कांग्रेसका नेताहरूले आफ्ना अर्थनीतिको तर्जुमा कर्मचारीतन्त्रका भरमा गरे । त्यो नहुँदो हो त कम्युनिस्टका नाउँमा यत्रो शक्ति एकत्र हुने थिएनन् । तर यति भएर पनि प्रजातान्त्रिक समाजवादको सम्झना मात्र पनि कतै छ भने बस कांग्रेसमा छ । 
विगतका कमी–कमजोरीका निम्ति कांग्रेससँग थुप्रा स्पष्टीकरण होलान् । बहुदलीय व्यवस्था आएलगत्तै पछि संसद्मा कांग्रेस–कम्युनिस्टको टकराव सुरु भयो । कांग्रेसभित्र आत्मघाती कलह सुरु भयो । कांग्रेस आत्मघाती कलहको सिकार भयो । त्यसपछि मध्यावधि निर्वाचन, माओवादीको जनविद्रोह, त्यसै क्रममा राजा वीरेन्द्रको हत्या, कांग्रेसको फुट, त्यसपछि माओवादीलाई मूलप्रवाहमा ल्याउने ऐतिहासिक अभियान । कांग्रेसले भन्न सक्छ— सासै फेर्ने फुर्सद पनि भएन नि त † यस चुनावपछि कांग्रेसले सास फेर्न सक्छ कि ? यही भनेर यसपल्ट कांग्रेसले भोट माग्ला । तर अहिले कांग्रेसले पनि बुझ्नुपरेको छ— पार्टीहरू मिल्दैमा उनीहरूका कार्यकर्ता मिल्दैनन् । प्रधानमन्त्री देउवाको एउटा थेगो छ, ‘पोलिटिक्स इज अल लोकल’ भनेर जपिरहन्छन् । टिकट बाँड्ने बेलामा सभापतिले यो सम्झन आवश्यक छ । अझ सम्झनुपर्ने अर्को कुरो छ— एउटा दलको सबै भोट अर्कोमा सरक्क जाँदैन । भोटको राजनीति मुख्यत: स्थानीय तहमा टुंगो हुन्छ । एमालेले ल्याउँदै गरेको भोट सबै माओवादीलाई जाँदैन । न त माओवादीको भोट नै एमालेलाई जान्छ । 
कुनै पनि राजनीतिक एकता यान्त्रिक ढंगबाट अगाडि बढ्दैन । शीर्षस्थ नेताहरूले अंकमाल गरेर फोटो खिचाउँदैमा पार्टीभित्र वा पार्टी–पार्टीमाझ एकता कायम हुँदैन । त्यसो हुँदो हो त कांग्रेसका नेतात्रयको झगडा उहिल्यै सुल्झिन्थ्यो । एकता एक सुदीर्घ राजनीतिक प्रक्रिया हुनुपर्छ । राजनीतिक प्रक्रिया विचारविहीन हुन सक्दैन । विचारको आलोकमा अगाडि सारिएका कार्यक्रम र कार्यपद्धतिको स्वीकृतिले एकतालाई विश्वसनीय बनाउँछ । लोकतान्त्रिक मोर्चामा कांग्रेसको विचार अस्वीकार्य छैन । त्यो एउटा उज्यालो पक्ष हो । तर माओवादी र एमाले आ–आफ्ना विचारकै बारेमा अलमलमा छन् । माओवादीको प्रचण्डपथ र एमालेको बहुदलीय जनवाद कर्मकाण्ड मात्र रहन गएको छ । दसैंको टीकामा प्रचण्डले प्रचण्डपथको विकल्प भेटेका हुन् त ? यो हो भने ठीकै छ । उनी एक खाँट्टी परम्परावादी पार्टीका रूपमा चुनावमा जान सक्छन् । उनको पार्टीका आदर्शवादी र जुझारु कार्यकर्ता उनीसँग रहने छैनन् । मोहन वैद्य, सीपी गजुरेल र विप्लवको समूह यस एकीकरणबाट लाभान्वित हुन सक्छन् । 
अब यसपल्टको यो चुनाव वैचारिक आधारमा उठिएला भन्ने आशा छैन । यसपटकको चुनावको रंगरूप र परिवेशका निम्ति प्रचण्ड नै उत्प्रेरक तत्त्व भए । जाँदाजाँदै पनि उनी यति गरेर नै जाने भए । उनको राजनीतिक जीवनको आखिरी चमत्कारका रूपमा यो चुनाव नेपाली इतिहासमा दर्ज गरिनेछ ।
होइन भने जे भएको छ— ती सबै सत्ताको लडाइँ मात्र हो । त्यसको परिणाम हेर्न धेरै पर्खनुपर्ने छैन । सय दिनभित्र नै सबकुछ स्पष्ट हुनेछ । एउटा कुरा भने अहिले नै स्पष्ट छ । जनयुद्धका नाममा हजारौंलाई बलिदानका निम्ति प्रेरित गर्ने प्रचण्ड अब एक सामान्य राजनीतिकर्मीमा खुम्चेका छन् । एउटा जनपक्षीय सपना स्खलित भएको छ । 
यो स्खलन एक दिनमा भएको होइन । जनयुद्धका शुभाकांक्षी सबैले हेर्दै थिए, देख्दै थिए । प्रचण्ड मक्किँंदै गएका थिए । एक विस्फोटका साथ उनको प्रस्थान होला जस्तो लागेको थियो । तर उनी मक्किएर पो हिँडे । यस्तै परिस्थितिलाई लिएर टी.एस. इलियटले लेखेका थिए :
दिस इज द वे द वल्र्ड एन्ड्स
दिस इज द वे द वल्र्ड एन्ड्स,
दिस इज द वे द वल्र्ड एन्ड्स
नट विद अ व्याङ वट अ ह्विम्पर ।
    – द होलो मेन
प्रकाशित: आश्विन २०, २०७४


साभार : कान्तिपुर  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक