20171219

एमाले अध्यक्ष केपी ओलीको रसुवागढी भ्रमण अर्थपूर्ण !

वाम विजयको बधाई थापिसक्न नपाउँदै एमाले अध्यक्ष केपी ओलीको रसुवागढी भ्रमण अर्थपूर्ण रह्यो। मंगलबार बिहान चार वटा हेलिकोप्टरमा महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङसहित २४ नेता लिएर चिनियाँ नाका पुगेका ओलीले यो उत्तरी ढोकालाई नेपाल-चीन आयात-निर्यातको मुख्यमार्ग बनाउने मात्रै बताएनन्, अब
देश विकासको ढोकासमेत बनाइछाड्ने उद्घोष गरे। उनले रसुवागढीको महत्व नबुझ्दा नेपाल आर्थिक रूपमा पछाडि परेको तर्क दिए। अनि राष्ट्रिय विभूति भृकुटी हिँडेको यो नाकामार्फत नेपाल-चीन साइनो ‘अझै विश्वसनीय बनाउने’ सन्देश पनि प्रवाह गरे। चीनले यो नाकालाई सेप्टेम्बर १ तारिखदेखि अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएपछि दुवै देशको राजनीतिक नेतृत्वमध्ये ओलीको यो सबैभन्दा उच्च तहको भ्रमण हो। ओलीको भनाइमा, अब बन्ने कम्युनिस्ट सरकारले चीनको केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौं-लुम्बिनी रेलमार्ग बनाउनेछ। उनले यसलाई अन्तर्राष्ट्रिय नाकाका रूपमा प्रयोग गर्दै काठमाडौंबाट रसुवागढीसम्म ४ लेनको सडक निर्माण गरिने बताए। रसुवागढी अढाई वर्षदेखि आधिकारिक रूपमा सञ्चालनमा रहेको नाका हो। यस नाकालाई चीनले प्रमुखतासाथ १ सेप्टेम्बरदेखि अन्तर्राष्ट्रिय नाकाको मान्यता दिइसकेको छ। चुनावी जितसँगै भावी प्रधानमन्त्रीका रूपमा हेरिएका ओलीले रसुवागढी नाका हुँदै चिनियाँ बन्दरगाहसम्म आयात-निर्यात गर्ने सहमति भइसकेकाले अब यो नाकामा आगामी सरकारको ध्यान केन्द्रित हुने वचन दिए। उनले टिमुरेमा चिलिमे जलविद्युत् र रसुवागढी जलविद्युत्गृह निर्माणको अवस्थाबारे चासो व्यक्त गर्दै निर्माण तीव्र पार्न सुझाए। यही नाका हुँदै तिब्बत-काठमाडौं रेलसेवा निर्माण प्रक्रिया अघि बढिसकेको भन्दै उनले थपे, ‘यही नाकाबाट हामी नेपालसम्म चीनको रेल लैजान्छौं। जटिल भूगोल भएकाले यहाँ केबुलकार पनि चलाउने प्रक्रिया अघि बढिसकेको छ।’ स्थानीयले ओलीसँग यो नाकालाई मानसरोबर जाने मार्गका रूपमा विकास गर्न माग गरेका छन्। चीनले यो नाकालाई सेप्टेम्बर १ तारिखदेखि अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएपश्चात् दुवै देशको राजनीतिक नेतृत्वमध्ये ओलीको यो सबैभन्दा उच्च तहको भ्रमण हो। ०७२ असोजमा जारी संविधानप्रति असन्तुष्ट भारतले नाकाबन्दी थालेको तीन सातापछि प्रधानमन्त्री चुनिएका ओलीले त्यसैको कात्तिकमा चीनबाट हजार मेट्रिक टन पेट्रोल अनुदानमा ल्याएर भारतनिर्भरता तोड्ने प्रक्रिया सुरु भएको कडा सन्देश दिएका थिए। साढे चार महिना लामो नाकाबन्दी अन्त्य भएको एक महिनापछि तिनै ओलीले बेइजिङ भ्रमणक्रममा नेपाल-चीन वाणिज्य तथा पारवहन सन्धि गराएर नेपाली अर्थतन्त्रमा भारतीय वर्चस्वको युग अन्त्य भएको घोषणा गरे। वाम गठबन्धनको पक्षमा झन्डै दुईतिहाइ बहुमतलगत्तै किन ओलीबाट अकस्मात् उत्तरी नाका भ्रमण भयो त ? रसुवागढीबाट फर्केका एमाले नेता सुवास नेम्वाङले चिनियाँ नाका खोल्ने पुरानै प्राथमिकता कायम रहेको बताए। उनले भने, ‘चिनियाँ नाका खोल्ने पुरानै नीतिको निरन्तरता हो, प्राथमिकता बढेको या घटेको भन्ने होइन। अब बन्ने सरकारले यो नाकालाई मुलुकको समृद्धिका लागि अझै गतिशील ढंगले अघि बढाउँछ।’ यसअघि सिन्धुपाल्चोकको तातोपानी नाकामार्फत आर्थिक सम्बन्ध जारी रहे पनि ०७२ को महाभूकम्पका भग्नावशेषमा भेटिएको भनिएका ‘फ्री-तिब्बत’ पर्चाहरू, अनि विगतमा कोरला नाका पर्ने मुस्ताङ क्षेत्रमा भएका खम्पा गतिविधिका कारण चीनले बीचको रसुवागढीलाई तुलनात्मक रूपमा सुरक्षित नाका मान्ने गरेको छ। केरुङसँग २७ किमि मात्रै दूरी भएको यो नाकामार्फत रसुवागढी-गल्छी र गल्छी-काठमाडौंसम्मको रेलवे सहज बन्ने चिनियाँ अपेक्षा छ थाहा खबर उल्लेख गर्छ ।   । चीनको चासो बुझेको एमाले नेतृत्वले रसुवागढीले अन्तर्राष्ट्रिय नाकाको मान्यता पाएसँगै उच्च तहको भ्रमणमार्फत विश्वास बढाउन खोजेको हो। ओली सरकार ढलेसँगै क्रमशः निर्मित पुष्पकमल दाहाल र शेरबहादुर देउवा नेतृत्वको सरकारका बेला नेपाल-चीन सम्बन्धमा उतारचढाव आएको थियो। दाहाल मन्त्रिपरिषद्ले आफ्नो उत्तराद्र्धमा बीआरआई प्रोजेक्टमा हस्ताक्षर, बूढीगण्डकी परियोजना चिनियाँ कम्पनीलाई दिने सम्झौतामा हस्ताक्षर गरे पनि उनको समर्थनमा प्रधानमन्त्री बनेका देउवाले बूढीगण्डकी परियोजना खारेज गरिदिएका थिए। कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठको भनाइमा, ओलीको रसुवागढी यात्रा नियोजित भ्रमण हो, जसको सम्बन्ध चिनियाँ प्राथमिकतासँग जोडिन्छ। श्रेष्ठ भन्छन्, ‘रसुवागढी नै त्यो नाका हो, जसमार्फत चीन सिंगो दक्षिण एसियासँग पुग्छ। अनि नेपाललाई पनि भारतीय एकाधिकारबाट मुक्त हुन यो नाका विकल्प हो। त्यसैले सरकार बन्नुपूर्व ओलीको प्राथमिकतामा यो नाकाको भ्रमण हुनु एकदमै स्वाभाविक हो।’ चिनियाँ कनेक्टिभिटीका लागि नेपालबाट पठाउने कृषिजन्य निर्यात सामग्रीलगायत विषयमा ओलीको चासो रहेको भन्दै श्रेष्ठले कुनै पनि हालतमा नेपालसम्म उत्तरबाट रेल ल्याइछाड्ने ओलीको चाहना यो भ्रमणमा फेरि दोहोरिएको बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक