20171127

"शहरमा काम गर्न भन्दै हिँडेका बुढा नेता बनेछन्" , रेडियोमा प्रचार सुनेर आफ्नै श्रीमान र छोरी उम्मेदवार बनेको थाहा !

- देव पचभैया
पाल्पा/  तानसेन–५ सापाखुम पाल्पाकी ५४ वर्षका मनमाया घर्तीले रेडियोमा प्रचार सुनेर आफ्नै श्रीमान र छोरी उम्मेदवार बनेको थाहा पाउनुभएको छ । मंसिर २१ गते हुने चुनावमा संघीय समाजवादी फोरमका उम्मेदवार कुमबहादुरकी श्रीमती मनमायाले श्रीमान नेता बनेको बल्ल थाहा पाउनुभएको हो । पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार घर्तीकी छोरी तिला पनि संघीय समाजवादीकै पाल्पा क्षेत्र नम्बर २ को समानुपातिक उम्मेदवार हुनुहुन्छ । ‘थाहै नदिएर नेता बनेछन्’, मनमायाले भन्नुभयो ‘शहरमा काम गर्न भन्दै हिँडेका बुढा चुनावमा लागेपछि गाली गरिदिएँ ।’ रेडियोमा लोक गीतको कार्यक्रम सुन्दा छोरी र बुढाले भोट मागेको सूचना आएको भन्दै उहाँले ‘परिवारका सदस्यलाई नै थाहा नभएपछि कसले दिन्छ भोट’ भन्दै गाली गरेको  जानकारी
दिनुभयो । चुनाव प्रचारको काम सकेर आइतबार बेलुका घर पुगेका कुमबहादुरलाई श्रीमती मनमायाले गाली गर्नुभएको हो । ‘के हो पारा ? तिम्रो र छोरीको नाम त रेडियोमा पो सुनेँ ?’ श्रीमतीले झपारेको सम्झिँदै घर्तीले खिस्स हाँस्दै भन्नुभयो ‘के भन्यो रेडियोले भनेर प्रश्न गर्दा जहान (श्रीमती) ले काम गर्न घरबाट हिँडेका मान्छे नेता बन्ने ? भनेर गाली गरिन् ।’ श्रीमतीलाई राजनीति मन नपर्ने भएपछि आफू चुनावमा उठेको थाहा नदिएको कुमबहादुरले बताउनुभयो । तानसेनमा घर बनाउने मिस्त्री र ठेक्कापट्टाको काम गर्ने कुमबहादुर घर्ती स्थानीय तहको चुनावमा समेत तानसेन नगरप्रमुखको उम्मेदवार बन्नुभएको थियो । नागरिकले थाहा पाउन् भनेर रेडियोमा प्रचार गरेको भन्दै कुमबहादुरले थप्नुभयो ‘झन श्रीमतीले थाहा पाइछन् ।’ - उज्यालो

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक