20180313

३९ हजार २ सय ७५ मत सहित विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित, प्रतिद्वन्दी कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मत प्राप्त

विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुनुभएको छ । आज भएको मतदानमा ३९  हजार २ सय ७५ मतभार सहित भण्डारी विजयी हुनुभएको हो । उहाँकी प्रतिद्वन्दी कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मत पाउनुभएको छ । चुनावमा संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ सदस्य गरी ८ सय ८० जना मतदाता रहेकोमा १८ जना अनुपस्थित थिए । जम्मा ५२ हजार ५ सय मतभार कायम रहेको चुनावमा
२६ हजार २ सय ५१ मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुनेमा भण्डारीले २९ हजार २ सय ७५ मतभार प्राप्त गर्नुभएको हो । यसको आधिकारिक घोषणा भने हुन बाँकी छ । संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको थियो । भण्डारीलाई एमाले, माओवादी केन्द्र र मधेश केन्द्रीत दलको समर्थन रहेको थियो ।  उज्यालोका अनुसार नयाँ शक्ति नेपाल र विवेकशील साझा पार्टी भने चुनावमा सहभागी भएनन् ।
संघीय नेपालको पहिलो तथा नेपालको तेश्रो राष्ट्रपति,  नेपालको पहिलो महिला राष्ट्रपति बन्ने सौभाग्य यसअघि नै प्राप्त गरेकी भण्डारीलाई संघीय नेपालको पहिलो राष्ट्रपति बन्ने अवसर पनि प्राप्त भएको हो । 
नेपालको लोकतान्त्रिक र वामपन्थी आन्दोलनकी नेतृभण्डारी २०७१ साल असोज ११ गते पहिलोपटक राट्रपतिमा निर्वाचित हुनुभएको थियो । राष्ट्रपति भण्डारी नेपालको नीति निर्माण तहमा समेत उल्लेखनीय योगदान पुर्याउँदै नेपाली राजनीतिमा स्थापित व्यक्तित्व हुनुहुन्छ ।
२०१८ असार ५ गते भोजपुर जिल्लाको मानेभञ्ज्याङमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेको कोखबाट जन्मिएकी भण्डारीको बाल्यकाल भोजपुरमा नै बितेको थियो ।  भोजपुरको बेहेरेश्वर प्राथमिक विद्यालयमा प्राथमिक शिक्षा हासिल गरेकी भण्डारीले विद्योदय व्यावसायिक सेकेन्डरी स्कूलबाट माध्यमिक शिक्षा पुरा गर्नुभएको थियो ।
उहाँले भोजपुर क्याम्पसमा आईए र महेन्द्रमोरङ क्याम्पस विराटनगरमा बिएसम्मको अध्ययन गर्नुभएको थियो । भोजपुर क्याम्पसमा पढ्दा २०३५ सालमा तत्कालीन नेकपा माले सम्वद्ध युवा लिगमा सङ्गठित भई उहाँ २०३७ सालमा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधि बन्नुभएको थियो ।
उहाँले २०३७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता पपाउनुभयो भने २०३६ देखि २०४४ सालसम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य भई काम गर्नुभएको थियो ।  उहाँ २०३९ सालदेखि २०४० सालसम्म महेन्द्र मोरङ क्याम्पसको स्ववियू कोषाध्यक्षमा निर्वाचित हुनुभयो । २०४६ सालमा कीर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा उहाँ मोरङको प्रतिनिधित्व गर्नुभएको थियो ।
उहाँ २०५० देखि २०५४ सालसम्म नेपाल ट्रेड युनियन महासंघ जिफण्टको महिला विभाग प्रमुख रहनुभयो । ०५४ सालमा नेपालगञ्जमा भएको नेकपा एमालेको छैठौं महाधिवेशनबाट केन्द्रिय कमिटी सदस्यमा निर्वाचित भण्डारी ०५४ सालमा नै अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ दुई कार्यकालसम्म महिला संघको अध्यक्षमा रहँदै नेपालको वाम आन्दोलनमा सक्रिय सहभागी हुनुभएको थियो । 
२०५९ सालमा जनकपुरमा भएको नेकपा एमालेको सातौं महाधिवेशनमा उहाँ केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभयो । उहाँ ०६४ सालमा बुटवलमा भएको एमालेको आठौं महाधिवेशनबाट पार्टीको उपाध्यक्षमा निर्वाचित हुनुभयो । यस्तै, २०७१ सालमा काठमाडौंमा भएको नेकपा एमालेको नवौं महाधिवेशनबाट पनि भण्डारी दोस्रो कार्यकालका लागि एमालेको उपाध्यक्षमा निर्वाचित हुनुभयो ।
एमालेको उपाध्यक्ष पदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी भण्डारीलाई नेपालको राष्ट्रपतिमा पनि यो अवसर जुर्यो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता मदन भण्डारीसँग पार्टीकै आयोजनामा २०३९ सालमा विवाह गरेकी भण्डारीका  दुई छोरी उषाकिरण र निशाकुशुम भण्डारी हुनुहुन्छ । 
तत्कालीन एमालेका महासचिव मदन भण्डारीको २०५० सालमा चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो ।
श्रीमानको मृत्युपछि पनि एमालेको राजनीतिमा सक्रिय रहेकी भण्डारी ०५० माघमा भएको उपनिर्वाचनमा काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभयो । २०५१ सालमा सम्पन्न मध्यावधि निर्वाचन तथा २०५६ सालमा सम्पन्न तेस्रो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–२ बाट निर्वाचित भएर उहाँले नीति निर्माणमा सक्रिय भूमिका खेल्नुभयो ।
महिला अधिकारको लागि निरन्तर रुपमा संघर्ष गर्दै आउनुभएकी भण्डारी एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकार हुँदा ०६७ देखि ०६९ सम्म रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक