20180318

के यस्तै व्यवहार कायम राखेर नेपालको स्थिरता, शान्ति र समृद्धि सम्भव होला त ?

– देवप्रकाश त्रिपाठी
हाम्रो जमिनमा चिनियाँ यात्री ह्वेन साङले छैटौँ शताब्दीमा पाइला हाल्दा उनले बिझाएको महसुस गरे र, आफ्नो यात्रा–वर्णनमा लेखिदिए, ‘हिमालदेखि दक्षिणपट्टि विश्वासघाती, धोखेबाज, स्वार्थी र धूर्त मानिसहरू बस्दा रहेछन् ।’ उनको यस्तो इम्प्रेसनलाई पुराना फ्रान्सेली लेखक सिल्भाँ लेवीको आफ्नो पुस्तकमा उद्धरण गरेका छन् । ६ दशकअघि नेपालको अध्ययन भ्रमणमा आएका स्वीस भूगर्भवेत्ता टोनी हगनले पनि ह्वेन साङलाई उद्धरण गर्दै आफ्नो पुस्तकमा ‘नेपालका बासिन्दाहरू चतुर, हिंस्रक र घिनलाग्दा भएको’ उल्लेख गरेका छन् । यसरी हाम्राबारेमा विदेशीका टिप्पणी आउनुले ‘त्यसबेलाका हामी’ विवेकशील हुन
खोज्दैनथ्यौँ कि भन्ने दर्शाउँछ ।
विवेकको अभावमा मात्र मानिस कपटी, धूर्त, धोखेबाज, हिंस्रक र आत्मकेन्द्रित एवम् अधिक स्वार्थी व्यवहारको बसमा रहने भएकोले इतिहासमा हामी विवेकहीन देखिने थियौँ कि भन्ने प्रश्न उठ्न सक्छ । यो भूमि ऋषिमहर्षिहरूको तपोभूमि, देवीदेवताहरूको क्रीडाभूमि, भगवान् गौतम बुद्धको करुणाभूमि र वीरहरूको जन्मभूमिका रूपमा चिनिने, हामीचाहिँ त्यति अविवेकी र असभ्य थियौँ, जति ह्वेन साङ्ले लेखेका छन् भन्ने प्रश्नले यसबारे जानकार नेपालीलाई कहिलेकाहीँ नराम्रोसँग निमोठ्ने गर्दछ । तर, नेपालमा हामीले दशकौँ अघिदेखि प्रस्तुत गर्दै आएको व्यवहारको विवेचना गर्दा ह्वेन साङ पूरै गलत हुन् भन्नेमा शङ्का उत्पन्न गराउँछ । काजी भीम मल्लकी सतीले श्राप दिएको स्मरण गर्दै हामी भन्ने गर्छौँ, ‘यो देशमा सतीको श्राप परेको छ, त्यसैले राम्रो गर्नेको पनि भलो हुन्न ।’ तर, भीम मल्लकै हत्या जुन अवस्थामा भएको छ, त्यसको अध्ययन गर्दा त्यहाँ पनि विवेक प्रयोग नभएको, गलत सूचना र हल्लैहल्लाको भरमा अविवेकी निर्णय हुन पुगेकोे देखिन्छ ।
भीम मल्लको हत्यापछि मात्र उनकी सतीले श्राप दिएकी भए पनि ‘राम्रो गर्नेको भलो नभएको’ त सतीको श्राप पर्नुअघि नै हो । तिब्बत युद्ध जितेर फर्किएपछि भीम मल्ल आफैँ नेपालको राजा बन्न खोज्दै छन् भनेर चलेको या चलाइएको हल्लाका आधारमा भीम मल्ल तिब्बतबाट फर्किएर राजाको दर्शनमा जान लाग्दा दरबारको ढोकैमा उनको हत्या गरिएको थियो । यस घटनाबाट नेपालमा धेरैअघिदेखि नै शासकदेखि जनतासम्म कोही पनि विवेकसम्मत व्यवहारमा रुचि राख्ने गर्दैनथे भन्ने देखाउँछ र, त्यसैअनुरूपको वंशाणुगत गुण अहिलेसम्म यथावत् रहेको महसुस गरिन्छ । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रूपचन्द्र विष्ट र अन्य कैयन सामाजिक अग्रजहरूले जीवनको खास कालखण्डमा व्यक्त विचार एवम् भावनाले पनि हामी नेपाली विवेकशील मानिसमा रूपान्तरित हुन बाँकी भएको स्पष्ट गर्दछ ।
रूपचन्द्र विष्ट जीवनको अन्त्यतिर भन्ने गर्नुहुन्थ्यो, ‘जनता जगाउन खुब कोसिस गरियो, सकिएन । यहाँका मानिस झुट र असत्य मन पराउँदारहेछन्, सत्य हजारपटक भने पनि विश्वास नगर्ने, झुट मन पराउने र धुमधाम फैलाउने गर्दछन् ।’ आफ्नो जन्म नै जनतालाई जागरुक गराउनका लागि भएको दाबी गर्नुहुने दार्शनिक विष्ट यहाँका मानिसमा सत्य र ठीक ग्रहण गर्ने प्रवृत्ति नदेखेर हैरान र थकित हुनुहुन्थ्यो । भन्ने गर्नुहुन्थ्यो, ‘जीवनभरि म जनता जगाउन सक्रिय भइरहेँ, या त जनता जाग्दै जागेनन्, जे–जति जागे ती पनि जाली–फटाहालाई नै काम लागे ।’ त्यसैगरी प्रजातन्त्रवादी नेता गणेशमान सिंहले पनि आफ्नो जीवनको उत्तरार्धमा जनतालाई ‘भेडाबाख्रा’को संज्ञा दिनुभएको थियो । सिंहको सिङ्गो परिवार नै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थियो र त्यसक्रममा उहाँसहित पत्नी मंगलादेवी र पुत्र प्रकाशमानले समेत पटकपटक यातना भोग्नुपरेको थियो ।
गणेशमानजीको परिवार सङ्घर्षमा लाग्दा कसैले उहाँलाई ‘किन पत्नी र छोरालाई समेत जेल पठाएको’ भनी प्रश्न गरेका थिएनन्, तर ०४८ को संसदीय निर्वाचनमा मंगलादेवी र प्रकाशमानलाई उम्मेदवार बनाएपछि त्यसलाई ठूलो मुद्दा बनाइयो । गणेशमान सिंहले प्रधानमन्त्री पद त्यागेको कुरालाई भुलेर आममानिस ‘छोरा र श्रीमतीलाई किन उम्मेदवार बनाइयो’ भन्ने प्रश्नको वरिपरि घुमे र निर्वाचनमा दुवैलाई पराजित गरिदिए । दशकयता पतिपत्नी र एकै परिवारका सदस्यहरू एकैपटकमा सांसद र मन्त्री बन्ने बनाइने क्रम जारी छ, तर कोही पनि मानिस अहिले यस विषयमा प्रश्न उठाउँदैनन् । त्यस्तै राणाशाहीको एकतन्त्रीय शासनविरुद्ध लड्ने योद्धा, नेपाली काङ्ग्रेसका संस्थापक सन्तनेता कृष्णप्रसाद भट्टराई पनि देशमा प्रकट अविवेकी व्यवहारको सिकार हुनुभयो । अग्रगमन र क्रान्तिको नाममा देशको बर्बादी हुँदै छ भनेर उहाँले सबै राजनीतिक दल तथा तिनका नेता, कार्यकर्ता र जनतालाई सचेत गराउने प्रयास गर्नुभयो, तर एक निस्वार्थ नेताको कुरा सुन्न कोही तयार भएनन् ।
अदालतप्रतिको जनविश्वास र भरोसा घटाएर नेपाललाई असफल राज्य घोषित गर्न चाहनेहरूको ग्राण्ड डिजाइनमा नेपाललाई फसाइँदै छ भन्न नमिल्ने अवस्था अब रहेन । तर, यसबाट मुक्ति पाउने चाहनासम्म प्रकट भइरहेको छैन ।
किशुनजीको आह्वानको उपेक्षा गर्नुको परिणाम आज देशले भोगिरहेछ, अझै कति भोग्नुपर्ने हो त्यसको अनिश्चितता छ । किशुनजी त्यसताक आफ्ना निकटवर्तीहरूसँग भन्ने गर्नुहुन्थ्यो, ‘अब नेपालमा जातीय र क्षेत्रीय द्वन्द्व चर्किन्छ, सामाजिक सद्भाव र राष्ट्रिय एकता बिथोलिन्छ, मेरो त मर्ने बेला भइहाल्यो, बाँच्नेहरूले अब धेरै दुःख पाउनेछन् ।’ कृष्णप्रसाद भट्टराईले आफनो पूरै जीवन देश, जनता र प्रजातन्त्रको नाममा समर्पण गर्नुभएको हो । उहाँ वैयक्तिक स्वार्थको सीमाभन्दा बाहिर हुनुहुन्थ्यो र जे भन्नुहुन्छ त्यो केवल नेपालको हितका निम्ति मात्र हुनेछ भन्ने स्पष्ट थियो । तर, किशुनजीका कुरालाई कसैले सुन्न चाहेनन्, फेरि पनि अविवेकी भिड हावी भयो र उहाँको बुढ्यौलीलाई व्यङ्ग्य गर्दै विषयको गम्भीरतालाई उपेक्षा गरियो । अरू त अरू काङ्ग्रेसकै नेता भनिएकाहरूसमेत किशुनजीप्रति निष्पृह रहे, विवेकशून्यता यहाँ पनि देखियो ।
श्री ५ बडामहाराज पृथ्वीनारायण शाहले नेपाल एकीकरणको ठेक्का लिएका थिएनन् । गोरखाका अरू राजाहरूझैँ गोरखामै सीमित भएर बसेका भए पनि उनलाई ‘किन नेपालको एकीकरण नगरेको भनेर’ कसैले प्रश्न उठाउने पनि थिएन । ठूलो देशको राजा बन्ने इच्छाले मात्र पृथ्वीनारायण राज्य विस्तारमा खटिएका थिए भन्ने निष्कर्षमा पुग्न प्रमाणको अभाव महसुस गराउँछ । ठूलो देशको राजा बन्ने उद्देश्यबाट नै प्रेरित भएर राज्य विस्तार निम्ति उनी उत्प्रेरित भएका रहेछन् भने पनि त्यो गलत थिएन भन्ने मान्नुपर्ने हुन्छ । नेपाल एकीकरणको लाभ पृथ्वीनारायणले भन्दा पनि हामी नेपालीले नै उठाइरहेका छौँ । बिस्मार्कले जर्मनी, नेपोलियनले फ्रान्स र चङ्गेज खाँले मङ्गोलिया स्थापना गरे । पूजापाठ लगाएर वा माक्र्सवादी सूत्रहरू कण्ठ गरेर कुनै मुलुकको एकीकरण सम्भव थिएन ।
राज्य विस्तार या एकीकरण सामान्तया युद्धका माध्यमबाट भएको इतिहासमा पढिन्छ । पृथ्वीनारायणले नेपाल बनाइदिए, यदि हामी नेपाली हुन पाएकोमा गौरव महसुस गर्छौँ भने अभिनन्दनीय नायकका रूपमा पृथ्वीनारायणलाई लिन सक्छौँ, लिनुपर्ने हुन्छ, लिन्छौँ । देशको स्थापना गर्ने व्यक्ति विश्वभर स्तुत्य बनेका छन्, बन्छन् । पृथ्वीको इतिहासमै सर्वाधिक नृसंस र क्रूद्ध मानिएका चङ्गेजलाई समेत मङ्गोलियाले ढिलै भए पनि राष्ट्रिय विभूतिको रूपमा उच्च सम्मान दिएको छ । तर, हामी नेपालीले पृथ्वीनारायण शाहजस्ता राष्ट्र निर्माताप्रति पनि सम्मान जाहेर गर्न खोजेनौँ । सालिक ढालेर बर्बरतापूर्ण सहस्र गालीका वाण उनलाई ताकेर चलाउने क्रम जारी छ, हामी कैलालीको घोडाघोडी नगरपालिकामा निर्दोष युवती राधा चौधरीलाई सार्वजनिक स्थलमा हिंसात्मक आक्रमण हुँदा चुपचाप हेरेर बसिरहने विवेकहीन भिडझैँ बनेका छौँ । जसले देश खडा गरेर हाम्रो पहिचान बनाइदियो उसैप्रति कृतघ्नता प्रकट गरेर हामीले विवेकहीनताको दृष्टान्त प्रस्तुत गरिरहेका छौँ ।
०५८ को जेठ १९ गते राजदरबारमा बीभत्स घटना भयो । तात्कालिक राजा, रानी, राजकुमार र राजकुमारीसहित कैयन शाही नातेदारहरू मारिए । उक्त घटनामा पीडित र प्रत्यक्षदर्शीहरू वास्तविकता जसरी बताइरहेछन्, त्यसमा हामी विश्वास गर्न तयार भएनौँ, छैनौँ । घटनाबारे अनुमानका आधारमा बोल्नेहरू, अदृश्य र रहस्यमयी शक्ति केन्द्रहरूसँग निकट रहेर क्रियाशील हुनेहरू तथा तात्कालिक अवस्थामा भूमिगत रहेर हिंसात्मक युद्धमा सहभागी भएकाहरूले जे भने त्यसलाई चाहिँ हामीले सजिलै पत्याइदियौँ र पत्याउँदैछौँ । देख्ने र भोग्नेहरूले भनेको भन्दा अनुमाने र सुनेका भरमा बोल्नेहरूलाई पत्याउने जुन नियति हामी भोग्दै छौँ, विवेकशून्यताको पराकाष्ठा यहाँ पनि प्रकट भएको छ ।
एउटा राजालाई मार्ने र बाँकी बसेका राजपरिवारका सदस्यलाई हत्याराको आरोप लगाएर सिध्याउने जुन कपटी चाल यहाँ रचियो, त्यसैको जालमा परेर हामी भुक्ने गर्दै छौँ । गणतन्त्र जुन प्रयोजनका लागि ल्याइनु थियो, त्यही प्रयोजनका निम्ति राजपरिवार तथा राजतन्त्र समाप्त गर्न चालिएका कदमहरूमा हामी ‘अग्रगमन’ र ‘क्रान्ति’ शीर्षकमा साथ दिँदैछौँ । सत्य कुरा सुन्नै नचाहने र सुनिहाले पनि नपत्याउने जुन रोग यहाँ देखापरेको छ यो रोग नयाँ होइन, विवेकसम्मत व्यवहार गर्न नखोज्ने–नचाहने पुरानो ‘खानदानी’ रोगका रूपमा यो रहेको छ ।
तर्क र तथ्यका आधारमा सत्य पत्ता लगाउने र सत्य–तथ्यका आधारमा मात्र धारणा बन्ने–बनाउने अवस्था सभ्य समाजमा हुने गर्दछ । हाम्रो व्यवहारले न हामीलाई विवेकशील बताउँदै छ न सभ्य नागरिक भएको पुष्टि गरेको छ । विवेकको प्रयोग सभ्य समाजमा हुन्छ र मानिस सभ्य बन्न विवेकसम्मत व्यवहारले एउटा उचाइ प्राप्त गर्नुपर्ने हुन्छ । प्राणीमा विवेक थपिएपछि मानवका रूपमा स्वीकार गरिने दार्शनिक नियम छ । सर्वाधिक उन्नत स्तरको राजनीतिक परिवर्तन गरिएको दाबी सम्बद्ध पक्षबाट भइरहँदा हामी भने अविवेक, अराजकता र असभ्यताको खेतीमा जुटेका छौँ । के यस्तै व्यवहार कायम राखेर नेपालको स्थिरता, शान्ति र समृद्धि सम्भव होला त ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्की प्रमुख आयुक्त थिए र, २०७२ असोजमा संविधान जारी भइसकेपछि मुलुकमा भएका ठूलाठूला भ्रष्टाचारजन्य घटना र विषयमाथि छानबिन तथा अनुसन्धान गरी दोषीहरूलाई कारबाहीको दायरामा ल्याउने अग्रसरता कार्कीले लिएका थिए । संविधान जारी हुनुअघि ठूला भ्रष्टाचार र भ्रष्टाचारीहरूमाथि जाइलाग्दा अस्थिरता र अराजकता निम्त्याएर परिवर्तनलाई बिथोल्न खोजेको आरोप कार्कीमाथि लाग्न सक्थ्यो । सम्भावित आरोपप्रति सायद उनी सचेत थिए, त्यसैले संविधान जारी भएर देशले स्थिरताको मार्ग प्रशस्त गरेपछि मात्र उनले भ्रष्टाचार काण्डहरूमाथि छानबिन र अनुसन्धानात्मक कारबाही प्रक्रिया अघि बढाएका थिए । माओवादी अध्यक्ष प्रचण्ड, शेरबहादुर देउवा, आरजु राणा, जनार्दन शर्मा, वर्षमान पुन, ओनसरी घर्ती, नन्दकिशोर पुन, कृष्णबहादुर महरा, कृष्णप्रसाद सिटौला, वामदेव गौतम, भीम रावल, गंगा तुलाधर, रामकुमार श्रेष्ठ र जनार्दन आचार्यलगायत दर्जनौँ नेता तथा पचासौँ एनजीओ व्यवसायीहरू त्यसबेला अख्तियारको छानबिन तथा अनुसन्धानको घेरामा परेका थिए ।
आफूहरूमाथि खतरा उत्पन्न भएको सुइँको अख्तियारकै केही आयुक्तहरूमार्फत पाएपछि प्रमुख तीनवटै दलका मुख्य नेताहरू आफ्नो सुरक्षाको निम्ति लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखबाट हटाउने निर्णयमा पुगे । त्यसपछि लोकमानविरुद्ध प्रचारबाजी शुरु भयो । यस प्रकरणमा पनि हामी तथ्य ग्रहण गरेर विवेकसम्मत व्यवहार गर्न तयार भएनौँ । लोकमानविरुद्ध सङ्गठित प्रहार शुरु भयो, प्रमाणित हुन बाँकी र प्रमाणित भइसकेका सबै भ्रष्टाचारीहरू एकजुट भए । उनको कदमले देशबाट भ्रष्टाचार र भ्रष्टाचारीहरूलाई निरुत्साहित गर्छ भन्नेतर्फ हामीले सोचेनौँ, लोकमानले समानान्तर सरकार चलाउन खोजेको भन्ने हल्ला चलाइयो र त्यस्तो हल्ला चलाउनेहरूले नै अन्ततः सुशीला कार्कीलाई प्रयोग गरी अदालतमार्फत कार्कीलाई विस्थापित गरिछाडे । अहिले पनि यहाँ लोकमानलाई हटाउन खोज्नुको वास्तविकताबारे रुचि प्रकट गरिँदैन, बरु लोकमानले गल्ती गरेका थिए भन्नेहरू नै यत्रतत्र भेटिन्छन् । नेतृत्वमा रहनेहरूमध्ये अधिकांशको राजनीतिक भविष्यमा कालो बादल मडारिँदै थियो, तर देशबाट भ्रष्टाचार निर्मूल हुनुपर्छ भन्ने इमानदार चाहना राख्नेहरूले समेत विवेकसम्मत व्यवहार गर्न खोजेनन् । भ्रष्टाचारीभन्दा गलत लोकमान नै हुन् भन्ने प्रचारबाजीमा हामी सबै नेपाली रमायौँ ।
प्रधानन्यायाधीशको पदमा यतिबेला गोपाल पराजुली कायम हुनुहुन्छ र न्यायिक जगत्को सर्वोच्च जिम्मेवारी सम्हाल्नुअघि पराजुली सर्वोच्च अदालतका न्यायाधीश र त्यसअघि पुनरावेदन (उच्च) अदालतका न्यायाधीश पनि भइसकेका हुन् । गोपाल पराजुली स्वयम्ले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र आमजनताको जानकारीका लागि भन्दै सार्वजनिक गरिदिनुभएको छ । तथ्यहरूले पराजुलीको शैक्षिक योग्यताका प्रमाणपत्रहरू सक्कली भएको र नागरिकताको प्रमाणपत्र पनि एउटा (नम्बर ४४१) मात्र भएको पुष्टि गरिसकेपछि पनि हामी विवेकसम्मत व्यवहार गर्न तयार भइरहेका छैनौँ । अदालतप्रतिको जनविश्वास र भरोसा घटाएर नेपाललाई असफल राज्य घोषित गर्न चाहनेहरूको ग्राण्ड डिजाइनमा नेपाललाई फसाइँदै छ भन्न नमिल्ने अवस्था अब रहेन । तर, यसबाट मुक्ति पाउने चाहनासम्म प्रकट भइरहेको छैन ।
झुटो पनि सयपटक भनेपछि सत्य ठहर हुन सक्छ भन्ने सिद्धान्तअनुसार रहस्यमयी शक्तिहरू गोपाल पराजुलीको जन्ममिति र शैक्षिक प्रमाणपत्रको मुद्दा एकोहोरो उठाइरहेका छन् र यसलाई पनि पत्याउने बनाउन खोजिँदै छ । एकपटक तथ्य बुझेर मात्र धारणा बनाउनुपर्छ भन्ने मान्यताले यहाँ पनि ‘स्पेस’ पाउन सकिरहेको छैन । गोपाल पराजुलीले प्रधानन्यायाधीशका रूपमा हालै मात्र न्यायसेवामा प्रवेश गरेका होइनन् । तात्कालिक पुनरावेदन अदालतको न्यायाधीशका रूपमा न्यायसेवामा प्रवेश गरेर उनले तेस्रो दशकको आखिरीतिर मात्र सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी पाएका हुन् । प्रधानन्यायाधीश नियुक्त हुने क्रममा उनको योग्यता र योग्यताका प्रमाणपत्रहरूबारे संसद्ले समेत अध्ययन गरिसकेपछि पराजुलीलाई जिम्मेवारी मिलेको हो । तथ्य सर्वत्र जाहेर हुँदाहुँदै पनि प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका सम्मानित व्यक्तिविरुद्ध एउटै विषयलाई कहिले कुन त कहिले कुन कुनाबाट उठाएर तेजोबध गर्न खोजिँदै छ, हामी थपडी बजाएर अराजकतालाई प्रोत्साहन गर्दै छौँ । हाम्रो विवेकहीनताको उजागर न्यायालयको सन्दर्भमा पनि भइरहेको छ ।
तर्क र तथ्यका आधारमा सत्य पत्ता लगाउने र सत्य–तथ्यका आधारमा मात्र धारणा बन्ने–बनाउने अवस्था सभ्य समाजमा हुने गर्दछ । हाम्रो व्यवहारले न हामीलाई विवेकशील बताउँदै छ न सभ्य नागरिक भएको पुष्टि गरेको छ । विवेकको प्रयोग सभ्य समाजमा हुन्छ र मानिस सभ्य बन्न विवेकसम्मत व्यवहारले एउटा उचाइ प्राप्त गर्नुपर्ने हुन्छ । प्राणीमा विवेक थपिएपछि मानवका रूपमा स्वीकार गरिने दार्शनिक नियम छ । सर्वाधिक उन्नत स्तरको राजनीतिक परिवर्तन गरिएको दाबी सम्बद्ध पक्षबाट भइरहँदा हामी भने अविवेक, अराजकता र असभ्यताको खेतीमा जुटेका छौँ । के यस्तै व्यवहार कायम राखेर नेपालको स्थिरता, शान्ति र समृद्धि सम्भव होला त ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक