20180825

भीमदत्त नगरपालिका कञ्चनपुरमा भएको १३ वर्षीया निर्मला पन्तको हत्याको अनुसन्धानमा प्रहरीका तर्फबाट गम्भीर त्रुटि

Image may contain: Hari Adhikary, sunglasses, closeup and outdoor- हरि अधिकारी- 
भीमदत्त नगरपालिका कञ्चनपुरमा भएको १३ वर्षीया निर्मला पन्तको हत्याको अनुसन्धानमा प्रहरीका तर्फबाट गम्भीर त्रुटि भएको कुरा संदेहरहित ढंगले पुष्टि भएको छ । पच्चीस दिनसम्म हत्यारा (हरू) का बारेमा कुनै ठोस सुराक नपाएको प्रहरीले पच्चीसौँ दिनमा अत्यधिक नशाखोरीका कारण अस्थिर मानसिकता भएको एक पूर्व कैदीलाई किशोरी निर्मलाको हत्यारा बनाएर सार्वजनिक त गर्‍यो तर उसका विरुद्ध ठोस प्रमाण जुटाउँन भने सकेन । त्यत्रो दिनसम्म हत्याका सबूतहरू साबुत रहिरहने सम्भावना पनि थिएन ।
यस दुखद काण्डले अहिले आएर जुन जटिल अवस्था पैदा गरेको छ त्यसको एक मात्र कारण प्रहरीले घटनाको अनुसन्धानमा गरेको लापरबाही नै हो । अब त्यो लापरबाही, जिल्लाको उच्च प्रहरी प्रशासनबाट, जानी जानी, नियतवश: वास्तविक अपराधीलाई जोगाउनका निम्ति भएको थियो कि प्रहरीका हाकिमहरूको अक्षमताका कारण मात्र त्यसो हुन गएको थियो किटान गरेर भन्न सकिँदैन । यसको खुलासा ढिलो चाँडो एक दिन हुनेछ नै ।
यस भयानक काण्डमा निर्मलाका अतिरिक्त एक अर्को किशोरको पनि ज्यान गुमेको छ । निर्मलाका लागि न्यायको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका जनताको हुलमा प्रहरीले चलाएको गोली लागेर चेतन भट्ट नामक १३ वर्षीय किशोर मारिएका छन् भने गोली लागेर अरू ४ जना घाइते भएका छन् । अहिलेको राज्यले आफ्ना गलत कामकुरालाई लिएर विरोध प्रदर्शनमा उत्रने
जनतासँग जुन शैलीमा व्यवहार गर्ने अठोट गरेको जस्तो देखिन्छ त्यसलाई हेर्दा नयाँ मुलुकको माटोमा अरू केही निर्दोष नागरिकहरूको रगत बग्यो भने पनि आश्चर्य न माने हुन्छ ।
कञ्चनपुर हत्याकाण्ड र यस अघि सूर्यविनायक भक्तपुरमा गरिएको इन्काउटरको घटनाले वर्तमान आइजीपी सर्वेन्द्र खनालको कार्यकाललाई दागदार बनाइदिएका छन् । भाग्यले गर्दा धेरै चाँडो प्रहरी प्रमुख बनेका र अपराधीहरूप्रति निक्कै कठोर मानिएका सर्वेन्द्र खनालबाट नेपाली जनताले सुदृढ प्रहरी प्रशासनको अपेक्षा त अवश्य पनि गरेका थिए तर उनको नेतृत्वको प्रहरी फोर्स बन्दूकको मात्र भाषा बुझ्ने सम्वेदनाशून्य निरङ्कुश जमातमा परिणत हुनेछ भन्ने दुखद सम्भावनाको कल्पनासम्म पनि गरेका थिएनन् कसैले पनि ।
विधिवत् नै हतकडी, लाठी, बूट र बन्दुकको प्रयोग गर्ने अधिकार पाएको बलियो फौजी जमातको नेतृत्व गर्ने व्यक्ति कडा मात्र भएर पुग्दैन । उसमा त त्यस्तो अधिकारको प्रयोग सबैको रक्षाका लागि मात्र गर्ने उदात्त भावना, निष्पक्षता, दया, मानवीयता र संविधानले प्रत्याभूत गरेको हरेक नागरिकको बाँच्न पाउने अधिकारको संरक्षण गर्ने प्रतिबद्धता हुनु पर्छ । अधिकारको प्रयोग गर्दा प्रयोगकर्ताले मानवीय करुणालाई बिर्सियो भने उसबाट न्यायको रक्षा हुन सक्दैन । कानूनको व्याख्या र प्रयोग सर्वसाधारणका लागि एक प्रकारको र आफ्ना फौजीहरूका लागि अर्कै प्रकारको गर्न खोजुञ्जेल पनि निमुखा जनताको रक्षा गर्ने भन्ने कानूनको जुन मूल उद्देश्य छ त्यो पूरा हुन सक्दैन । खनाल साहेबले दिल र दिमागलाई खुल्ला गरेर सत्य निष्ठाको पालना गर्ने समय घर्किन नदिन सचेत हुनु पर्ने बेला हो यो । साहेबलाई चेतना भया ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक