(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

दशैंको गीत " बडादशैं आएकोछ " | रामप्रसाद खनालको दशैंको गीत | Dashain song of Ram Prasad Khanal

20180318

समानुपातिक आन्टी ! - सन्तोष चिमरिया


यो हिउँदमा केही दिनका लागि "गाउँघर" गएको थिए । अहिलेका " गाउँघर" शहरीकरणले शहर भैसकेका छन । अन्न झुल्ने खेतहरु बन्जड घडेरी भएका छन । अरुका के कुरा, स्वयं आफ्नै घर, आफ्नो जस्तो छैन । न परेवाको गुड छ । न पालीमा भंगेरा बस्छन । न मकै राख्ने घार छ । न लसुन झुन्डिएको छ । न भडार छ, भडार नभएपछि भडारकोठामा पस्दा आउने गुन्द्रुक र केराको बास्ना हुने कुरै भएन । जे छ, यतै शहरमा हुने जस्तो छ । रेडीमेड । त्यसैले त्यता जानू र नजानुमा तात्विक भिन्नता छैन । जसले गर्दा जानेक्रम घटेर पंचबर्षे/ दस बर्षे भएको छ । 
तर यो हिउँदमा म गए । आफ्नै लागि बिरानो हुँदै गइरहेको आफ्नै गाउँघर डुल्ने वातावरण नभएपछि म शहरियाले जस्तो छत चडे । यसो घरधुरी गन्दा गोपे बाहेक मेरा लागी सबै अपरिचित भैसकेका रहेछन । के छ हाउ ? भन्दै गएर थ्याच्च बस्न नमिल्ने खाल्का कोहि बाँकी रहेनछन। धुरमा घडेरी किनेर आकासतिर फर्किएका घर बनाएर वसेका आधुनिक खालका छिमेकीले मेरो गाउँ अतिक्रमण गरेर उनीहरुको शहर बनाई सकेका रहेछन । 
शहर तिरका अथवा शहरिया टाईपका छिमेकीहरुसंग बडो असहज लाग्छ मलाई । त्यहाँको उग्र औपचारिकताले आत्मीयता मुर्छित जस्तै हुन्छ । सहजता गायब हुन्छ । तर अब छिमेकी आन्टी नै समानुपातिक तर्फ" लिस्टेड" भएकी रहिछन । जे भएपनि छिमेकी हुन, महिला हुन, जनजाती हुन । शुभकामना दिनु परो भनेर यसो गईयो । चोर्नै गएजस्तो गरेर उनको बाग जस्तो कुकुर
भुक्न थाली हाल्यो । उहिले भए कात्तिके खिच्चालाई ढुंगाले हानेर पुक्लुक्क ढल्दिनु हुन्थ्यो । तर अहिले भुक्दै गरेको कुकुर चन्चुने कुकुर थिएन । आम कुकुर थिएन । भाबी प्रदेशसभाकी सभासदको कुकुर थियो । तैपनि छिमेकी आन्टी समानुपातिक तर्फ चयन भएकी छन । कुकुर भुक्यो भन्दैमा शुभकामना नदिइ फर्किने कुरो भएन हेर्नुस । अनि रेबिजको सुई लाउनै परे पनि पछि लगाहुन,शुभकामनासम्म चाहिँ टक्र्याएरै आउनु पर्यो भनेर अघि बढे । कुकुर त आन्टीको समानुपातिकै खोस्नै आए जस्तो गरि झन भुक्न थाल्यो । साला ! बेलायती होसकि अम्रिकन ,कुकुर भनेको कुकुर नै हुने रैछ ! भन्ने सोच्दै म मुलगेटसम्म पुगे । तर आन्टीको मुलगेट सधैं झै बन्द छ । दुईचार पटक बिजुली घण्टी बजाएपछि, बल्ल बल्ल आन्टीकी मेडले ढोका खोली । कफि र कुकिज आउँछ । आन्टी आउदिनन । कुकुर भुक्या भुक्यै छ । अनि त्यहि तिते कफी र कुकिज खाँदै निकैबेर कुकुर भुकेको सुनेर बसे । भित्रबाट आन्टीले "सट- अप टोम" भनेपछि बल्ल कुकुर चुप लाग्यो । 
अहिले आन्टीले जहाँ बङलो बनाएकी छन, अर्थात म जहाँ बसेर तिते कफि र कुकिज खाईरहेको छु , त्यहाँ पहिले साईलो कामीको झुप्रो थियो । को साईलो कामी ? गोपेको बाउ । साईलो कामीलाई सुके मसान लागेपछि थुप्रै खर्च भयो । अनि बाटैले छोएको सुनको टुक्रो जस्तो बारी बेचेर उ खेतको पुछारमा गएर बस्यो । उतै रगत छादेर मर्यो । उहिलेको त्यही बारी समयक्रममा अहिले करोडौंको घडेरी भएको छ । 
कुरो रड्क्यो ? कुरो तपाईंको प्रश्नले गर्दा रड्केको हो । "को साईलो कामी ?" भन्ने प्रश्नले रड्केको हो । ठिक छ , म आन्टीको प्रसंगमा आउला । उनी इन्ट्रेस्टिङ क्यारेक्टर हुन । तर पहिला गोपेको प्रसंग सक्न दिनुस । उ पनी लेख्न लायक प्रतिनिधि चरीत्र हो । म सानै छंदा गोपे र हाम्रो घर सबैभन्दा नजिक थियो । यी बिस बर्षमा गोपे धेरै टाडाको छिमेकी भैसकेको छ । हाम्रा घरहरुको बिचमा अरु धेरै घरहरू बनिसकेका छन । ठ्याक्कै साँध सिमा जोडिएकि छिमेकी हुन यी समानुपातिक आन्टी आईपुगेकी छन । 
ल म एकछिन आन्टीकै प्रसंगमा छिरे है । यी आन्टीले छ बर्ष लगाएर साईलो कामीको बारी किनेर घर निर्माण गरिन । एक बर्ष भयो बस्न थालेको । त्यो भन्दा अगाडी हङकङ बस्थिन । यसो हेर्छु , आन्टीलाई सबैथोकले पुगेको छ । केही कमी छ भन्ने उनलाई लाग्छ भने, त्यो उनको उचाई हुनुपर्छ भन्ने मेरो अनुमान छ । जुन हाउबाउ र फेसनमा उनी हिड्छिन उनको जीवनशैलीलाई पुग्ने " हाईट" पुगेन कि जस्तो लाग्छ । 
बाँकी सबथोक बडिया छ । बुढी हुँदै गईरहेकी छन । तर नहुनलाई कम्ता मात्रै मेहनत गरेकी छैनन् । घर अगाडी साँडे पांचमा ठ्याक्कै ड्राईभर आईपुग्छ । ड्राइभरले पाँच वटा चुरोट सकेपछि आन्टी आईपुग्छिन । ड्राईभरले माथि जंगलको चौरमा लगेर छोडेर आउँछ । आन्टी उफ्रिने , मर्किने, घुगुत्ती खेल्ने,ध्यान , योगा, जिम, एथलेटिक्स सबै एकसाथ सकेर ८ बजे फर्किन्छिन । 
हैन ! शारीरिक अभ्यास प्रति यति संचेत नारीले त्यो १५ मिनेटको बाटो हिडेर आईजाई गर्दा हुदैन ? 
हो, यहि प्रश्न मेरो मनमा पनि उठेको थियो । हुदैन रे ! किन ? स्टाटस कम्प्रमाईज्ड हुन्छ रे ! 
हेर्नुस, एक त त्यस्तो प्रश्न म उनलाई सोध्दै सोध्दिन । दोस्रो, मैले सोधे नै पनि उनले त्यस्तो जवाफ दिन्नन । यो सबै मैले उनको ड्राईभरको मुखबाट सुन्या हो । अब ड्राइभरले आफ्नी मेडमको हैसियत बढाउन भन्यो कि, केही सुईको पाएरै भन्यो त्यो भगवान जानुन । 
जब ९ बज्छ- उनका घरमा उनी जस्तै जबर्जस्ती जवान बन्न खोज्ने ८-१० जना आईमाई भेला हुन आउछन । आगनमा ओछ्याएको गलैंचामा आन्टी गुरुको स्थानमा बस्छिन । बाँकी चेलाको स्थानमा बसेर घरी खुट्टा काँधमा हाल्छन । घरी कम्मर भाँचेर धनुष जस्तो बन्छन । 
अनि एकछिन पछि जोड जोडले बेपत्तासंग हास्न थाल्छन । अब हाम्री आमालाई "लाफिङ थेरापी" को बारेमा के थाहा ! पल्लो घरमा आईमाई बौलाए भनेर यता भान्सामा हाम्री आमा हाँस्न थाल्छिन । अनि म हाँस्छु । अनि यी दृश्य देख्ने टोलका अरु पनि हाँस्छन । यसरी अन्जानमै भएपनि, टोलामा एक राउन्ड लाफिङ थेरापी सित्तैमा सुसम्पन्न हुन्छ । 
आन्टीका छोराछोरी त धेरै यता बस्दैनन । तर जब आउछन, रमिता हुन्छ । छोरो चाहिँको कपाल सुल्झिन नसकेको एक बेडा सनपाट जस्तो छ । हामीलाई देख्यो भने बोल्नुपर्छ भनेर अन्तै फर्किन्छ । उसगको कहानी त्यही सक्की गो । बाँकी रहि छोरी ! 
छोरी छन यो देशमा पटक्कै फिट नहुने- अल्ट्रा मोर्डन । अब देशमै फिट नभएपछि यो शिशु शहरमा तिनको जिबनशैली र स्वतन्त्रताले स्वच्छन्दपुर्बक हुर्कनै पाउदैन । ति बिचरी बोटिस र कट्टु लगाएर छतमा " सन बाथिङ" गर्न उत्तानो पर्छिन । उनी सुर्य स्नान गर्न माथी चडेपछी टोल भरिका बुढा देखी किशोरसम्मलाई आफ्नो आफ्नो छतमा सानो काम आई पर्छ । धन्न कसैके दुरबिन किनेका छैनन् । तर वास्तवमै भन्ने हो भने , यो देशमा युवतीहरूलाई सुर्यस्नान गर्ने वातावरण चाहिँ छैन । 
*************
आधुनिक समाजकी ५० वटा केक काटी सकेकी नारी र उनकी तरुनी छोरीको सुर्यस्नानका दृश्यहरु कम्ती मनमोहक हुदैनन् । धेरैजना कथा त्यही बिन्दुबाट सुरु होस भन्ने चाहाना राख्नु पनि हुन्छ होला । तर यीनीहरुको भिडमा गोपे हराउनु हुँदैन । उसको कथा मर्नु हुदैन । उ फेरि एकपटक छुट्नु हुदैन । मैले शिर्शकमै एकपटक उसलाई अन्याय गरिसकेको छु । 
अं गोपे ! तर मैले आन्टीलाई चटक्कै छोडेको छैन । उनी गोपे पछि आउछिन । उनी बिना यो आलेख अधुरो हुन्छ । जेभए पनि उनी पनि यो समाजमा लुसुक्क भित्रीएकी एउटी बिज्ञापन हुन । अब सकि नसकी समाज उनलाई पछ्याउन बाध्य हुनेछ । म पनि उनिबारे लेख्न बाध्य हुनेछु । खैर .... 
गोपेले सानैमा बिहा गर्यो । मेरो बाल सखा ,मलाई बिहाको महत्व र मजा उस्तो थाह नहुंदै उसले कतैबाट एउटी स्वास्नी ल्याएर भित्र्यायो । अनि अलि बारमा बारीको पुछारतिर छाप्रो हालेर छुटियो । भर्खर बिहा गरेका गोपे र गोपेकी गोपिनीमा उल्का प्रेम थियो । उ गोपीनीलाई सप्रेम मनु भन्थ्यो रे । गोपिनीको वास्तविक नाम मनमती थियो । साईली कमिनीलाई गोपेले मनमतीलाई मनु भनेको पटक्कै मन नपर्ने ! जोईटिग्रें, पानीमरुवा, आदि इत्यादि भनेर हाम्री आमैसंग छोराको कुरो काट्न आउथिन । मैले त्यही सुनेर थाहा पाएको हुं । 
तर गोपेले अलि चाँडै नै रहर पुर्यायो । एउटी छोरी जन्मिए पछी गोपेलाई घर र मनुको चिन्ताले कम, साम्यवादको चिन्ताले धेरै गाज्न थाल्यो । तर त्यसको पछाडी घाम पाटीको आक्रमक संगठन बिस्तार र प्रशिक्षण थिएन भन्न सकिदैन । जेहोस त्यसपछि गोपेले खुद्रा कुरो गर्न छोड्यो । समानता, न्याय र क्रान्ति भन्दा तल झरेर उसले कुरा गरेन । यसैविच आरान थाप्नु साम्यवादको विरुद्ध हो भनेर कस्ले सिकायो खै, आफ्नै झुप्रोको अगाडी अंशमा पाएको आरन गोपेले मिल्कायो । अनि छेउको बारी ९००० दाममा बेचेर कुखुरा ब्यापार थाल्यो । 
गोपे गाउँभरीका कुखुरा जम्मा पार्थ्यो । शहरमा लगेर बेच्थ्यो । ब्यापारबाटै गोपेले ठिकै आम्दानी गर्यो । घरमा टिन ठोक्यो । एउटा दुहुनु गाई किन्यो । अलिअलि दाम कमाएपछी गोपेको प्रमोसन भएर गोपाल भयो । गोपालजी भयो । प्रगतिशील राजनीतिको त्यान्द्रो समात्दै गोपे श्रीमान गोपाल बिश्वकर्मा ज्यु - बडाध्यक्ष । सम्म भयो । 
तर दोस्रो , तेस्रो अनि चौथोपटक पनि मनुले छोरी नै पाएपछि भने गोपेको साम्यवाद डगमगायो । उसको प्रगतिशीलताले हावा खायो । उसलाई कताकता तर्पण दिने छोराको चिन्ताले सताउन थाल्यो । अपुत्रो हुनुको हिनताबोधले गाज्न थाल्यो । उसलाई कुनै पनि मुल्यमा , एउटा मात्रै भएपनि छोरो नभई नहुने भयो । त्यसैले उ फेरि मनुले छोरी नै पाई भने, सौता ल्याउछु भन्दै हिड्न थाल्यो । 
यता मनु फेरि गर्बवती भई । उता शहरमा ब्वाईलर नामका सेता कुखुरा छ्याप्छ्याप्ती सस्तोमा आपूर्ति हुन थाले । आगन घुरेन चर्दै पुग्दो समय लाएर हुर्किएका लोकल कुखुरा बढ्नै समय लाग्ने । किन्नै मुंगो पर्ने । त्यसमाथि प्रजातन्त्रले ल्याएको स्वतन्त्रता र खुल्लाबजारले देखाएको बाटो समात्दै क्षेत्र/बाहुन सबैभन्दा धेरै बोईलर उमार्न थाले । जताततै बोईलरका सेता चल्ला बर्खे च्याउ जस्तो उम्रन थालेपछि गोपेलाई आपत पर्यो । आकाशतिरबाट दैब, वरिपरिवाट क्षेत्री/ बाहुन अनि सिंहदरबारबाट रामशरण अर्थनीतिले गोपेलाई एकसाथ प्रहार गर्न लागे । 
चौतर्फी निशानामा परेको गोपेलाई असारसम्म आईपुग्दा दैबले अन्तिम प्रहार गरेजस्तो लाग्यो । त्यहि असारमा गोपेकी मनुले पाँचौ छोरीलाई जन्माई । अनि सबै विरुद्ध गोपेले बिद्रोह गर्यो । झमझम, भदौको झरीले आकाश रोएको समयमा, अरुले साली भगाउथे । गोपेले बिद्रोह गरेर बिबाहित जेठीसासु भगायो । तर गोपेको बिद्रोहले भने उसको सर्बस्व गुम्यो । इज्जत, धन, पार्टीको सदस्यता, बडाध्यक्षको पद, चिया दोकानका ठोकिने साम्यवादी गफको नैतिक धरातल सबै गयो । अनि बसिनसक्नु खिसिट्युरी हुन थालेपछि दशैको मुखमा गोपे पनि गयो । कहाँ गयो भन्दा कान्छी श्रीमतीको रुपमा भित्र्याएकी जेठीसासुलाई घरमै छोडेर गोपे पंजाब गयो । 
क्रमशः ......
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक