20180323

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई वर्षभित्रै नेपालले आफ्नै पानी जहाज चलाउने र रेल कुदाउने बताए !

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई वर्षभित्रै नेपालले आफ्नै पानी जहाज चलाउने र रेल कुदाउने बताएका छन्। उनले अबको दुई वर्षभित्रै नेपालले यी दुई क्षेत्रमा देखिने गरी काम गर्ने बताए। शुक्रबारबाट काठमाडौंमा सुरु भएको पाँचदिने २९औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै उनले ढिलोमा २०७६ सालभित्र नेपाली झण्डावाहक पानी जहाजले सामान ओसारपसार गर्ने बताए। अहिलेको सरकारलाई सुस्त हुने सुविधा नरहेको बताउँदै उनले भने, 'हामीलाई ढल्किएर विचार गर्ने अवस्था छैन। हामीलाई कष्टसाध्य प्रयास तीव्रताका साथ गर्नुपर्छ। सरकारले दिनदिनै नयाँनयाँ राष्ट्रिय महत्त्वका अभियान लिएर आउँछ।' उनले नेपालमा रेल सेवा सुरु गर्नेबारे भने, 'मान्छेहरूले अलिअलि उडाए, यो समयमा रेल ल्याउँछु भन्यो के नचाहिने कुरा भने। म अहिले भन्छु- नेपालमा रेल ल्याउँछु भन्दा दुई वर्षअगाडि मजाक उडाएका थिए। अब दुई वर्षपछि ती ठट्टा गर्ने मान्छे भेटिने छैनन् किनभने रेल कुद्छ, मान्छे छक्क पर्छन्।' उनले पहिलो प्रधानमन्त्रीकालमा बोलेका कुरा सम्झिएका थिए। उनले त्यतिबेला नेपाल आफैँले पानीजहाज चलाउने बताएका थिए। उनले भने, 'पानीजहाजको कुरा गरेको उधुमै उडाए। प्रधानमन्त्री कार्यालय अगाडि त केहीले कागजका डुंगा बनाएर बाल्टीमा पानी हालेर तमासा गरे, अनेक गरे।' उनले अबको दुई वर्षभित्र पानी जहाज चलाउने बताए। उनले भने, 'अर्को साल हुनसक्छ, २०७५ सालभित्र नभए २०७६ सालभित्र नेपालको पानीजहाजले कसरी सामान बोकेर चल्छ, कसरी मान्छे हालेर चल्छ, हामी देखाउँछौँ।' प्रधानमन्त्री ओलीले सरकार देश र जनताको हितमा समर्पित हुने पनि बताएका थिए। उनले सरकारले अब उद्यम
विकासको लहर नै सृजना गर्ने दाबीसमेत गरेका थिए। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्यम विकासका लागि निजी लगानी भित्र्याउन आवश्यक ऐन, कानुनको व्यवस्था गर्न लागिएको बताए। उनले प्रधानमन्त्री केपी ओलीको चाहनाअनुसार घरघरमा महिलाहरूले रोजगारीको अवसर पाउने गरी साना उद्यम विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। निजी क्षेत्रलाई प्रोत्साहन गरेर सरकार उद्यम विकासलाई अघि बढाउन प्रतिवद्ध रहेको मन्त्री यादवको भनाइ थियो। सरकारको योजनामा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको प्रदर्शनी पाँच दिनसम्म चल्नेछ। ३०० बढी स्वदेशी उत्पादनका स्टलहरू रहेको प्रदर्शनीमा करिव आठ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक