(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20171227

नयाँ बानेश्वरस्थित विगतको ६०१ सदस्यीय संविधानसभाको बैठक सञ्चालन भएकै हलमा प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने तयारी

आगामी संघीय ससदको अधिवेशनका लागि भौतिक संरचना र जनशक्ति व्यवस्थापनबीच तादात्म्यता मिलाउने गृहकार्य अन्तिम चरणमा पुगेको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ । व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार नयाँ बानेश्वरस्थित विगतको ६०१ सदस्यीय संविधानसभाको बैठक सञ्चालन भएकै हलमा प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने तयारी भइरहेको छ । हलको मूल स्वरुपमा कुनै परिवर्तन नगरी प्रतिनिधिसभाका २७५ जना सदस्यका अतिरिक्त दुवै सदनको संयुक्त बैठक सञ्चालनसमेत गर्न सकिने गरी सिटको व्यवस्था गरिएको छ । राष्ट्रियसभाका लागि प्रतिनिधिसभाको पूर्वतिरको नुप्से हलको हालको मौलिक संरचनामा केही फेरबदल गरी बैठक बसाल्न सकिने ठाउँ बनाउने कार्य भइरहेको छ । राष्ट्रियसभा ५९ सदस्यीय हुनेछ । 


संघीय संसद्को पहिलो बैठक कहिले ? 

नयाँ संविधानअनुसार गठन हुनुपर्ने संघीय संसद्का लागि हालै भएको निर्वाचनको अन्तिम परिणाम आउन बाँकी नै रहेको र राष्ट्रियसभा गठनका लागि आवश्यक कानून समयमै जारी गर्न नसकिएका हुँदा तत्कालको आवश्यकता परिपूर्ति गर्न सरकारले अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको छ । 

महासचिव भट्टराईका अनुसार निर्वाचनको परिणाम उपलब्ध र संसद्को औपचारिक स्वरुप निश्चित नभइकन बैठक सञ्चालन गर्न मिल्दैन । आम नागरिकजस्तै सचिवालय पनि त्यो घडीका लागि प्रतिक्षारत छ । 

संघीय सदन सञ्चालन पूर्व निर्वाचित सदस्यमध्येका ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाइनेछ । ज्येष्ठ सदस्यबाट अरु सदस्यले पद तथा गोपनीयताको शपथ लिनु हुनेछ । सभामुख निर्वाचित नहुन्जेलसम्म बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नुहुनेछ । 

निर्वाचनको सबै परिणाम बाहिर आएपछि राष्ट्रपतिबाट औपचारिकरुपमा संघीय सदनको बैठक आह्वान हुनेछ । सचिवालयका अनुसार सबै सांसदले शपथ लिएपछि सभामुखको निर्वाचनको कार्यक्रम अगाडि बढाइनेछ भने राष्ट्रियसभाको बैठक पनि प्रतिनिधिसभाकै अनुसार हुने व्यवस्था छ । दुवै सदनको बैठक शुरु भएसँगै संघीय संसद्को औपचारिक काम भएको मानिनेछ । 

संविधानमा संघीय संसद् र प्रान्तीय संसद् आफँैमा स्वतन्त्र, स्वाधीन र पृथक निकाय रहेकाले र आ–आफ्नै निर्दिष्ट कार्यक्षेत्र तोकिएकाले एकअर्काबीचको कामकारबाहीबारे अनिवार्यरुपमा समन्वय गर्नुपर्ने देखिन्न । संघीय संसद्ले गर्नुपर्ने कामका बारेमा प्रदेश संसद्ले वा प्रदेश संसद्ले गर्नुपर्ने विषयमा संघीय संसद्ले सहमति लिनुपर्ने छैन । 

प्रदेश संसद्बाट जनशक्ति माग भएपनि दिन कठिन 

महासचिव भट्टराईका अनुसार अनुभव र क्षमताका दृष्टिकोणबाट संघीय व्यवस्थापिका–संसद् नयाँ प्रयोग र व्यवहारमा आएको प्रदेश संसद्भन्दा सबल छ । यहाँका जनशक्ति आफ्नो क्षेत्रमा विषयगतरुपमा अभ्यस्त र क्षमतावान् छन् । 

प्रदेश संसद्ले आवश्यक ठानी माग गरेमा संघीय संसद्ले आफ्ना कर्मचारीलाई सहयोगार्थ त्यहाँ खटाउन तत्पर रहेपनि नयाँ परिस्थितिमा आफ्नै आवश्यकता ठूलो भएकाले उपलब्ध गराउन कठिन हुने सचिवालयले जनाएको छ । 

राजनीतिकरुपमा राष्ट्रियसभाको ऐनका बारेमा मतभेद देखिएको र निर्वाचनको अन्तिम परिणाम प्राप्त भइनसकेको स्थितिमा संसद्को बैठक यही मितिमा बस्ला भनेर अनुमान गर्न कठिन छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक