20180119

नारायणगढ–मुग्लिन सडकखण्ड माघ १३ गतेदेखि दिउँसोको समयमा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्ड आउँदो माघ १३ गतेदेखि दिउँसोको समयमा बन्द हुने भएको छ । रातिको समयमा गाडी रोकेर काम गर्दा कामको प्रगति नदेखिएका कारण दिउँसोको समयमा बन्द गरेर काम गर्ने तयारीमा गरिएकोे नारयाणगढ–मुग्लिन सडक निर्माण आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताउनुभयो ।जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार भएको सरोकारवालहरुको सर्वपक्षीय भेलाले रातको समयमा भन्दा दिउँसो समयमा कामको प्रगति हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो । सरोकारवालाहरुको छलफलपछि माघ १३ गते देखि  बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम गरिने तयारी भएको प्रमुख यादवले बताउनुभयो । हालसम्म त्यस सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न भैसकेको छ भने १४ दशमलव ७ किलोमिटर सडक कालोपत्रे भएको आयोजनाले जनाएको छ । गएको पुस १८ गतेबाट सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिएको थियो । बीचमा माघे संक्रान्ति पर्वका कारण पुस २९ गतेबाट माघ २ गतेसम्म बाटो नरोकिए पनि पुनः बाटो रोकेर
काम गरिएको छ ।
दिउँसो बन्द नहुने समयसम्म रातमा सवारी रोकेर काम हुने छ । दिउँसोको समयमा बन्द हुँदा राति सडक बन्द नहुने बताइएको छ ।
गएको वर्ष पनि दिउँसो १० बजेबाट चार बजेसम्म सवारी रोकेर काम गरिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएको भन्दै ठेकेदार कम्पनीहरु, नारायणगढ–मुग्लिन सडक आयोजना र परामर्शदाता कम्पनीले स्थानीय प्रशासनलाई दिउँसो नै सडक रोकेर काम गर्न माग गर्दै आएका थिए ।
दिउँसोको समयमा सवारी बन्द गर्दा धेरै समस्या देखिएपछि यस अघि परीक्षणको रुपमा रातमा सवारी रोकेर काम गर्न स्थानीय प्रशासनले दवाव दिएको थियो । तर, निर्माणको जिम्मा लिएका ठेकेदारकम्पनी असन्तुष्टिले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । 
आयोजनाका प्रमुख यादवले रातको समयमा सवारी रोक्दा राति र दिउँसो दुवै समयमा काम हुन नसकेको बताउदै रातमा रोक्दा सडक निर्माणको काममा चार गुणा ढिला भएको बताउनुभयो ।
सर्वपक्षीय बैठकले तीन दिनभित्र आयोजनालाई कार्ययोजना पेश गर्न अनुरोध गरेको छ । सडक यात्रुलाई कम दुःख हुने गरी सडक निर्माणको काम पनि समयमै गर्नुपर्ने अवस्था रहेको बताउदै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले रातमा सवारी रोकेर काम गर्दा प्रभावकारी प्रगति हुन नसकेपछि पुनः दिउँसोमा नै सवारी रोकेर काम गर्न लागिएको बताउनुभयो ।
नारायाणगढ मुग्लिन सडकखण्डको घुमाउने, १६ किलो र चेपाङ डाँडामा भित्तो काट्ने काम बाँकी रहेको छ । घुमाउनेमा २०० मिटर, चेपाङ डाँडा र सोह्र किलोमा ३०० मिटर भित्तो काट्ने काम बाँकी रहेको छ । २८ प्रतिशत काम सम्पन्न गर्न वाँकी छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक