20180201

डिभोर्स ! - रामप्रसाद खनाल

श्रीमानहरु सोँच्दा हुन डिभोर्स गर्छु अर्की रोज्छु 
श्रीमतिहरु सोँच्दा हुन डिभोर्स गर्छु अर्कै खोज्छु 
दुबैले दुबैलाई गन्दै गन्दैनन 
श्रीमान र श्रीमती एक रथका दुई पाङ्ग्रा हौँ 
अहँ भन्दै भन्दैनन !
बैबाहिक जिबन एउटा कम्प्रोमाइज पनि हो
अहँ यथार्थता मान्दै मान्दैनन
एक अर्कामा विश्वाश गर्न जान्दै जान्दैनन
श्रीमतीहरु सोँच्दा हुन आधा अँश खान्छु म
श्रीमानहरु सोँच्दा हुन फलानीलाई लान्छु म
शायद त्यसैले होला नेपाली समाजमा
आजकल थुप्रै डिभोर्स भैरहेको सुन्छु म
युरोप होस् वा अमेरिका
नेपालमै पनि गाउँ होस् वा शहर
जता पनि डिभोर्सकै चल्दैछ रे लहर
राम्रो कुरा नसिक्ने हामी
डिभोर्स सँस्कृती सिकिरहेका छौं
हर कुरामा अति सस्तो बन्दै
जता पनि बिकिरहेका छौं !
अरुलाई अर्ती उपदेश दिंदै गर्दा
आफ्नै घर सम्हाल्न नसक्ने हामी
राजनीति, अर्थनीति, धर्म, कर्म
सबैतिर सस्तोमा बिक्री भैरहेका हामी
अब पारिबारिक बिखण्डनमा पनि
जानी नजानी बिक्री हुँदैछौं 


सन्तानहरुको बिचल्ली
उनिहरुलाई कस्तो असर पर्ला डिभोर्सले
अहँ सोँच्ने फुर्सद छैन अहिले
न त हाम्रो वाहवाही सधै रहिरहन्छ
न त हाम्रो जवानी र बैँश सधै रहिरहन्छ
यि त बग्ने खोला जस्तै हुन
नसोँच बगेर गए पनि फर्किनेछन
गालाको लाली कम हुन थाले पछि
आस्थायी भमराहरु पनि तर्किनेछन !

गालामा अलि अलि हुन्जेल हो लाली
त्यस पछि दुबैको बन्छ जिबन खाली
जवानी र बैँशले सधै पर्खिरहँदैन
कस्तो हेन्ड्सम वा कस्ती राम्री सधै भइँदैन
आफ्नै बिचल्लीको भोलीबाट बेखबर
क्षणिक आबेगमा, तँ भन्दा म के कम भन्दै
खाडल आफै खनिरहेकाछौं
बुढेशकालमा आफै रुने बनिरहेका छौं
बिपनाको संसार भताभुङ्ग पार्दै आफुलाई
सपनाको फ्री संसारका डिभोर्स डिभोर्सी भनिरहेकाछौं !
श्रीमानका खुशीहरुमा हाँस्न नसक्ने श्रीमतिहरु
श्रीमतिका खुशीहरुमा नाच्न नसक्ने श्रीमानहरु
अर्कै सँग हास्न र नाच्न खुशी हुने दुबैहरु
टाउको ठोक्छन जिन्दगीका उत्तरार्धहरुमा
पश्चातापका पियालाहरुमा चुर्लुम्म डुबुल्की मार्दा
बल्ल होसको दवाई खान्छन !
तर ढिलो खाने दवाईले किन छुन्थ्यो र !
अनी बल्ल बुझ्छन
श्रीमतिलाई श्रीमान र श्रीमानलाई श्रीमती जस्तो को हुन्थ्यो र ?
तर त्यो बुझ्दा ढिलो भैसक्छ !
मौका छोपेर यमराजले लैसक्छ ।
लथालिङ्ग देशका भताभुङ्ग नागरिक बनिरहेका छौं
तर आफुलाई
नयाँ नेपाल को नयाँ नागरिक भनिरहेका छौं
मलाई यस्तै यस्तै लागिरहेकोछ
थाहा छैन तपाईंलाई कस्तो कस्तो लागिरहेको छ ??
- जनवरी २३, २०१८, अमेरिका

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक