20180419

भीआईपीको सङ्ख्या बढेपछि प्रहरीलाई निकै समस्या, स्वागत र सुरक्षा व्यवस्थापनमा जिल्लाका प्रमुखहरु व्यस्त रहनुपर्दा कार्यालयको काम प्रभावित

 पछिल्लो समय चितवनमा भीआईपीको सङ्ख्या बढेपछि प्रहरीलाई निकै समस्या भएको छ । चितवनमा भीभीआईपी र भीआईपीहरुको आगमन बढेपछि स्वागत र सुरक्षा व्यवस्थापनमा जिल्लाका प्रमुखहरु व्यस्त रहनुपर्दा कार्यालयको काम प्रभावित हुँदै गएको छ । जिल्लामा भीआईपीहरु आउँदा प्रमुख जिल्ला अधिकारीदेखि लिएर विभिन्न सुरक्षा निकायका प्रमुख धेरै व्यस्त हुने गरेका छन् ।

चितवन आवत–जावतका हिसाबले सहज जिल्ला भएको र यहाँ राष्ट्रिय स्तरका कार्यक्रमहरु समेत भइरहने भएकाले भीआईपीहरुको चहलपहल धेरै हुने गरेको छ । पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड जिल्लाबाटै निर्वाचित सांसद भएका कारण उहाँको आगमन धेरै हुने गरेको छ । त्यसैका कारण पनि प्रहरी र जिल्लाका अधिकारीलाई समस्या हुने गरेको छ ।

जिल्लामा कार्यक्रम आयोजना गर्ने संघ–संस्थाले पहुँच र प्रभावसँगै कार्यक्रमलाई प्रभावकारी देखाउन भीआईपीलाई कार्यक्रममा बोलाउँने संस्कार हाबी हुँदै गएको छ । त्यसै कारण भीआईपीको सङ्ख्यामा पनि वृद्धि हुने गरेको छ ।प्रदेश सरकारको संरचनासमेत बनेको र प्रदेशको मुख्य मन्त्रीदेखि मन्त्री र केन्द्रीय सरकारका प्रतिनिधि समेत चितवनमा आउने गरेका कारण भीआईपीको सुरक्षामा प्रहरीलाई समस्या हुने गरेको हो । देशका महत्वपूर्ण कार्यक्रमसमेत चितवनमा हुने गरेको र कार्यक्रममा पूर्व प्रधानमन्त्री, मन्त्री, दलका नेता, प्रदेशका मुख्यमन्त्री र मन्त्रीकोे समेत उपस्थिति बाक्लिँदै गएको छ ।
जिल्लाको गतिशीलता, भौगोलिक बनावट, स्थानीय संघ संस्थाको प्रभावका कारण भीआईपी जिल्लामा बढ्नु राम्रो पक्ष भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो ।
‘भीआईपीहरुको आगमनले व्यस्तता बढेको छ, तर व्यवस्थापन गरेका छांै’ प्रजिअ भट्टले भन्नुभयो, ‘बोलाउने आयोजक र आउने भीआईपीहरुले कार्यक्रमको महत्व र अवस्था मूल्यांकन गर्न सके समस्या हुँदैन ।’ जनताको सुरक्षा गर्न खटिएका प्रहरीको जिल्लामा आएका प्रधानमन्त्री र मन्त्रीहरुको सुरक्षा व्यवस्था र स्कर्टिङ गर्दैमा दिन जाने गरेको छ ।
चितवनका प्रमुख दीपक थापाले भीआईपीहरुको आगमनले गर्दा बढी व्यस्त हुनुपरेको बताउनुभयो । प्रहरीले अनुसन्धान कार्यमा समय दिन नसकेको बताउँदै उहाँले भन्नुभयो, ‘जिल्लामा भीआईपीहरु आउनु राम्रो पक्ष हो तर, स्वागत र व्यवस्थापनमा लाग्दा काममा केही समस्या परेको छ ।’
आफ्नो कार्यक्षेत्र पर्ने जिल्लाका सडक मार्गमा सुरक्षाका लागि हरेक दिन भीआईपी स्कर्टिङमा प्रहरी परिचालन हुने गरेको थापाले बताउनुभयो । ‘हरेक दिन जसो भीआईपीहरुको स्कर्टिङ हुने गरेको छ’, थापाले भन्नुभयो, ‘चितवनको बाटो भएर आवतजावत गर्ने भीआईपीहरु हरेक दिन आउने गरेका छन् ।’
भीआईपी आउन साथ सवारीसाधनको व्यवस्था, सुरक्षा व्यवस्था मिलाउन भीआईपीको पछि हिँड्नु पर्ने बाध्यता रहेको थापाले बताउनुभयो । ‘भिआईपी आउँदा एउटा कार्यक्रमको लागि आउने तर आएपछि धेरै कार्यक्रममा सहभागी हुने गरेका कारण सुरक्षा व्यवस्थापन मिलाउन चुनौती छ’, प्रहरी प्रमुख थापाले भन्नुभयो, ‘प्रहरीलाई जानकारी भएको कार्यक्रममा सुरक्षा व्यवस्थापन गरिएको हुन्छ तर, अपर्झट अरु कार्यक्रम तयारी हुँदा समस्या हुने गरेको छ ।’
‘भीआईपीको सुरक्षा व्यवस्थापनमा प्रहरी व्यस्त रहँदा सामाजिक अपराध चोरी–लुटपाट बढ्ने चिन्ता हुन्छ’, उहाँले भन्नुभयो, ‘जिल्लामा प्रहरीको जनशक्ती कम भएका कारणले पनि समस्या देखिएको छ ।’ बिहीबार प्रहरी कार्यालय अनुगमनको क्रममा आउनुभएका गृहमन्त्री रामबहादुर थापा बादलसँग भीआईपीको सुरक्षा चुनौतीकै कारण अहिले भएको प्रहरी संख्यामा एक हजार दुई सय ३१ प्रहरी संख्या जिल्लाको लागि आफूले माग गरेको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । 
‘४ सय नागरिक बराबर एक प्रहरी हुनुपर्ने प्रावधान छ’, उहाँले भन्नुभयो, ‘चितवनमा ७ सय ७८ नागरिक बराबर एक प्रहरी छन् ।’ न्यून प्रहरी संङ्ख्याले सुरक्षा व्यवस्थापनमा चुनौती थपेको बताउँदै थापाले सिमित श्रोतसाधनलाई उच्चतम प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । भीभीआईपी र भीआईपीको सुरक्षाका लागि जनशक्ति परिचालन गर्नुपर्दा धेरै काम प्रभावित हुने गरेको उहाँले बताउनुभयो ।
भीआईपीहरुको स्वागत र व्यवस्थापनमा मुख्य गरी  प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक बढी खटिनुपर्ने अवस्था रहेको छ । यसबाहेक आउने भीआईपीसँग जिल्लामा सरोकार राख्ने कार्यालयका प्रमुखहरु व्यस्त हुँदै आएका छन् ।
 - राधेश्याम खतिवडा/उज्यालो

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक