(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20180720

प्रधानमन्त्रीज्यू , तपाईं पनि कपुतहरूको काँध चढेर गोविन्द केसीजस्ता सपुतलाई मार्न लागिपर्नुभयो !

गैंडाको आँशु देखेर म बहकिएछु, सरी !


सपुत बन्ने कि कपुत, प्रमज्यू?

- लेनिन बञ्जाडे
 प्रधानमन्त्रीज्यू !
भूपि शेरचनले कुनै बेला असाध्यै भावनामा बगेर एउटा सर्वकालीन कविता लेखेका थिए –
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपुत मरेर नगए ।
त्यो कविताको मर्मले छोएरै हुनुपर्छ– मुलुकमा वर्षौंदेखि सपुतहरूलाई मारियो । कयौं सपुतहरूले तपाईंको 'नयाँ नेपाल' देख्नै पाएनन् । तपाईंको समृद्धि छुनै पाएनन् । तपाईंको पानीजहाज, मोनो र मेट्रो रेल चढ्नै पाएनन् । प्याट्ट बटन थिचेर ह्वार्रर ग्यास बाल्नै पाएनन् । किनकि, मुलुक कपुतहरूको हातमा गयो, हामी कपुतशासित भयौं ।
त्यही कविताको भावनामै बगेर हुनुपर्छ– तपाईं पनि कपुतहरूको काँध चढेर गोविन्द केसीजस्ता सपुतलाई मार्न लागिपर्नुभयो । तर, प्रधानमन्त्रीज्यू ! भूपिले गलत लेखेका थिए । मुलुक बन्न सपुत
होइन, कपुत नासिनुपर्छ ।
तपाईं सपुत बन्ने कि कपुत, अबका केही महिनाले बताउनेछन् । तपाईंलाई बोकेर हिँड्ने कपुतहरूको नियत मभन्दा बढी तपाईं आफैं बुझ्नुहुन्छ । मलाई ती कपुतहरूभन्दा तपाईं र मेरो मुलुकको बढी चिन्ता छ । यो नाशवान शरीर नासिनुभन्दा अघि नै मुलुकलाई नाश हुनबाट जोगाइदिनुस् । 
अलि अस्ति तपाईंलाई बोकेर हिँडिरहेका त्यस्तै एकजना अद्वितीय मार्सीधनी विद्वान दुर्गा प्रसाईंले एउटा टेलिभिजनमा अन्तर्वार्ता दिँदै भनिदिए, “अनशन बसेर एक-दुई जना मान्छे मर्दैमा केही बिग्रिँदैन । नन्द अधिकारी मरेकै त हुन् । मर्नेलाई मर्न दिनुपर्छ ।”  
एक मनमा लाग्छ– यो सुनेर तपाईंको मन एकपटक चसक्क पक्कै गरेको हुनुपर्छ । तर, आफैंलाई बोकेर हिँड्ने भरियाको डरले तपाईं बोल्न सक्नुभएन । 
अर्को मनमा लाग्छ– तपाईंलाई यस्ता कुराले छुँदैनन् । तपाईं एकसिंगे गैंडा भइसक्नुभो । तपाईंले भन्नुहुन्थ्यो नि, "एकसिंगे गैंडा नेपालमा मात्रै पाइन्छ, अन्त पाइन्न ।" 
हो प्रधानमन्त्रीज्यू ! मैले बल्ल थाहा पाएँ । 
कसैलाई दु:ख नदिई जुम्लामा सत्याग्रह गरिरहेका गोविन्द केसीमाथि धरपकड गर्न जाँदा प्रहरीको गोलीले प्रहरीसहित अरू थुप्रै घाइते भए । मलाई थाहा छ– तपाईंलाई यो खबरले पनि पक्कै छोएन । आईएस, तालिवानजस्ता समूहले मात्रै अस्पतालमा अाक्रमण गर्छन् भन्ने सुनिन्थ्यो । त्यो क्रमभंगता तपाईंको दुईतिहाइ बाहुबली सरकारले गरिदियो । जननिर्वाचित सरकारले अस्पतालमै गोली चलाउने यस्तो घटना पनि एकसिंगे गैंडाजस्तै विश्वमा अन्त कतै देख्न पाइन्न ओलीज्यू ! अस्पतालभित्र गोली चलाएर सार्वजनिक स्थान माइतीघर मण्डलमा प्रवेश निषेध गर्ने लोकतन्त्र पनि अन्त देख्न पाइन्न ओलीज्यू !
पञ्चायत पुन: ब्युँताउन तपाईंले गर्नुभएको यस्तो भगिरथ प्रयास देखेर नागार्जुनबाट एकजना बूढा मान्छे खिसिक्क हाँसिरहेका होलान् । उनी त हाँसून्, केही छैन । बुढेसकालमा हाँस्दा अनुहार उज्यालो हुन्छ । जगचाहिँ नहाँसोस् ।
तपाईंलाई सम्झना छ ? शेरबहादुर देउवाले चुनावताका आत्तिएर एकपटक भनेका थिए, "कम्युनिस्टको सरकार आयो भने त रुन पनि पाइन्न ।"
त्यतिबेला उनलाई उडाउनेमा म पनि एक थिएँ । अस्ति 'जनतासँग प्रधानमन्त्री' कार्यक्रमको प्रोमोमा तपाईंले पिलित्त आँशु झारेको देखेपछि चाहिँ देउवा फेरि पनि मेरो नजरमा गलत सावित भए । रुन पाइने रहेछ । कम्युनिस्ट प्रधानमन्त्री नै रोएपछि कांग्रेस, मण्डले रुन नपाउने प्रश्नै हुँदैन । हाम्रा प्रधानमन्त्री यति कोमल ह्रदयका छन् भन्ने देखेर मेरो मन पनि पग्लिएको थियो !
गैंडाको आँशु देखेर म बहकिएछु, सरी !
० ० ०
प्रधानमन्त्रीज्यू !
राणा शासन त भोगिएन, त्यतिबेला बा पनि जन्मिनुभएको थिएन । पञ्चायतको भने धमिलो सम्झना छ । ०४६ जनआन्दोलन उत्कर्षमा पुगिरहँदा मेरो आँखैअगाडि दाङमा पुलिसको गोली लागेर एकजना ढलेका थिए । त्यसको कयौं दिनसम्म म राति निदाउन सकिनँ । झस्किरहन्थें । जति गोली चले पनि जुलुस निस्किन छाडेन । बुवासँग म पनि लुखुरलुखुर हिँडिरहें । त्यतिबेला तपाईं पञ्चायतविरोधी आन्दोलन गर्दा १४ वर्ष जेल बसेर भर्खर निस्किनुभएको थियो । तपाईंहरूकै अथक प्रयासले पञ्चायत ढल्यो । त्यसको १६ वर्षपछि म ०६२ फागुनमा डिग्री पढ्न काठमाडौं आएँ । लगत्तै एक महिनापछि चैतमा त्यस्तै अर्को जनलहर उर्लियो, म आफैं ढुंगा हान्न हिँडें । १९ दिनपछि ती तानाशाहले घुँडा टेके ।
मेरा आँखै अगाडि दुई तानाशाही व्यवस्था ढले । त्यसपछि तपाईं जन्मिनुभो ।
० ० ०
प्रधानमन्त्रीज्यू !
म सामान्य नागरिक हुँ । कहिलेकाहीँ लेख्छु । मनको वेग अक्षरमा उतार्छु । लेख्दा कहिलेकाहीँ बहकिएर अलि बढी आक्रोश पोख्छु । तपाईंलाई लेखेको यो पत्र पनि त्यस्तै मनको आक्रोश हो । यही पत्रको आधारमा तपाईंले मलाई जतिबेला पनि, जहाँबाट पनि समातेर जेल हाल्न सक्नुहुन्छ । किनकि, तपाईंलाई ढाडको पुछारमा पुच्छर जोडेर स्तुतिगान गाएको मात्रै मन पर्छ । दुईतिहाइ मतको पट्टीले तपाईंका आँखा बाँधिएका छन् ।
तिनै बन्द आँखा खोल्न एकजना बूढा अन्न नखाएर जुम्ला गएका थिए, तपाईंले गोली चलाएर बूढालाई अपहरण गरी काठमान्डू ल्याउनुभो । तपाईंलाई मनमनै 'यो बूढोलाई जितें' भन्ने लागेको होला । तर, तपाईंले हार्नुभो ओलीज्यू ! दुईतिहाइको सरकारलाई हल्लाएर हेलिकप्टरमा उडाउँदै जुम्ला पुऱ्याउन सक्ने गोविन्दले हारेका होइनन्, जितेका हुन् । तपाईं र तपाईंका आसेपासे केही दर्जन मान्छेबाहेक सिंगो देश उनको समर्थनमा 'माखेसाङ्लो' भएर जुटेको छ । एकपटक सामाजिक सञ्जालमा #IamWithDrKC टाइप गरेर खोज्नुस् त ! तपाईंका केही थान पवनपुत्र र बानरसेनाबाहेक सिंगो संसार तपाईंविरुद्ध छ ! तपाईं त वरिपरिका बानरसेना देख्दा हरेक क्षण खुशीले उन्मुक्त हुनुहुन्छ होला । ती बानरसेनाले तपाईंलाई रामबाट रावण नबनाऊन्, मेरो शुभेच्छा छ । यो पत्र पढेपछि ती बानरसेना एकपटक फेरि ममाथि खनिनेछन् । सत्यको पक्षमा एकजना बूढा ३ हप्तादेखि अन्न नखाई बाँचिरहेका त छन्, म गाली खाएर दुई-चार दिन हाँसीहाँसी बाँच्न सक्छु, केही छैन । यत्ति कामना छ– तपाईंका बाहुबली महेश बस्नेतज्यूको आँखामा यो पत्र नपरोस् ! 
प्रधानमन्त्रीज्यू !
नाकाबन्दीका बेला भारतसामु नगलेका तपाईं गोविन्द केसीका मागसामु गल्नुहुन्छ कि हुन्न होला ? मेरो कामना छ– रोगले गल्नुअघि नै देशको लागि गलिदिनुस् ! ठूला र महान मान्छेहरू झुक्न पनि जानेका हुन्छन् ।
तपाईंलाई थाहा छ–– सपुत र कपुतबीच एउटा अक्षरको मात्रै भेद छ । हामी तपाईं सपुत भएको देख्न चाहन्छौं । दुईतिहाइ समर्थन हुँदाहुँदै तपाईंले पनि गर्नुभएन भने यो मुलुक दुई दशकसम्म अझै तंग्रिन सक्दैन । शेरबहादुर देउवाको अनुहार सम्झियो कि मेरा नौनाडी गल्छन् । हातभरि रगत लतपतिएका प्रचण्डमाथि पनि मलाई विश्वास र भरोसा दुवै छैन ।
तपाईं भुटेको मकै हुने कि बीउ लाग्ने मकै– सोच्ने बेला यही हो । मलाई थाहा छ– मन कमलो हुनेहरूले अरुको भलो सोच्छन् । छाला गैंडाकै भए पनि  तपाईंको मन कमलो छ– हाम्रोजस्तै । अस्ति पिलित्त झारेका आँशुले तपाईंको महत्ता अझै बढाऊन् !
सुविधासम्पन्न र उत्कृष्ट मनमोहन मेमोरियल अस्पतालको लागि लड्दालड्दै अलि बिसन्चो भएर तपाईं उपचार गर्न थाइल्यान्ड जानुभएको हामी बिर्सिदिऊँला बरु । तपाईंहरूले वर्षौंदेखि दिएका दु:ख, बेथिति, पीडा र आँशु बिर्सिएकै त छौं ।
० ० ०
प्रधानमन्त्रीज्यू !
देशमा स्थायी र बहुमतप्राप्त सरकार भएन भनेर बहुदलपछिका हरेक सरकार उम्किए । त्यसैबेला केही थान मान्छे बन्दुक बोकेर जंगल छिरे, मान्छे मारे । लामो समय युद्ध चल्यो, दुवै पक्षबाट हजारौं मान्छे मारिए, हजारौं बेपत्ता र हजारौं विस्थापित भए । कालान्तरमा तिनै बन्दुकधारीहरू तपाईंका दायाँ-वायाँ काँध जोडेर उभिएका छन् । उनीहरूले एक दशकसम्म रगत बगाए । सिंगो देशले सोच्यो– बहुमत दिएपछि तपाईंहरूले पसिना बगाउनुहुनेछ, त्यो पसिनाले हाम्रो दु:ख बगाउनेछ । देश छाडेर पसिना बगाउन अरब छिर्नेहरूलाई तपाईंको पसिनाले बाटैमा रोक्नेछ ।
तपाईंले पसिना होइन, पैसा बगाउनुभो, पैसामा बग्नुभो । त्यही पैसामाथि उभिएर दुर्गा प्रसाईंहरू भनिदिन्छन्, "अनशन गरेर मर्नेहरू मरिरहन्छन् । मर्न देऊ ।"
तपाईंलाई त्यो पैसाले कहिल्यै पोल्छ होला कि नाइ प्रधानमन्त्रीज्यू ? पोल्यो भने एकपटक आँखा चिम्म गरेर आफूले बाँडेका सपना सम्झिनुहोला, आफूले कोरेका बाटा सम्झिनुहोला । कदाचित् पोलेन भने हामीलाई लाग्नेछ–– तपाईं एकसिंगे गैंडा भइसक्नुभो । हामी तपाईं मान्छे भएको हेर्न चाहन्छौं प्रधानमन्त्रीज्यू ।
तपाईंले हरेकजसो भाषणमा भन्ने गर्नुहुन्छ, "सपना देख्नुपर्छ । मैले पानीजहाज, रेल, भू-उपग्रहको सपना देखेको छु ।"
हो प्रधानमन्त्रीज्यू ! सपना देख्नै पर्छ । सपनै नदेखे विपनाको पनि अर्थ हुन्न । तर, सपना देख्नका लागि सुत्नु पनि पर्छ । तपाईं पनि त सुतिरहनुभएको छ, त्यसैले मलाई तपाईंका सपनामा अलि धेरै विश्वास छ । तपाईंले ल्याउने रेल चढेर म एक-दुई घण्टामै घर पुगूँला भन्ने सपना मेरो पनि छ । तपाईंले कोठा-कोठामा पुऱ्याइदिने ग्यासको पाइपबाट भात, तरकारी पकाउने सपना मेरो पनि छ । त्यही ग्यासमाथि ताप्के बसालेर छोरोलाई दूध तताउने सपना मेरो पनि छ ।
तर, रेल चढ्नुअघि र पाइपको ग्यास बाल्नुअघि म यो काठमान्डू शहरका बाटाघाटा दैनिक हिँड्नुपर्ने श्रापले पनि थिचिएको छु प्रधानमन्त्रीज्यू ! मुखभरि हलगोरुझैं बुजो लगाएर निस्सासिँदै हिँड्ने समृद्धिको सपना देख्नुभएको थियो तपाईले ? बाटाघाटाका स-साना खाल्डा पुर्न प्रधानमन्त्रीले ५० दिनको भाका दिनुपर्ने विकास मोडल हो बहुदलीय जनवादको ? देशको राजधानीमा दुई घण्टामात्रै निस्किँदा हप्तौंसम्म खोकिरहने समृद्धि हो तपाईंले सोचेको ? 
तपाईंलाई लाग्ला– यस्ता झिनामसिना कुरा केरकार गरेर १४ वर्ष जेल बसेको दुईतिहाइ प्रधानमन्त्रीलाई चिठी लेख्ने ? त्यत्रा भारत र चीनसँग कत्राकत्रा सम्झौता गरें, द्विपक्षीय सम्बन्ध उचाइमा पुराइसकें, पुगेन ? यस्ता झिनामसिना कुरामा गनगन गर्ने ?
गर्छु प्रधानमन्त्रीज्यू !
तपाईंका गौरवशाली मित्र प्रचण्डज्यूलाई पनि यिनै गुनासा केरकार गरेर १७ महिनाअघि यस्तै पत्र कोरेको थिएँ । हामीले वर्षौंदेखि यस्ता गुनासाबाहेक अरु के नै पो गर्न सकेका छौं र ! बाटोको धूलो, सहरको मैलो, यातायातको दु:ख, खाद्यान्नको विषादी, कर्मचारीको ढिलासुस्ती– यस्तैयस्तै गुनासा गर्दैमा हाम्रो आधा जीवन बितिसक्यो । मनको यस्तै दु:ख बिसाउँदै प्रधानमन्त्रीलाई चिठी लेख्ने युगमै छौं हामी अझै । विमानस्थल र सरकारी अस्पतालका चर्पी सफा भएनन् भन्दै @hello_sarkar गुहार्ने युगमै छौं हामी । पानीजहाज र रेलबारे सोच्ने फुर्सदै पाएनौं प्रधानमन्त्रीज्यू हामीले ! यो देशमा केही उपायै केही नदेखेर अरब कुदेका युवा देख्दा तपाईंलाई लाग्दैन– देश 'समृद्ध' होइन, 'सम्वृद्ध' भइसक्यो, युवा रित्तिएर देश वृद्धै-वृद्धाले भरियो ? वार्षिक ५ लाख रोजगारी सिर्जना गर्छौं भनेर घोषणापत्रमा लेख्नुभएको थियो । तर, वार्षिक साढे ५ लाख पासपोर्टमात्रै सिर्जना भए । त्यही थियो तपाईंको समृद्धि सपना प्रधानमन्त्रीज्यू ?
होइन । तपाईंको सपना त्यो होइन । केही आसेपासे र केही मार्सी चामलधनीहरूका सपनाले तपाईंका सपना थिचेका मात्रै हुन् । मलाई आशा छ– यो बोझबाट तपाईंले छिटै त्राण पाउनुहुनेछ । बोझमात्रै होइन, पापबाट पनि मुक्ति पाउनुहुनेछ ।
विद्यासुन्दर शाक्यलाई मेयरको टिकट दिएर तपाईंले काठमान्डूबासीलाई ठूलो पाप गर्नुभएको थियो प्रधानमन्त्रीज्यू । उहाँलाई देख्दा लाग्छ– उहाँ यो लोकमा बस्नुहुन्न । यहाँका बाटाघाटा हिँड्नुहुन्न । यहाँका सार्वजनिक गाडी चढ्नुहुन्न । यहाँका मान्छे भेट्नुहुन्न । यहाँका सार्वजनिक शौचालय छिर्नुहुन्न । यहाँका पसलमा सर-सामान किन्नुहुन्न । यो शहरका खबर पढ्नुहुन्न । यो धर्तीका सामाजिक सञ्जाल चलाउनुहुन्न । उहाँ अन्यत्रै लोकमा बस्नुहुन्छ र यमराजले झैं पुलुक्क धर्तीमा हेर्नुहुन्छ, मुसुक्क हाँस्नुहुन्छ । उहाँलाई महानगरको एउटा कुनामा संग्रहालय बनाएर राखिदिनुस् प्रधानमन्त्रीज्यू, हामी टिकट काटेरै उहाँको दर्शन गर्नेछौं । त्यो टिकटको पैसाले यो शहरमा थुप्रै शौचालय बनाउँला । यो शहरको धूलो बढार्न ठुल्ठूला भ्याकुम किनौंला । केही थान ब्रुमर किनौंला । बचेको पैसाले कलंकी-नागढुंगाको बाटो बनाउँला । बौद्धको हिलो सोहोरेर पिच गरौंला । यो शहरका सबै खाल्डा पुरौंला । 
विद्यासुन्दरलाई टिकट दिएको पाप मोचन गर्न तपाईं आफैंले 'विकासको मूल' फुटाल्नुहुनेछ भनेर आशा गरिबसेको छु प्रधानमन्त्रीज्यू म । आशा गर्न र सपना देख्न पनि तपाईंले नै त सिकाउनुभएको हो । बेथितिमा शून्य सहनशीलता भन्नुहुन्थ्यो, हामीमा सुन्ने र सुनिमात्रै राख्ने सहनशीलता विकास भएकै त छ ।
० ० ०
प्रधानमन्त्रीज्यू !
अलि अस्ति देशभरिको सिन्डिकेट तोड्छु भनेर कस्सिनुभयो । एक-दुई दिन त्यसले सिंगो देश हल्लायो । ठग यातायात व्यवसायीहरू असिनपसिन भए । कोटेश्वरदेखि पूर्व चल्ने 'मयुर यातायात'को बहानामा छेडिएको सिन्डिकेटविरोधी अभियान केही दिनमै हावा खुस्किएको बेलुनजस्तै भयो । पछि अपुष्ट नै भए पनि खबर सुनियो–– मयुर यातायातमा त तपाईंकै बाहुबली महेश बस्नेत एन्ड कम्पनीको लगानी रहेछ । मयुरलाई पूर्वको रुटमा बाटो खुला गरिदिएपछि तपाईंको त्यो अभियान अहिले भेन्टिलेटरको बिरामीजस्तो भएको छ ।
यस्तो देख्दा मन भतभती पोल्छ । कहिलेकाहीँ लाग्छ– तपाईंका भीमकाय योजना सुन्ने र पढ्ने सहनशीलता सम्भवत: अब ममा छैन । तीभन्दा बरु अनलाइनहरूका यौनजिज्ञासा र 'उमेर पचपन' टाइपका गसिपमात्रै पढिबसूँ ! हुन त इन्टरनेटमै पढिबस्न पनि त गाह्रो छ प्रधानमन्त्रीज्यू । इन्टरनेटमा लगाएको १३ प्रतिशत करले तपाईंको 'डिजिटल नेपाल' सपना साउन नलाग्दै उत्तानो पऱ्यो । सपना उत्तानो परेर त केही थिएन, फेरि अर्को सपना देख्न सकिन्छ । देशै उत्तानो नपरोस् । 
देश जोगाउने कि आसेपासे जोगाउने, सपुत जोगाउने कि कपुत जोगाउने, गोविन्द केसी जोगाउने कि दुर्गा प्रसाई जोगाउने– तपाईं आफू सपुत भएर युगौंयुगसम्म बाँचिरहने कि कपुत भएर मर्नुअघि नै हजारौं पटक मर्ने–– बेलुकी 'इमिनोसस्प्रेस्यान्ट' खाएर सुत्नुअघि एकपटक शान्त भएर सोच्नुहोला । 
चित्त दुखाएको भए कम्युनिस्ट नामधारी 'ठेट्नो' सम्झिएर पूर्व-पश्चिम रेलको डब्बाभित्र हुलेर पठाइदिनुहोला । बा-आमा नभेटेको एक वर्ष हुन लागेछ- रेलमा आएको छोरोलाई देखेर बूढाबूढी मुसुक्क हाँस्थे होला । तपाईंको कारणले कसैको अनुहारमा खुशी त छाउँछ :)

– उही
लेनिन बञ्जाडे
न्यु बञ्जाडे रेल वर्कशप
(ओली पानीजहाज इन्टरप्राइजेजदेखि ४ किलोमिटर दक्षिण)
धूलैधूलोले पुरिएको मध्यबानेश्वर, नेपाल
twitter.com/lendaai  / Source: Barhakhari

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक