(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20181011

यसरी पनि चल्दो रहेछ देश ! कठै मेरो देश !!

- राजन कार्की 
Image may contain: Rajan Karki, closeupटोल टोल, गाउँ गाउँसम्म मेडिकल पसलहरू फैलिएका छन् । त्यहाँ डाक्टर नभए पनि कम्पाउण्डर अर्थात् काम गर्दागर्दा जानेकाहरू डाक्टर बनेर बसेका छन् र सानो ठूलोजस्तो रोग लागेपनि स्थानीय नागरिक पहिले जाने त्यहीँ हो । दाँत वा पेट दुखे पनि, ज्वरो वा बान्ता भए पनि, जेभए पनि मेडिकल जानासाथ उसले ओखती दिन्छ, साथमा टनिक पनि भिडाउँछ । कारण ओखतीभन्दा टनिक महँगो र टनिकमा बढी फाइदा हुने रहेछ । धेरै निको हुन्छन्, कतिपय त्यही ओखतीले असाध्य रोग बल्झेर खतीमा पर्छन् ।
टाढाका अस्पतालभन्दा नजिकका मेडिकल, अहिले पनि चलिरहेकै छन् । गाउँगाउँ, टोलटोलमा अस्पताल होस् भन्ने सपना ठूलो हो । अस्पताल नजिक होस्, अस्पताल सर्वसुलभ र डाक्टर जुनसुकैबेला भेटियोस् । अस्पताल पुगेर सहज उपचार पाइयोस् । यो मेरो सपना हो । अस्पताल पुग्न राजधानीका जस्ता अस्तव्यस्त सडक नहून् । अस्पताल लगेको बिमारी जाममा फसेर एम्बुलेन्समै मर्नु
नपरोस् । यो मेरो सपना हो ।
नागरिक हिँड्ने सडक अहिलेजस्तो खाल्डाखुल्डी नहोस्, कम्तीमा धुलो र धुवाँ कम उड्ने खालका हुन् । सात वर्षदेखि चावहिल साँखु, बल्खु दक्षिणकाली, कलंकी थानकोट नौबिसेको बाटोजस्तो धुलाम्मे, हिलाम्मे, खाल्डैखाल्डा नहोस् र यो सात वर्षमा धुलो र धुवाँले दमको रोगी बनेर हजारौँको मृत्यु भइसकेको हुँदा पनि चुप लाग्ने यस्तो गैरजिम्मेवार सरकार नहोस्, ज्यानमारा राज्यनीति नहोस्, जनताप्रतिको जिम्मेवारी लिनसक्ने सरकार होस् । यो मेरो सपना हो ।
मेरा बालबालिकाले स्कुलदेखि कलेजसम्म, त्यसपछि शिक्षा हासिल गर्न मनलागी शुल्क तिर्नु नपरोस्, प्राविधिक शिक्षा हासिल गर्न भनसुन गर्नु नपरोस्, नेपालमा पढ्न नपाएर विदेशतिर लाग्नु नपरोस् र विदेशतिरै अल्मलिएर देश बिर्सने बाध्यतामा नपरून् भन्ने हो । तर, के गर्ने देशमा शिक्षा, स्वास्थ्यलगायतका सामान्य आवश्यकताका क्षेत्रमा माफियाकै हैकम छ । बजारदेखि सिंहदरबारसम्म सेटिङ र सिन्डिकेट छ, कमिसनकै चलखेल छ ।
यसकारण लोकगणराज्यले दिनै पर्ने नागरिकका आधारभूत आवश्यकताका साना सपना पूरा गर्न सरकार ठूलाठूला सपना देखाउँछ । काठमाडौंसम्म केरुङ र रक्सौलबाट रेल जोड्छु भन्छ । राजधानीमा मेट्रो चलाउँछु भन्छ । राजधानीलाई मेट्रो सिटी बनाउँछु, हावाबाट बिजुली निकाल्छु र घरघरमा ग्यासका पाइपलाइन जोडिदिन्छु भन्छ । थानकोटबाट काभ्रे हुँदै सिन्धुपाल्चोकसम्म मेट्रो चल्छ रे ¤ 
सात वर्षदेखि सडक साइकल चल्न नसक्ने स्थितिमा छ, एक सरकारबाट सात सय ६१ सरकार बनेका छन् । यी सरकारमा मन्त्री, सचिव, सहायकदेखि पार्टीका आउरे बाउरेको लामबद्ध मान्छे जनता निचोरेर कर असुल गर्दै खाँदैछन् । जुकाले रगत चुसेजसरी जनता चुसेर ढाडिएका जुकाले चुस्दिनँ भन्दैन, कम्युनिस्ट सरकारमा पुँजीवादी शोषणको पराकाष्ठा नाघिसकेको छ र यिनीहरू मेरा सानासाना सपना कुल्चेर ठूलाठूला सपना देखाइरहेका छन् ।
म मेरा जनप्रतिनिधि, मेरो सरकार, मेरो संविधान, मेरो लोकतान्त्रिक गणतन्त्रको बौलाहा चरित्र देखेर छक्क छु । म सामान्य सपना पूरा होस् भनिरहेको छु, राज्य स्वर्गै दिन्छु भन्ने सपना देखाइरहेको छ । म कम्पाउण्डरले ओखतीभन्दा बढी टनिक बेचेजस्तो र टनिक किन्न बाध्य पारिएको बिमारीजस्तो म पनि राज्यको सपना देखेर जिल्लाराम छु ।
प्रधानमन्त्री भन्छन्– सपना देख्नुपर्छ, सपना देख्नेले पूरा गर्छ । हो, नेपाल सपनाको देश हो, सपना नै सुशासन र समृद्धिको आधार हो । सपना देखिएन भने सत्ता टिक्दैन, राजनीति चल्दैन । सपना शायद कम्युनिस्टको राजनीति गर्ने अचुक उपाय हो ।
हिजो जनयुद्धका बेलामा युवाहरूलाई जसले खेती रोजे खेत पाइने, महल रोजे महल पाइने, जसले जे रोज्छ त्यही पाइन्छ भनेर बन्दुक बोकाइयो । मर्ने मरे, बाँच्ने पहुँचवाला सत्ता र शक्तिमा पुगे, नसक्ने अयोग्य भए, कोही खाडी गए, कोही यतै ढलापडा छन् । कतिपय युवती राजमार्गमा यौवन बेचेर बालबचेरा पालिरहेका छन् । सपना भनेको देखाउनेलाई सपार्ने रहेछ । देख्ने सधैँ सपना देखेर बाँच्नु न मर्नुपर्ने छटपटीमा हुँदा रहेछन् ।
जनयुद्ध पनि सपना नै थियो । असमानता हटाउन, भेदभाव र विभेद मास्न, समृद्धिको साम्राज्य सिर्जना गर्न निरंकूशता फालौं भनेर जनतालाई घरघरबाट सडकमा आउनैपर्ने वातावरण बन्यो । परिवर्तन भयो । राजा झुके, मरेको संसद् ब्यूँतियो । संसद् ब्यूँतियो कि भूत ? अहिले आएर सबै रनभुल्लमा छन् । किनभने त्यही संसद्बाट संविधानसभा जन्म्यो, संविधानसभाले राजा फालेर महाराजाको उत्पत्ति गरायो, संविधान जारी भयो, विभेद बढ्यो, समानता आएन । आयो त तिनै परिवर्तनका नेतृत्व गर्नेहरूलाई आयो । तिनकै रजगज चलेको छ, तिनीहरू नै आधुनिक श्री ३ महाराज बनेका छन् । जनता हिजो अन्यायमा थिए, आज महाअन्यायमा परेका छन् । जनताप्रतिको जिम्मेवारी कसैले लिँदैन ।
अब त देशै अभरमा परेको छ । देशको जिम्मेवारी लिनेसमेत कोही भएन । राजधानीमा ब्ल्याक मार्च हुन थालेको छ । नागरिक समाज देशका वास्तविक नक्सा मागिरहेको छ । भएछ के भने लोकतान्त्रिक नेताहरूले कालापानी, लिपुलेक, लिम्पियाधुरा भारततिर पारेर राष्ट्रको नक्सा नै फेरिसकेछन् । गणतन्त्रले गरेन त कमाल । देखाएन त सपना ? जनता ठूला सपना सिनेमा हेरेजस्तो हेरिरहेका थिए, सपना देखाउने सरकारले त राष्ट्रको मिर्गाैला काटेर भारतलाई दिइसकेछ । यता समृद्धि र सुशासनको टनिक बेचेर उता सत्ताको मुनाफा पो घिचिसकेछन् हाम्रा जनप्रतिनिधिहरूले ।
सपना समृद्धि र सुशासनको देखाएको हो दुई तिहाइको सरकारले । पेण्डोराको बाकस खुलेझैँ खाली भ्रष्टाचार र ठेकेदारहरूको पोलखोल पो भइरहेछ । कमिसन र सुनकाण्डबाट अब त बलात्कार र हत्याका शृंखलाहरू पो बढ्न थाले ।
मेरो सानो सपना, समाजमा सभ्यताको विकास होस्, भाइचाराको विकास होस्, बहुल जातीय समाजमा जातीय सद्भाव कायम होस् भन्ने हो । सपना देखाउनेहरू जातीय, क्षेत्रीय विभाजनका मुद्दा उठाउँछन् । अब त मधेसतिर मधेश अलग देश हो भन्ने नारा उठिसक्यो । दुई तिहाइको सरकार कस्तो सपना देखाइरहेछ, बिना परिकल्पनाको । परिकल्पना अर्थात् सपना पूरा गर्ने योजना र अठोट नै छैन । टुक्का हालेर बोल्यो, सपना देखाएर हसायो, सकियो । सुतेर भात खानेमात्र हो भने घरघरमा सुतेरै भात ख्वाउँछ सरकार भन्छन् प्रधानमन्त्री । यो कस्तो भाषण हो ? कस्तो सपना हो ? 
चार वर्ष भयो, भूकम्प पीडितले बास बनाउन सकेनन्, बाढी र पहिरो पीडितले राहत पाएका छैनन्, अतिरोग पीडितले उपचार पाएका छैनन्, गरिबीको परिचयपत्रसमेत धनीलाई वितरण गर्ने कम्युनिस्ट सरकार कम्युन्यालिस्ट बढाएर स्वादिलो अचारजस्तो सपना देखाइरहेको छ । सपना देख्ने र सत्ता चलाउने, तस्कर र माफियाको, भ्रष्ट र असामाजिक तत्वको बिगबिगीतिर हेर्दै नहेर्ने, हेरे तिनलाई खोकिलामा हालेर बचाउँने राज्य कसरी लोकराज्य ? यो त अराजक राज्य भएन र ? यो त असंवैधानिक, राणाशासनभन्दा पनि गएगुज्रेको राज्य भएन र ?
प्रधानमन्त्री पटकपटक चिच्याउँछन्– यो परालको त्यान्द्रोजस्तो सरकार होइन, दुई तिहाइको सतिसालजस्तै दह्रो सरकार हो । प्रधानमन्त्रीलाई प्रश्न छ– नैतिकहीनको घोडा चढेर लोकतन्त्र पुगिन्छ र ? भाषण सतिसालको गर्नेको खुट्टी भिजेको परालजस्तो  देखिन्छ त ¤ यो सरकारलाई दुई तिहाइ दिएका जनताले हो । यसरी जनतातिर फर्केर जनमतकै अनादर गर्ने ? जनताप्रतिको यो कस्तो निष्ठाहीनता हो ? यस्तो सरकार लोकसरकार नभएर अधिनायक सरकार हो किनकि मुहारमा दम्भ लेपन गरेपछि दुई तिहाइको मर्यादा नै देखिँदैन ।
सात महिना भयो यो सरकारको आयु । एउटा मात्र राम्रो काम पनि यो सरकारले देखाउन सक्दैन । हत्या र हिंसा बढ्दा यो सरकार सरकारले बलात्कार र हत्या गरेको हो र ? भन्छ । पानी सरकारले पारिदेको हो र ? धुलो सरकारले उडाइदिएको हो र ? खाल्डाखुल्डी सरकारले पारिदेको हो र ? सरकार भन्छ– विस्तारै काम हुन्छ, सरकारको हातमा जादूको छडी छैन ।
यस्तो भाषण सुनेर दुई तिहाइको सरकार चलाउने पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्वाक्क भनेका छन्– अब ओलीजीले छाडिदिए हुन्छ । अर्थात् असन्तुष्टि जनतामा बढेको छ । सन्तुष्ट नेकपाभित्र नै रहेनछ । राजनीतिक स्थिरताले समृद्धि ल्याउने भो भन्ने जुन सपना जनताका आँखामा देखिएका थिए, ती सपना पनि महाकाली सन्धि पारित भएपछि केपी ओलीको ठूलो सपनाजस्तो प्रतिक्रिया थियो– नेपालको सूर्य पश्चिमबाट उदाउनेछ । ठूलो सपनाबाट जनताको स्थिरताको सानो सपना किचियो, मिचियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक