20180503

‘मर्न लागेको मान्छेले असत्य बोल्दैन, म केही बोल्न चाहन्छु’ : प्रख्यात न्यूरोसर्जन डा. उपेन्द्र देवकोटा

हे भगवान ! मेरो आयु पनि डा. देबकोटालाई नै लागोस 
बिगतमा प्रो. डा. उपेन्द्र देबकोटा सँग मैले गरेको संगत र बिताएका पलहरुले झकझकाइरहेकाले होला म अहिले निकै भाबुक र मुटु माथि ढुङ्गा राखेर हाँस्ने अवस्थामा आइपुगेको छु । डा. देबकोटा जिन्दगीको अत्यन्त गम्भीर मोडमा हुनुहुन्छ अहिले । यदी दिन मिल्ने भए म मेरो आयु डा. देबकोटालाई दिएर वहाँको आयु लम्ब्याउने थिएँ तर आयु अर्कालाई दिन, थप्न मिल्ने रहेनछ ।
वहासँगको मेरो घनिस्ट मित्रता, सम्बन्धले होला अहिले मेरो मुटुमा ढ्याङ्रो बजाइदिइरहेको छ, म होस हवासमा पनि छैन जस्तो लाग्छ कुनै कुनै बेला । वीर अस्पतालको न्यूरो बिभागको अफिस कोठामा होस वा नर्भिकको वहाँको कार्यकक्ष होस अथवा शनिवार आईतवारका दिन वहाँकै बासबारी माथि हाइटको घर होस् डा. देबकोटा जहाँ हुनुहुन्थ्यो त्यही बोलाउनुहुन्थ्यो । हामी सँगै बसेर भलाकुसारी र चिन्तन मनन गर्दाका दिनहरु यात हामी दुई लाई थाहा छ या त वहाँकी अर्धाङ्गिनी आदरणिय भाउजु डा. मधु देबकोटा र परिवारजनलाई थाहा छ । त्यस बाहेक वहाँका तत्कालिन सहयोगी डा. पवन कुमार, डा प्रकाश, डा गोपाल लगायतको टिमलाई र वहाँका केही आफन्तजन हरुलाई थाहा छ हाम्रो सम्बन्ध । मित्रहरु डा. प्रकाश र डा. गोपालले मलाई कहिलेकाहीँ जिस्काउनुहुन्थ्यो के हो खनाल सर हाम्रो उपेन्द्र डा. साबलाई तपाईं भए पुग्ने ! कस्तो मित्रता हो तपाईंहरुको !
डा. देबकोटा ईतिहासमा बिरलै जन्मिने बहुत थोरै मान्छे मध्येका एक हुन । बहादुर मान्छे, खुबीवाल मान्छे, राष्ट्र राष्ट्रियता भन्दा हुरुक्कै हुने मान्छे, लाखौंँ लाख बिरामीलाई नयाँ जिबन दिने मान्छे, समग्रमा भन्दा धेरै अशल मान्छे हुन उनी । एक युगमा जन्मिने एक मान्छे हुन उनी । म डा. देबकोटा सँगै वहाँको गोर्खाको जन्म गाउँ र स्कूल पनि गएको छु । डा. देबकोटाले नै मलाई वहाँका अग्रज देखी अभिभाबक सम्म वहाँका स्कुले गुरुहरु सम्म चिनाउनु भएको छ भलाकुसारी पनि गराउनुभएको छ ।

अझै बिर्सिनै नसक्ने क्षण त हरेक बर्ष असार पन्ध्रमा डा. देबकोटा, मधु भाउजु, म, साथी डिबी लागायत परिवार जन अहिले वहाँले बनाएको न्यूरो हस्पिटल भएको जग्गा जहाँ पहिले खेत थियो त्यहा रोपाइँ गर्थ्यौँ । हिलो मैलो खेल्दै असार पन्ध्र मनाएका ति दिन म कसरी बिर्सु डा. देबकोटा ??
अप्रेशन थिएटर भित्रै बोलाएर न्यूरो बारेमा म सँग कयौँ पटक गर्नुभएको बिस्तार मैले नेपाल टेलिभिजनबाट पनि प्रशारण समेत गरेको छु टेलिभिजन हेर्नेले देख्नुभएकै होला त्यो बेला । वहाँलाई मन्त्री हुँदा पनि मैले आफ्नो ठाउँं बाट हर सम्भब सहयोग गरेको छु । गाडी देखी हेलिकोप्टर यात्रा सँगै गर्दै गाउँ गाउँ र बिकट क्षेत्र सम्म स्वास्थ्य शिबिरहरु सम्म हामी सँगै पुगेका छौं । लामो संगतले मलाई बताएको कुरा केहो भने उनी जिबित र मैले देखेका भगवान पनि हुन ।
जिबन जन्मिनका लागि मात्र होइन मर्न पनि हो । तपाईं हामी सबै कोही पनि अजम्बरी छैनौं । ढिलो चाँडो जानै पर्छ । मृत्‍यु स्विकार गर्नै पर्छ । तसर्थ जिउन्जेल डा. देबकोटा बाट पनि केही सिक्ने प्रयास गरौँ । डा. देबकोटाका लागि म यत्ति मात्र भन्न सक्छु - हे भगवान मेरो आयु पनि उनलाई नै लागोस, बरु मलाई लैजाउ तर उनलाई बंचाईराख ।
डा. देबकोटा म छिट्टै तपाईंलाई भेट्न आउँदै छु काठमाडौं । तपाईंको स्वास्थ्यमा चमत्कार होस, तपाईं बाँचिरहनुस्, म तपाईंलाई गुमाउन चाहन्न । मधु भाउजु, तपाईं अर्को बहादुर महिला हो मलाई थाहा छ । Please Be Strong ! We are with you.
- रामप्रसाद खनाल
********************
"म फेरि सायद बिरामीहरुका सेवामा फर्कन सक्ने छैन तर जति बाँच्छु उहाँहरुप्रति सद्भाव र शुभकामना राख्नेछु।"


प्रख्यात न्यूरोसर्जन डा. उपेन्द्र देवकोटा अहिले न्यूरो अस्पताल बाँसबारीमा उपचारार्थ  भर्ना  हुनुहुन्छ। अस्पतालको ‘होप’ अर्थात ‘आशा’ नामक खण्डमा रहे पनि आक्रामक रोगले गाँजेकाले छोटिँदो जीवन नेपाल आमाकै काखमा बिताउने अठोट छ उहाँको। चिकित्सा पेशामा लागे पनि मुलुकको राजनीति,  संविधान र परिवर्तन, सामाजिक सद्भाव, व्याप्त भ्रष्टाचार र नेपालको स्वतन्त्र अस्तित्वबारे उहाँका चिन्ता र मान्यतामा स्वास्थ्य अवस्थाले कुनै प्रतिकूल असर पारेको छैन। अस्पतालमा एउटा भेटमा डा. देवकोटाले भन्नुभयो, ‘मर्न लागेको मान्छेले असत्य बोल्दैन। म केही बोल्न चाहन्छु।’ डा. देवकोटाका विविध अनुभव र मान्यताको श्रृंखला देशसञ्चारमार्फत प्रस्तुत गर्ने अनुमति पाउँदा हामी उहाँप्रति अनुगृहित छौँ। रोग र त्यसको असरबारे निश्चय पनि एउटा चिकित्सकसँग धेरै ज्ञान हुन्छ। तर,  यो अन्तिम अभिव्यक्तिको श्रृंखला नबनोस् डा. देवकोटाको, हामी उहाँको स्वास्थ्यलाभका लागि प्रार्थना र शुभेच्छा पनि व्यक्त गर्न चाहन्छौँ। -सम्पादक) ***********
मेरो बेलायती न्यूरोसर्जन मित्र हेनरी मार्स ‘बेस्ट सेलर’ किताब लेखक पनि हुन्। उनलाई लिएर म बिहानै आफ्नै मोटरमा गाउँतर्फ लागेँ, १२ बजेतिर घर पुग्यौँ। म हिँड्नुअघि नै मामाको छोरा भाइलाई गाउँ पठाएको थिएँ अावश्यक व्यवस्था गर्न। घरबाट प्याक गरेको स्यान्डविच थियो हामीसँग। माया गरेर बियर पनि राखिदिएको रहेछन् फ्रिजमा। गोरखा लिगलिगबाट द्रव्य शाहको दरबारतिरको उकालो लाग्यौँ। हेनरी मभन्दा ३/४ वर्ष जेठा
हुन्। उक्लँदा मलाई अलिअलि गाह्रो भो। म सहरिया भएछु क्यारजस्तो लाग्यो।
माथि पुगेर ‘पिकनिक’ गरौँ भनेँ मैले हेनरीलाई। लोकल बियर निकालेँ अनि ३ सय ६० डिग्रीको सेरोफेरोमा दृश्यावलोकन गर्‍यौँ त्यहीँबाट। मर्स्याङ्दी, लमजुङ, चेपे, गोर्खा दरबार सबै वरिपरि। हेनरीलाई चिनाएँ ती दृश्यहरु।
एक बोतल बियरबाट ५/७ घुट्का पिएपछि मन लागेन। हेनरीलाई पनि खासै रमाइलो लागेन। बियरको तर्पण दिएर ओर्लियौँ। यो उमेरमा ग्यास्ट्राइटिस राम्रो हैन। काठमाडौँ गएर इन्डोस्कोपी गर्न भने उनले। मलेखुमा उनलाई ‘ड्रप’ गरेर काठमाडौँ गएँ म। पाटन अस्पताल पुगेँ, रिपोर्ट अनौठो आयो। ग्यास्ट्राइटिस र हेलिको फ्याक्टर पोजिटिभ देखियो। उपचार सुरु भयो। मलाई फाइदा भएन, काम पनि गरिराखेँ। औषधि पनि खाइ राखेँ।
त्यसपछि चुनावको रौनक थियो। गोरखाको चुनाव रमाइलो थियो। विभिन्न कारणले वामगठबन्धनको पक्षमा उभिने निधो गरेँ। करिब १० दिनपछि फेरि गोरखा गएँ। एकैदिन त्यस बेलाका पूर्व प्रधानमन्त्री र अहिलेका पनि प्रधानमन्त्री केपी ओली, प्रचण्डजीसँग तीनओटा र्‍यालीमा भाषण दिएर काठमाडौँ फर्किएँ। विद्यार्थी जीवनमा वादविवाद प्रतियोगितामा अक्सर पहिला हुन्थेँ। तर यता आएर भाषण दिने बानी हटेको थियो। राम्रै बोलेँ। थारो भैँसीलाई कुँडो ख्वाएर अनुत्पादक काम नगर्न आग्रह गरे सबैसँग। भाषणपछि काठमाडौँ फर्केँ तर धेरै थाकेँ। भोलिपल्ट हेनरी बेलायत फर्कँदै थिएँ। म तल झरेर ‘बाई’ भन्न सक्ने अवस्थामा पनि थिइन। बिहीबार दिनभरि आराम गरेँ।  शरीर पलाएपछि अस्पताल गएर शुक्रबार अप्रेसन गरेँ।
गोरखाकी एकजना १२ वर्षकी बहिनी थिइन्। उनको अपरेसन म आफै संलग्न भएर गर्नुपर्ने थियो। एक जना सहकर्मी डाक्टरको काम चित्त बुझेन। म ‘इरिटेट’ भएँ। तर, मैले सोचेँ, म यति ‘डिमान्डिङ’ र ‘इरिटेट’ हुने मान्छे हैन, यो मेरो चरित्र हैन। ‘समथिङ मस्ट बी रङ विथ मी’ भन्ने लाग्यो। ट्वाइलेट गएँ, पहेँलो बाक्लो पिसाब आयो। ऐना हेरेँ, आँखा पहेँला। ‘डीप जन्डिस’ लाग्यो। शंका पनि लाग्यो। मैले खाइरहेको ‘क्लेरिथ्रोमाइसिन’ को काम हो र त्यो औषधि सकिएपछि यो कम हुने आश पनि थियो। आफ्नै अस्पतालमा तल गएर एमआरआई र अल्ट्रा साउन्ड गरेँ। त्यो हेरेपछि छाँगाबाट खसेजस्तो भएँ।
त्यो पहिला सोचेजस्तो कोलेस्टेटिक जन्डिस थिएन। पित्त नली थिचिएर अवस्ट्रक्टिभ जन्डिस थियो त्यो। भोलिपल्ट शनिबार एक्स्पर्ट मित्रहरु बोलाई कन्सल्ट गर्दा जटिल खालको कलेजोको भेट्नामा मासु पलाएको जन्डिस देखियो। नलीहरु ‘ड्रेन’ गर्न नसके २/४ दिनमै जीवनमा असर पार्न सक्ने अवस्था देखियो। मुलुकमा र यो क्षेत्रमा काम गर्नको लागि एक्सपर्टिज कहाँकहाँ छन्, छलफल गर्‍यौँ। ढुक्क हुन सकिएन। तत्काल बेलायत फोन गर्‍यौँ हेनरीलाई। उनले किंग्स कलेज हस्पिटलका चिफ सर्जन फ्रोफेसर नाइजल हिटनको नाम लिए। उनीहरु दुवै जनाको मित्रतासँगै एउटा विशेष भिडियो पनि रहेछ। हेनरीले भनेपछि मंगलबारको ‘अप्वइन्टमेन्ट’ निश्चित भयो। सोमबार काठमाडौँबाट उडेर मंगलबार नाइजललाई भेटेँ।
म सँधै नै मुलुकभित्र सम्भव उपचार यहीँ हुनपर्छ र सक्नेले सरकारी ढुकुटीमा आँखा लगाउन हुँदैन भन्ने मान्यता राख्दै आएको व्यक्ति हुँ। मेरो केसमा पुष्टि भयो, यसको उपचार नेपालमा सम्भव थिएन। नाइजललाई भेटेको भोलिपल्टै उनले आफ्ना विभागका ५/६ जना ख्यातिप्राप्त ग्यास्ट्रो इन्टेरोलोजिस्टलाई बोलाए।
बुधबार ह्यारिसनलाई सुकेको नलीमा ‘स्टेन्ट’ हाल्ने काम दिइयो। उनले एकातिर हाल्न सके, अर्कोतिर सकेनन्। त्यसपछिका डा. जोन डेभलिनले ‘टेक अप’ गरे। पहिलो, दोस्रो र तेस्रो प्रयास असफल भएपछि चौथो ‘सिटिङ’ मा स्टेन्ट त हाले तर वायोस्पी सम्भव भएन। अन्तमा पाँचौँ ‘सिटिङ’ मा भित्रै अल्ट्रासाउन्डपछि अत्यन्त ‘सोफिस्टिकेटेड’ प्रोसेसबाट बायोस्पी गरे उनले। वाइल डक्ट (पित्त थैली) क्यान्सर  देखियो।
उपचार अत्यन्त जटिल छ, जाने बाटो एउटै छ। कोलोन्जियो कार्सीनोमाको स्ट्यान्डर्ड उपचार भनेको ‘किमो’ दिएर ट्युमरको साइज घटाउने अनि अपरेसन गरेर आधा लिभर फाल्ने। त्यसमा विशेषज्ञता हासिल गरेका डाक्टर पाल रस (क्यान्सर विशेषज्ञ) ले काम शुरु गरे।
नोभेम्बर २१ मा बेलायत पुगी जनवरी २५ मा मात्र किमोको पहिलो डोज लिन पाएँ। सबै कुरा ढिलो हुन पुग्यो। किमोपछि ल्युकोपोनिया र कलेन्जाइटिससँग जुध्दै रहेँ। लढ्दैपढ्दै तीन साइकल किमो लिन पाएँ। तर, मेरो ट्युमर बढ्दै गएको देखियो। पाल अलि निराश देखिए उनको उपचारले रेस्पोन्ड नगरेकामा।
सिटी स्क्यान गर्दा ट्युमर फैलिएको देखियो। त्यो दुखद थियो। फस्ट लाइन किमो प्रभावकारी नभएमा सेकेन्ड लाइन किमो पनि त्यत्ति प्रभावकारी हुँदैन। रेडियोथेरापी त्यत्ति प्रभावकारी नहुँदा सर्जरी नै गरिन्छ। रेडिएसनमा किरणले आन्द्राहरु सुकाउँछन्। त्यहीँ नै बसेर उपचारलाई निरन्तरता दिनुको अर्थ थिएन।
किमोले रेस्पोन्ड नगर्ने रेडियोथेरापीको साइड इफेक्टमात्र हुने र सर्जरी गर्न नमिल्ने विचित्रको अवस्थामा थिएँ म।
खासै कुनै उपाय नभएको अवस्थामा एक्सपेरिमेन्टल ट्रिटमेन्ट गरेर बस्नुभन्दा समयमै देश फर्केर बाँकी जीवन तपाईँहरु सबैबीच बस्ने निधोका साथ फर्केँ।
निको नहुने रोग लाग्दा के गर्ने? म स्वयम् चिकित्सक हुँ। मेरो व्यक्तिगत धारणा के हो भने जब निको नहुने रोग लाग्छ त्यसबेला अनावश्यक उपचारमा लाग्नुभन्दा शरीरमा केही शक्ति हुँदासम्म काम गर्नु उत्तम हुनेछ। त्यही मान्यताका साथ किमोबाट थप जटिलता निम्त्याउनुभन्दा बाँकी जीवन मेरो आफ्नै देशको माटो हावापानीमा बिताउने निधो गरेँ। दाजुभाइ दिदी बहिनीहरुकै समिपमा।
मेरा आफ्ना अनुभव र उपलब्धीहरुले अरुका लागि के अर्थ राख्लान् अरुका लागि मलाई थाहा छैन। तर मलाई मेरो हावा पानी माटो र तपाईँहरु सबै अत्यन्त प्रिय हुनुहुन्छ। त्यसैले म केही बोल्ने प्रयास गर्नेछु।
म फेरि सायद बिरामीहरुका सेवामा फर्कन सक्ने छैन तर जति बाँच्छु उहाँहरुप्रति सद्भाव र शुभकामना राख्नेछु। मेरा अनुभव र भनाइ राख्दै जानेछु।
मृत्यु अवश्यंभावी छ।
गीतामा पनि भनिएको छ, ‘जातस्य ही ध्रुबो मृत्यु‍… ।’
अर्थात जन्मपछि मृत्यु निश्चित छ।
हेनरी लंगफेलोले भनेका छन्, जिन्दगी भनेको आमाको गर्भबाट निस्केर चिहानसम्मको यात्रा हो।
हामी चिकित्सकले त्यो यात्रालाई केही लम्ब्याउने टार्ने प्रयास गर्छौँ।
क्षेत्रप्रताप अधिकारीको यो गीतको अर्थ अहिले बुझ्न थालेको छु।
जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ
वास्तवमा मर्नु आफैँमा ठूलो कुरा हो। मर्ने व्यक्तिले उसलाई सम्झने के कुरा बाँकी छाडेर जान्छ यो लोकमा त्यसले महत्व राख्छ।
*************************
मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- २)

अत्यन्त प्रिय छ मलाई यो देशको माटो

पाँच महिनाअघि निको भएर फर्किने आसका साथ लन्डन गएँ। तर फर्केर त्रिभुवन विमानस्थलमा ल्यान्ड गरेपछि महसुस गरें- पाँच महिनाअघि जाँदाको उद्देश्य रोगमुक्त भई स्वस्थ भएर फर्किने थियो भने फर्केर आउँदाको उद्देश्य नितान्त फरक थियो। मुलुकमै प्राण बिसाउँ, यही निर्णायक चाहना बन्यो। मातृभूमिको हावा, पानी, माटो र आफन्तहरुको अनुहार मात्र अगाडि थियो।
अप्रिल २८ प्लेनबाट उत्रँदा (वैशाख १५)  एयरपोर्टमा एम्बुलेन्स गएको थियो मलाई लिन। हल्का पानी परिरहेको थियो। एयरपोर्टको भूमिमै माटोको चन्दन लगाएँ। यो देशको माटो मलाई अत्यन्तै प्रिय छ। र, त्यसैले प्रेरित भएर फर्किन पाएकोमा म अत्यन्त खुशी पनि छु। एम्बुलेन्सबाट बाँसबारीस्थित आफ्नै न्यूरो अस्पताल ल्याइयो, साथीहरुको आत्मीयता माझ। उहाँहरु मप्रति अत्यन्त समर्पित हुनुहुन्छ, सबै सुविधा दिइरहनु भएको छ। कमिटी मिटिङहरु, अनि मेरो ट्रिटमेन्टमा उहाँहरु जुट्नुभएको छ। म अत्यन्त सन्तुष्ट छु। ममा अहिले केही शक्ति सञ्चय भएको लागिरहेको छ। हेरौं कति रहन्छ।
फर्किएको थाहा पाएपछि थुप्रै शुभचिन्तकहरु भेटघाटका लागि आउनुभयो। कतिलाई भेट्न सकें, कतिलाई सकिनँ। उहाँहरुको सद्भावप्रति म अत्यन्त अनुग्रहित छु। उहाँहरुको माया पाएकोमा म खुशी छु। आखिर म फर्किएको पनि त त्यसैका लागि हो। परिवारबाट अपेक्षित व्यवहार पाइरहेको छु। विभिन्न क्षेत्र र आफ्नै प्रोफेसनका मित्रहरुको माया पाउँदा जिन्दगीमा केही गर्न सकेछुजस्तो लागेको छ। अझ बिरामीहरुको सद्भाव र उहाँहरुबाट आएको टेलिफोनका लागि म कृतज्ञ छु।
म गाउँबाट आएको सामान्य व्यक्ति हुँ। तर अहिले पाएको सद्भावबाट सिंगो नेपाल मेरो र म सबैको भएको रहेछु जस्तो पनि लाग्न थालेको छ। अस्पतालबाटै आफ्नो बाल्यकाल, स्कुले जीवन र त्यसबेलाका विभिन्न गतिविधि नियाल्न थालेको छु।
फर्किएको थाहा पाएपछि थुप्रै शुभचिन्तकहरु भेटघाटका लागि आउनुभयो। कतिलाई भेट्न सकें, कतिलाई सकिनँ। उहाँहरुको सद्भावप्रति म अत्यन्त अनुग्रहित छु।
म पहाड गोर्खाको पण्डित गाउँमा जन्मेँ, हुर्केँ। मेरा पिताजी सरकारी सेवामा हुनुहुन्थ्यो, कविराज। कमै मान्छे सरकारी सेवामा हुने गर्थे त्यसबेला। म उहाँको तेस्रो छोरा। पिताजीको जगजगी थियो। दुई दाजुहरु मभन्दा ८ र १० वर्ष जेठो हुनुहुन्थ्यो। पिताजीले आफ्ना भानिज भाइलाई गुरु बनाएर राख्नु भएको थियो। वास्तवमा हाम्रो घर नै पाठशाला बनेको थियो। त्यही पाठशालामा गाउँ वरिपरिका आउने गर्थे। अनौठो, आफ्नै खालको गुरुकुल जस्तो थियो त्यो। घरबाट विद्यार्थीहरु चामलघीउ लिएर आउँथे। अनि बिहानै डेराबाट खाना खाएर हाम्रो घर आउँथे। एउटै गुरुले सबै विषय पढाउनुपर्थ्यो। पूर्वमध्यमासम्म पढेर विद्यार्थीहरु जाँच दिन काठमाडौँ जान्थे। त्यहाँ पढेका धेरैमध्ये डा. वासुदेव त्रिपाठी एक जना हुनुहुन्छ। अरु पनि थुप्रै छन् त्यस्ता। त्यो परिस्थिति र माहोलमा जन्मेको थिएँ म।
मेरो पढ्ने उमेर भएपछि अंग्रेजी पढ्ने कि संस्कृत, विवाद देखा पर्‍यो। फर्केर हेर्दा लाग्छ, मेरो पिताजी संस्कृत नै पढाउनेमा हुनुहुन्थ्यो। २०१५ तिर म पढ्ने उमेरको हुँदा अंग्रेजी स्कुल पनि खुल्यो गाउँमा। अब गाउँका समकालीन साथीहरु ‘मिसन स्कुल’ गएर अंग्रेजी पढ्न थाले। म गाउँमै अमरकोष घोक्न थालेँ। पिताजी मलाई शास्त्री, आचार्य बनाउन चाहनुहुन्थ्यो। दाइहरुले पनि संस्कृत नै पढ्नुभयो।
म पनि थाहै नपाई त्यत्तै जाँदै थिए। दुई वर्षपछि मेरो आमाले अंग्रेजी स्कुलमा  लैजानुभयो भर्ना गर्न मलाई। नपढेकी आमाले। एकैपल्ट कक्षा दुईमा। २०१७ तिरको कुरा  हो यो।
६ महिनामै दुईबाट तीनमा गएँ र अर्को ६ महिनामा ४ मा। फर्स्ट हुनेलाई डबल प्रमोसन दिइन्थ्यो। चारमा पनि फर्स्ट भएपछि पाँच कक्षाका लागि ‘लुँइटेल’ जानुपर्ने हुन्थ्यो। जंगलको बाटो, टाढा, म गाउँमै चार कक्षामै रहेँ। तीन महिना रोकिँदा एक वर्षको फरक पर्थ्यो। अहिले सोच्छु, त्यसैबेला माथिल्लो क्लासमा ‘लुँइटेल’ पुगेको भए?
युनाइटेड मिसन टु नेपालको हेडक्वार्टर आँपपिपलमा थियो। मिसनले २२ प्राइमरी, दुई मिडल र एउटा हाइस्कुल खोल्यो। यसरी सुरु र विस्तार भयो अंग्रेजी पढाइ। हाइस्कुल भवन बनाउने अभियान पनि सुरु भयो। त्यो स्कुलले शिक्षामा पुर्‍याएको योगदान हामी स्वयमले देख्यौँ, महसुस गर्‍यौँ। सात कक्षापछि स्कुल भवन बन्यो। त्यसमा हामी पनि लाग्यौँ। हामी हुर्केको बेला शिक्षा र चेतनाको विस्तारको बेला पनि थियो त्यो। गोर्खाको माहोल अलिक फरक थियो।
२०१० मा नै हाम्रा दाजुहरुले पुस्तकालय खोल्नुभएको थियो, आफ्नै किताबहरु दिएर। राजधानी उपत्यका बाहिरका २/४ पुस्तकालयभित्रै पर्थ्यो त्यो। चेतनाको चौतर्फी विस्तार भइरहेको थियो। कक्षा ६ देखि १० सम्म पढ्दा नै विविध सामाजिक क्रियाकलापमा लाग्यौँ हामी। पुस्तकालय सञ्चालनका लागि समितिको चुनाव र पालैपालो नेतृत्व एउटा पक्ष थियो। आर्थिक संकलनबाट ‘द राइजिङ नेपाल’ र ‘गोरखापत्र’सहित तीनवटा पत्रिका मगाउने गर्थ्यौँ हामी। गोरखापत्र संस्थानमा ४८ रुपियाँ बुझाएपछि एक वर्षका लागि एउटा पत्रिका आउँथ्यो। ५ दिन लाग्थ्यो हुलाकबाट गोर्खा पुग्न। हुलाकबाट बटुलेर पालैपालो गाउँ लाने गर्थ्यौ ती पत्रिका हामी।
त्यही पढेर लेखरचना, भाषा शुद्धाशुद्धि सिक्यौँ। पाठ्यक्रममा सीमित रहेनौँ। म एकपल्ट महासचिव बनेँ पुस्तकालयको। नेपालस्थित सबै दूतावासलाई चिठ्ठी लेख्यौँ किताब सहयोगका लागि। गोरखा पत्र, साझालगायतका प्रकाशन, कवि, लेखक सबैलाई लेख्यौँ। अन्तमा दुई ठाउँबाट सहयोग पायौं। अमेरिकी दूतावासबाट नियमित रुपमा आउन थाले उनीहरुका केही प्रकाशनहरु। तर ब्रिटिश दूतावास बढी नै उदार देखियो। उसले ब्रिटेनिका इन्साइक्लोपेडिया लगायतका थुप्रै पुस्तक पठायो। पुस्तकालय समितिको महासचिव भएकाले भरिया लिएर पालुङटार पुगेको याद छ मलाई।
त्यो पुस्तकालयको योगदान साँच्चै अतुलनीय छ, हामी र हाम्रा पुस्ताहरुमा। ज्ञानलाई दिमागमा हैन, समाजसँग जोड्न सिक्यौँ हामीले। चेतनासँगै दायित्व बोधभयो हामीमा।
हामी ५ देखि १० कक्षाका विद्यार्थीहरुले गाउँ सुधार समिति पनि बनायौं,  त्यसको विधान  बनायौ। जसले ६ कक्षामा पढ्दा गाउँ सुधार समितिको विधान लेख्न सक्छ,  त्यसले ६० वर्षको हुँदा देशको संविधान अवश्य लेख्न सक्छ। ठूलो एक्सपोजर दियो, आत्मविश्वास दियो र दायित्वबोध गरायो त्यो अनुभवले।
म गाउँबाट आएको सामान्य व्यक्ति हुँ। तर अहिले पाएको सद्भावबाट सिंगो नेपाल मेरो र म सबैको भएको रहेछु जस्तो पनि लाग्न थालेको छ। अस्पतालबाटै आफ्नो बाल्यकाल, स्कुले जीवन र त्यसबेलाका विभिन्न गतिविधि नियाल्न थालेको छु।
गाउँमा हुने नराम्रा क्रियाकलाप रोक्न हरेक शनिबार गाउँका गल्ली र पानीपँधेरोको सरसफाइ र आइतबार आफ्नै नुहाइधुवाइको लागि छुट्याएका थियौँ। रक्सी र जुवा बन्द गर्ने अभियानमा पनि लाग्यौँ। म सम्झन्छु, एकपल्ट पुलिस स्टेसन पनि गयौं र पुलिसलाई लिएर जुवा खेल्ने ठाउँमा पनि पुग्यौं। कानुनले जुवा रोक्न भनेको ज्ञान थियो हामीलाई।
गाउँ सुधार समितिले नाटक मञ्चन पनि गर्ने गर्थ्यो। वर्षको २/३ ओटा नाटक लगाउँथ्यो। केटीहरु नाटक खेल्ने अवस्था या बेला थिएन। महिलाको अभिनय पनि केटाहरुले नै गर्थ्यौँ। हाम्रा दाइहरुले काठमाडौँमा गोर्खा नाटक समिति खोल्नुभएको थियो। उहाँहरुले एक सेट नाटक सामग्री, ‘विग,’ भेषभुषा आदि पठाइदिनु भएको थियो। एकपल्ट त हामीलाई सदरमुकाममा पनि बोलाइयो। पैसा उठ्यो हाम्रो नाटकबाट। भीमनिधि तिवारी, गोपालप्रसाद रिमाल, गोविन्दबहादुर गोठाले आदि सबैका नाटक खेल्यौं। बालकृष्ण समको सकेनौं। अनि हामी आफैँ पनि नाटक लेख्न थाल्यौं। रंगमन्चको त्यो अभ्यासदेखि जिन्दगीको यो पाटोसम्मको यात्रा कहिल्यै अवरुद्ध रहेन।
यो सांस्कृतिक पक्षसँगै, हामीले खेलकुदलाई पनि अगाडि बढायौं। हाम्रो गाउँको भलिबल टिम स्कुललाई चुनौती दिनसक्ने अवस्थामा थियो। भाइबहिनीहरुलाई दौडाउँथ्यौं। यी सब कारणले गर्दा पढ्ने समय कम रहन्थ्यो हामीसँग।
 (क्रमश:)
*********************************
मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- ३)

सधैँ जित्नुपर्छ जस्तो कहिले लागेन

सामाजिक चेतना र जागृती हामीहरुमा गाउँबाटै जागी सकेको थियो, १०–११ वर्षको उमेरबाटै । त्यति बेला ६/७ मा पढ्यौँ हामीले । त्यति बेला नै युनाइटेड मिशन टु नेपालका केही क्रियाकलापहरु अवाञ्छित लाग्न थालेका थिए । युएमएनलाई गोरखा ल्याउन राजेश्वर देवकोटाको ठूलो हात थियो ।
तर, उनीहरुलाई उहाँले केही कुरामा पहिले नै स्पष्ट पार्नुभएको थियो । पढाउन र स्वास्थ्य सेवा दिन यु एम एनलाई त्यहाँ लगिए पनि आफ्नो धर्म मान, अभ्यास गर तर धर्म परिवर्तन गर्नमा (कन्भर्सन) नलाग भनेर उहाँले स्पष्ट भन्नुभएको थियो सुरुमै । स्कुल र अस्पतालमा बाहेक अन्यत्र च्यापल थिएन ।
हाम्रो स्कुलमा पनि च्यापल बनाइयो । कक्षा सुरु हुनुअघि क्रिश्चियन शिक्षकहरु प्राथना गर्ने गर्दथे । उनीहरुलाई खुशी पार्न अरु शिक्षकहरु पनि जान थाले । चाकडी चलन अलि बढी नै झांगिन थाल्यो । विद्यार्थी पनि मिसिन थाले । नजानेहरु बक्रदृष्टिमा पर्न थाले । उनीहरुलाई बागीका रुपमा हेरिन थाल्यो । हामीले त्यसलाई महशुस गर्न सक्थ्यौं ।
हामी सात कक्षाका ८/१० जना बागी जस्तो थियौं । पढाईमा राम्रै भए पनि मेहनत जति गरे पनि निउ खोजी खोजी नम्बर काटिन्थ्यो । त्यो देख्दा अब माथि जाने आफ्नो योग्यतामा ‘सिलिङ’ लागे जस्तो लाग्न थाल्यो ।
हाम्रो सिर्जनशीलतालाई कुण्ठित बनाउने खेल भए जस्तो लाग्न थाल्यो । किताबमा लेखेको मात्रबाट नम्बर आउने ? उकुसमुकुस लाग्थ्यो । बिद्रोह मनमा जाग्न थाल्यो ।
यस्तो माहोलमा कसरी बस्ने ? सात कक्षामा हुँदा नै काठमाडौं भाग्ने विचारमा लागें । दसैँ तिहार बिचमा ठूलदाइ घर आउनु भएको थियो । उहाँ काठमाडौंमा चर्चित विद्यार्थी नेता हुनुहुन्थ्यो ।
दाइ फर्कने बेला पारेर एयरपोर्ट (पालुङटार) पुगें, म यहाँ पढ्दिन, काठमाडौं लैजानुहोस् भनेँ । फकाई फुलाई घर फर्काउनुभयो दाइले । मेरो छटपटी कसैले बुझेन । मेरो व्यक्तिगत ‘ग्रोथ’ रोकिए, संभावना छेकिए ।
पाठ्यक्रमकै सीमा भित्र म थुनिएँ । काठमाडौं पुगेको भए एक दुई कक्षामाथि नै भर्ना हुने र एसएलसी त्यहीअनुसार १÷२ वर्ष पहिला नै पूरा गर्ने मेरो चाहना अघि बढ्न सकेन । पिताजी, दाइ कसैले मलाई बुझ्नु भएन । काठमाडौं, त्यो गोरस खान नपाउने ठाउँमा किन जाने ?
पाठ्यक्रमभित्र धेरै मेहनत गरेर मैले फाइदा देखिन । एकपटक पढेपछि मलाई पढ्न पर्दैनथ्यो । बाहिरका कुरा पनि धेरै बुझ्थें ।
एक्स्ट्राकरिकुलर एक्टिभिटिजमा लागें । वाद विवाद, भाषण, निबन्ध लेखनमा म धेरै अगाडि थिएँ । कक्षा ६ मा छँदा नै १० लाई जितें र त्यो सिलसिलाले पछिसम्म निरन्तरता पायो । जिल्लाव्यापी प्रतिस्पर्धामा पनि पहिलो भएँ ।
गाउँको पुस्तकालयमा अध्ययन गरी साहित्यमा धेरै अघि भएको थिएँ । छन्द, रस अलङ्कार धेरै बुझ्ने भएको थिए । मैंले त्यहाँ आर्जेका ज्ञान कक्षामा नचाहिने तर बाहिर धेरै उपयोगी खालका थिए ।
कक्षा ८ मा पुगेपछि हामी ८/१० जना विद्यार्थीबिच केही छलफल भयो । विद्यार्थीले भनेको कुरा सुनिन्थेन । हामीले स्टुडेन्ट्स युनियनका लागि आन्दोलन गर्ने सोच बनायौं । मेरा दाइ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको संस्थापक मध्ये नै हुनुहुन्थ्यो, काठमाडौंमा ।
राजनीतिको त्यो सरुवा रोग हामीलाई पनि लाग्यो । काठमाडौंलाई ‘कपी’ गर्नमा लाग्यौं हामी पनि ।
स्कुलको ‘ब्रेक’को समय पारेर कक्षा ६ देखि १० सम्मका विद्यार्थीको बैठक बोलायौं । पूरा स्कुलबाट जम्मा ३/४ जना गएनन । को गएनन् तिनका नाम अहिले नखोलौँ । राजनीतिमा लागे ती मध्ये केही पछि । नजिकैको जंगलमा मिटिङकै बिच हेडमास्टर छापा मार्न आइ पुग्नुभयो ।
हेडमास्टरलाई खबर गरिदिएछन् र हतार हतारमा लन्च खाएर त्यहाँ आइपुग्नु भएछ । भोलिपल्टै स्कुल संस्थापनले ६ देखि १० का सबै विद्यार्थीलाई भेला गरायो, कोर्ट मार्शलका लागि ।
मिटिङ किन ? केका लागि ? नेता को थिए ? एक एक गरी सबैलाई सोधियो । केरिँदा सबैको झण्डै पिसाबै चुहिने अवस्था थियो । अन्ततः हामी तीनजना तिर औंला तेर्सिए । म, (मालतिगैरा गाउँका) बाबुराम देवकोटा र अर्का नारायणबहादुर थापा ।
बाबुराम देवकोटा राम्रो भाषण गर्नु हुन्थ्यो र नेतृत्व शक्ति थियो उहाँमा । नारायणबहादुर थापाको घर अलि टाढा थियो । पछि नेपाली कांग्रेसको जिल्ला नेता हुनुभयो र दुर्घटनामा उहाँको मृत्यु भयो । टिचरहरुले पछि उहाँलाई स्कुल निकाला गरे, त्यो मिटिङको बहानामा ।
पण्डित गाँउमा उपेन्द्र देवकोटालाई निकाल्न संभव थिएन । किनकी उनी राजेश्वर देवकोटका नातेदार थिए र राजेश्वर देवकोटाको काँध चढेर यु एम एन गोरखा पुगेको थियो । अर्को पनि देवकोटा नै । बलीको बोको बनाइयो नारायण थापालाई ।
तर हाम्रो मिटिङ प्रभावहिन रहेन । सम्झौताका आधारमा स्टुडेन्ट्स युनियन बन्ने भयो । तर कस्तो युनियन भने त्यसको अध्यक्ष हेडमास्टरले मनोनित गरेका शिक्षक, जनरल सेक्रेटेरी कक्षा ६ देखि माथिका विद्यार्थीले मतदानद्वारा निर्वाचित गरेका विद्यार्थी हुने ।
हरेक कक्षाबाट एक एक जना प्रतिनिधि चुन्ने व्यवस्था पनि गरियो । पहिलोपटक, त्यत्रो मेहनत गरेकाले बाबुराम देवकोटालाई छान्यौँ । सहमति साथ । प्रतिस्पर्धा भएन । स्वभाविकरुपमा दोस्रोपटक पालो मेरो हुने भयो । म उठें महासचिवको उम्मेदवारमा ।
संस्थापनले दुईजनालाई मेरो विरुद्ध उभ्यायो । खुलेरै लाग्यो मेरा विरुद्ध । मलाई हराइयो । एक मतले हारें म । म भित्रको बिद्रोही बढी जागृत भयो । मेरो संस्थापनलाई हेर्ने दृष्टिमा अन्तर आयो ।
यता त्यसको फलस्वरुप मैंले पाउनु पर्ने नम्बर पनि खोस्नु पर्ने अवस्था आयो । प्रोत्साहन त्यति भएन मेरा लागि । यो बिद्रोह नै मेरो स्कुले राजनीति बन्यो ।
००
सरकारी स्कुलहरुमा विद्यार्थी युनियन खुल्ने प्रथम केही स्कुल भित्र नै पर्छ हाम्रो स्कुल । पछि कति वर्षसम्म चल्यो त्यो युनियन थाहा भएन । शिक्षक नै अध्यक्ष हुने चलन बन्द भयो होला ।
जे होस, पढ्ने विद्यार्थी जाने ठाउँ हैन, बिग्रने विद्यार्थीले मात्र राजनीति गर्छन् भन्ने मान्यतालाई एक किसिमले चुनौती दियौँ हामीले । पछि काठमाडौँमा अमृत साइन्स कलेजमा भर्ना भएपछि पनि म अनेरास्वयुतर्फ लागेँ । हाम्रा विरोधीहरु बुझेर नबुझेर नेपाल विद्यार्थी संघको सदस्यता लिने गर्थे ।
फर्केर हेर्दा धेरै कुरा गरिएको रहेछ । पाठ्यपुस्तक एकपटक पढेपछि पुग्ने, कहिलेकाँही पुस्तकालय जाने अनि अरु समय खेलेर बिताउँथे । ठूलाहरु पढ्नमा व्यस्त हुने हुनाले आफूभन्दा साना भाइबहिनीहरुलाई लिएर खेल्न जान्थे ।
गाउँमा भलिबल महंगो । थोत्रा टालाटुली बटुलेर गोलो बल बनाउथ्यौँ, अनि बाबियाको डोरीको नेट । शनिबार चाहिँ आफ्नो कक्षाको साथीहरु पनि मिसिन्थे । १२/१३ जना थियौँ हामी गाउँमा । म भने अरु दिन पनि भाइबहिनीलाई लिएर निस्कन्थेँ । म उनीहरुप्रति ‘फेयर’ नै थिए ।
उनीहरुलाई सजिलो या अग्लो ठाउँमा राख्थेँ । म अलि तल बस्थेँ । उनीहरु पट्टी ‘नेट’ होचो हुन्थ्यो, म पट्टी अग्लो । म हारी पनि दिन्थेँ । नत्र किन आउँथे र उनीहरु ? एवंम रीतले टालाको भकुण्डोबाट केटाकेटीको टोली खडा गरेँ ।
मलाई एउटा शनिबारको गज्जबको घटना याद छ । हामी त्यहि टालाको भकुण्डो खेल्दै थियौँ । अरु साथीहरु पनि थिए, पुस माघको महिना थियो । गल्ली माथिको ठूलो गरामा, उन्मुक्त वातावरणमा हामी खेल्दै थियौँ । भकुण्डो तल गल्लीमा खस्यो । हामी भकुण्डो लिन तल लाग्यौँ ।
हाम्रो स्कुलको एलकिन्स गुरुआमा शनिबार आफ्नो साथी हेलेनसँग छुट्टी मनाउन त्यहि गल्लीबाट आउँदै हुनुहुँदो रहेछ । साथीहरुको भागाभाग भयो । शिक्षकको अगाडि विद्यार्थीले पढेको मात्रै देखिनु पर्ने हाम्रो मान्यता, तर भकुण्डोको पिछा गर्दे म गुरुआमा नजिक पुगेँ ।
मलाई समातेर सोध्नुभो, ‘के गरेको ?’ टालाको भकुण्डोमा भलिबल अभ्यास गर्ने गरेको इति वृत्तान्त सुनाए । तपाईंलाई म साँच्चिकै भकुण्डो किनिदिन्छु, राम्रोसँग खेल्नुहोस् भन्नुभयो । पछि उहाँले व्यक्तिगत खर्चबाट २२ रुपैयाँको भकुण्डो र ३० रुपैयाँको नेट किनेर किनिदिनुभयो ।
हाम्रो बोरा गाउँ टिमलाई ‘मेरो तर्फबाट डोनेसन’ भनेर । हामी अत्यन्त खुशी भयौँ । अनि प्रोपर्ली गाउँमा प्राक्टिस गर्न थाल्यौँ । हामी धेरै राम्रो टीम बन्यौँ । कक्षा ८ मा छँदा मेन स्कुलको (मिडिल तह) लाई चुनौति दिने निधो गर्‍यौँ । यसबेलाको चलनमा खेल्न बोलाएपछि आउनुप¥थ्यो अर्को टिम । हामीले स्कूललाई चिठ्ठी लेख्यौँ । हेड मास्टर नै ‘गेम टिचर’ हुनुहुन्थ्यो ।
उहाँले हाम्रो च्यालेन्ज स्वीकार गर्नुभयो, तिथि मिति तोकियो । स्कुलकै मेन ग्राउण्डमा बोरा गाउँ टीम र स्कुल टीमबीच प्रतिस्पर्धा हुने भयो । स्कुलको पक्षमा सबैले ‘चियर’ गर्ने नै भए । हाम्रो पक्षमा ८/१० जनामात्रै थिए । म्याच सुरु भएपछि एलकिन्स गुरुआमाले हाम्रो पक्षमा ताली बजाउन थाल्नुभयो । मुख्य खेलाडी म थिएँ, हामीले म्याच जित्यौँ ।
स्कुलमा पनि म मेन टिममा पुगेको थिएँ, एउटा विशेष परिस्थितिको कारण ।
स्कुलमा दुई टिम थिए । जुनियरमा थिएँ म । एक दिन खेल्न नपाएपछि घरतिर हिडेँ । तर सिनियर टिमका दुई खेलाडी त्यो दिन गयल हुँदा खेल हुन नसकेको रहेछ । हेडमास्टर तथा खेल टिचर भर्गिज थोमस सिठ्ठी लिएर बस्नुभएको थियो ।
खेलाडी नपुगेकाले सोध्नुभयो, ‘तिमी खेल्छौ सिनियर टिमबाट ?’ शट हान्न अति सिपालु हुनुहुन्थ्यो सीताराम अधिकारी । अहिले उहाँ रत्नराज्य कलेजमा पढाउनुहुन्छ । उहाँलाई पास दिनेगरी मलाई राखियो ।
बुद्धि श्रेष्ठले बल रिसिभ गर्ने, मलाई दिने अनि ‘रेज’ गरेर सीतारामलाई दिने अनि उहाँले शट हान्ने । त्यहि दिन पछि मेरो प्रमोसन भयो सिनियर टिममा । त्यो कम्बिनेशन निकै जम्यो । झण्डै ९० प्रतिशत हीट रेट हुने गर्थ्यो । १० सम्म, भलिबलमा धेरै पल्ट जितियो । त्यो सँगै ब्याडमिन्टन पनि खेलियो । पछि मेडिकल कलेजमा पनि भलिबलमा धेरै नै इज्जत कमाए ।
राजनीति जहाँ पनि हुन्छ । लोकलहरुले डिब्रुगढ (आसाम) मा एमबिबिएस पढ्दा मलाई टिममा राख्ने तर तर खेल्न भने नदिने । मलाई स्पेअर खेलाडीका रुपमा राख्थे । मेडिकल कलेजको टिम विश्वविद्यालय फाइनलमा पुगेको थियो । त्यसका लागि क्याप्टेनले मलाई खेल्न अनुरोध गरे । आफ्नै मेडिकल कलेजमा गेम हुने भयो ।
क्याप्टेनलाई मेरो स्कील थाहा थियो । बिहानै मलाई बोलाउन आए र खेल्नुपर्छ भनेर गए । स्पेअरमा राख्ने गरेकोले मलाई विश्वास भई हालेन । त्यसैले म्याच सुरु हुनु आधा घण्टा अघि सम्म कोठामा बसीरहेँ । क्याप्टेन फेरी लिन आए आफै । कलेजका प्रिन्सिपल, भाइस प्रिन्सिपल सबै बाहिर । मलाई लिएर गए, खेलाए ।
पहिला मलाई सबभन्दा कमजोर पोजिसनमा राखेँ । ‘रोटेशन’ हुँदै म ‘सर्भिस’ मा पुग्दा हाम्रो ३ र अर्को पक्षको १३ थियो स्कोर । सर्भिसबाटै जितेँ, म ‘हिरो’ भए । अनि प्रिन्सिपल आएर हात मिलाए । गोरखाको अभ्यासको प्रतिफल थियो त्यो । मैले स्पोर्टसबाट दुई कुरा सिकेको छुँ ।
शारीरिक तन्दुरुस्ती त धेरैले बुझेकै कुरा हो ।
धेरैले नबुझेको कुरा के हो भने, स्पोर्टसले नियम या ‘रुल अफ ल’ को परिधिमा रहन सिकाउँछ ।
‘स्पोर्टस म्यान सिप’ या स्पोर्टस स्पिरिटले मेरो जीवनका धेरै पक्षलाई प्रेरित गरेको छ । मलाई सिकाएको छ । कसै कसैलाई आफूले जसरी पनि जित्नुपर्छ भन्ने लाग्छ ।
मैले फेयर स्पोर्टस खेलेकोले फेयरनेश र नियमबाट निर्देशित हुने गरेको छु, चाहे मेरो चिकित्सा पेशामा होस् या राजनीतिमा । मैले त्यो स्पोर्टसबाटै सिकेको हुँ । सधैँ जित्नुपर्छ र जिती हाल्नु पर्छ, गलत मानसिकता बोकिन ।
(क्रमश:)
मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- ४)

बारम्बारको अन्यायले मलाई क्रुद्ध बनाएको थियो

यसअघि मैले भलिबलको प्रसंग उठाएँ। वास्तवमा सिनियर टिममा गएपछि व्यस्तता बढ्न थाल्यो। सिनियर टिम ‘मेच्योर’ मानिने, आफू सानै। चार बजे स्कुल छुटेको १५ मिनेटपछि अर्थात ४ बजेर १५ मिनेटमा टिचरको सिटी बजेपछि हामी चेन्ज गरेर जम्मा हुन्थ्यौँ। खेल सुरु हुन्थ्यो। धेरैजसो साथीहरु होस्टलका हुन्थे, म घरबाटै। कम्तीमा ३ गेम हुन्थे, कहिलेकाहिँ त ६/७ गेम पनि। खेलेर उकालो लाग्थेँ। पेटमा पानी नहुने। बिहान ७/८ बजे घरबाट खाएर निस्किन्थ्यौं, दिउँसो खाजाको चलन थिएन। उकालो लाग्दा आन्द्रा हल्लने अर्थात आन्द्राले झुत्ती खेलेको थाहा हुन्थ्यो। बाटोमा पानी मागेर खाएपछि पानी हल्लिएको थाहा हुन्थ्यो। उज्यालोमा कहिल्यै घर पुगेको थाहा छैन। कठोर अभ्यास गर्नु पर्थ्यो सिनियर टिमले।
घरमा पुगेर जे पायो, त्यही खाइन्थ्यो। दिउँसो भुटेको मकैभटमास मेरो मात्र राखिएको हुन्थ्यो। यति भोक लागेको हुन्थ्यो कि हातै नधोई खान्थेँ। भोलिको ‘होमवर्क’को पीर हुन्थ्यो।
शिक्षकको गालीबाट बच्ने हिसाबले होमवर्क गर्थें। अर्थात, त्यो गाली नखाने उपाय मात्र हुने गर्थ्यो। भोलिपल्ट बिहान उठ्यो, त्यसपछिको रीत त्यही हुन्थ्यो। बिहान साढे आठ बजे घरबाट निस्कने, स्कुल नभ्याउने। घाँटीसम्म कोचेर नखाए दिनभरलाई नपुग्ने। बेलुका मकैभटमास खाएपनि वास्तवमा त्यसलाई तिनछाक मान्न नमिल्ने। किनकि त्यसको लगत्तै खाना खाइन्थ्यो राति। तर, खाने त्यो शैलीले पछिसम्म शारीरिक इन्डुरेसनमा मदत पुर्‍यायो। सर्जरीमा १७/१८ घन्टा नखाई बस्दा पनि मलाई अप्ठेरो परेन।
म अक्सर अगेन्स्ट द मोसन बोल्न रुचाउँथे। किनकि मोसनको पक्षमा बोल्ने धेरै हुन्थे। वास्तवमा मलाई यस्तो सुझाव मेरो दाइले दिनुभएको थियो।
सिनियर टिममा सबभन्दा प्यारो, हेडमास्टरले माया गर्नुहुन्थ्यो। एकपल्ट, आँपपिपल र लुइँटेल स्कुलबीच प्रतिस्पर्धा हुने भो। दुईवटा क्लासपछि स्कुल बिदा दिइयो। ९० मिनेट लाग्छ, माथि जान। उकालो लाग्यौं। अनि छाता विरलै देखिन्थे। अरु बलिया फटाफट उकालो लागे। मलाई भने पूरै बाटो हेडसरले छाता ओढाएर लानु भयो। त्यस्तो खालको स्नेह पनि पाएँ मैले।
म्याच भयो, हामीले जित्यौं। अबेर भइसकेको थियो। राति त्यहीँ बसियो। हाम्रो स्कुलमा एक्स्ट्रा करिकुलर एक्टिभिटिज हुने गर्थे। निबन्ध, वादविवाद, वकृत्वकला आदि बराबर भइरहन्थे। कुनै क्लास नभनी ६ देखि १० का विद्यार्थी मिसाएर टिमहरु बनाइन्थ्यो।
कक्षा ६ मा पढ्दाको कुरा हो। मामाघरमा सप्ताह लगाइएको थियो। म गणेश बस्याथें। स्कुल छुट्टी थियो। एक दिन साँझ दिदी र बहिनी त्यहाँ पुग्नु भयो। म स्कुलमा हाजिर नभएको कुरा हेडमास्टरले थाहा पाउनु भएको सुनाए।
यो सुनेपछि भोलिपल्ट स्कुल हाजिर हुन गएँ। स्पोर्टस प्राक्टिस र निबन्ध प्रतियोगिता भइरहेको रहेछ। ६ देखि १० कक्षा सम्मकाले एउटा हलमा बसेर निबन्ध लेख्यौं। आशा नै थिएन। रिजल्ट भन्नेबेला गुरुले पहिलो तेस्रो, दोस्रो हुनेका नाम भन्दै जानु भयो। मेरो नाम थिएन। तर पछि फस्ट भन्दै मेरो नाम लिनुभयो। म धेरै प्रोत्साहित थिएँ। १० कक्षासम्म नै त्यो क्रम जारी रह्यो।
सबै गाउँको परिवेश थियो। भाषामा राम्रै पकड बनेको थियो। बाबुराम देवकोटा पहिला हुन्थे कहिले। वादविवाद र त्यसमा प्रतिस्पर्धा अत्यन्त रोचक हुन्थ्यो।
म अक्सर अगेन्स्ट द मोसन बोल्न रुचाउँथे। किनकि मोसनको पक्षमा बोल्ने धेरै हुन्थे। वास्तवमा मलाई यस्तो सुझाव मेरो दाइले दिनुभएको थियो।
‘नारी शिक्षा’ बारे कुरा हुने गर्थ्यो। छोरी पढाउनुपर्छ भन्ने चेतना र आवाज उठ्ने गर्थ्यो। स्कूलमा त्यही विषयमा बहस हुने भो। ‘मोसन’ को विपक्षमा बोल्ने कोही भएन। म तयार भएँ, कतिले मान्लान्! मैले आएको विचार र मान्यता बोलेँ। हामी नारी शिक्षाको पक्षमा लागेको मान्छे तर वादविवादमा मैले ‘अगेन्स्ट द मोसन’ बोलेपछि कतिले त्यसलाई मेरो मान्यता नै त्यही हो भन्ने सोचेँ।
सान्दर्भिक ‘कोटेशन’ ले वादविवादलाई अथेन्टिसिटी दिन्छ। तर कसरी पुष्टि गर्ने छोरी पढाउनु हुन्न भनेर।
पिता रक्षति कौमारे भार्ता रक्षति यौवने।
पुत्रो रक्षति वार्धक्ये न स्त्री स्वातन्त्र्यमर्हति॥
नेपालीमा यसको अर्थ हो, ‘नारीलाई बाल अवस्थामा पिताले रक्षा गर्छन्, यौवन अवस्थामा पतिले र वृद्धा अवस्थामा छोराहरुले रक्षा गर्छन्, त्यसैले उनीहरुलाई कहिल्यै एक्लै छोडिनु हुँदैन। अर्को अर्थमा शिक्षाको खासै प्रयोजन छैन उनीहरुका लागि।’
यो नीतिश्लोकलाई उद्धृत गर्दै व्याख्यासहित आफ्नो प्रस्तुति राखेँ मैले। अचूक तर्क सावित भयो त्यो।
‘नारीलाई बाल अवस्थामा पिताले रक्षा गर्छन्, यौवन अवस्थामा पतिले र वृद्धा अवस्थामा छोराहरुले रक्षा गर्छन्, त्यसैले उनीहरुलाई कहिल्यै एक्लै छोडिनु हुँदैन। अर्को अर्थमा शिक्षाको खासै प्रयोजन छैन उनीहरुका लागि।’
हाम्रो स्कूलमा ‘हाउस’ छुट्याइएको थियो। चारओटा हाउस थिए, नदीका नामबाट। गण्डकी, चेपे, दरौँदी, मर्याङ्दी आदि। ती हाउसहरुलाई विद्यार्थीको एकडेमिक, पर्फमेन्स, स्पोर्टस् आदिबाट जाँचिन्थ्यो। पहिलो वर्ष सबै हाउसबीच प्रतिष्पर्धा भयो। पहिलो वर्ष गण्डकी वा मर्स्याङ्दी कसले जित्यो याद भएन। चौँथो या सबभन्दा कमजोरमा चेपे पर्‍यो। पहिला हुनेले विभिन्न आधारमा १५० जति स्कोर गर्‍यो। चेपेको ६०/७० जति मात्र थियो।
चेपे हाउसका क्याप्टेन यमप्रसाद भट्टराई थिए। बाबुराम भट्टराईजीको ठूलो बाको छोरा। हेडमास्टरले यम प्रसादलाई तिमी कमजोर हाउसमा छौँ, क्याप्टेन बाहेक कुनै पनि हाउसको एक जना छान भन्नु भयो।
मलाई छान्नु भो। मेरो लागि यो ठूलो इज्जतको कुरा थियो। पढाइबाट ३, वादविवादबाट ५, निबन्धबाट ५ र भाषणबाट ३ या ५ नम्बर दिने चलन थियो हाउसलाई। त्यस अर्थमा विद्यार्थीले २०/२५ नम्बरको योगदान पुर्‍याउथे। पछि चेपे सधैँ पहिला या दोस्रो हुन पुग्यो। यसले मलाई एउटा रोचक शिक्षा दियो। कक्षामा पाइने नम्बर या मार्कसिटसँगै अरु विषय, गतिविधिको पनि वजन हुन्छ भन्ने मैले बुझ्न सकेँ। एसएलसीको लागि तयारी गर्दा पनि स्टुडेन्ट ग्रोथको अरु पाटो हुन्छ भन्ने सोच्दैनौँ हामी।
अहिले थाहा हुन्छ– मार्क्स राम्रो ल्याउनेहरुसँग पनि खेल्छौ, खेल्दैनौ, एक्स्ट्रा करिकुलर एक्टिभिटिज के के छन् आदि सोधिन्छ, हेरिन्छ। यस अर्थमा हामी समय धेरै अगाडि थियौँ।
स्कूलका अनेकौँ स्मरणहरु छन्। भीमप्रसाद गुरुले तेरिज (दिइएको अक्षरबाट अर्थ खुल्ने गरी सबैभन्दा छोटो लेख्ने) खिच्न लगाउनुभयो । मैले सबैभन्दा छोटो बनाएको थिएँ। २०–२१ शब्दमा नै मेरो सक्किएको थियो। गुरुले मलाई १० मा ६ नम्बर दिनुभयो र उहाँका मन पर्ने विद्यार्थीलाई ८–९ नै दिनुभयो। म भन्दा ६/७ शब्द नै बढी लेखेका थिए उनीहरुले। कापी फिर्ता भएपछि लुकाउँदा लुकाउँदै पनि मैले देखिहालेँ। बारम्बारको अन्यायले मलाई क्रुद्ध बनाएको थियो। मसँग उहाँलाई कनफ्रन्ट गर्ने नैतिक बल थियो, अवसर पनि जुर्‍यो।
मैले भने, ‘गुरु तपाईँका मन परेका विद्यार्थीको कुरा छोडौँ, तपाई स्वयंले पनि मेरोभन्दा छोटो लेख्नुभयो भने म स्कूल नै छोड्छु। त्यसपछि गुरुले टोपी फुकालेर टेबलमा राख्नुभयो, अनि बडा विचार गरी तेरिज लेख्न थाल्नुभो। दुर्भाग्यवश उहाँको तेरिज मेरोभन्दा ५/६ शब्दले लामो भयो। अनि मैले गुरुलाई अनुरोध गरेँ, ‘जब तपाईँले मभन्दा छोटो लेख्न सक्नुुहुन्न भने मलाई १० मा १० किन नदिने?’ गुरुलाई अफ्ठेरो पर्‍यो। अनि भन्नुभयो, ‘बाबु यसलाई गुरु दक्षिणा मानी छोडिदेउ।’ अनि मैले प्रतिप्रश्न गरेँ, ‘आफूले पढाएको भन्दा बढी ज्ञान भएको विद्यार्थीसँग गुरु दक्षिणा लिएको त द्रोणाचार्यले हो, एकलव्यको बुढीऔँला दक्षिणा लिए जस्तो भएन र?’ गुरुसँग उत्तर थिएन।
(क्रमश:)

-  साभार : देशसञ्चार 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक