20181009

दुर्गा रायमाझी भन्छन ‘फर्कदाई फर्क, हाम्रै नेपाल जापान हुन्छ, दुई चार वर्ष पर्ख’ !

नेपाली  लोकगीत, दोहोरी गीत, संगीत क्षेत्रमा कृयाशिल मेरा सहयात्री साथी दुर्गा रायमाझीको यो गीत सुने । गीत मिठो लाग्यो । साथीलाई बधाई पनि । गीत सुने पछि भन्न मन लाग्यो - साथी तपाईंले भनेझैँ दुई चार बर्षमा देश जापान जस्तो हुन सकोस, भैदियोस म पनि त्यही चाहन्छु । तपाईंको गीतमा आह्वान गरे बमोजिम बिदेशमा बस्ने हरेक हरेक नेपालीहरु पनि स्वदेश फर्कन र देशमै बसेर केही गर्न चाहन्छन तर हेर्नुस देशको दुर्दशा । यदी तपाईंले भनेझै सबै दाई भाई फर्के त्यहाँ हात मुख कसरी जोरिन्छन होला ! ८८४ जना साँसद कसरी पालिन्छन होला । केन्द्र र प्रदेशका ८ वटा सरकार कसरी पालिएलान ! ति बढी बढी कर असुल्ने गाउँ पालिका, नगर पालिका, कर कार्यालहरु, घुस्याहा र भ्रस्ट कर्मचारी, नेता देखी जालो भित्र रहेका अरु धेरैले के गर्लान ??  यि र यस्ता धेरै कुराहरु छन यद्यपी साथीको गीत सँयोजन, गायकी, भिडियो सबै थोकका लागि साथीलाई हार्दिक बधाई र यो गीतको पूर्ण सफलताको लागि
हार्दिक शुभकामना पनि ।  - रामप्रसाद खनाल     


‘नेपालबाट मगाई मगाई गुन्द्रुक ढिँडो खान्छौँ, 
गुन्द्रुक ढिँडै खाने भए किन जापान जान्छौँ ? 
फर्कदाई फर्क, फर्कदाई फर्कभाई फर्क 
हाम्रै नेपाल जापान हुन्छ, दुई चार वर्ष पर्ख ।’
 नेपालमा रोजगारीको अवसर नभएको भन्दै विदेशिएका युवालाई स्वदेश फर्कन आग्रह गर्दै वरिष्ठ सर्जक एवं लोकदोहोरी गायक दुर्गा रायमाझीले सार्वजवनिक गर्नुभएको लोकगीतको अंश हो यो ।
 विभिन्न बहानामा विदेशिने नेपालीको संख्या बढेको अवस्थामा नेपालमा कुनै अवसर छैन भन्दै विदेशमै रमाउन खोज्ने नेपालीमनलाई यस गीतले विदेशमा रहेर नेपालीपन नखोज्न आग्रह गरेको छ । विदेशमा बसेर नेपालबाट गुन्द्रुक ढिँडो मगाएर खाने भए विदेश किन जाने भन्ने प्रश्न गर्दै गीतमा पैसाले मात्रै सुख नहुने अनुभूती प्रवासीहरुले गरेको आशय व्यक्त गरिएको छ ।

रायमाझीको आफ्नै शब्द, लय र स्वरमा तयार पारिएको गीतमा विदेशमा रहेका नेपालीलाई स्वदेशमै फर्कन आह्वान गरिएको छ । विदेशमा गरिएको मेहनत र पसिनाले दुई चार वर्षमै नेपाललाई विकसित देशको दाँजोमा पु¥याउँछ भन्ने विषयलाई गीतले प्रमुखताका साथ उठान गरेको छ । त्यसका लागि सम्पूर्ण नेपालीलाई स्वदेश फर्कन आग्रह गरिएको छ ।

‘राम्रो नम्बर ल्याउने, जति कन्सल्टेन्सी धाउने, 
यो चालले हाम्रो नेपाल, कहिले उँभो लाउने, 
युवाहरु विदेशीय, देश बनाउने कोत ? 
देश बिग्रेको गतिलाले, देश छाडेर पोत ।’

राम्रो अंक ल्याएर विद्यालय तह उतीर्ण गर्नेबित्तिकै उच्च शिक्षाका नाममा विदेशिने संख्या पनि ह्वातै बढेको छ । शिक्षित र युवा जनशक्ति विदेशिदा नेपालको विकासमा निकै ठूलो समस्या परिरहेको छ । शहरी क्षेत्रका युवा मात्र होइन, ग्रामीण भेकका युवा पनि ठूलो सङ्ख्यामा कामको खोजीमा विदिशिने गरिएको तीतो यथार्थ हामीमाझ छर्लङ्ग छ । १८ देखि ४० वर्ष उमेरसमूहका युवायुवती विदेशिएपछि आखिरीमा कसले देश बनाउने भन्ने प्रश्नलाई यस गीतले मार्मिकताका साथ प्रस्तुत गरेको छ ।

गतिलाले देश छाडेर देश बिग्रेको हुँदा स्वदेश फर्किएर देश बनाउन गीतमार्फत आग्रह गरिएको छ ।

‘आफ्नो जन्मभूमि आफै गरेपछि हेला, 
हाम्रो नेपाल को आएर राम्रो बनाइदेला’

धन सम्पत्तिले मात्रै मन रमाउँछ भन्ने उपभोगवादी सोचलाई पनि यस गीतले गतिलो जवाफ दिएको छ । करोडौ सम्पत्ति कमाएपनि विदेशमा हुँदा कसको मन रमाउँछ र ? विदेशमा गएर गरिने मेहनत नेपालमै गर्ने भए यही ठूलो सम्भावना रहेको विषयलाई गीतले जोड दिएको छ । उहाँले गीतमार्फत् विदेशमा रहेकाहरु फर्किएर स्वदेशमै केही गर्ने हो भने नेपाल नै जापान, अमेरिका, हङ्कङजस्तो बन्ने तर्फ प्रवासीहरुको ध्यानाकर्षण गराउनु भएको छ । सर्जक रायमाझी गीतमा भन्नुहुन्छ,

अमेरिकागै हुन्छौँ होला करोड कमाउने, 
करोडले हैनरैछ यो मन रमाउने 
बाह्र घन्टा घोटिन्छौ रे दक्षिण कोरियामा 
त्यति गरे केके फल्थ्यो हाम्रै खोरियामा’

अध्ययन र रोजगारीका लागि युवा जनशक्ति विदेशिदा ग्रामीण भेकमा बृद्ध बा आमा मात्र घर कुरेर बस्न बाध्य छन् । बृद्ध बा आमा बिरामी हुँदा औषधोपचार गर्न लैजाने छोराछोरी घरमा छैनन्, आकाशमा जहाज उड्दा ती बा आमाको आँखा आकाशमै हुन्छ, सम्झन्छन् आफ्ना छोराछोरी कुन अवस्थामा के गरिरहेका छन् र झार्छन् आँशु । दुःख पर्दा तीनै छोराछोरीले विदेशबाट पठाएको धन पठाए पनि त्यो धनले बाबुआमाको मन निको नहुने गायक राजमाझी भन्नुहुन्छ,

‘हवाइजहाज उड्दा पनि हेर्छन आकाश तिर 
बुढा भाका बाउआमालाई छोराछोरीकै पिर, 
दुःख पर्दा विदेशबाटै पठाउला धन 
त्यो धनलेनि निको हुन्न बाउआमाको मन

सर्जक रायमाझीले यस गीतमार्फत सम्भावनाको खोजीमा विदेशिएका सम्पूर्ण नेपालीलाई मातृभूमिको विकासमा समर्पित हुँदै स्वदेश फर्कन आग्रह गर्नुभएको छ । मुलुक विकासका लागि योगदान गर्न सक्ने जनशक्ति विदेशिदा मुलुकको विकासमा अवरोध पुगेको निश्चय नै हो ।
विदेशी भूमिका श्रम र पसिना बगाउन बाध्य नेपालीले पठाएको विप्रेषण (रेमिट्यान्स)ले केही हदसम्म मुलुकको अर्थतन्त्रलाई चलायमान बनाए पनि त्यसको सामाजिक मूल्य निकै महँगो छ ।

यस गीतले आजको सन्दर्भमा दरिलो प्रतिबद्धता र आशा जगाएको छ । कला, साहित्य तथा गीत सङ्गीतको माध्यमबाट गरिने आह्वानले समाजलाई ठूलो सन्देश दिनेमा दुईमत छैन् । जीवन निर्वाहकै लागि गाउँ, घर, समाज र देशबाट परदेश जाने विवशताको अन्त्य गर्नु वर्तमानको आवश्यकता हो ।

पुराना थुप्रै गीतका सर्जक रायमाझीले अहिले झण्डै एक दशकपछि नयाँ गीत सार्वजनिक गर्नु भएको हो । ‘बटौलीमा निम्तो छ मलाई ..’, ‘अचेल गाउँमा यस्तै छ साननानी…’, ‘भैँसी पालेर…’ जस्ता गीतका सर्जक रायमाझी गीत संगीत क्षेत्रका अनुसन्धानकर्ता पनि हुनुहुन्छ ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका पुर्व अध्यक्ष समेत रहनु भएका रायमाझी संगित तथा नाट्य प्रतिष्ठानका प्राज्ञसमेत हुनुहुन्छ । - अशोक घिमिरे , रासस

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक