20180922

निर्मला गल्ती तिम्रै थियो !

Image may contain: 1 person, smiling, fire and outdoor
निर्मला गल्ती तिम्रै थियो !
शरीर भरी काँडे तार बेरेर 
पटुकीमा खुर्सानीको धुलो बोकेर 
लामा लामा नङहरू पालेर 
आफ्नो सुरक्षा आफै गरेर मात्र 
तिमी घर बाहिर निस्किनु पर्थ्यो


स्कुल जानु पर्थ्यो
हिँडडुल गर्नुपर्थ्यो
राक्षसहरूको बस्तीमा
ठ्याक्कै मान्छे जस्तै देखिने
मान्छे जस्तै बोल्ने
हात खुट्टा देखी हर अङ्ग
मान्छेकै जस्तो भएका
एक्काइसौँ शताब्दीका
कलियुगका राक्षसहरूसँग
बच्नु पर्थ्यो निर्मला तिमी !
तिमीले सोच्यौ होली
देशमा प्रहरी प्रशासन छ
सरकार छ
के नै होला भनेर
त्यही नेर चुक्यौ तिमी
दोष तिम्रा आमा बाबाको पनि हो
तिमीलाई थाहा नभए पनि
तिम्रा आमाबालाई थाहा हुनु पर्थ्यो
राक्षसी राज र बलात्कारका समाचारहरू
तिमीलाई जसरी मारे
तिमी भन्दा अगाडि धेरै निर्मलाहरू
यसै गरी मारिएका छन्
सयौँ निर्मलाका केसहरू
बेपत्ता पारिएका छन्
रद्दिको टोकरीमा फालिएका छन्
आजकल पागलहरूलाई समाइन्छ
मैले गरेको हुँ बलात्कार भनेर
कागजमा हस्ताक्षर गराइन्छ
तिम्रो बस्ती वर पर
केही जिउँदा मान्छे रहेछन् र बल्ल
तिम्रो घटना बाहिर आयो
तर जिउँदै मरेकाहरूको बस्तीमा
धेरै निर्मला बलात्कार काण्डहरूमा
पागलहरू बलात्कारी बनेका छन्
सोझा साझाहरू परेका छन्
यहाँ यस्तै छ निर्मला !
यहाँको चलन यस्तै छ निर्मला !
तिम्रो स्वर्गमा बास होस
तिम्रो चीरहरण गर्नेहरूको सत्यानाश होस
पशुपतिनाथले चलाएको देश
दुई तिहाइ पलाएको देश
अब कुन पागल वा निर्दोषलाई
ल्याइन्छ बनाएर बलात्कारीको भेष
फुट्न नसकेका यी आँखाहरूले
टुल टुल हेर्न विवशहरूको देश
- रामप्रसाद खनाल, सेप्टेम्बर २२, २०१८, हाल अमेरिका

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक