20180506

पत्रकारितामा झनै भ्रस्टाचार छ, यहाँ पनि छन बिदेशी एजेन्ट देखी तेत्तिस किलो सुन वाला सम्म !


     - रामप्रसाद खनाल    

मेरो एउटा छोरो छ । बिहे गर्ने उमेर पनि हुन थाल्यो । उ अहिले २३ बर्षको भैसक्यो र अर्को बर्ष इन्जिनियरिङ्ग पुरा गर्दैछ । छोरी पनि छ २१ बर्षकी उ प्रिमेड गर्दैछ । ढिलो चाँडो एकदिन मैले बाबुको नाताले छोरा छोरीको विवाह गरिदिनै पर्ने हुन्छ । मलाई यसो भन्दा माफ गर्नुहोला तर मैले न त पत्रकारलाई बुहारी बनाउने छु न त पत्रकारकी छोरीलाई । न त पत्रकारलाई छोरी दिने छु न त पत्रकारको छोरालाई । आफै पत्रकार भएर पनि रामप्रसाद खनालले किन यसो भने होला ?? भन्ने प्रश्न तपाईंको मनमा उठ्न सक्छ स्वाभाबिक हो । म आज साबिती बयान दिँदैछु । अर्काको कुरा खोतल्ने हामी पत्रकारहरु आफ्नो कुरा चाँहीं लुकाइ राख्ने !! अहँ यो हुनै सक्दैन । मेरो नैतिकताले यसो गर्न दिंदै दिँदैन । विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा मैले केही गोप्य कुरा खोल्न गैरहेको छु । मेरा पत्रकार अग्रजहरु, सहयात्री मित्रहरु, नयाँ भाई बहिनीहरु रिशानी भए माफ पाउँ ।

मैले पत्रकारिता शुरु गरेको करिब तीस बर्ष भएछ । के मा मात्रै गरिएन पत्रकारिता, छापा, रेडियो, टिभी, अनलाईन । राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियाहरुमा सम्बाददाता देखी प्रधान सम्पादक सम्म भएर पनि काम गरियो बिगतमा । पत्रकारितामा पनि छापा पत्रकारितामा त झन्डै २० बर्ष बिताइएछ । सत्र बर्ष त निश्पक्ष राष्ट्रिय साप्ताहिक चलाईएछ आफै प्रधान सम्पादक प्रकाशक बनेर त्यो पनि पहिले बुटवलबाट र पछि काठमाडौंबाट नियमित रुपमा ।
रहरै रहरले वा अन्यत्र कहीँ केही कुराको बिकल्प नभएपछि राजनीतिमा, राजनीतिमा पनि काम नलागे  पत्रकारिता लाग्छन नि धेरै जना, त्यसरी लागेको होइन म । तत्कालिन अवस्थामा नेपालको एउटा मात्रै रेडियो स्टेशन रेडियो नेपालबाट बकाईदा भ्वाइस टेस्ट परीक्षा पास गरेर रेडियो नेपालमा र तत्कालिन अवस्थामा नेपालको एक मात्र र सरकारी टेलिभिजन नेपाल टेलिभिजनबाट स्क्रिन टेस्ट परीक्षा पास गरेर नेपाल टेलिभिजनमा काम गरेको हुँ मैले । म रेडियोमा कसरी बोलेँ, टेलिभिजनमा कसरी प्रस्तुत भएँ, राम्रो गरें वा नराम्रो त्यो मुल्यांकन गर्न तपाईंहरुनै न्यायाधिश बन्नुस, आफ्नो मुल्याङ्कन आफै गर्ने मेरो हैसियत छैन ।

*** सबै पत्रकार खराब भनेको होइन र छैन तर बहुमत खराब छन त्यसमा कुनै दुइमत छैन । खराब नहुन पनि कसरी कहीँ काम नलागे राजनीतिमा, राजनीतिमा पनि काम नलागे पत्रकारितामा आउने भए पछि पत्रकारिता यस्तो नभए कस्तो होस त !! ****

जब काठमाडौंबाट अमेरिका झरियो समय र परिस्थिती अनुसार अनलाईन पत्रकारिता शुरु गरियो जुन नौलो अनुभब थियो सन २००८ ताका । मैले अमेरिकाबाट सन २००८ मा नेपाल मदर डट कम शुरु गर्दा साथी गिरिश पोखरेलको नेपाली पोस्ट बाहेक अरु कुनै अनलाइन पत्रिका थिएन यहाँ । र म यो पनि स्वीकार गर्दछु कि अमेरिकाको ब्यस्त जिबन, काम नगरी माम खान नपाईने देश, बाध्यताले गर्दा मैले जाने बुझेको पत्रकारिता, मेरो नलेज मैले यहाँ पुरा प्रयोग गर्न पाइरहेको छैन । नेपाली पत्रकारिता मात्र गरेर अमेरिकामा जिबिकोपार्जन हुन्छ भनेर म मान्दै मान्दिन । त्यसैले काम धाम गर्ने अनि बाँकी रहेको समयमा यसो लेख्न बस्ने हो, अपडेट गर्ने हो, खाँटी कुरो यही हो, तपाईंहरुलाई किन ढाँट्नु ।

अहिले त छ्याप्छ्याप्ती मान्छे पिच्छे अनलाईन, भए जतिका सबै पत्रकार, सबै सम्पादक । बरु अशली सम्पादकहरुलाई समाजले नचिन्ला भन्ने डर ! अचम्मै छ बा ! ! अनलाईन पत्रकारिता पनि मागी खाने भाँडो पो बनाइन थालेको देखिँदैछ । के गर्नु कुरा गर्‍यो कुराकै दु:ख !

बिगतको कुरा गर्दा  थुप्रै राष्ट्रिय दैनिकहरु र साप्ताहिकहरुमा पनि काम गरियो ।  छापा पत्रकारिता पहिलै शुरु गरेको भए पनि मेरो आदरणीय अग्रज पुरुसोत्तम दाहाल दाईले २०४७ साल पछि रेडियो नेपालमा शुरु गर्नुभएको रेडियोको दुनियाँमा अलग प्रयोग, अत्यन्त प्रिय कार्यक्रम घटना र बिचारमा पुरु दाइकै अनुरोधमा मैले वहाँ कार्यरत रहुन्जेल काम गरेँ लुम्बिनी अञ्चलबाट । सोही बेला मेरा अग्रज पत्रकार ( आत्मिय मित्र पनि ) मणी राणाज्यूको अनुरोधमा लुम्बिनी अञ्चलबाटै BBC का लागि पनि सहयोग गर्ने अबसर पाएँ फ्रिलेन्सरका रुपमा । २०४७ / ४८ ताका BBC ले एउटा रिपोर्टको अवस्था हेरी बिस पाउन्ड देखी ६५ पाउन्ड सम्म भुक्तानी गर्थ्यो । त्यति बेला पाउन्डस्टर्लिङ डलरका ति चेक साट्दा खल्ती गर्हौँ नै हुन्थ्यो किनकी एक पाउण्डस्टर्लिङ बराबर झन्डै एकसय दश भन्दा बढी हुन्थ्यो । एउटा समाचारको ६५ पाउण्ड सम्म  अर्थात सात हजार भन्दा बढी पारीश्रमिक बुझ्नुको सान बेग्लै हुन्थ्यो त्यो बेला । पैसाको मूल्य थियो त्यो बेला ।

बुटवलबाट काठमाडौं आएपछि रेडियो नेपालमै कार्यक्रम निर्माता, निर्देशक र संचालक सम्म भएर काम गरियो । रेडियो नेपाल पछि नेपाल टेलिभिजनमा पनि कार्यक्रम निर्माता, निर्देशक र संचालक सम्म भएर काम गरियो । नेपाल टेलिभिजनमा त बोर्डमै पनि संचालकका रुपमा बसेर जिम्मेवारी निर्वाह गरियो सरकारले दिएको नियुक्ती लिएर । यस अघि नै आदरणीय सन्तोष पन्त दाईको ईतिहास रचेको टेलिसिरियल हिजो आजका कुरामा करिब तीन बर्ष बिभिन्न रोलहरुमा अभिनय गरेर कलाकारिता पनि गरेको अनुभब छ । यसरी छापा पत्रकारिता, रेडियो पत्रकारिता, टेलिभिजन पत्रकारिता हुँदै अनलाईन पत्रकारिता सम्म अाईपुग्दा बहुत कुछ देखेको छु भोगेको छु मैले पनि । पत्रकारिता, गीत संगीत, कलाकारिता र साहित्यको क्षेत्रमा काम गर्ने भएकोले होला पत्रकारिता र पत्रकारहरुलाई अझ नजिक बाट हेर्न, नियाल्न पाइयो बिगतमा र अहिले पनि ।   

बामदेब गौतमले नै सँरक्षण गरेका, पालेका केही पत्रकार साथीहरुले बामदेबकै बिरोधमा बिशेष अंक निकालेर पहेँलो पत्रिका शुरु गरेको र पत्रकारिता गरेको पनि देखेकै हो । काठमाडौंबाट निस्किने एउटा चर्चित साप्ताहिकलाई भैरहवामा बस्ने एउटा सम्बाददाताले खर्च धानेको र सम्पादकले नै सम्बाददातालाई माइ बाप मानेको पनि देखेकै हो । परासी र बिरगँजका सम्बाददाताले काठमाडौंका कयौँ सम्पादकको घर खर्च देखी पत्रिका प्रकाशन सम्मका खर्च धानेको पनि देखेकै हो । काठमाडौंका कयौँ सम्बाददाता देखी सम्पादक सम्म तस्कर, पुलिस, चोर, डाँकु, डनका मात्र होइन भारतीय र, पाकिस्तानी अाइ एस अाइ, युरोपियन एजेन्ट बनेर पत्रकार बनिरहेको कसलाई पो थाहा नहोला र !

*** अहिले त छ्याप्छ्याप्ती मान्छे पिच्छे अनलाईन, भए जतिका सबै पत्रकार, सबै सम्पादक । बरु अशली सम्पादकहरुलाई समाजले नचिन्ला भन्ने डर ! अचम्मै छ बा ! ! अनलाईन पत्रकारिता पनि मागी खाने भाँडो पो बनाइन थालेको देखिँदैछ । के गर्नु कुरा गर्‍यो कुराकै दु:ख ! ****

भारतीय दुताबास, पाकिस्तानी दुताबास लगायतका कयौँ दुताबासहरुमा जासुसी गर्ने देखी, उनिहरुका लागि राष्ट्रका सूचना बेचेर महिनामारी तलब बुझ्ने तलबी पत्रकारहरु पनि देखेकै हो । हो यि र यस्तै प्रब्रिती गर्न नसक्दा, नबिक्दा, बिक्नेहरुको तारो भएको, आफ्नै पत्रकारहरुले आफ्नै पत्रकार हरुलाई चरित्र हत्या गरेको, लेखेको, बदनाम गर्ने कोशीश गरेको, देखेको भोगेको एउटा निरिह प्राणी म जिबितै छु । म छातीमा हात राखेर भन्छु, चुनौती दिएर भन्न सक्छु - न कुनै दिन कसैलाई ब्ल्याकमेल गरियो, न बाङ्गा लाई सीधा र सीधालाई बाङ्गो बनाएर बिकियो, न त कुनै दिन रक्सी र सुकुटीमा पत्रकारिताको धर्म छोडियो । त्यसैले आत्म सम्मान छ । केही बिकाउहरुले बिगतमा मलाई पनि बदनाम गर्ने प्रयास गर्दा पनि उनिहरु आफै चुकेको र झुकेको अनुभब पनि म सँग छ । त्यो नै मेरो नैतिक बल हो ।               

पैसा माग्ने नदिए नानाथरी लेखेर चरित्र हत्या गर्ने देखी मान्छेलाई "राम नाम सत्य हो" गराउने सम्मका केही "महान" पत्रकार पनि देखेकै हो । भोगेकै हो । बुटवलमा एउटा झुस्स दारी पालेका कुन्नी के जती कार्की थरका सम्पादकले पेट्रोल हालेको पैसा माग्यो भनेर बुटवल डिजल सेन्टरका संचालकलाई चारपाटा मुडेर तस्कर भन्दै नेकपा मसालको जुलुस निकालेको पनि यिनै आँखाले देख्या हो । तिनै झुसे दारीले जे जे भन्यो ईशारा मान्दै अरु पत्रकारले समाचार पनि लेख्या हो । गर्नु नगर्नू कुकर्म गर्ने, दारु, भारुका लागि, सारीका लागि मरिहत्ते गर्ने दारीहरु पनि देखेकै हो । उनिहरुको आदेश नमान्दा ब्ल्याक्मेलिङ गर्न नजान्दा उनिहरुकै निशानामा पनि समाचार बनिएकै हो, उल्टै नराम्रो भनिएकै हो । ति सबैकुराका केही साक्षी मरेर गए पनि अझ धेरै जिउँदैछन ।

गोपाल दाश श्रेष्ठ, भारतदत्त कोइराला, गोकुल पोखरेल, मदनमणी माड्साप, गोबिन्द बियोगी, होमनाथ दाहाल, पुरुसोत्तम दाहाल, पी. खरेल, रामकृष्ण दाई, योगेश दाई, दुर्गानाथ दाई, मणी राणा, सोमनाथ घिमिरे, चिरन्जिबी खनाल हुँदै बसन्तध्वज जोशी, अर्जुन ज्ञवाली, बालकृष्ण चापागाई, राजन कार्की दाईहरु लगायतका पत्रकारिता क्षेत्रका केही अग्रजहरु जसको माया र छायाँबाट पनि बहुत कुछ सिक्ने अबसर पनि पाइएको हो त्यसमा आफूलाई गर्ब लाग्छ,  तर नेपाली पत्रकारिताको अधिकाँश पाटो हेर्दा छि छि भन्न पनि मन लाग्ने तितो अनुभब पनि सँगालिएको छ ।

असाध्यै इमान्दार, नैतिकवान, योग्य, वास्तविक पत्रकारहरु पनि हुनुहुन्छ नेपालमा म वहाँहरु प्रति सधैं नतमस्तक हुन्छु, वहाँहरुलाई उच्च आदर र सम्मान पनि गर्दछु तर केही यस्ता बेईमान, हराम, अनैतिक, ब्ल्याकमेलरहरु पनि छन तिनिहरुलाई देख्दा मलाई असाध्यै घ्रिणा लागेर आउंछ । तिनै ठुला पत्रकार बनेको देख्दा लाग्छ - ढंग न ढाल, खानका काल भनेको त्यसै रहेनछ । यसो भनेर मैले सबै पत्रकार खराब भनेको होइन र छैन तर बहुमत खराब छन त्यसमा कुनै दुइमत छैन । खराब नहुन पनि कसरी कहीँ काम नलागे राजनीतिमा, राजनीतिमा पनि काम नलागे पत्रकारितामा आउने भए पछि पत्रकारिता यस्तो नभए कस्तो होस त !! 

मेरा सहयात्री थुप्रै पत्रकार मित्रहरु हुनुहुन्छ जो पत्रकारिताको धर्म निर्वाह गरिरहनुभएको छ वहाँहरुलाई देख्दा खुशी लाग्छ, गर्ब लाग्छ तर केही यस्ता ब्वाँसाहरु छन जो कुखुरा चोर्नकै लागि पत्रकारिता गर्छन् यस्तो देख्दा कति दिक्क लाग्दो हो तपाईं अनुमान गर्नुस ।

****** एक जना सम्पादक मित्रले झोल यति धेरै पिएछन कि कार्यक्रम चलिरहेका बेला हल भित्रै बर्बराउन, चिच्याउन थाले । अंगाडी बाट राजा रानी देखी पाहुनाले पछाडि फर्केर हेर्न थाले । म पनि त्यो भन्दा अघिल्लो लाइनमा थिएँ लाजको मर्नु ! अर्का सम्पादक मित्रले भने हेर्नुस् त खनालजी यो मोराले त शुरवालमै छोडिदिएछ । मेरो कम्पारो बेस्सरी तात्यो अनि अरु ४ सम्पादकहरुलाई समेत लगाएर चार हात खुट्टामा समाएर झ्याईकुटी पारेर लतार्दै बाहिर निकाल्यौं***** 

बुटवलमा एकजना बोत्तले दाई थिए जो आफुलाई बुटवलको अग्रज पत्रकार मान्थे उनी कसै सँग भेट भयो कि सय पचास माग्ने अनि नदिए भोली पल्ट बुटवलकै एउटा दैनिकमा नदिनेका बिरुद्ध लेख्थे । म बुटवलबाट पत्रकारिता शुरु गरेँ, न कहिलै दारु खान सिकियो न माग्न । अनि सधैं तारो बनियो यस्तै बोत्तले र झुसे, झोलेहरुको । लुम्बिनी अञ्चलअका पुराना पत्रकार, अग्रज पत्रकारहरु बिनय कसजु,  बसन्तध्वज जोशी, अर्जुन ज्ञवाली, सूर्यलाल, लेखनाथ ज्ञवाली, करुणा निधी शर्मा, बालकृष्ण चापागाईहरुलाई सबैकुरा थाहा छ । बोत्तलेहरु नेपालमा धेरै छन उनिहरुलाई धेरै पनि चाहिँदैन, राम्रो पनि चाहिँदैन मात्र  एक बोत्तल लोकल रक्सी र पाडाको चपाउन नसकिने सुकुटी भए पुग्छ । यस्ता पत्रकारहरुको काम भनेको जसले दिन्छ उसैलाई भगवान र चर्चित बनाउने हो । दिनेको गुणगान गाउने, नदिने र अशल मान्छेलाई सिध्याउने खेल खेल्नु उनिहरुको धर्म, कर्म हो । अनि यस्तो भएपछी पत्रकारिता समाजको चौथो अङ्ग बन्छकी चुथ्थो अङ्ग बन्छ भन्नुस त !   

***सेनाको मुख्यालयमा आयोजित त्यस्तै अर्को भोजमा अर्का सम्पादकले सुरवालमै सुर्क्याए पछी तिनलाई पनि लतार्दै बाहिर निकालेर गाडीमा हालेर पठाइदियौँ ।*** 

केही बर्ष अघि राजाको जन्म दिनमा सशस्त्र प्रहरीको मुख्यालय स्वयम्भुमा तत्कालिन अाइजिपी सहबीर थापाले एउटा साँस्कृतिक कार्यक्रम र रात्रीभोज  आयोजना गर्नुभएको थियो जहाँ राजा रानी, युबराज युबराज्ञी, प्रधानमन्त्री, मन्त्री, भिभीअाइपीहरु, नेपाल स्ठित बिभिन्न देशका राजदुतहरु, हामी सेलेक्टेड पत्रकारहरु, सम्पादकहरु निम्त्याईएका थियौँ । एक जना सम्पादक मित्रले झोल यति धेरै पिएछन कि कार्यक्रम चलिरहेका बेला हल भित्रै बर्बराउन, चिच्याउन थाले । अंगाडी बाट राजा रानी देखी पाहुनाले पछाडि फर्केर हेर्न थाले । म पनि त्यो भन्दा अघिल्लो लाइनमा थिएँ लाजको मर्नु ! अर्का सम्पादक मित्रले भने हेर्नुस् त खनालजी यो मोराले त शुरवालमै छोडिदिएछ । मेरो कम्पारो बेस्सरी तात्यो अनि अरु ४ सम्पादकहरुलाई समेत लगाएर चार हात खुट्टामा समाएर झ्याईकुटी पारेर लतार्दै बाहिर निकाल्यौं र एकजना डिआइजी लाई भनेर घोक्र्याउँदै गाडीमा हालेर घर पठाइदियौँ । भोली पल्ट के गरेको हिंजो त्यस्तो भन्दा त मैले त थाहै पाइन यार के के भयो पो भन्छन त बाबै । तपाईं पिउनुहुन्न खनाल जी तपाईंलाई पिउनुको मज्जा के थाहा पिएर त हेर्नुस पो भन्छन त ! अनि मैले भन्ने गर्थेँ तपाईंहरुले पिएकै देखेर म अघाइसकें मलाई मज्जा लिनु छैन पुग्यो !

सेनाको मुख्यालयमा आयोजित त्यस्तै अर्को भोजमा अर्का सम्पादकले सुरवालमै सुर्क्याए पछी तिनलाई पनि लतार्दै बाहिर निकालेर गाडी मा हालेर पठाइदियौँ । राजदरवारमै राजा रानीले निम्त्याएको भोजमा, सिँहदरवारमा प्रधान्मन्त्रीले बोलाएका भोजमा मात्र होइन, बिभिन्न राजादुताबासले निम्त्याएका भोजमा शुरवालमै सुर्क्याउने र बर्बराउँदै गर्दा निकाल्नुपर्ने को सँख्या कति छ कति । सबै बयान गरी साध्य छैन । रोचक कुरा त के हुन्थ्यो भने हाम्रा पत्रकार मित्रहरु सँगै शुरवालमै सुर्क्याउने, चिच्याउने बर्बराउनेमा नेता मन्त्री पनि हुन्थे । पुलिस सेनाका हाकिम पनि । दारु नखानुको, खान नसिक्नुको एउटा मज्जा चाँहीँ यो हुन्थ्यो कि कुन कति पानी मा छ, कसको हैसियत के हो र कति ट्वाँके छ थाहा पाइन्थ्यो अनि तिनको त्यो पारा देखेर झनै पिउन हुँदो रहेनछ भन्ने मलाई शिक्षा मिल्थ्यो । ल भन्नुस त माथि बयान गरेझैं यस्तो भए पछि पत्रकार र पत्रकारिता क्षेत्र कसरी मर्यादित हुन सक्छ ??                             

*** रेडियो भनेको के हो ? टेलिभिजन भनेको के हो ? पत्रपत्रिका, मिडिया भनेका के हुन ? यिनमा के कुरा लेख्न बोल्न प्रस्तुत गर्न हुन्छ वा हुँदैन, पत्रकारिता भनेको के हो ? भन्ने राम्ररी नबुझी स्वघोसित पत्रकार बनेका केही नयाँ जोगीहरु र तिनका पत्रकारिता अनी सानहरु देख्दा आची गर्ने लाई भन्दा देख्नेलाई लाज भनेझै हुन्छ । ***

पहिला पहिला र अहिले पत्रकारितामा अलिकती फरक पन आउन अबस्य थालेको छ । पढे लेखेका युवा युवती पनि पत्रकारिता क्षेत्र प्रति आकर्सित हुन थाल्नु सुखद कुरा हो । तर सँगसँगै चरम बिक्रिती पनि शुरु हुन थालेको छ जुन दु:खदायी छ । केही स्तरिय पत्रपत्रिका, रेडियो र टेलिभिजनलाई छोडेर अरुलाई हेर्नुस् अधिकाँशको हाल बेहाल छ । अहिले त अनलाईन आतंकनै छ, अनलाईन आतंकका अलावा फेसबुक,  ट्वीटर,  यू ट्युब, अन्य सामाजिक सन्जालमा गरिने अत्यन्त चिप पत्रकारिताको आतंकले मान्छेलाई हैरानै पारिसकेको छ । सँगसङै बिक्रिती, बिसँगति बढेर गएको छ, बिभिन्न खाले अपराध पनि बढेको सबैलाई अनुभब भएकै होला । 

पत्रकारिताको कखरा थाहा नभएका मान्छेलाई महान पत्रकार बनाएर यहाँ अमेरिकामै नेपाली समुदायले अभिनन्दन गर्दा कान्तिपुरका संस्थापक सम्पादक योगेश दाई, टेलिभिजनकी छोरी, साथी रमा सिंह र मैले पछाडी बसेर एक अर्कामा मुख हेर्दै हाँस्दै गर्नु परेको अनुभब पनि कति रोचक होला अनुमान गर्नुस । तिनै नक्कली पत्रकारहरुको बिगबिगी छ यहाँ पनि र समाज उनिहरुकै पछाडि छ ।       

आशा गरौँ नयाँ पिँढीले पत्रकारिताको धर्म नबिर्सिउन । तर नयाँ पिंढीमा पनि ब्वाँसाहरुको सँख्या बढ्दै जानु अत्यन्त दु:खद छ । ब्वाँसाहरु अनलाइन, फेसबुक, युट्युब लगायतका सामाजिक सन्जालमा त्यत्तिकै सक्रिय देखिन थालेका छन । अशलहरु लाई सिध्याउने, राम्रालाई नराम्रो बनाउने, नराम्रालाई राम्रो भनाउने, लोक सँस्कृती परम्परा, नेपाली पन, नेपाली मन लाई ध्वँस गर्ने, मोडलिङका नाममा चेलीबेटी नङ्याउने, अनुशासन, मर्यादा सब बर्बाद पार्ने, छाडा नाङ्गा भुतुङ्गा हरुलाई हाइलाईट गर्ने, अशल र वास्तविक, अग्रज, ऊदाहरणिय मान्छेहरु ओझेल पारीदिने, हरेक क्षेत्रमा सडकछापहरुलाई किङ र क्विन बनाइदिने किङ र क्विन लाई गुमनाम पारीदिने,  अबमुल्यन गरिदिने, नक्कलीहरुका बकबकले पेज भरिदिने पत्रकारिता असाध्यै डरलाग्दो गरी अगाडि आएको छ । यस्तो देख्दा लाग्छ - यस्तो भए पछी पत्रकारिता कसरी मर्यादित र ओजन पूर्ण होस !                             
नेपालमा सूचना बिभागले दिने अनुदान खान ५० प्रति पत्रिका छाप्ने, हेडिङ चेन्ज मात्र गरेर छाप्ने, ब्ल्याकमेलिङको साधन बनाउने र आफूलाई पत्रकार भनाउने, सूचना बिभागको कार्ड भिर्ने तर डुङडुङी गन्हाउनेको सँख्या व्हात्तै बढेर जाँदा वास्तविक पत्रकार र पत्रकारिता निरिह बन्दै गएको छ । पार्टी, नेता, गुटका मिडियाहरु ९५ प्रतिशत छन भने ५ प्रतिशत मात्र होलान स्वतन्त्र ! कुन्नी त्यो पनि, अझ मुश्किल होला !!

सूचना बिभागको तथ्याँक हेर्दा अवस्था कहाली लाग्दो छ । पत्रपत्रिका बजारमा देखिन्नन तर अनुदान बुझिरहेका छन । छ सात सय रेडियो स्टेशन, तीन दर्जन भन्दा बढी टेलिभिजन, पत्रपत्रिका त कति हो कति ! त्यस माथि अहिले अनलाईन उस्तै । त्यति सानो देश, उद्योग ब्यापार बढ्दो होइन घट्दो छ । बिज्ञापन घट्दो छ । आय श्रोत भनेको बिज्ञापन, त्यो नभै कसरी चल्छन यती बिधी मिडियाहरु ?? उत्तर एउटै छ त्यहा साढे तेत्तिस किलो सुन वाला पुलिस देखी, तस्कर सम्मको योगदान छ । पत्रकारितामा झनै भ्रस्टाचार मौलाएको छ । शँकै छैन ।

अझ हेर्नुस न एमालेका पत्रकार प्रेस चौतारीमा, काङ्रेस पत्रकार प्रेस युनियनमा, प्रचण्ड गुटका पत्रकार क्रान्तिकारीमा रे । मधेशबादी देखी जातजाती बादी सम्मका सबैका आ आफ्नै राजनीतिक पत्रकार संघ संगठन ! पत्रकार समाजका चौथो अङ्ग रे ! ईस नापियो चौथो अङ्ग !! बरु चुथ्थो अङ्ग भने हुने भएको छ । पत्रकारको पनि पार्टी हुनुहुन्छ ल भन्नुस त ?? यो त स्वतन्त्र पत्रकारिता होइन पार्टी पर्चाकारीता हो ।

जुन गोरुको सिङ छैन त्यसको नाम तिखे भनेझैँ  रेडियो भनेको के हो ? टेलिभिजन भनेको के हो ? पत्रपत्रिका, मिडिया भनेका के हुन ? यिनमा के कुरा लेख्न बोल्न प्रस्तुत गर्न हुन्छ वा हुँदैन, पत्रकारिता भनेको के हो ? भन्ने राम्ररी नबुझी स्वघोसित पत्रकार बनेका केही नयाँ जोगीहरु र तिनका पत्रकारिता अनी सानहरु देख्दा आची गर्ने लाई भन्दा देख्नेलाई लाज भनेझै हुन्छ । नेपालमा र अन्य देशमा जस्तै अमेरिकामा पनि नेपाली पत्रकारितालाई भाईरस लागिसकेको छ । समयमै औषधी गरिएन भने भाईरसले के के गर्ने हुन हेर्न बाँकी नै छ । 

यहाँ भन्दा बढी नभनौँ भो आजलाई । यो मेरो तीस बर्षको पत्रकारिताको सानो अनुभबले देखाएको अति सानो चित्र मात्र हो । यस भित्र जाँदा त निस्किनै गार्हो छ । जे होस विश्व प्रेस स्वतन्त्रता दिवसको शुभ अबसरमा संसारभर छरिएर रहेका सबै वास्तविक पत्रकारहरुमा हार्दिक सम्मान र शुभकामना । पत्रकारिता, कर्तब्य गर्दा गर्दै ज्यान गुमाउने, अङ्ग भङ्ग हुने, जेल पर्ने सबै प्रति सगरमाथा भन्दा उचो सम्मान । प्रेस स्वतन्त्र हुन सकोस, बिश्वसनिय बन्न सकोस कामना । पत्रकारिताको नाममा, आबरणमा हुने अनैतिक कृयाकलाप अन्त्य हुन यो पनि कामना । पत्रकारिता समाजको वास्तविक चौथो अङ्ग बन्न सकोस हार्दिक शुभेक्षा । धन्यवाद ।

- May 6th, 2018, Virginia, US.   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक