रमा मगर / अरु दिन जस्तै त्यो दिन पनि काठका मुढा मेसिनसम्म पुर्याउन भ्याइनभ्याई थियो चन्द्रबहादुर खत्री सहितका कामदारलाई । ‘विदेशमा मान्छेको ज्यान भन्दा काम प्यारो हुने के गर्नु’ चन्द्रबहादुरकै भनाईबाट उहाँले मलेसियामा गर्नुपर्ने दुःख दर्शाइरहेको थियो । अण्डा टिप्ने काम अनि तलब ९ सय रिंगिट भनेर मलेसिया पुगेका चन्द्रबहादुरले गोरु पालिएको फर्ममा घाँस काट्ने काम गर्नुपर्यो । अनि तलब पनि भनेको भन्दा आधा नै कम मात्रै ।
४८० रिंगिट मात्रै पाउँदा चन्द्रबहादुर निराश हुनुहुन्थ्यो । तर जाँदा लिएको १ लाख १० हजार रुपैयाँ ऋण तिर्नुपर्ने बाध्यता अर्कोतिर परिवार आर्थिक अवस्था । दुईतिरको बाध्यताले न उहाँलाई बोल्न सक्ने आँट दियो न त काम छोडेर हिँड्ने ।
केहीदिनमा उहाँ सहित सँगै काम गर्ने पाँच जनाको काम फेरियो । चार जना काठ काट्ने मेसिनको काममा परे भने चन्द्रबहादुरलाई घाँस काट्ने काम नै लगाइरह्यो । चार महिनापछि त्यहाँ पनि घाँस काट्ने कामबाट उहाँलाई पनि काठ चिर्ने ठाउँमै पुर्याइयो । तलब ४८० रिंगिटबाट बढेर १३ सय रिंगिट पुग्यो ।
तलबको अनुपातमा जोखिम धेरै थियो काममा । ‘हामीले काठको ठूल्ठूला मुढा गुडाउँदै मेसिनमा पुर्याउनुपर्ने अनि त्यसलाई मेसिनमा चिरिन्थ्यो’ चन्द्रबहादुरले भन्नुभयो ‘अर्काको देशमा कामदारको सुरक्षा भन्दा पनि कामकै धेरै चिन्ता हुने रैछ ।’
चन्द्रबहादुरका कुराले विदेशमा कामदारको सुरक्षा कति कमजोर छ भन्ने संकेत गथ्र्यो । यो कमजोरीले चन्द्रबहादुरले दुःख मात्रै भोग्नुभएन गरिखाने एउटा हात नै गुमाउनुभयो ।
त्यति चन्द्रबहादुरले काठ फ्याक्ट्रीमा काम गर्न थालेको २६/२७ दिन मात्रै भएको थियो । काठको मुढा ठेल्दै जाँदा मेसिनमा हात परेको उहाँले पत्तो पाउनुभएन । ‘ठूलो चोट लाग्दा त्यतिबेलै दुख्तैन भन्छन नि त्यस्तै भयो मलाई पनि’ चन्द्रबहादुरले सुनाउनुभयो ‘कुहिनो भन्दा तलको भाग मेसिनमा पसेर प्वालै प्वाल भइसकेको रहेछ मैले पत्तै पाइनँ’
हात मेसिनमा परेपछि आफैं साथीलाई बोलाएका चन्द्रबहादुर त्यसपछि भने बेहोस हुनुभयो । होसमा आउँदा उहाँ अस्पतालमा हुनुहुन्थ्यो । होसमा आएका चन्द्रबहादुरसँग सुरुमै निराशाका कुरा गरे । उनले काटिएको हातको उपचार हुने भएपनि नभएमा कुहिनो भन्दा तलको भाग काट्नुपर्ने बताए ।
मेसिनले हात काटिँदा बेहोस भएका चन्द्रबहादुर डाक्टरले काट्दा दोस्रो पटक बेहोस हुनुभयो । हात काटिएपछि हतास भएका चन्द्रबहादुरलाई अस्पतालका नर्सहरु ‘एउटा हात काटिएर के भयो र तिमी त बाँचेका छौ नि हात नभएका मान्छेहरुले त कति काम गरेका छन’ भनेर सम्झाउँथे । तर उनलाई ती कुरा आश्वासन बाहेक अरु केही हो जस्तो लाग्दैनथ्यो । चार दिनपछि डिस्चार्ज भएका चन्द्रबहादुरलाई कम्पनीका साहुले मन लागे नेपाल जान नलाने सक्ने काम गरेर त्यहीँ बस्ने अवसर दिए ।
सुरुमा त उहाँलाई एउटा मात्रै हातले कसरी काम गर्न सकिएला र भन्ने लाग्यो तर जाँदा लिएको ऋण तिर्न बाँकी नै रहेकाले एक महिनापछि उहाँले एउटै हातको सहारामा काम सुरु गर्नुभयो । साहु दिनहुँ काम गरे नगरेको बुझ्न आउँदा चन्द्रबहादुरलाई परदेशमा साहुहरु किन यति निष्ठुरी हुन्छन भन्ने लाग्थ्यो । त्यसैले उहाँले सकि नसकी काम गर्नुहुन्थ्यो ।
तर त्यसरी काम गरेको १ वर्ष पनि नपुग्दै अरु जसरी काम गर्न नसकेको भन्दै नेपाल पठाइदियो । ‘एउटा हात छिनेपछि अरुको जस्तो काम गर्न सकिनस भनेर फर्काइदिँदा मलाई कस्तो भयो होला’ चन्द्रबहादुरले थप्नुभयो ‘बल्ल मैले परदेश र त्यहाँको कामको अर्थ बुझें ।’
हात गुमाएका उहाँलाई कम्पनीले बीमा बापतको भन्दै ३ लाख ३५ हजार रुपैयाँ दियो । गएको डेढ वर्षमा हात गुमाएर फर्किएका चन्द्रबहादुरले नेपालबाट पाइने क्षतिपूर्तिका लागि पनि धेरै प्रयास गर्नुभयो तर सक्नुभएन् । मलेसियाबाट पाएको ३ लाख ३५ हजार रुपैयाँले उहाँले चार कठ्दा ऐलानी जग्गा किन्नुभएको छ । जग्गा जोड्नुभयो तर गरिखाने मेलो भने टुटिसकेको थियो चन्द्रबहादुरको । केही समय काम बिना बस्नु पर्दा निराश भएका चन्द्रबहादुरलाई गाउँकै एउटा बोर्डिङ स्कूलले सहयोगीको काम दिएपछि राहत भएको छ ।
उहाँले स्कूलबाट महिनाको चार हजार रुपैयाँ पाउनुहुन्छ । स्कूलले एलकेजीमा पढ्ने छोरीलाई मासिक शुल्क मिनाहा गरिदिएको छ । तर मासिक शुल्क बाहेक अरु खर्च त लाग्ने नै भयो । त्योसँगै श्रीमती सहितको चार जना परिवारको खर्च पनि त धान्नुपर्यो ।
जानु अघि नै सचेत हुनुपर्ने रहेछ
त्यतिबेला विदेश जाने बेलामा चन्द्रबहादुरले न कुनै सूचना लिनुभएको थियो । त्यसैले उहाँ सूचना र तालिम नै नलिई नै विदेश जानुभएको थियो । त्यसैले नै आफूले नसोचेको दुःख पाएको जस्तो लाग्छ उहाँलाई । त्यसैले विदेश जानेहरुले यस बारेमा बेलैमा सोच्नुपर्ने उहाँको भनाई छ । ‘यदि सचेत भइएन भनें म जस्तै दुःख पाइन्छ त्यसैले ख्याल गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
छात्रवृत्तिको आशा
राहतका खोजीमा रहेका चन्द्रबहादुरले वैदेशिक रोजगार छात्रवृत्तिका बारेमा सुनेदेखि ठूलो आशा पलाएको छ । त्यही आशाले जिल्ला समन्वय समितिले संचालन गरेको सूचना तथा परामर्श केन्द्रमा आइपुगेका चन्द्रबहादुरले छात्रवृत्ति पाउनेमा आशावादी रहेको पनि बताउनुभयो ।
छात्रवृत्ति पाउन वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले यही मंसिर मसान्तसम्ममा फर्म भरिसक्नुपर्ने गरी म्याद तोेकेको छ । - ujyaalo online
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक