20171110

नयाँ दिल्लीमा वायुमण्डलमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित, सयौँ दुर्घटना, लाखौं बिरामी, सुरक्षित मापदण्डभन्दा ७० गुणा बढी !

नयाँ दिल्ली । वायुमण्डलमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँ दिल्लीमा सरकारले तुवाँलो हटाउने उपायस्वरुप केही पहल सुरु गरेको जनाइएको छ । वायुमण्डलमा देखिएको प्रदुषणको समस्या शुक्रबार पनि हटेको छैन । विज्ञहरुकाअनुसार प्रदुषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित मापदण्डभन्दा ७० गुणासम्म बढी देखिएको छ । वायु प्रदुषणको अवस्था सुधारका लागि विशेष पहल गर्न नागरिकले सरकारलाई विशेष आग्रह गरेका छन् । सोही बमोजिम सरकारले यही सोमबारदेखि जोर बिजोर नम्बरका मात्र सवारी चलाउन पाउने नियम बनाएको छ । यसले वायु प्रदुषणको मात्रामा केही कमी ल्याउने अनुमान पनि गरिएको छ । बुधबारदेखि बन्द गरिएका नयाँ दिल्लीका सबै प्राथमिक विद्यालयहरु प्रदुषणको अवस्था सुधार नहुदासम्म नखोल्न भनिएको छ । त्यस्तै दिल्ली र दिल्लीसँग जोडिएका राज्यका मुख्यमन्त्रीहरुको
बैठक बोलाई समस्या समाधानका लागि पहल थाल्न सरकारले आग्रह पनि गरेको छ ।
दिल्ली सरकारले दिल्ली यातायात कर्पोरेशनलाई पाँच सय बस भाडामा लिएर जोर विजोर नियम लागू भएको समयमा राजधानीको आवतजावतमा नागरिकलाई सुविधा दिन पनि आग्रह गरेको छ ।
नयाँ दिल्लीका उप मुख्यमन्त्री मनिष सिशोडियाले दिल्ली सहरमा प्रत्येक घण्टामा प्रदुषणको स्थितिबारे मापन र निरीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
त्यस्तै केही समयका लागि दल्लीमा अवस्थित विद्यालय तथा अन्य संघसंस्थाहरुलाई बाहिर खुला ठाउँमा सार्वजनिक कार्यक्रम एवम् गतिविधि सञ्चालन नगर्न आग्रह गरिएको छ ।
भारतीय मेडिकल संघ आईएमएले जनस्वास्थ्यमा आपतकालको अवस्था रहेको बताएको छ । उक्त संघले प्रदूषणले उत्पन्न गरेको वर्तमान जोखिम कमगर्न आवश्यक प्रयासका लागि आह्वान गरेको छ ।
दिल्ली सरकारले बुधबार नयाँ दिल्लीमा जनस्वास्थ्य सङ्कटकालको घोषणा पनि गरेको छ । त्यसैकारण पनि सार्वजनिक स्थलमा हुने खुला कार्यक्रमहरु कम भएका छन् ।
राजधानी नयाँ दिल्लीमा प्रया जाडो महिना सुरु भएपछि यसैगरी बाक्लो तुवाँलो आउने गर्दछ । केही बर्षयतादेखि नयाँ दिल्लीको वायु प्रदुषणको मात्रा बढ्दै जान थालेकोले यस्तो समस्या देखिएको बताइएको छ ।
नयाँ दिल्लीको औद्योगिकरण, फोहोर र सवारी साधनको चापलाई वायु प्रदुषणको प्रमुख कारकका रुपमा लिने गरिएको छ ।
स्वास्थ्यका अधिकारीहरुले अरु एक दुई दिनमात्र पनि यसैगरी तुवाँलो नहट्ने हो भने यसले नागरिकको स्वास्थ्यमा समस्या देखिन सक्ने अवस्था रहेको बताएका छन् । (रासस/सिन्ह्वा)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक