20180317

" बा ! मेरो ग्यास्टिक बढेर गयो । भुँडी दुखेर मर्छु होला ।" - सन्तोष चिमरिया


(बुढालाई मात्र होइन बुढाको छोरो सन्तेलाई पनि मैले माने बा ! कति मिठो लेखाई ! छायाँमा पर्दै गएको नेपाली भाषाका ठेट शब्दहरुको कस्तो मिठो सँयोजन र प्रयोग । भाब अाफैमा उत्तिकै गहिरो भेटियो । मैले सन्तेलाई औपचारिक रुपमा चिन्दिन तर कम बोल्ने बानी, कविताकी खानी, शब्दजाल र बिम्बहरुकी रानी नीरा शर्माको आग्रह पछि सन्तेका लेख पढ्दै गएँ । तीन दशक लामो मेरो पत्रकारिताको दौरानमा मैले यस्ता धेरै सन्तेहरुका लेख रचनामा सम्पादकीय कैंचीहरु मात्र चलाईन, कयौँ पटक सम्पादन गर्दा गर्दै केही शिप नलागेर आफैले उनिहरुका नामको लेख पनि तयार पारिदिएका अनुभब पनि सँगालेको छु । तर नचिनेको सन्ते मनमै बस्यो, भित्रै पस्यो, मन पर्‍यो, मन भित्रै पसे पछि कसका बाउको के लाग्छ र ! गरिस सन्ते गरिस गर्नु गरिस भन्दै सन्तेका तीनवटा लेख एकै चोटी नेपाल मदर डट कममा प्रकाशित गरी संसार भर शेयर गर्दैछु । सन्ते तिम्रो कलमलाई सलाम छ, निरन्तरताका लागि शुभकामना - सम्पादक)   ************

  " बा ! मेरो ग्यास्टिक बढेर गयो । भुँडी दुखेर मर्छु होला ।" अरब पुगेको त्यस्तै १ हप्ता जति पछि मलाई अल्छीले गाँजेर ल्याउन थाल्यो । तिर्थे भक्केको याद आउन थाल्यो । साईली माईलीको सम्झनाले सताउन थाल्यो । क्यारेमका गुटी र क्रीकेटको गेडो हान्दै बितेका ती दिनहरुले सताउन थाले । अनि औडाह बडेर घर जान पाए हुन्थ्यो भन्ने लागेर आउन थाल्यो । 
अनि म आमासँग गनगन गर्न थाले । घरी काम सारो छ भन्थे,घरी कमाई छैन भन्थे । तर त्यस्तो केही थिएन । काम ठिकै र कमाई भनेजती नै थियो । तर आमैसंग जति दुख रोए पनि पार लाग्ने छांट देखिन । लास्टमा उहीँ रिन छ । बैनीको बिहा, घरको छानो, छिमेकीको घडेरीमा पुगेर कुरो टुङिन्थ्यो । भर्खरै किनेको मोबाइलको दिराम सकिने भन्दा कुनै उपलब्धि हात नलागेपछि मैले सिधै कार्यकारी अधिकार प्राप्त बालाई फोन गर्ने निर्णय गरे । 
" बा ! मेरो ग्यास्टिक बढेर गयो । भुँडी दुखेर मर्छु होला ।" 
"डण्डो ताकेर गेडो हान्न पाईन भन्न ।" 
हैट ! बुढालाई मान्नुपर्छ । ठिक मर्म समातेका थिए बाले । म क्रीकेट भनेपछि हुरुक्कै हुन्थे । बाका शब्दमा भन्नू पर्दा डण्डो ताकेर गेडो हान्न हुरुक्क हुन्थे । साथीभाइसंग चार गाउँ डुलेर " डन्डो ताकेर गेडो हानेर मैले बालाई दिक्कै बनाएको थिए । हत्तपत्त बाले पासपोर्ट बनाई दिएर गेडोको उपचार गर्दिए । अहिले त्यही गेडो, तिनै साथीभाई, त्यही फुक्काफाल दैनिकी सम्झेर मलाई ग्यास्टिक भएको थियो । तर बाले फोनबाटै ग्यास्टिसको पनि
उपचार गर्देलान जस्तो भयो ।
" हैन बा ! भुँडी ढुस्स हुन्छ । खानै मन लाग्दैन । मलाई अरव फापेन जस्तो छ बा ।" 
" धेरै भुँडीपुराण नसुना सन्ते ! मलाई तेरो बिराम राम्रोसँग थाह छ । लुरुलुरु काम गर्ने, खुरुखुरु पैसो पठाउने । " 
बुढाले आफ्नो कुरो सके । फोन राखिहाले । 
मेरो नक्कली ग्यास्टिक निको भयो । दिमागको सक्कली टिन्छिन सुरु भयो । त्यसपछि मैले फोन गर्न छोडे । न बाउलाई गरे, न आमालाई गरे । छिस्स मिस्कल पनि हानिन । घुर्क्याई रहे । अहं बुढाले पनि टेरेपुच्छर लाएनन । सन्तेको पुरै बेहोरा बुढालाई थाह छ,किन पो भाउ दिन्थे ! बुढाउले पनि छिस्स पारेर मिस्कल सम्म हानेन । झन्डै झन्डै एक महिना बाउ- छोराको बोलचल बन्द जस्तै भयो । 
यसरी घुर्क्याउदा घुर्क्याउदै महिना मरेर गयो । सेलरी आयो । आफै फोन गरेर पैसा पठाईदिए । दिन बित्दै र रात कट्दै जाँदा बिस्तारै बानी पर्न थाल्यो । उतैका साथीसंगी बने । उतै सरसंगत हुन थाल्यो । बिस्तारै बिस्तारै दिन सहज भए । म अभ्यस्त हुन थाले । बाले ठिकै गरे जस्तो लाग्दै गयो । जेहोस म गरिखान सक्ने भए । 
अहिले नेपाली कांग्रेस भन्ने पार्टीलाई पनि म भर्खर भर्खर अरब गएजस्तो दिन आएको छ । उ पनि सत्ताको स्वर्गबाट अचानकसंग प्रतिपक्षको " अरबमा" आईपुगेको छ । सत्ता स्वर्गमा खेलेको, खाएको, रमन गरेको सम्झेर उसलाई हुरुक्क हुनेगरी सत्ता स्वर्गको न्यास्रो लागेको छ । फर्किन पाए हुन्थ्यो जस्तो लागेको छ । तर निष्ठुर बाउ जस्तो अंकगणितले इजाजत दिदैन । 
यो बेला कांग्रेसले सन्तेको अनुभवबाट सिक्दै धर्य गर्नुपर्छ । सबैलाई सधैं सत्तास्वर्ग प्राप्त हुदैन । मलाई पनि सधैं बाउको लजमा बसेर र आमाको होटल खान पाएको भए मजै हुन्थ्यो । तर मेरो भागको संघर्ष कस्ले गर्दिने ? म गरिखान सक्ने कसरी हुने ? त्यसैले अब काँग्रेसले गरिखान सक्ने हुनुपर्छ । त्यसका निम्ति उसले कम्तिमा एक कार्यकाल प्रतिपक्षको अरबमा बसेर संघर्ष गर्न जान्नुपर्छ । सिक्नुपर्छ । सबैले आफ्नो आफ्नो अनुभवबाट हासिल गरेको कुरो सुनाउने हो । सन्तेको तर्फबाट कांग्रेसलाई दिने सल्लाह यहि हो । 
आग्रे काँग्रेसजनको जो मर्जी .... 
जयनेपाल ।।
*********************************************
राधा ! 
- सन्तोष चिमरिया 
(बिद्यादेबी भाण्डारी पुनः राष्ट्रपतिमा निर्वाचित भएपछि एउटा आलेख मैले पनि पुन: पस्कनु सान्दर्भिक हुने ठानेको छु ।)
पुषका दिनहरू नझुल्किदै अस्ताउन सुरसार गरिहाल्छ्न । खाना खाएर सुत्ने तरखर गर्दा रेडियो नेपालले अग्रेजीमा समाचार भन्ने बेलै भएको हुदैन । भाते निद्राले मध्यरातमै छोडेपछि भने निकैबेर निन्द्रा पर्दै पर्दैन । धेरै छट्पटी गर्यो भने पनि श्रीमतीजीले कुईनो चार्ज गर्दिनु हुन्छ । पानी पिउने , पिसाब फेर्ने अनि मोबाइल झिकेर कानमा ओशोका प्रबचनहरु सुन्दा र केही नलागेपछि सहवासका निम्ति श्रीमतीजीलाई कोट्याउदा जताततैबाट असफलता हात लागेपछि मसंग केही विकल्प बाँकी रहदैन । अनि अन्तिममा उपायनास्ती भएपछि मात्रै म पात्रहरूको खोजीमा निस्कन्छु ..............
म पेशा र शोख दुबैले लेखक हैन । लेख्नु मेरो बाध्यता हो । आफुलाई ब्यस्त राख्न अथवा बहलाउन प्रयोग गर्ने मेरो अन्तिम अस्त्र मात्रै हो कलम । मसंग दिनभरी लालचिया खाएर गफ गर्ने साथी भइ दिए मलाई कहिले पनि कलम चाहिएको हैन । दिनभरी म्यारिज खेलेर बस्ने म जस्तै बेरोजगारहरुको टिम सधा सर्बधा उपलब्ध हुने भए मलाई शब्द खेती गरिरहने उस्तो जांगर चल्दै चल्दैन । सिरक ओडेर सुत्न नसकेपछि र घाम तापेर उङ्ने मन मरेपछि म अन्तिममा कलमको शरणमा पुग्छु । अनि रातका अन्तिम प्रहरहरुमा तंछाड मछाड गर्दै आउने तिनै नबोलाएका पाहुना जस्ता पात्रहरुलाई दिनको अन्तिम अस्त्र कलमले करलाग्दी स्वागत गर्ने निर्णय गर्दा यो कथा तयार भएको हो ।
" ए ! उठन । "
" अंह ! मुड छैन ........... ।"
श्रीमतीको मुड नभएपछि घडी हेरे २ मात्रै बज्दै रहेछ । विवाह भएको आधा दशक भईसकेको छ । एक अर्काको निम्ति हामी पर्याप्त परिचित र पुरानो भई सकेका छौं । त्यसैले अब मुड , समय , मौसम, स्वास्थ , धेरै कुरा ठिक्क हुनुपर्छ । ती कुराहरू सुरु सुरुमा लागू हुन्थेन । मैले धेरै पटक उसलाई २ बजे उठाएको छु र उ खुशी साथ उठेकी छ । उसलाई निन्द्रा नपर्दा म तुरुन्तको तुरुन्तै पनि तयार भएको छु । तर अब आधा दशकपछि पनि मैले उस्तै अपेक्षा गरेको भने हैन । बस उसको र मेरो कथा बोकेर पात्रहरू आईदिए । आएका पाहुना नफर्काउनु भन्छ्न त्यसैले तिनलाई पनि करलाग्दी स्वागत मात्रै गरेको हुं । आखिर यो आख्यानका पात्रहरू तिनीहरु नै त हुन जो अनिन्द्रामा जबर्जस्ति आइदिने गर्छ्न ।
उज्यालो हुन कम्तिमा ४ घण्टा बांकी छ । म ओछ्यानमा ढल्किदा ८ बजेकै थिएन । उ भान्सामै थिई । उ काम सकेर बेडरुममा आईपुग्दा म भाते निन्द्राले मस्त थिए हुंला। धेरै जिबजन्तुहरु हिंउदभरी उर्जा संचय गर्न शित निन्द्रामा जान्छ्न भनेर ठाकुर सरले जीबबिज्ञान बढाउदा भन्थे । मान्छे त्यसमा पर्छ कि पर्दैन कुन्नि, तर म पर्छु । चिसो मौसममा मलाई भात खाएपछि तुरुन्तै शीत निन्द्राका निम्ति शिरक भित्र जानैपर्छ । त्यसैले सधैं झैँ हिजो पनी म गएको थिए ।
बास्तबमा म शीत निन्द्रामा जान थालेको कार्तिकको मध्य देखि नै हो । अहिले पुस लागिसक्यो । शीत निन्द्रामा जाने प्राणीहरु हलचल गर्दैनन् , सहवास गर्दैनन् , बच्चा जन्माउदैनन । यहाँसम्म कि खानापानी नै बन्द गर्छ्न । तर मेरो खानापानी चाहिँ चालू छ । पहिले भन्दा डेडा बढेको होला तर कम्ती भएको छैन । तर बांकी क्रियाकलाप झन्डै झन्डै उस्तै हो । सायद कार्तिकको मध्य देखि नै मपनि सहवास छोडेर शीत निन्द्रामा गएको छु । तर मेरो शीत निन्द्रा २ बजेपछि प्रायः टुट्ने गर्छ । जुनबेला उ शीत निन्द्रामा गई सकेकी हुन्छे । त्यसैले भालेपोथीको शीत निन्द्रामा जाने समय अलगअलग परेकोले सहवासको अनुकुल नभएको झन्डै दुई महिना नै हुन लाग्यो होला । मनमनै भोलि चाहिँ उसले भान्साको काम नसकुन्जेल बरु म गाउँ डुल्न जान्छु तर शिरक भित्र घुस्री हाल्दिन भन्ने आफैले नपत्याएको प्रण गर्दै निदाउन खोज्छु । तर अंह निन्द्रा लाग्दैन । घडी हेर्छु २:१० मात्रै बज्दैछ । ओहो मनको रफ्तारलाई मान्नै पर्छ । निकैबेर निकै लामो यात्रा गरेर घडी हेरे भनेको त बल्ल दस मिनेट मात्रै हुदै रहेछ । उज्यालो हुँदा यो ब्राह्मण नै मनका निम्ति सानो हुने निश्चित छ । तर केहिछैन आज म यो यात्रा सम्पन्न गरेरमात्र विश्राम लिन्छु । धेरै रात भयो असंख्य पात्रहरूले निन्द्रा नलागेको मौका छोपेर मलाई सताएको ।
केही समय अघिदेखि एउटा अनुहार बारम्बार सम्झने प्रयासमा हुन्छु म । अनि त्यो पात्रको अनुहारले मौनता पुर्बक वाचन गर्ने आत्माकथा प्रती मलाई ज्यादै रुचि बढ्दै गएको छ । नेपाल नै हल्लाउने दुर्घटनाले सबैभन्दा बढी क्षति बेहोरेको जुम्ल्याहा अनुहार मध्य एउटा गुमनाम अनुहार, राधाको अनुहार हो । अर्को अनुहार केहि दिन अगि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालकी प्रथम महिला राष्ट्रपतिको रूपमा निर्वाचित महामहिम बिध्यादेबी भण्डारी हो । महामहिमका निजि एल्बमका केहि तस्वीरहरु सामाजिक संजालमा पनि छरपस्ट भए । तर त्यो गुमनाम राधाको अनुहार त्यो सर्बत्र उपलब्ध सार्बजनिक "प्लेटफर्ममा" देखिएन । महामहिम कुनैबेला पातली र सुन्दर ओठ गरेकि नब बिबाहिता युवती हुनुहुदो रहेछ । सायद राधा पनि उस्तै र उतिनै सुन्दर हुनुपर्छ । आफु भन्दा अलि धेरै नै जेठा मदनकुमारका साथ तस्वीरमा उहाँ बिछ्ट्टै सोझी र घरेलु देखिनु हुन्छ । तर जिबराजसंग राधाको जोडी कस्तो रह्यो होला त्यसको जवाफ अज्ञात छ । यी जुम्ल्याहा बिधुवा अनुहार ०४६ सालपछि काठमाडौको पहिलो बहुदलीय डेरावाला पुस्ता हुन । त्यहाबाट सुरु भएको दुबैको यात्रामा एउटी यात्रीले शितलनिबासमा पुगेर विश्राम लिएकी छ्न । तर अनिन्द्रामा महामहिम बिध्या भण्डारी जस्ता पात्रहरूका कथा धेरैबेर टिक्न सक्दैनन् । तिनको कथामा जतिसुकै उतारचढाव भएपनी ती सबै सार्बजनिक भईसकेका छ्न । परिकल्पनाको निम्ति धेरै ठाउँ खाली छैन । पचास सालमा पतिको मृत्युपछि दुई वटी छोरी च्यापेर सेतो सारीमा बिक्षिप्त देखिने तिनको तस्वीर उपनिर्वाचनमा बिजयसंगै आत्माबिश्वासी हुँदै गएको देखिन्छ । समय, नियति, भाग्य ,सघर्ष, संयोग जे भन्नुस महामहिमको शितलनिबास प्रवेश संगै कथा मुलगेट भन्दा बाहिरै छुट्छ । र इतिहास सुरु हुन्छ । तर मलाई इतिहासमा उस्तो रुचि छैन ।
अनिन्द्रामा राधाहरु मात्रै आई पुग्छ्न । संगै रोपिएका तर जरा मुन्तिर ढुंगो आईलागेको कुनै पहेँलो रुख जस्ता राधाहरु ! संगै रोपीएको तर सौभाग्यबस मलिलो माटोमा परेको रुखको सेपमा हुर्कन नसकेको अभागी रुख जस्ता राधाहरु । अनिन्द्रामा यस्तै यस्तै पात्र र यीनका आत्माकथाहरु बढी "डिस्टर्ब" गर्न आईपुग्छ्न । वास्तवमा महामहिमको अनुहार पर्दामा देखिए पनि ती मुलपात्र होइनन् । सहायक हुन । राधाहरुको कथालाई बुझ्ने उपकथा मात्रै हुन । त्यसैले बिध्यादेबी भण्डारी पनि राधा ज्ञावलीलाई मेरा परेलीको पर्दा बाहिर सम्म मात्रै पुर्याउन आएकी पात्र हुन । यहाँ खासमा अनिन्द्राकी पात्र राधा हुन । जिबराज आस्रितकी राधा !!!
शहरका फुटपाथमा थुप्रै हरिया मकै बेच्नेहरुको भिडमा राधा कतै मकै फुक्दा फुक्दै सुकेका ओठहरु लिएर दस रुपैयाँका दरले मकैको घोगो बेच्दैछ्न कि ! अनिन्द्रामा आएकी राधा माथी जबर्जस्ति म आफ्नो कथा थोपर्छु । यदि त्यसो हो भने ती पक्कै पचास काटेकी दुब्ली पातली आँखा भासिएकी आमै हुनुपर्छ । म उनको चरीत्र चित्रण पनि गर्न भ्याउछु । उनि बाघबजार तिर कुनै छिंडीको एउटा अध्यारो र चिसो कोठामा जीवन बिताई रहेकी थकित र अभागी हुनुपर्छ ! हरिदास जस्तै थकित र अभागी ! हरिदास गान्धी ! महात्मा गान्धीका जेठा छोरा हरिदास गान्धी । जो पछि गएर मुसलमान बने । म उनलाई एउटा मजबुत चरीत्रको रुपमा स्थापित गर्न हरिदास गान्धीको सहरा लिन्छु ।
उत्तराधिकारीको हैसियतमा अंशमा पाएको शिक्षा, अनुशासन र आदर्शको भारीले थिचेर अरुभन्दा धेरै पछि परेका हरिदास ! उनको पछाडी झुन्डिएको "गान्धी" ब्राण्ड सम्म पनि नेहरुका बाठा सन्ततिले नै हत्याएर आफ्नो नामको पछाडि झुण्ड्याए । त्यो ब्राण्डको भरपुर उपयोग गरेर उनिहरु स्वतन्त्र भारतको शासक बने र बनिरहने छन । तर गीतालाई आमा मान्ने मोहनदासका छोरा हरिदास भने मुसलमान बने । बिचारा उनले बन्न सक्ने र गर्न सक्ने अन्तिम बिद्रोह नै त्यही थियो ।
राधा पनि माले / माओबादी त्यस्तै केही भईन होला कि ! हरिदास मुसलमान बन्नु र राधा माले/ माओबादी बन्नु उस्तै उस्तै बिद्रोह हो । मदनकुमारको "भण्डारी" ब्राण्डको प्राकृतिक उत्तराधिकारी बिध्यादेबी पाण्डेले ग्रहण गरेपछि मदनकुमारका कान्छाभाई प्रेमकुमार भण्डारी माले भएर बिध्या पाण्डेका विरुद्ध काठमाडौबाट चुनाब लडेका थिए । राजनीतिमा थरको रुपमा पछाडी झुन्डिएको ब्राण्डको बडो महत्व हुन्छ । झन अकालै मरेकाहरुको ब्राण्डमा संबेदनाको सुगन्ध पनि सित्तैमा प्राप्त हुन्छ । तर सबैले त्यसलाई क्यास गर्न सक्छन् भन्ने कुराको भने ग्यारेन्टी हुदैन । जसले क्यास गर्न सक्दैन उसले बिद्रोह गरेको भ्रममा उपद्रो गर्छ । बिद्रोह गर्ने क्षमता हुने संग क्यास गर्ने क्षमता पहिले नै रहेकै हुन्थ्यो । त्यसैले राधा माले/ माओवादी बनेकै भएपनि त्यो हरिदास मुसलमान बने जस्तै उपद्रो मात्रै हो । त्यो पनि गुमनाम उपद्रो । बास्तबमा हरिदास र राधाहरु स्वभावले र शिक्षाले राजनीति गर्नै जान्दैनन् । अनि गान्धीका छोरा र आश्रतिकि श्रीमती भएर इतिहासमा कसैको आँखा नपर्ने अध्यारो कुनामा थन्किन्छ्न ।
हुन त राधा मध्य पश्चिमाञ्चलको कुनै पहाडी जिल्लामा मध्यम बर्गिय जिन्दगी बाँचिरहेकी पनि हुन सक्छिन । छोरा सरकारी स्कुलमा मास्टर भएका हुनसक्छन् । छोरो मास्टर भएर घरमा बुहारी ल्याई दिएर आएपछि उनका दुखहरु धेरै कम र सन्तोष चरम शिखरमा पुगेको पनि हुनसक्छ । उनी आफ्ना छोरीतिरका नातिनातिनालाई बिध्यादेबीसंग उनले गुजारेका दुखान्त समयलाई कहानी बनाएर पस्किरहेकी पनि हुनसक्छिन । पात्र हुन उनिमाथी परिकल्पनाको जुनसुकै आत्माकथा थोपर्ने अधिकार छ मसंग । तर अंह उनि किन हो निन्द्रा आउने बाटो छेकेर पहरेदार हुन छाड्दिनन । उनी दुबै अबस्था मध्य जुनमा भएपनी त्यसको तुलना शितलनिबासको भब्यतासग हुनै सक्दैन भनेर आशु खसाली रहन्छिन ।
अनि म सुदुर एटलान्टा पारीकी गोरी ज्याकोलाईनलाई पात्रको रुममा उनको सामुन्ने खडा गर्दिन्छु । यो पात्रहरूको भाबनात्मक ब्यालमेलिङबाट उम्किने एउटा उपाय पनि हो । राधाहरुलाई ज्याकोलाईनको कथा पनि थाहा हुनैपर्छ । वियोगान्त कथाकी एक्ली पात्र केबल राधा मात्रै होइनन् भन्ने ज्ञान राधालाई हुनैपर्छ । अनिमात्र उनी निन्द्रा आउने बाटोमा पहरेदारी गर्न छोडेर आफू पनि सुत्नेछिन र अरुलाई पनि सुत्न "डिस्टर्ब" गर्ने छैनन् होला भन्ने मेरो झिनो आशा छ ।
साठीको दशकमा अमेरिकाका दुई सुन्दरीहरुको दुर्भाग्य इतिहासमा दर्ता हुन लायकको वियोगान्तक छ । त्यसमा एउटी ज्याकोलाईन हुन । वालस्ट्रीटका धनाड्य सेयर दलाल बाउकी सुन्दरी छोरी ज्याकोलाईनको भेट उदयमान युवा राजनितिज्ञ ज्याकसंग हुँदा उनी अमेरिकाका राष्ट्रपति भएकै थिएनन् । कग्रेंसम्यान चाहिँ भइ सकेका थिए । त्यही बर्ष उनिहरुको प्रेम बिबाह भयो ।
बिबाह भएको आठ बर्षपछी ज्याकले १९६० मा भएको राष्ट्रपतीको निर्वाचन जिते । राष्ट्रपतीमा निर्बाचित भइ सकेपछि ज्याक अब ज्याक मात्रै रहेनन । सम्मान र औपचारिकता पुर्वक ज्याकलाई जोन एफ केन्नेडी भनेर अमेरिका र संसारले चिन्यो । तर ज्याकोलाईनले सधैं नै जोनलाई ज्याक भनेरै सम्बोधन गरिरहिन । ज्याक पनि ज्याकोलाईनको लामो नाम छाँटेर ज्याकी भनेर सम्बोधन गर्थे ।
समर्थकहरुका निम्ति अमेरिकाकी प्रथम महिला संसारभरी नै आकर्षणको केन्द्रमा त हुन्छिन नै । तर ज्याकोलाईनको सुन्दरताले बिरोधिहरुलाई पनि उत्तिकै मोहित बनाउथ्यो । अमेरिकाका कट्टर शत्रु निकिता ख्रुस्चेवले ज्याकोलाइनलाइ एउटा कुकुर उपहारस्वरूप पठाएको घटनाले बिश्वनेताहरु माझ ज्याकोलाईनको ब्याक्तित्व, सुन्दरता र प्रभावको सहजै आंकलन गर्न सकिन्छ ।
युवा र आकर्षक राष्ट्रपति र अतिसय सुन्दरी ज्याकोलाईनको यो जोडी अमेरिकी समाजमा यती लोकपि्रय भयोकी ज्याकोलाईनको केशबिन्यास अमेरिकी महिलाको " हेयर स्टाईल" र उनले लगाएको "पिन्क सुट" र "ह्याट" साठीको दशकको फेसन नै बन्यो ।
तर समय सधैं एकनासको रहेन । १९६३ मा दोस्रो कार्यकालका लागि चुनावी अभियानमा रहेका बेला ज्याकको हत्या भयो । ज्याकको टाउकोमा गोलि लाग्दा ज्याकोलाइन ज्याकसंगै कारमै थिईन । उनको सुन्दर अनुहार ज्याकको रगतले रक्ताम्य भएको थियो । त्यसको भोलिपल्ट ज्याकले प्राण त्यागे र ज्याकोलाईन बिधुवा भईन । निमेषभरमा ज्याकोलाइनको जिन्दगीबाट सबैथोक हरण भयो । ताज, वैभव, पति सबै सबै गए । ज्याकको अन्त्यष्ठीमा अन्तिम पटक अमेरिकी जनताले ज्याकोलाईनलाई देखे । त्यसपछि उनी सार्वजनिक जिबनबाट फिर्ता भएर राधा जस्तै गुमनाम भईन । धेरै पछि जब उनी दोस्रोपटक बिधुवा भइन त्यसपछि बल्ल उनले आफ्ना साथीसँग दोस्रो बिबाह गरेको पत्तो लाग्यो । त्यसपछि फेरि ज्याकोलाईन उसैगरी गुमनाम भईन । आजसम्म उनको बारेमा केही सुनिएको छैन ।
ज्याकोलाईनको वियोगान्तक कथा सुनाइ सकेर राधाको अनुहार हेरे । उनको अनुहारमा ज्याकोलाईनले बेहोर्नु परेको पिंडाको स्पष्ट छाँया थियो । अकालमा जिबनसाथी गुमाउनुको पिडादायी अनुभवमा ज्याकोलाईनको दुख मिसिएर त्यो छाँया उनको अनुहारमा झन गाडा देखिएको थियो । अनि उनका आँखा टलपल हुँदै गएका थिए । मानौं उनी भर्खरै जन्मिदै गर्दा अर्को गोलार्धमा भएको त्यो दु:खद घटना उनी अहिले नै कुनै सिनेमा जस्तो प्रत्येक्ष हेरिरहेकी छ्न ।
" राधा ! "
"राधा !!"
मैले उनलाई कथाबाट बाहिर निकाल्न चाहे । तर जब राधा कथाबाट बाहिर निस्किएकी थिईन उनी बोल्कुल मौन थिईन । तर उनका आँखाहरु बोलीरहेका थिए । त्यहाँ जिन्दगीको बृहत तस्बिर थियो । त्यहाँ उनका निम्ति बिल्कुलै अनजान पात्र ज्याकोलाईनका निम्ति सहानुभूति र प्रेम थियो । आफ्नो जीवन प्रती कुनै प्रश्न र गुनासाहरु थिएनन् । उनी संसारीक जिबनको क्षणभंगुरता बुझेका, बुद्धत्व प्राप्त कुनै नारी बुद्ध जस्तै देखिएकी थिईन । अनि बिस्तारै बिस्तारै पर्दाबाट दृश्य ओझेल भएजस्तै मेरी राधा पात्र बिदा नमागी बिदावारी भएर गएकी थिईन । 

******************************
समानुपातिक आन्टी ! 
- सन्तोष चिमरिया 
यो हिउँदमा केही दिनका लागि "गाउँघर" गएको थिए । अहिलेका " गाउँघर" शहरीकरणले शहर भैसकेका छन । अन्न झुल्ने खेतहरु बन्जड घडेरी भएका छन । अरुका के कुरा, स्वयं आफ्नै घर, आफ्नो जस्तो छैन । न परेवाको गुड छ । न पालीमा भंगेरा बस्छन । न मकै राख्ने घार छ । न लसुन झुन्डिएको छ । न भडार छ, भडार नभएपछि भडारकोठामा पस्दा आउने गुन्द्रुक र केराको बास्ना हुने कुरै भएन । जे छ, यतै शहरमा हुने जस्तो छ । रेडीमेड । त्यसैले त्यता जानू र नजानुमा तात्विक भिन्नता छैन । जसले गर्दा जानेक्रम घटेर पंचबर्षे/ दस बर्षे भएको छ । 
तर यो हिउँदमा म गए । आफ्नै लागि बिरानो हुँदै गइरहेको आफ्नै गाउँघर डुल्ने वातावरण नभएपछि म शहरियाले जस्तो छत चडे । यसो घरधुरी गन्दा गोपे बाहेक मेरा लागी सबै अपरिचित भैसकेका रहेछन । के छ हाउ ? भन्दै गएर थ्याच्च बस्न नमिल्ने खाल्का कोहि बाँकी रहेनछन। धुरमा घडेरी किनेर आकासतिर फर्किएका घर बनाएर वसेका आधुनिक खालका छिमेकीले मेरो गाउँ अतिक्रमण गरेर उनीहरुको शहर बनाई सकेका रहेछन । 
शहर तिरका अथवा शहरिया टाईपका छिमेकीहरुसंग बडो असहज लाग्छ मलाई । त्यहाँको उग्र औपचारिकताले आत्मीयता मुर्छित जस्तै हुन्छ । सहजता गायब हुन्छ । तर अब छिमेकी आन्टी नै समानुपातिक तर्फ" लिस्टेड" भएकी रहिछन । जे भएपनि छिमेकी हुन, महिला हुन, जनजाती हुन । शुभकामना दिनु परो भनेर यसो गईयो । चोर्नै गएजस्तो गरेर उनको बाग जस्तो कुकुर भुक्न थाली हाल्यो । उहिले भए कात्तिके खिच्चालाई ढुंगाले हानेर पुक्लुक्क ढल्दिनु हुन्थ्यो । तर अहिले भुक्दै गरेको कुकुर चन्चुने कुकुर थिएन । आम कुकुर थिएन । भाबी प्रदेशसभाकी सभासदको कुकुर थियो । तैपनि छिमेकी आन्टी समानुपातिक तर्फ चयन भएकी छन । कुकुर भुक्यो भन्दैमा शुभकामना नदिइ फर्किने कुरो भएन हेर्नुस । अनि रेबिजको सुई लाउनै परे पनि पछि लगाहुन,शुभकामनासम्म चाहिँ टक्र्याएरै आउनु पर्यो भनेर अघि बढे । कुकुर त आन्टीको समानुपातिकै खोस्नै आए जस्तो गरि झन भुक्न थाल्यो । साला ! बेलायती होसकि अम्रिकन ,कुकुर भनेको कुकुर नै हुने रैछ ! भन्ने सोच्दै म मुलगेटसम्म पुगे । तर आन्टीको मुलगेट सधैं झै बन्द छ । दुईचार पटक बिजुली घण्टी बजाएपछि, बल्ल बल्ल आन्टीकी मेडले ढोका खोली । कफि र कुकिज आउँछ । आन्टी आउदिनन । कुकुर भुक्या भुक्यै छ । अनि त्यहि तिते कफी र कुकिज खाँदै निकैबेर कुकुर भुकेको सुनेर बसे । भित्रबाट आन्टीले "सट- अप टोम" भनेपछि बल्ल कुकुर चुप लाग्यो । 
अहिले आन्टीले जहाँ बङलो बनाएकी छन, अर्थात म जहाँ बसेर तिते कफि र कुकिज खाईरहेको छु , त्यहाँ पहिले साईलो कामीको झुप्रो थियो । को साईलो कामी ? गोपेको बाउ । साईलो कामीलाई सुके मसान लागेपछि थुप्रै खर्च भयो । अनि बाटैले छोएको सुनको टुक्रो जस्तो बारी बेचेर उ खेतको पुछारमा गएर बस्यो । उतै रगत छादेर मर्यो । उहिलेको त्यही बारी समयक्रममा अहिले करोडौंको घडेरी भएको छ । 
कुरो रड्क्यो ? कुरो तपाईंको प्रश्नले गर्दा रड्केको हो । "को साईलो कामी ?" भन्ने प्रश्नले रड्केको हो । ठिक छ , म आन्टीको प्रसंगमा आउला । उनी इन्ट्रेस्टिङ क्यारेक्टर हुन । तर पहिला गोपेको प्रसंग सक्न दिनुस । उ पनी लेख्न लायक प्रतिनिधि चरीत्र हो । म सानै छंदा गोपे र हाम्रो घर सबैभन्दा नजिक थियो । यी बिस बर्षमा गोपे धेरै टाडाको छिमेकी भैसकेको छ । हाम्रा घरहरुको बिचमा अरु धेरै घरहरू बनिसकेका छन । ठ्याक्कै साँध सिमा जोडिएकि छिमेकी हुन यी समानुपातिक आन्टी आईपुगेकी छन । 
ल म एकछिन आन्टीकै प्रसंगमा छिरे है । यी आन्टीले छ बर्ष लगाएर साईलो कामीको बारी किनेर घर निर्माण गरिन । एक बर्ष भयो बस्न थालेको । त्यो भन्दा अगाडी हङकङ बस्थिन । यसो हेर्छु , आन्टीलाई सबैथोकले पुगेको छ । केही कमी छ भन्ने उनलाई लाग्छ भने, त्यो उनको उचाई हुनुपर्छ भन्ने मेरो अनुमान छ । जुन हाउबाउ र फेसनमा उनी हिड्छिन उनको जीवनशैलीलाई पुग्ने " हाईट" पुगेन कि जस्तो लाग्छ । 
बाँकी सबथोक बडिया छ । बुढी हुँदै गईरहेकी छन । तर नहुनलाई कम्ता मात्रै मेहनत गरेकी छैनन् । घर अगाडी साँडे पांचमा ठ्याक्कै ड्राईभर आईपुग्छ । ड्राइभरले पाँच वटा चुरोट सकेपछि आन्टी आईपुग्छिन । ड्राईभरले माथि जंगलको चौरमा लगेर छोडेर आउँछ । आन्टी उफ्रिने , मर्किने, घुगुत्ती खेल्ने,ध्यान , योगा, जिम, एथलेटिक्स सबै एकसाथ सकेर ८ बजे फर्किन्छिन । 
हैन ! शारीरिक अभ्यास प्रति यति संचेत नारीले त्यो १५ मिनेटको बाटो हिडेर आईजाई गर्दा हुदैन ? 
हो, यहि प्रश्न मेरो मनमा पनि उठेको थियो । हुदैन रे ! किन ? स्टाटस कम्प्रमाईज्ड हुन्छ रे ! 
हेर्नुस, एक त त्यस्तो प्रश्न म उनलाई सोध्दै सोध्दिन । दोस्रो, मैले सोधे नै पनि उनले त्यस्तो जवाफ दिन्नन । यो सबै मैले उनको ड्राईभरको मुखबाट सुन्या हो । अब ड्राइभरले आफ्नी मेडमको हैसियत बढाउन भन्यो कि, केही सुईको पाएरै भन्यो त्यो भगवान जानुन । 
जब ९ बज्छ- उनका घरमा उनी जस्तै जबर्जस्ती जवान बन्न खोज्ने ८-१० जना आईमाई भेला हुन आउछन । आगनमा ओछ्याएको गलैंचामा आन्टी गुरुको स्थानमा बस्छिन । बाँकी चेलाको स्थानमा बसेर घरी खुट्टा काँधमा हाल्छन । घरी कम्मर भाँचेर धनुष जस्तो बन्छन । 
अनि एकछिन पछि जोड जोडले बेपत्तासंग हास्न थाल्छन । अब हाम्री आमालाई "लाफिङ थेरापी" को बारेमा के थाहा ! पल्लो घरमा आईमाई बौलाए भनेर यता भान्सामा हाम्री आमा हाँस्न थाल्छिन । अनि म हाँस्छु । अनि यी दृश्य देख्ने टोलका अरु पनि हाँस्छन । यसरी अन्जानमै भएपनि, टोलामा एक राउन्ड लाफिङ थेरापी सित्तैमा सुसम्पन्न हुन्छ । 
आन्टीका छोराछोरी त धेरै यता बस्दैनन । तर जब आउछन, रमिता हुन्छ । छोरो चाहिँको कपाल सुल्झिन नसकेको एक बेडा सनपाट जस्तो छ । हामीलाई देख्यो भने बोल्नुपर्छ भनेर अन्तै फर्किन्छ । उसगको कहानी त्यही सक्की गो । बाँकी रहि छोरी ! 
छोरी छन यो देशमा पटक्कै फिट नहुने- अल्ट्रा मोर्डन । अब देशमै फिट नभएपछि यो शिशु शहरमा तिनको जिबनशैली र स्वतन्त्रताले स्वच्छन्दपुर्बक हुर्कनै पाउदैन । ति बिचरी बोटिस र कट्टु लगाएर छतमा " सन बाथिङ" गर्न उत्तानो पर्छिन । उनी सुर्य स्नान गर्न माथी चडेपछी टोल भरिका बुढा देखी किशोरसम्मलाई आफ्नो आफ्नो छतमा सानो काम आई पर्छ । धन्न कसैके दुरबिन किनेका छैनन् । तर वास्तवमै भन्ने हो भने , यो देशमा युवतीहरूलाई सुर्यस्नान गर्ने वातावरण चाहिँ छैन । 
*************

आधुनिक समाजकी ५० वटा केक काटी सकेकी नारी र उनकी तरुनी छोरीको सुर्यस्नानका दृश्यहरु कम्ती मनमोहक हुदैनन् । धेरैजना कथा त्यही बिन्दुबाट सुरु होस भन्ने चाहाना राख्नु पनि हुन्छ होला । तर यीनीहरुको भिडमा गोपे हराउनु हुँदैन । उसको कथा मर्नु हुदैन । उ फेरि एकपटक छुट्नु हुदैन । मैले शिर्शकमै एकपटक उसलाई अन्याय गरिसकेको छु । 
अं गोपे ! तर मैले आन्टीलाई चटक्कै छोडेको छैन । उनी गोपे पछि आउछिन । उनी बिना यो आलेख अधुरो हुन्छ । जेभए पनि उनी पनि यो समाजमा लुसुक्क भित्रीएकी एउटी बिज्ञापन हुन । अब सकि नसकी समाज उनलाई पछ्याउन बाध्य हुनेछ । म पनि उनिबारे लेख्न बाध्य हुनेछु । खैर .... 
गोपेले सानैमा बिहा गर्यो । मेरो बाल सखा ,मलाई बिहाको महत्व र मजा उस्तो थाह नहुंदै उसले कतैबाट एउटी स्वास्नी ल्याएर भित्र्यायो । अनि अलि बारमा बारीको पुछारतिर छाप्रो हालेर छुटियो । भर्खर बिहा गरेका गोपे र गोपेकी गोपिनीमा उल्का प्रेम थियो । उ गोपीनीलाई सप्रेम मनु भन्थ्यो रे । गोपिनीको वास्तविक नाम मनमती थियो । साईली कमिनीलाई गोपेले मनमतीलाई मनु भनेको पटक्कै मन नपर्ने ! जोईटिग्रें, पानीमरुवा, आदि इत्यादि भनेर हाम्री आमैसंग छोराको कुरो काट्न आउथिन । मैले त्यही सुनेर थाहा पाएको हुं । 
तर गोपेले अलि चाँडै नै रहर पुर्यायो । एउटी छोरी जन्मिए पछी गोपेलाई घर र मनुको चिन्ताले कम, साम्यवादको चिन्ताले धेरै गाज्न थाल्यो । तर त्यसको पछाडी घाम पाटीको आक्रमक संगठन बिस्तार र प्रशिक्षण थिएन भन्न सकिदैन । जेहोस त्यसपछि गोपेले खुद्रा कुरो गर्न छोड्यो । समानता, न्याय र क्रान्ति भन्दा तल झरेर उसले कुरा गरेन । यसैविच आरान थाप्नु साम्यवादको विरुद्ध हो भनेर कस्ले सिकायो खै, आफ्नै झुप्रोको अगाडी अंशमा पाएको आरन गोपेले मिल्कायो । अनि छेउको बारी ९००० दाममा बेचेर कुखुरा ब्यापार थाल्यो । 
गोपे गाउँभरीका कुखुरा जम्मा पार्थ्यो । शहरमा लगेर बेच्थ्यो । ब्यापारबाटै गोपेले ठिकै आम्दानी गर्यो । घरमा टिन ठोक्यो । एउटा दुहुनु गाई किन्यो । अलिअलि दाम कमाएपछी गोपेको प्रमोसन भएर गोपाल भयो । गोपालजी भयो । प्रगतिशील राजनीतिको त्यान्द्रो समात्दै गोपे श्रीमान गोपाल बिश्वकर्मा ज्यु - बडाध्यक्ष । सम्म भयो । 
तर दोस्रो , तेस्रो अनि चौथोपटक पनि मनुले छोरी नै पाएपछि भने गोपेको साम्यवाद डगमगायो । उसको प्रगतिशीलताले हावा खायो । उसलाई कताकता तर्पण दिने छोराको चिन्ताले सताउन थाल्यो । अपुत्रो हुनुको हिनताबोधले गाज्न थाल्यो । उसलाई कुनै पनि मुल्यमा , एउटा मात्रै भएपनि छोरो नभई नहुने भयो । त्यसैले उ फेरि मनुले छोरी नै पाई भने, सौता ल्याउछु भन्दै हिड्न थाल्यो । 
यता मनु फेरि गर्बवती भई । उता शहरमा ब्वाईलर नामका सेता कुखुरा छ्याप्छ्याप्ती सस्तोमा आपूर्ति हुन थाले । आगन घुरेन चर्दै पुग्दो समय लाएर हुर्किएका लोकल कुखुरा बढ्नै समय लाग्ने । किन्नै मुंगो पर्ने । त्यसमाथि प्रजातन्त्रले ल्याएको स्वतन्त्रता र खुल्लाबजारले देखाएको बाटो समात्दै क्षेत्र/बाहुन सबैभन्दा धेरै बोईलर उमार्न थाले । जताततै बोईलरका सेता चल्ला बर्खे च्याउ जस्तो उम्रन थालेपछि गोपेलाई आपत पर्यो । आकाशतिरबाट दैब, वरिपरिवाट क्षेत्री/ बाहुन अनि सिंहदरबारबाट रामशरण अर्थनीतिले गोपेलाई एकसाथ प्रहार गर्न लागे । 
चौतर्फी निशानामा परेको गोपेलाई असारसम्म आईपुग्दा दैबले अन्तिम प्रहार गरेजस्तो लाग्यो । त्यहि असारमा गोपेकी मनुले पाँचौ छोरीलाई जन्माई । अनि सबै विरुद्ध गोपेले बिद्रोह गर्यो । झमझम, भदौको झरीले आकाश रोएको समयमा, अरुले साली भगाउथे । गोपेले बिद्रोह गरेर बिबाहित जेठीसासु भगायो । तर गोपेको बिद्रोहले भने उसको सर्बस्व गुम्यो । इज्जत, धन, पार्टीको सदस्यता, बडाध्यक्षको पद, चिया दोकानका ठोकिने साम्यवादी गफको नैतिक धरातल सबै गयो । अनि बसिनसक्नु खिसिट्युरी हुन थालेपछि दशैको मुखमा गोपे पनि गयो । कहाँ गयो भन्दा कान्छी श्रीमतीको रुपमा भित्र्याएकी जेठीसासुलाई घरमै छोडेर गोपे पंजाब गयो । 
क्रमशः ......

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक