20180926

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, टेक्ससको सपथ र आगामी बाटो !

       - रामप्रसाद खनाल   

वाशिङ्गटन डिसीमा अमेरिकी नियम कानुन मुताबिक दर्ता भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय समिति  २७ बर्से लक्का जवान हुँदै गर्दा यो झन् पछि झन् क्रियाशील, प्रभावकारी, उदाहरणीय हुनुपर्नेमा त्यसको ठिक विपरीत उल्टो बाटो हिँडेको छ भनेर आलोचना गर्नेहरूको सङ्ख्या ह्वात्तै बढेर मात्र  गएको छैन क्रियाशील मान्छेहरू, नेपाली भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गरेका, जाने मानेका साहित्यिक मान्छेहरू किनारा लाग्दै जाँदा यो संस्थाको भविष्य अनिश्चित जस्तै देखिएको छ ।

साहित्यिक संस्था तर असाहित्यिक र अयोग्य मान्छेहरूले नेतृत्व गर्दै जाँदा संस्था प्रतिको आकर्षण दिन प्रतिदिन घट्दै जान थाले पछि अहिले संस्थाका संस्थापक होमनाथ सुबेदी स्वयम् निस्क्रिय बस्न थालेको पाइएको छ भने केन्द्रीय समिति केही गर्न नसक्ने र शाखा तथा च्याप्टरहरूले गरेका कार्यक्रममा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू खादा र माला लगाउँदै अतिथि बन्न जाने गरेको कुरा सबैले देखेकै र जगजायर भएको कुरा हो ।

अघि अघि डायस्पोरा साहित्य कमजोर हुँदा, डायस्पोरामा साहित्यिक मान्छेको कमी हुँदा संस्थापक होमनाथ सुबेदी र वहाँकै परिवारजन र आफन्तजनले नेतृत्व गरेर पनि थामिएको यो संस्था आज डायस्पोरा
साहित्यकारहरूले भरी भराऊ हुँदा पनि गतिलो नेतृत्व नपाएर प्यारालाइसिस ग्रस्त बिरामी जस्तै
भएको छ ।

आजीवन सदस्य सङ्ख्या दुई हजार नघाई सकेको यो संस्थाका बारेमा कति शाखा, च्याप्टर छन्, कहाँ कहाँ छन् अब बाहिरिँदै गरेका केन्द्रीय अध्यक्ष पदम विश्वकर्मालाई यस विषयमा कुनै आधिकारिक जानकारी छैन । संस्थाको वेबसाइट wwww.inls.org को त्यस्तै हरिबिजोग छ । त्यहाँ कुनै अपडेट देख्न पाइँदैन भन्छन् संस्थाकै आजीवन सदस्यहरू ।

भर्जिनिया निवासी खेम भट्टचनले धेरै पटक यस क्षेत्रका कार्यक्रममा दाबी गर्दै भन्ने गरेका छन् "अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साहित्यिक मान्छे हरूले होइन हामी जस्ता असाहित्यिक मान्छेहरूले बनाएको संस्था हो । यो एन आर एन भन्दा ठुलो छ । ७२ देशमा एक सय भन्दा बढी शाखा र च्याप्टरहरू छन् ।" तर केन्द्र यस बारेमा क्लियर कुरा गर्न जबाफ फर्काउन असमर्थ छ नपत्याए सोधी हेर्नुस् केन्द्रीय समितिलाई ।

*************
केही समय अघि सम्पन्न अनेसासको केन्द्रीय समितिको निर्वाचनमा खसेको मत यस्तो थियो ! निर्वाचन समिती प्रमुख भीम कार्कीले दिनुभएको तथ्याँक तल प्रस्तुत छ । ७२ देशमा १०० भन्दा बढी शाखा भएको भनिएको अनेसासको किन यती थोरै मतदाता ?? केन्द्रीय समितिले स्पस्ट पार्नु पर्छ कि पर्दैन पदम विश्वकर्मा जी ?? 
*******************************


म यसै संस्थाका संस्थापकहरू, वाशिङ्गटन डिसीमा रहनुभएका अग्रज साहित्यकारहरू, साहित्यिक मनहरूको अनुरोधमा, निर्विरोध निर्वाचित भएर  गत चार वर्ष देखी वाशिङ्गटन डिसी मेट्रो कमिटीको अध्यक्ष भएर काम गरिरहेको छु । यो चार वर्षको बिचमा हामी आफैले बोर्ड अफ ट्रस्टिजको साधारण सभा गत वर्ष आयोजना गरिदियौँ वुडब्रिजमा तर त्यहाँ बिओटी अध्यक्ष श्याम कार्की ज्यु र वहाँकी धर्मपत्नी ज्यु, संस्थापक अध्यक्ष होमनाथ सुबेदी ज्यु र वहाँकी धर्मपत्नी ज्यु, सचिव शिव लामिछानेजी, कोषाध्यक्ष वासु सत्यालजी बाहेक अरू कोही उपस्थित हुनुभएन तर पनि साधारण सभा सम्पन्न भयो भनेर भनियो । होइन भने वहाँहरूलाई नै सोधे हुन्छ ।

केन्द्रले मनाउने भानु जयन्ती वाशिङ्गटन डिसी मेट्रो कमिटीले आयोजना गरिदियो जहाँ केन्द्रीय अध्यक्ष पदम विश्वकर्माजी खादा लाएर मञ्चमा आसीन हुनुभएको थियो ।

वाशिङ्गटन डिसी मेट्रो कमिटी, नेपाल शाखा, अस्ट्रेलिया शाखा, जापान, कोरिया, न्यु योर्क शाखा, लसएन्जेलेश र न्यु ह्याम्सायर शाखा सहितका केही शाखाहरूको क्रियाकलापले मात्र अनेसास जीवित जस्तो छ तर केन्द्रीय समिति आफै निस्क्रिय भएको यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लाई कोमा बाट फर्काउने हो भने केन्द्रीय समिति नै सक्रिय हुनुपर्ने अवस्था छ तर केन्द्रीय समितिका केही सीमित मान्छेहरू नेपालका यातायात व्यवसायीको सिन्डिकेटको नक्कल गरेर सिन्डिकेट बनाएर बसिरहेका छन् ।

केही समय अघि सम्पन्न निर्वाचनमा पनि वाशिङ्गटन डिसीकै मतले जितेकाहरू वाशिङ्गटन डिसीलाई नै हराएर सिन्डिकेट बँचाइराख्न सफल भए । रुन्चे स्वरमा सहयोगको अपेक्षा राख्दै मिलाउने नाममा संस्था भित्रको सिन्डिकेट राखिराख्न पदम विश्वकर्मा, खगेन्द्र लुइँटेल, गीता खत्रीहरू सफल भए भन्छन् आजीवन सदस्यहरू । सबैलाई समेटेर, नयाँ ढङ्ग बाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हाँक्ने कसम का साथ वाशिङ्गटन डिसी मेट्रो कमिटी सँग कार्यगत एकता गरी चुनावमा गएका राधेश्याम लेकालीले प्यानल भित्र अन्तर्घात गरेर हुंदाखाँदाका सदाबहार साथीभाइहरू लाई सधैँका लागि मात्र गुमाएनन् अबिश्वासीको पगरी पनि लगाए । फलत: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नयाँ कार्य समितिको शपथ खान पनि लेकालीलाई टेक्सस पुग्नुपर्ने भयो । वाशिङ्गटन डिसीमा उनीहरू खुट्टा टेक्न सक्ने अवस्था रहेन नैतिकताका हिसाबमा ।                   

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको विधान हेर्नुस् । विधानमा लेखिएको छ - कुनै पनि च्याप्टरमा बसेर दुई वर्ष काम गरेको, केन्द्रीय  समितिमा बसेर दुई वर्ष काम गरेको मान्छे मात्र केन्द्रीय अध्यक्ष मा निर्वाचन लड्न पाउँछ । केन्द्रीय समितिमा सदस्य हुनकालागी पनि च्याप्टरमा दुई वर्ष काम गरेकै व्यक्ति हुनुपर्ने बाध्यता राखेर बाहिर रहेका कुनै पनि साहित्यकार विद्वानहरूलाई भित्र प्रवेश गर्नै वञ्चित गरिएको छ । विधानमा हुनुपर्ने के थियो भने - नेपाली भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा कम्तीमा यती वर्षको अनुभव भएको यो यो मापदण्ड पुरा भएको व्यक्ति केन्द्रीय समितिको सदस्य वा अध्यक्ष वा अन्य पदमा निर्वाचनमा भाग लिन योग्य हुने छ भनिनुपर्थ्यो ।

****************************
अगस्त २३, २०१६ मा केन्द्रीय समितिले वाशिङ्गटन डिसी मेट्रो कमिटीसँग केन्द्रीय समितिको निर्वाचन सम्पन्न भएको लगत्तै बिधान संसोधन समिति बनाई सँसोधनको काम गर्ने लिखित प्रतिबध्दता गरेको थियो । एक बर्ष पछि एउटा समिति बनाएको नाटक गरियो तर बिधान संसोधन कहाँ गयो के भयो पदम विश्वकर्मा जी र वहाँको तत्कालिन टिमलाई नै थाहा होला । हेर्नुस लिखित प्रतिबध्दता यस्तो थियो ।
******************
          


विधानको यस्तै कमी कमजोरी र सिन्डिकेटको फाइदा उठाएर पदम विश्वकर्माजी दुई कार्यकाल अध्यक्ष हुनुभयो । वहाँ मात्र होइन वहाँ भन्दा अघि पनि असाहित्यिक मान्छेहरूले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा नेतृत्व गर्ने र अपुताली स्याहार्ने मौका पाएका हुन भनेर भन्ने आजीवन सदस्यहरूको सङ्ख्या कम छैन ।

Image may contain: 1 person, closeupपदम विश्वकर्माको कार्यकाल सम्म आइपुग्दा त संस्था यती सम्म अस्तव्यस्त भयो कि - केन्द्रीय समितिलाई नै थाहा छैन आजीवन सदस्य कति छन् भनेर ? पूर्व केन्द्रीय अध्यक्षहरू कै नाम निर्वाचन मतदाता नामावलीबाट बदनियत पूर्वक हटाईएकोमा पूर्व केन्द्रीय अध्यक्ष भीम रेग्मी, ज्ञानेन्द्र गदालहरु कयौँले गत निर्वाचनमा भोट समेत हाल्न पाइएन भन्दै सामाजिक सञ्जाल र मिडियाहरू बाटै भ्रत्सना गर्नुभएको तपाईँहरूले देख्नुभएको थियो होला ।

सन २०१२ मा ज्ञानेन्द्र गदालले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अध्यक्ष छाडे पछि आज सम्म केन्द्रीय समितिको कुनै कुराको व्यवस्थित माइन्युट समेत छैन र सोही वर्ष देखी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अडिट पनि भएको छैन, हाम्रो त केन्द्रमा नाम मात्र हो, दुई चार जना हाबी भए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बर्बाद पारे भन्छन् केन्द्रीय समितिकै एक पदाधिकारी ।

गदाल भन्छन् - म अध्यक्ष हुँदा वार्षिक र आर्थिक दुवै प्रतिवेदन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका हरेक सदस्यका हात मा पुर्‍याएर म बिदा भएको हुँँ, मलाई गर्व छ मेरो कार्यकाल पारदर्शी थियो चार्टर एकाउन्टेन्ट रत्न भण्डारी , वासु श्रेष्ठ र रवि भण्डारीको आर्थिक समिति बनाएर सबै अडिट गराएर, हिसाब किताब बुझाएर म बाहिरिएँ तर सुन्छु २०१२ पछि कुनै लिखित माइन्युट पनि छैन रे अनि हिसाबकिताब पनि छैन रे ! अडिटको कुरा त टाढाको  कुरा भयो । उक्त कुरा स्विकार्छन् केन्द्रीय समितिका एक सदस्य।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन भारती गौतमले न्यु योर्कमा गरिन, तर गीता खत्रीले मैले गरेको भन्दै जस लिँदै हिँडिन । आची गर्ने लाई देख्नेलाई लाज जस्तै भयो भन्छिन् न्यु योर्ककी एक साहित्यकार ।

कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेझैँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भित्र यी र यस्ता धेरै कुराहरुछन जसको कारण २७ वर्ष पुग्दा पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अझै आफ्नो खुट्टामा आफै उभिन अझै सकिरहेको छैन ।

यसै बिचमा नयाँ कार्य समितिले ३० सेप्टेम्बरमा टेक्ससमा शपथ ग्रहण गर्दैछ । मैले त निर्वाचन सकिए लगत्तै नैतिकता र मर्यादा ख्याल गर्दै बेइमानहरूको अन्तर्घातका बाबजुद जित्नेहरूलाई निर्वाचन नतिजा आउनासाथ तुरुन्त निर्वाचन परिणाम स्वीकार गर्दै बधाई दिएको हुँ र आज फेरी पनि बधाई दिन्छु किनकि म नैतिकताको पुजारी हुँँ ।

बधाई दिँदै गर्दा भन्न मन लाग्यो - साथी लेकाली जी, काखमै राखेर छुरा हान्ने बानी, तपाईँको पुरानो गरिआएको बानी छाड्नुहोला । पदका लागि यती तल सम्म गिर्न र अन्तर्घाती बिल्ला भिर्न लालायित तपाईँलाई र तपाईँको टिमलाई भगवानले सदबुध्दी दिउन् । विगतमा जे जसो भए पनि अबका दिनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई सबैको अनेसास बनाउन, बाहिर रहेका साहित्यकारहरूलाई पनि भित्र ल्याउन, समेट्न प्रयास गर्नुहोला । तपाईँ ६१ वर्ष लागि सक्नुभयो क्यारे मित्र, अब राम नाम सत्य हो भन्ने यथार्थलाई आत्मसाथ गर्दै अगाडि बढ्न र मान्छे लाई काखमा राखेर छुरी हान्ने घृणित खेल छाड्न म एउटा साथीको हैसियतले विनम्र आग्रह गर्दछु । नेपाली भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्नुस् हामी तपाईँहरूले जस्तो छुरी हान्ने काम गर्ने छैनौँ बरु रचनात्मक सहयोग गर्ने वातावरण भए सहयोग गर्ने छौँ बाहिरै बसेर पनि ।

साथी लेकाली जी, तपाईँ हामी एक दिन मरेरै जाने हो तसर्थ यी दुई दिने पदका गोडा मुती न्यानाहरूमा अन्तर्घातका नाङ्गा खेलहरू बन्द गर्दा  राम्रो हुन्छ । साथीभाइ बँचाउँदै राम्रो हुन्छ । आगामी दिनमा नेपालको फोहोरी राजनीति बिर्साउने तपाईँको खुराफाती शैलीलाई तह लगाउनुहोला ।

खगेन्द्र लुइँटेल दाई, तपाईँको खुराफाती चर्तिकला हेर्दा भन्न मन लाग्यो - तपाईँले तपाईँका विद्यार्थीहरूलाई कस्तो पढाउनु भाको होला भनेर ! तपाईँ प्रतिको आदर, सम्मान, विश्वास सिसा झैँ झर्यामझुरुम बनाउनुभयो । आफ्नो असलियत देखाई छाड्नुभयो । छोटो सङ्गत र समयमै चिन्न पाइयो ताकी अब थप क्षति ब्यहोर्नुपर्ने भएन म खुसी छु ।

गीता खत्रीजी, पदम विश्वकर्माजी, एेना सबैभन्दा इमानदार हुन्छ । ऐना निर्जीव हो बोल्न सक्दैन तर यसले छल छाम गर्दैन जे छ छर्लङ्गै देखाउँछ कृपया यहाँहरूले पनि आफूलाई ऐनामा हेर्ने गर्नुहोला । तपाईँहरू सिन्डिकेटको कारण अध्यक्ष त बन्नुभएछ पहिला तर नैतिकता गुमाउँदै जाँदा, अन्तर्घातका खेलमा लाग्दै गर्दा तपाईँको हैसियत देखेर ऐना ले पनि के भन्यो होला ? छातीमा राखेर सोच्नुस् त ! हुन त सत्य तितो हुन्छ तर तितो पनि ग्रहण गर्ने गर्नुहोला त्यसले तपाईँहरूको भलो नै हुने छ ।

व्यक्तिगत रूपमा भने मेरो पदम विश्वकर्मा वा लेकाली वा लुइँटेल अथवा खत्री कसै सँग कुनै गुनासो छैन । किनकि म गुहु हो भनेर चिने पछि त्यसलाई कोट्याउने काम कहिल्यै गर्दिन र मलाई कोट्याउनु पनि छैन तर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको एक आजीवन सदस्य, केन्द्र पछिको सबैभन्दा महत्त्व राख्ने वाशिङ्गटन डिसी मेट्रो कमिटीको अध्यक्षको नाताले यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाँच्नु पर्छ, फुल्नुपर्छ, फल्नुपर्छ, नेपाली भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्नुपर्छ, यसले नेपाली भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा टेवा दिन सक्छ भन्ने मान्यता राख्दछु । तसर्थ नेपाली भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्दा सम्म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका लागि आफू सक्दो योगदान जारी राख्ने छु कमिटी बाहिरै बसेर ।

******************
गत चार बर्ष देखी जब मैले वाशिङ्गटन डिसीको नेत्रित्व सम्हालेँ तब अनेसास संस्थालाई सुधार्न, प्रभाबकारी बनाउन कुनै कसर बाँकी राखिएन । केन्द्रीय समितिलाई बारम्बार सक्रिय बनाउन, प्रभाबकारी बनाउन यि र यस्ता पत्राचार धेरै गरियो तर पदम विश्वकर्माजी अध्यक्ष रहेको केन्द्रीय समितिले आफुलाई के ठान्यो कुन्नी कुनै सुनुवाई र कार्यान्वयन भएन । यि र यस्ता पत्राचार के हाम्रा ब्यक्तिगत स्वार्थका लागि थिए पदम जी ?? अनि यस्ता कुरा को सुनुवाई नगर्ने तपाईंलाई कसरी लायक अध्यक्ष भन्ने तपाईं आफै भन्नुस् त ?? यि त कास्टिङ मात्र हुन, पुरा विवरण उचित समयमा उचित ढङ्गले बाहिर ल्याइनेनै छ । त्यो अनेसासको नेत्रित्व र कार्यशैलीमा भर पर्ने छ ।              
*************************

केही सुझावहरू सपथ खाँदै गरेका नब निर्वाचित साथीहरुलाई :

१- शपथ खाँदै गर्दा बेइमानी होइन इमान सम्झिनुहोला । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको भविष्य, नेपाली भाषा, साहित्य, कला र संस्कृतिको लागि केही गर्छु भनेर शपथ खानुहोला ।

२- कहाँ कहाँ सम्मेलन गर्ने, को कसलाई कहाँ कहाँ पुर्‍याउने होइन कसरी नेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई उचाइमा पुर्याउन  सकिन्छ ध्यान दिनुहोला ।

३- खगेन्द्र लुइँटेल जस्ता खुराफातीहरुलाई भुलेर पनि सल्लाहकार बनाउने, गन्हाउने, मान्छेलाई जबर्जस्ती टिकट काट्न लगाइ लगाइ अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया पुर्‍याउने काम बन्द गर्नुहोला ।

४- विधान संशोधन गरी तुरुन्त सिन्डिकेट खारेज गर्ने र साहित्यिक मान्छेहरू, विद्वान मान्छेहरू, नेपाली भाषा, साहित्य, कला र संस्कृतिको लागि योगदान दिएका र दिन सक्नेका लागि अनेसास उपयुक्त थलो हो भनेर वातावरण बनाउनुहोला ।

५- हाम्रो अनेसास, राम्रो अनेसास बनाउनका लागि नयाँ ढङ्ग र उमङ्गका साथ काम गर्नुहोला ताकी नालायक नेतृत्वको विगतको नालायकी पन अब भुल्न पाइयोस ।

६- नेपाली भाषा, साहित्य, कला र संस्कृतिका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भनेर सबैले भन्न सक्ने गरी कार्यक्रम तर्जुमा गर्नुहोला ।

७- बोर्ड अफ ट्रस्टिजमा साहित्यिक र लायक ब्यती आउने वातावरण बनाउनुहोला । एक हजार डलर चढाए जो पनि ट्रस्टिज, सय डलर चढाए जो पनि आजीवन सदस्य बनाउँदै जाँदा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज असाहित्यिक समाज होला, तुरुन्त विज्ञहरू राखेर सुझाव सहित विधान संशोधन समिति बनाउने, विधान संशोधन गरेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई नयाँ जीवन दिन प्रयत्न गर्नुहोला । पुस्तक, पुरस्कारहरु मर्यादित पारदर्शी बनाउनुहोला ।


८- अहिलेको कार्य समितिमा बेइमान मात्र होइन केही असल र आशा लाग्दा साथीहरू पनि आउनुभएको छ । ती असलहरू साथीहरूले आफ्नो साख जोगाउनुहोला र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई साहित्यिक समाज बनाउन पहल गर्नुहोला ।

९- नव निर्वाचित केही साथीहरूबाट कमिटी भित्र बसिदिन, वा सल्लाहकारको भूमिका निर्वाह गरिदिन गरिएको प्रस्तावको लागि धन्यवाद । तर निर्वाचन परिणाम स्वीकार गर्दै नैतिकताका आधारमा अन्तर्घातीहरूसँग सँगै बसेर काम गर्न मिलेन । बाहिरै बसेर राम्रा काममा सहयोग र खराब कुराको विरोध गर्दै खबरदारी गर्ने प्रतिबद्धता जनाउँछु । यो नेताृत्वबाट ठुलो अपेक्षा त छैन तर राम्रो होस, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नयाँ जीवन पाओस् शुभकामना ।


(नोट: शपथ ग्रहणको मुखैमा यो शुभकामना सहितको सानो खबरदारी मात्र हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई मैले गत ४ वर्ष देखी नजिकबाट कसरी नियालिरहेको छु र यहाँ भित्रका कौरव र पाण्डवहरूका बारेमा एउटा पुस्तक नै लेख्ने तयारी गर्दैछु जहाँ सेतो लाई सेतो र कालो लाई कालो नै भनिने छ, जे हो त्यही भनिने छ । उक्त पोस्टमार्टमले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई सकारात्मक बनाउने मेरो पूर्ण विश्वास छ )   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक