गणितीय परिणामका हिसाबले प्रचण्डको जीत भए पनि नैतिकता, आदर्श, मुल्यमान्यता र दश वर्षको जनयुद्धका मुद्दा र बलिदानको सपनाका हिसाबले मेरो जित भएको छ । यो अग्निपरीक्षामा म पास भएको छु । माओवादी केन्द्र दक्षिणपन्थी संशोधनवादी यात्रा गर्दै प्रतिक्रियावादमा पतन हुन पुग्यो । उसले जनयुद्धका सबै एजेण्डाहरु परित्याग ग¥यो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु सडकमा मिल्क्याइ वर्ग संघर्षको बाटो छाडेका हुनाले माके कम्युनिष्ट पार्टी नै थिएन । कहिले राप्रपा, कहिले काँग्रेस त
कहिले एमालेसँग मिलेर उसले आफ्नो वास्तविक चरित्र प्रदर्शन गरिसकेको छ । यही पृष्ठभूमिमा भएको निर्वाचनमा मैले प्रचण्डलाई चुनौति दिँदै उम्मेदवारी दिएँ, र उनलाई नैतिक रुपमा पराजित गरेँ ।तर जनतालाई त उनैलाई जिताए नि ?
संसदीय व्यवस्थामा गरिने चुनावले जनताको वास्तविक जनमत अभिब्यक्त गर्दैन । राज्य शक्ति र पैसाको दुरुपयोग गरेर उनले चुनाव जितेका हुन् । पैसा र राज्य शक्तिको दुरुपयोग नगरी हामीले जस्तै साधन श्रोतको मात्र प्रयोग गरी चुनावी प्रतिस्पर्धामा उत्रने हो भने उनको हार निश्चित थियो । उनले छलकपट, षडयन्त्र, साम, दाम, दण्ड, भेद गरेर मात्र चुनाव जितेका हुन् । उनले जनतामा जेजति झुठा आश्वासन दिएका छन्, त्यो कदापी पुरा गर्ने छैनन् ।
तपाईलाई उम्मेदवारी फिर्ता लिन प्रचण्डले राजदुत बनाइदिने आश्वासन दिएको भन्ने पनि सुनियो ?
प्रचण्ड आफैले र उनका पार्टीका नेता कार्यकर्ता लगाएर मेरो उम्मेद्वारी फिर्ता गराउन सकेसम्मको घेराबन्दी गरे । यहाँसम्म कि मलाई राजदुत बनाइदिने, चाहे जति पैसा दिने, परिवारका सम्पूर्ण व्यवस्थापन गरिदिने लगायत प्रलोभन दिए । केही पार नलागे पछि उनीहरु हाम्रो पार्टीका महासचिव क.किरणसम्म उम्मेदवारी फिर्ता गराइदिनु प¥यो भन्दै डेलिगेसन जान समेत भ्याएछन् । तर मैले आफ्नै घर परिवार समेतलाई लगाएर गरिएको सबै घेराबन्दी तोडी अडिग र अबिचलित रुपमा चुनावी मैदानमा कथित गठबन्धनहरुका विरुद्धमा उभिरहेँ ।
जनता सत्ता, शक्ति र पैसाबाट प्रभावित हुनुको कारण के देख्नु हुन्छ ?
पहिलो कुरो त, पटक पटक धोका खाएका जनतामा जुन जोगी आए पनि कानै चिरेको भन्ने बुझाई देखिन्छ । दोश्रो, संसदवादी दलका नेताहरुले देशको खर्बाैं सम्पत्तिमा लुट मच्चाउँदा भएको छ भने हामीले पनि यिनीहरुको पैसा खाँएर भोट दिँदा के फरक पर्छ र ? भन्ने बुझाईले पनि घर गरेको देखिन्छ । तेश्रो, हाम्रो पार्टीे समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाललाई जनताले वैकल्पिक राजनैतिक शक्तिका रुपमा बुझ्न नसक्नु, चिन्न नसक्नु र हामी आफैले पनि बुझाउन नसक्नु लगायतका कारणहरु रहन गए ।
हामीले हाम्रो मोर्चा नै अबको वैकल्पिक राजनैतिक शक्ति हो भनेर जनतालाई बुझाउन नसक्नुको जिम्मेवारी मैले पनि लिनु पर्छ । यस पटकको चुनावबाट के अनुभूति भयो भने अब चौधरी ग्रुप, गोल्छा, खेतान जस्ता धनाढ्य ब्यापारी, पुँजीपति, पैसावालहरुले मात्र चुनाव जित्ने देखिन्छ ।
निर्वाचनमा तपाई जित्ने हिसाबले नै लड्नु भएको थियो कि मात्र उपयोग गर्ने हिसाबले ?
हामी पार्टी तथा मोर्चाको नीति अनुसार प्रतिक्रियावादी राज्यसत्ताको भण्डाफोर गर्ने र नयाँ जनवादी क्रान्तिको लागि जनाधार निर्माण गर्ने उद्देश्यलाई केन्द्रमा राखेर निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने हिसाबले नै उम्मेद्वारी दिएको थिएँ । हामीले जनताको वीचमा प्रष्ट रुपमा भन्यौं – हामी यो संविधान जलाएर आएका हौं, यो जनताको संविधान होइन, यसले श्रमजीवि शोषित जनताको हकहित र अधिकारको ग्यारेण्टी गरेको छैन । अहिलेको व्यवस्था संसदीय व्यवस्था हो, यही व्यवस्थाको विरुद्ध दस वर्ष जनयुद्ध भएको थियो । जनयुद्ध र हज्जारौंको बलिदानको उद्देश्य विपरित फेरी पनि जनतामा संसदीय व्यवस्था लादिएको छ, यो व्यवस्था रहुँञ्जेल गरि खाने जनताको कुनै पनि हित हुँदैन । जनताले हाम्रा कुरा रामै्रसँग सुनेका छन् । हामी आफ्नो उद्देश्यमा यसर्थ सफल नै रहेका छौं ।
प्रचण्डले त आकाशे पुल बनाइदिने लगायतका आश्वासन दिएका रहेछन्, तपाईहरुले पनि जनतामा केही आश्वासन बाँड्नु भयो कि ?
जंगबहादुर राणाले बनाएको जंगे पिलर जुन १५–२० वटाको संख्यामा यस जिल्लाको भारतसँगको सिमा क्षेत्रमा पर्दछन्, त्यसलाई रंग्याउन समेत नसक्ने प्रचण्डले आकाशे पुल र सुरुङ मार्ग बनाइदिने आश्वासनलाई जनताले पत्याउने कुरै हुँदैन । नेपाली आमाको छातीमा भारतीय विस्तारवादले बुट बजारिरहेको छ, पिल्लरहरु भाँचिरहेका छन्, त्यसमा कुनै चासो, चिन्ता नराख्ने प्रचण्डले जनतालाई यस्तो आश्वासन बाँड्नुको कुनै अर्थ छैन । उनीहरुलाई विकास निर्माण गर्न कसले रोकेको थियो ? उनीहरु नै त थिए सरकारमा । तीन वर्ष अगाडि भुकम्प गयो, अहिले पनि भुकम्प पीडितहरु टेण्ट मुनि नै छन् । उनीहरुको घर किन बनाएनन् प्रचण्डले ? पैसा नभएर त होइन रहेछन् नि । त्यसैले प्रचण्डहरुले बनाउने कुरै होइन, उनीहरु त काले काले मिलेर खाउँ भाले भने जस्तै राष्ट्रिय ढुकुटीमा ब्रम्हलुट मच्चाउने मात्रै हुन् । हिजो हामीसँगै चप्पल लगाएर हिँड्ने प्रचण्डसँग आज करोडौं खर्चेर भोट किन्ने औकात कसरी बनाए ? त्यसको जवाफ नेपाली जनता, शहीद परिवारलाई दिनु पर्र्दैन ?
जनताका समस्या अहिले पनि ज्युँका त्युँ छन्, चितवनका किसान, मजदुरका समस्याहरु कसरी समाधान हुन सक्छन त ?
उदार अर्थनीति तथा खुला बजार अर्थतन्त्रका कारण नेपालका किसान र मजदुरहरु प्रत्यक्ष रुपमा मारमा परेका छन् । नेपालका साठी लाख युवाहरु विदेश पलायन हुन बाध्य भएका छन् । यसको कारण पनि त्यही हो । २०४५ सालमा भारतले नाकाबन्दी लगाउँदा नेपालमा उत्पादित धान, चामल, तरकारीको मुल्य सबै घटेको थियो । अहिले २०७३ सालमा भारतले नाकाबन्दी लगाउँदा सबै दैनिक उपभोग्य वस्तुहरुको मुल्य ह्वात्तै बढ्यो, यसको कारण के रहेछ भने त्यसबेला नेपालले भारतमा निर्यात हुने गर्दथ्यो तर अहिले ती सबै भारतबाटै आयात हुने गरेका छन् । भारतीय उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने भएपछि धेरै किसानका छोराछोरी कृषि पेशा छोडेर विदेश पलायन बाध्य भएका छन् । नेपाल अहिले श्रमदासको खानी जस्तै भएका छन् । भारतसमेत गर्दा १ करोड भन्दा बढी नेपालीहरु विदेशी भूमिमा आफ्नो रगत पसिना बेचिरहन बाध्य छन् ।
अहिले भन्सार छलेर ९५ प्रतिशत भारतीय सामानहरु नेपाल भित्र्याउने गरेको छ, यसप्रति राज्य पुरै उदासिन रहँदै आएको छ ।
यी सबै समस्याको वास्तविक समाधान के हुन सक्छ त ?
यो राष्ट्रिय स्वाधिनता र जनजीविकासँग जोडिएको विषय हो । यसको वास्तविक समाधानको लागि राज्य व्यवस्थालाई बदल्न जरुरी छ, नयाँ जनवादी राज्य व्यवस्थाले मात्रै यी सबै समस्याको समाधान गर्न सक्छ । खुल्ला बजार अर्थनीतिको ठाउँमा आत्मनिर्भर अर्थतन्त्रको विकास नगरी मुलुकमा आर्थिक समृद्धि पनि सम्भव छैन । भारतसँग गरिएका असमान सन्धी, सम्झौताहरुको खारेजी, भारतसँगको खुल्ला सिमा बन्द नगरी चितवन लगायत देशै भरिका किसान, मजदुरका समस्या हल हुन सक्दैन ।
तपाईले उल्लेख गरेकै मुद्दाहरुलाई जनतालाई बुझाएर संगठित रुपमा आन्दोलन उठान गर्ने सम्भावना कतिको देख्नु हुन्छ ?
यसको राम्रो सम्भावना छ । अहिले नेपालमा मजदुरको संख्या ह्वात्तै बढेको छ । मजदुर भनेको उद्योग, कलकारखानामा मात्रै काम गर्ने भन्ने हुँदैन, विदेशमा गएर श्रम गर्नेहरु पनि त मजदुर, श्रमिक नै हुन । अघि पनि भनिसकेको छु, नेपाल बाहिर गएर श्रम बेच्न बाध्य भएका १ करोड भन्दा बढी छ, ती सबै मजदुर नै हुन । ती सबै मजदुरहरुलाई संगठित गर्न सकियो भने नेपालमा जनविद्रोह हुन सक्छ । विश्व क्रान्तिलाई समेत टेवा पुग्दछ । १ करोड मानिसहरु विदेश जाँदा उसका परिवारजनहरु पिडित रहेका छन । ती मजदुरहरुलाई संगठित गर्न पार्टीको अन्तर्राष्ट्रिय विभाग मार्फत तीव्र रुपमा पहल अगाडि बढाउनु पर्दछ । यो वा त्यो रुपमा ती मजदुरहरु शोषण, उत्पीडनमा परेका छन्, उनीहरु माथि हुने, भए गरेका ठगी, शोषणको हामीले जोडदार आवाज उठाउनु पर्दछ । यसको साथै भारतीय विस्तारवादका कारण नेपाली कृषकहरु माथि भएको हेपाई, चेपाई, थिचाई, मिचाईलाई बन्द गर्न र नेपाली उत्पादनलाई निर्वाध रुपमा लागत मुल्य अनुसार बिक्री वितरणको व्यवस्था मिलाउन पनि यसलाई राष्ट्रिय स्वाधीनताको आन्दोलनसँग जोड्न जरुरी छ । नेपालमा भारतले बहुआयामिक हस्तक्षेप लडिरहेको छ, नेपालका नदिनालाहरु, जलविद्युत आयोजनाहरुमा एकाधिकार कायम गर्न खोजिरहेको छ । बारम्बार सीमा मिचिइएको छ, नेपाली भूमिमै छिरेर नेपालीहरुको हातपात, अमानवीय यातना, गिरफ्तार, हत्यासमेत गर्ने गरी आतंक खडा गरेको छ । पूर्व पश्चिम सिमामा अन्तर्राष्ट्रिय कानूनलाई उल्लंघन गर्दै पक्की सडकको निर्माण गरेको छ । सिमामा एकतर्फी रुपमा बाँधिएको बाँधको कारण वर्षेनी डुबान हुँदा वर्षेनी नै हज्जारौं संख्यामा तराईका जनता विस्थापित हुनु परेको छ, हज्जारौं विघा खेती योग्य जमिन बगर, नदीमा परिणत हुन थालेका छन् । यी सबै विषयलाई उठाएर आन्दोलनको आँधी बेहरी सृष्टि गर्न जरुरी छ ।
तपाईको चुनावी परिणामलाई हेर्दा त जनता तपाईले भने जस्तो आन्दोलनमा सहभागी हुने त देखिन्न नि ?
हेर्नुस्, जनता महान् छन् । अहिले बुझ्न सकेका छैनन्, बुझाउन सकिएको छैन । विस्तारै बुझ्दै जाने छन्, र आन्दोलन नै यी सबै समस्याहरुको समाधानको लागि निर्विकल्प बाटो हो भन्ने निष्कर्षमा पुग्नेछन् । र, हामीले उठाएका राष्ट्रियता र जनजीविकाका यी मुद्दाहरुमा जनता गोलबन्द हुँदै जानेछन् । र आन्दोलनको आँधीबेहरी सृष्टि हुनेछ । सहि विचार, नीति र योजना भयो भने जनता हाम्रो पक्षमा आउने छन् भन्ने कुरा परिवर्तनका निम्ति नेपालमा विभिन्न कालखण्डमा भएका आन्दोलनहरुको इतिहासलाई हेर्दा स्पष्ट हुन्छ ।
अन्तमा, नयाँ जनवादी क्रान्ति पुरा गर्ने सपथ खाएर दश वर्षको महान जनयुद्ध लडेर आएका र अहिले विभिन्न समहुमा विभाजित अवस्थामा रहेका क्रान्तिकारी नेता, कार्यकर्ताहरुलाई जनयुद्धको एक जना सहिद परिवारको तर्फबाट के भन्न चहानु हुन्छ ?
हिजो नेपालमा संसदीय व्यवस्थाको विरुद्ध लडेर मुलुकमा जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यलाई केन्द्रमा राखेर महान दश वर्षे जनयुद्ध लडेर आएको एक हिस्सा जो माओवादी केन्द्रको रुपमा रहेको छ, त्यो अहिले त्यही प्रतिक्रियावादी संसदीय व्यवस्थामा पतन हुन पुगेको छ । उसले सहिद, बेपत्ता योद्धाहरुको सपना माथि ठुलो कुठाराघात गरेको छ । आमुल परिवर्तनका पक्षधर जनता र आम क्रान्तिकारी पार्टी पंक्तिमाथि धोका र गद्दारी गरेका छन् । यस पृष्ठभूमिमा फेरी पनि नेपालमा नयाँ जनवादी क्रान्तिको कोर्षलाई पुरा गर्न इमान्दारीपूर्वक क्रान्तिको तयारीमा जुटिरहेको क्रान्तिकारी माओवादी पार्टीको नीति र नेतृत्वको वरिपरी गोलबन्द हुन म सहिद परिवारको तर्फबाट विभिन्न खेमामा छरिएर रहेका सच्चा क्रान्तिकारी कम्युनिष्टहरुलाई आव्हान गर्न चहान्छु । राजनैतिक क्रान्ति पुरा नभई स्थायी शान्ति र आर्थिक समृद्धि सम्भव छैन । वाम खोल ओढेका एमाले–माकेको भ्रममा नपर्न सम्पूर्ण सहिद परिवारजन, बेपत्ता योद्धा परिवारजन, घाइते योद्धाहरु लगायत परिवर्तनका पक्षधर सबैमा आव्हान गर्दछु ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक