(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20171128

डा.केसीले ‘नयाँ राजा’ ओलीलाई दिए चुनौती !

जिम्बाब्वेमा हालै दशकौं लामो मुगाबे शासनको अन्त भएको छ । तर मुगाबे जानु र लोकतन्त्र वा विधिको शासन आउनु एउटै कुरा हैन भनेर धेरै विश्लेषकले अहिले त्यहाँको सत्ता परिवर्तनबारे होसियारीपूर्वक टिप्पणी गरिरहेका छन् । त्यो कुरा कुनै एउटा देशमा मात्रै लागु हुने पनि हैन किनकि व्यक्ति फेर्नुभन्दा प्रवृत्ति फेर्नु र तानाशाही शासनको मनपरीतन्त्रको ठाउँमा लोकतान्त्रिक विधि र संस्कार स्थापना गर्नु निकै
गाह्रो काम हुने गर्छ ।
नेपालमा पनि एउटा राजा फाल्नका लागि आमनागरिक लाखौँको संख्यामा जुर्मुराए र कैयौंले ज्यान गुमाए । धेरै घाइते र अंगभंग भए । तर त्यसपछि सत्तामा पुगेका नेताहरूले वास्तविक लोकतन्त्रमा झैँ आमनागरिकको सेवक बन्नुभन्दा हाम्रो मालिक बनेर शासन गर्ने प्रवृत्ति देखाइरहेका छन् । फलस्वरूप एउटा राजाको ठाउँमा धेरै राजाले पालैपालो शासन गर्ने अवस्था सिर्जना भएको छ । तीमध्ये केही नेताले त राजाकै शैलीमा ‘डिक्री’ वा हुकुमनामा जारी गर्ने हतारो देखाइरहेका छन् ।

त्यही क्रममा एक नेताले छोटे राजाको शैलीमा मलाई चुनौती दिएछन्– सक्छौ भने राजनीतिमा आऊ, नत्र कर्मचारीको थान्कामा बस । राजनीतिको प्रसंगमा छोटे राजाहरूलाई मेरो एउटा प्रश्न छ, समाजको रूपान्तरण र प्रगतिको सम्भावना बोकेको राजनीतिलाई घृणित खेलमा परिणत गरेर आममानिसलाई त्यसप्रति वितृष्णा जगाउने काम कसको हो ? आज किन सक्षम र इमान्दारहरू राजनीतिमा जानबाट हच्किने अनि भ्रष्ट र अपराधीहरूले सहजै राजनीतिलाई आफ्नो स्वार्थपूर्तिको माध्यम बनाउने अवस्था छ ?
अब आयो मलाई राजनीतिमा आउन चुनौती दिएको कुरा । नेताहरू पक्कै पनि देशका अनेक भागमा पुगेका होलान्, विदेश जाने त भए नै । म पनि नेपालका पचहत्तरै जिल्ला पुगेको छु, त्यो पनि एकपल्ट हैन पटकपटक । नेताहरू भाषण र उधारा आश्वासन दिएर भोट माग्न जान्छन् भने म सेवा गर्न जान्छु । त्यहाँ मैले सेवामात्रै गर्दिनँ, त्यहाँका मानिसको आर्थिक, सामाजिक अवस्था र कठिनाइबारे बुझ्छु पनि । राज्यले उनीहरूप्रति देखाएको व्यवहार, गरेको भेदभाव र बेवास्ता अनि खासगरी शिक्षा, स्वास्थ्य र पूर्वाधारका मामलामा नेताहरूले आश्वासनसँगै दिएको धोका अनि त्यसबाट सिर्जित भोक, रोग, गरिबी, अशिक्षा र पिछडापन, यी सब कुरा नदेख्न खोजे पनि त्यहाँ देखिन्छन् । त्यो अवस्थामा म एक्लै गाउँ गाउँ पुगेर सेवा दिनु समग्र समस्याको समाधान नभएको महसुस गरेर नै म पछिल्लो समय दूरदराजमा बस्नेसमेत तीन करोड नेपालीको हितमा असीमित स्रोत साधन हुने राज्यले काम गर्नुपर्छ भनेर संघर्ष गरिरहेको छु । त्यसका लागि विधवित्रूपमा नीति नियम बन्नुप¥यो र दलहरू त्यसका लागि जवाफदेही हुनुप¥यो, आफ्नो दल र त्यसका नेतालाई मात्रै धनी बनाएर भएन भन्ने नै हाम्रो अहिलेको संघर्षको मूल लक्ष्य हो ।
त्यस्तै नेताहरू विदेश जाँदा राज्यकोष रित्याएर उपचार गराउन वा मोजमस्ती गर्न जान्छन् । मैले आफ्नै खर्चमा गर्ने विदेश यात्रा मूलतः प्राकृतिक विपत्तिहरू परेका ठाउँमा मानवीय सेवामा केन्द्रित हुन्छ । मलाई त्यस्तो यात्राले सिकाउने पाठ होस् वा विदेशबारे यहीँ बसेर गर्ने अध्ययन होस्, त्यहाँका राम्रा र असल अभ्यासबारे बुझेर तिनलाई नेपालमा कसरी भित्र्याउन सकिन्छ भन्नेमा केन्द्रित हुन्छ ।
त्यसैले मेरो बुझाइ के हो भने नागरिकका रूपमा दलीय राजनीतिभन्दा बाहिर रहेर जुन अवस्थाबाट म सेवा गरिरहेको छु, त्यही नै मेरा लागि सेवाको सबैभन्दा राम्रो माध्यम हो । मलाई गर्व छ कि म कुनै ठुटे नेताको कर्मचारी नभई सिंगो देशको कर्मचारी र सेवक हुँ । समाज र राष्ट्रका लागि कसले कुन भूमिकाबाट कस्तो योगदान पु¥याउने भन्ने कसैले कसैलाई सिकाउने कुरा हैन,
व्यक्तिले आफैँ निक्र्योल गर्ने कुरा हो । त्यस्तो भूमिकाबारे कसैले मलाई पाठ पढाउनु जरुरी छैन ।
जहाँसम्म कर्मचारी भएर थान्कामा बस्ने भन्ने छोटे राजाको कुरा छ, त्यो यो देशका समग्र कर्मचारीप्रति उनको हेय र अपमानपूर्ण रवैयाको नतिजा हो । उनको परिभाषामा कर्मचारी भनेको आफ्नो कार्यालयप्रति नभई पार्टीको नेताप्रति वफादार हुने, रैतीको शैलीमा हुकुम तामेल गर्ने र आँखा उठाएर कुरा गर्न पनि नसक्ने निमुखो व्यक्ति होला तर के वास्तवमा कर्मचारी भनेको त्यति नै हो ? उसको स्वतन्त्र विवेक हुँदैन ? उसको कार्यालयबाहेक बृहत्तर समाज र देशप्रति नागरिकका रूपमा कुनै जिम्मेवारी हुँदैन ? के उसले कार्यालयबाट निस्केपछि आफ्नो विवेकमा भोटे ताल्चा झुण्ड्याएर हिँड्नुपर्ने हो ? यस्तै अधिनायकवादी शैलीको नेतृत्वले भ्रष्टाचार र अपराधले दुर्गन्धित राजनीतिलाई कर्मचारीतन्त्रमा घुसाएकै कारण वास्तवमा अहिले नेपालमा प्रशासन संयन्त्र यसरी थला परेको हो । कर्मचारीलाई स्वविवेक र आत्मसम्मान भएको नागरिक नभई पार्टीको सेवा गर्ने भाटका रूपमा विकसित गर्ने दशकौँको अभ्यासका कारण अहिले कर्मचारी शब्दलाई नै अपमानजनक शब्दका रूपमा प्रयोग गर्ने अवस्था आएको हो ।
राजनीतिक दलहरूंले गर्नुपर्ने तर वाचा गरेर कहिल्यै पूरा नगरेका सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाजस्ता अजेन्डाका लागि हामी निरन्तर लडिरहेका छौँ । आफ्नो जिम्मेवारी पूरा गर्नु त कता, भइरहेको सुधारसमेत उल्ट्याएर स्वास्थ्य र शिक्षामा बेरोकटोक व्यापार गर्ने घोषणा केही दलले गरिसकेका छन् । उनीहरूले चाहेजस्तो भयो भने के हुन्छ त्यो प्रस्टै छ– देशको ९५ प्रतिशत जनसंख्या आफ्ना सन्तानलाई डाक्टर बनाउनबाट वञ्चित हुनेछन् भने देशको तीन चौथाइ जनसंख्या बसोबास गर्ने क्षेत्रहरूमा अहिलेझैँ न मेडिकल कलेज पुग्नेछन् न त ठूला अस्पताल । स्वास्थ्य सेवा अहिलेभन्दा पनि महँगो र गुणस्तरहीन बन्नेछ । सहरमा बेरोजगार डाक्टरहरू जम्मा हुने अनि गाउँमा मानिस झाडापखालाको उपचार नपाएर मर्ने अवस्था कायमै रहनेछ । अहिले जसरी हरेक ५ घण्टामा उपचार नपाएर एक सुत्केरी महिलाको मृत्यु हुन्छ र बर्सेनि २४ हजार ५ वर्षमुनिका बालबालिकाको उपचार नपाएर मृत्यु हुन्छ, त्यो अवस्था यस्तै रहनेछ ।
मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरीय, सस्तो, सुलभ र विकेन्द्रित बनाउने हाम्रो अभियानका उपलब्धिहरू उल्ट्याउने घोषणा गर्ने नेताहरूका पार्टीका सिद्धान्त हेर्ने हो भने त्यसको ठ्याक्कै उल्टा दाबी पढ्न पाइन्छ– देशको अर्थतन्त्र समाजवादउन्मुख अनि पार्टीचाहिँ साम्यवादी । यसरी दिनदहाडै शीर्ष नेताहरूले ‘हाम्रा दस्तावेज झुटको पुलिन्दा हुन् र हामी बाँकी सबै नागरिकको गरिबीको मूल्यमा केही मानिसले मात्रै अकुत धन जम्मा गर्ने ‘क्रोनी क्यापिटलिस्ट’ व्यवस्थाका पक्षधर होँ भनेर घोषण गरिरहेका हुन्छन् ।
तर नागरिकका रूपमा हाम्रो धर्म के हो भने त्यसरी आफैँलाई भोकै, रोगी र अशिक्षित बनाउने पार्टी र नेताहरूलाई मतदाताले सत्तामा पु¥याए पनि हामी निरन्तर तिनै आमनागरिकको हितका लागि लडिरहनेछौँ र त्यसो गर्नमा हामी गौरव महसुस गर्छौँ । जसको आँखा खुल्यो, सही बाटो हिँड्नु र देखाउनु उसको कर्तव्य हुन आउँछ । जुन दिन नेताहरूले वास्तवमा वाचा गरेअनुसार केही मानिसको नभई आमनागरिकको भलाइका लागि काम गर्छन्, जुन दिन सबै नेपालीका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य पहुँचमा आएर प्रगति र समृद्धिको बाटो खुल्छ, त्यस दिन हामी सहर्ष आफ्नो व्यावसायिक जीवनमा रमाउनेछौँ ।
त्यसो नहुँदासम्म कसैले कुनै सामन्त वा राजाको नक्कल गर्दै ‘तिम्रो हैसियत यस्तो, तिमी यसो गर, यसो नगर’ भन्छ र तानाशाही प्रवृत्ति देखाउँछ भने त्यसको प्रतिरोध गर्नु हाम्रो कर्तव्य बन्छ । रोबर्ट मुगाबेले जिम्बाब्वेमा ३६ वर्ष शासन गरे भन्दैमा नेपालमा पनि कसैले आफूलाई त्यस्तै अपरिहार्य र अपराजेय ठान्छ भने त्यस्तो बुझाइप्रति सहानुभूतिमात्रै जनाउन सकिन्छ । वंशजका आधारमा शताब्दियौं शासन गरेका राजा त फालिए भने अब नफालिने गरी कुनै राजा आउने सम्भावना नेपालमा छैन । कुनै पनि नेताले जब तीन करोड नेपालीको स्वार्थभन्दा एक, दुई जना पार्टीभित्रका माफियाको स्वार्थ बढी देख्छ, त्यो कुरा केही समय लुक्न सके पनि सधैंँभर लुक्न सक्दैन । जब सबैले त्यो कुरा बुझ्छन्, त्यसपछि के हुन्छ, जगजाहेरै छ ।
जहाँसम्म नागरिकका रूपमा हाम्रो अभियानको कुरा छ, हामी सधैँंभर एकनासले तीन करोड नेपालीको हितमा लडिरहन्छौँ । र, जबसम्म लड्छौं, तबसम्म आफूलाई सही लागेको भूमिकामा सही लागेकै तरिकाले लड्छौं । हामीलाई कसैले बाटो देखाउन जरुरी छैन । हामीले नमागेको परामर्श दिनुभन्दा बरु छोटे राजाहरूले आफ्नो वचन र कर्मबीचको प्रशान्त महासागर जत्रो खाडल कम गरुन् । जुन दिन यो देशको राजनीति वास्तवमै संग्लेर नेताहरू माफिया डन जस्तो नभई आमनागरिकको सेवक बन्नेछन्, हामीले दलीय राजनीतिमा जाने आवश्यकता नै पर्ने छैन । - नागरिकन्युजबाट

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक