20180411

२०४७ साल देखी नेताहरुले देखाएको मेलम्चीको सपना दशैं अगाडि पुरा होला त ? झुक्याउदा झुक्याउँदै पत्याउन छाडे जनताले !

pani
मेलम्ची खानेपानी आयोजनाको सुरुङको ब्रेकथ्रु चैत २९ गते गरिनेभएको छ भने आगामी असोज महिनाभित्र काठमाडौँमा पानी ल्याउने तयारी भएको छ । खानेपानी मन्त्रालयले मङ्गलबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । सो अवसरमा खानेपानी मन्त्री विना मगरले दसैँअघि नै मेलम्चीको पानी काठमाडौँमा ल्याउने प्रतिबद्धता दोहो¥याउनुभयो । मन्त्री मगरले भन्नुभयो, सुरुङको हामी २९ गते अन्तिम ब्रेकथ्रु गर्दैछौँ, वैकल्पिक बाटोद्वारा भए
पनि जनतालाई छिटो सेवा प्रवाह गर्नेछौँ । 
मङ्गलबार राति सिन्धु–ग्याल्थुम सुरुङ खण्डको ब्रेकथ्रु भएको छ तर अन्तिम र औपचारिक ब्रेकथ्रु भने २९ गते गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका महानिर्देशक रामचन्द्र देवकोटाले भन्नुभयो, प्राविधिक रूपमा आजै ब्रेकथ्रु हुन्छ तर विधिवत रूपमा २९ गते गर्ने योजनामा छौँ । 
मङ्गलबार सिन्धु–ग्याल्थुम खण्डको ७.८ किलोमिटर सुरुङको ब्रेकथ्रु भएपछि सुन्दरीजलबाट मेलम्ची हेडवक्र्ससम्म सुरुङको भित्रभित्रैबाट पुग्न सकिन्छ । समितिका अनुसार २६ किमी लामो सुरुङ खन्ने काम सम्पन्न भएको छ । हेडवक्र्सको मुख्य संरचना, भेण्ट साफ्ट तथा सुरुङको फाइनल फिनिसिङ बाँकी रहेको र केही महिनामा सम्पन्न हुने जनाइएको छ । हालसम्म निर्माण सम्झौताको कुल भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ८० प्रतिशत भएको समितिका महानिर्देशक देवकोटाले बताउनुभयो ।
सन् २००८ मा सरकार र एडीबीबीच सम्झौता भई आयोजनाको मुख्य कार्यको निर्माणको थालनी भएको थियो । सन् २०१० को जुनबाट सुरुङ खन्ने कामको थालनी भएको थियो । चाइनिज निर्माण कम्पनी सीसीआसीले करिब ३ वर्षमा जम्मा ६.५ किलोमिटर सुरुङ खनेको थियो । सन् २०१२ सेप्टेम्बरमा सो निर्माण कम्पनीसँग सम्झौता खारेज गरिएको थियो । नयाँ निर्माण कम्पनी सीएमसी डी–रेभेना इटालीले २०१४ को जनवरीबाट निर्माण कार्य सुरु भएको थियो । आयोजनाको कुल लागत २७ अर्ब ७६ करोड रुपियाँ रहेको समितिले जनाएको छ । 
मेलम्ची परियोजना–२ अन्तर्गत सुन्दरीजलमा दैनिक ८.५ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न भएको छ । दोस्रो प्रशोधन केन्द्रको हालसम्म २५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । २०१८ को डिसेम्बरसम्म दोस्रो प्रशोधन केन्द्र पनि सम्पन्न गरिने समितिले जनाएको छ । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको दैनिक ३४ करोड लिटर पानी थप गर्नका लागि डिजाइन परामर्श छनोट गरिसकिएको छ । सुरुङको ब्रेकथ्रु भएपछि सुरुङको आरसीसी ढलानसहितको फिनिसिङ, चार स्थानको भेन्टिलेसन र हेडवक्र्सको काम गर्न बाँकी रहने छ । हालका लागि इचोक, थकनी र मेलम्ची नजिक भेन्टिलेसन राखिने भएको छ । 
उपआयोजना–२ अन्तर्गत मेलम्चीको पानी वितरण गर्ने पाइपलाइनको काम झण्डै ९२ प्रतिशत सम्पन्न भएको छ । पाइपलाइनको वितरण सञ्जाल हालसम्म ६६३ किमी सम्पन्न भएको छ भने थोक वितरण प्रणालीतर्फ ५५ किमी सम्पन्न भएको छ । 
अब वितरण सञ्जालतर्फ २० किमी र थोक वितरण प्रणालीतर्फ ४० किमी बाँकी रहेको मेलम्ची खानेपानी विकास समिति उपआयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । मेलम्चीको पानी तत्काल वितरण गर्न सक्ने तयारी अवस्थामा आफूहरू रहेको निर्देशनालयको भनाइ छ । 
आयोजनाले ८३ हजार ५४९ वटा धारा जडान गर्नेछ । हालसम्म ५ हजार धारा जडान गरिसकेको छ । तीन अर्ब रुपियाँको पाइप बिछ्याइएको छ । कुल बजेटको ८० प्रतिशत रकम पाइपलाइनमा खर्च हुँदै आएको छ । १५ प्रतिशत पानी ट्याङ्की निर्माणमा खर्च भएको छ । पाइपलाइन विस्तार, ट्याङ्की निर्माण लगायतका पूरै संरचना निर्माण हुन भने सन् २०२० सम्म लाग्ने निर्देशनालयले जनाएको छ । 
मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने छ तर दोस्रो चरणको परियोजना सुरु भए पनि याङ्री र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५२ करोड लिटर पानी आउने छ । याङ्री र लार्के खोलाको पानी मेलम्चीको सुरुङ मार्गमा मिसाउन थप ९ किमी सुरुङ खन्नुपर्ने हुन्छ । समिति अनुसार सन् २०१८ देखि २२ सम्ममा याङ्री र लार्के खोलाको पानी पनि आउने छ । याङ्री र लार्के खोलाको पानी ल्याएपछि काठमाडौँवासीको घरको धारमा दैनिक ६ घण्टा पानी आउने छ । -लक्ष्मण दर्नाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक