20181127

ओलीयुग सुरु भएर संघीय लोकतान्त्रिक गणतन्त्रमा समृद्धि र शुसासन छेलोखेलो हासिल भयो

- सन्तोष चिमरिया
Image may contain: 9 peopleयतातिर नआएको पनि धेरै नै भएछ । दशै, तिहार, छैट, जाडो नआउनका बाहाना यीनै हुन । खासमा यतातिर आउने भनेको अन्त र जन्त कतै जान नपाउदा मात्रै हो । दशै र तिहारको सांस्कृतिक धरोहर जोगाउन घुँडा धसेर म्यारिज म्याराथनमा कटिबद्ध भएर लागेपछि यता आइरहने उस्तो जरुरी परेन । त्यसपछि दशै र तिहारको आर्थिक र मानसिक ह्याङ अनि बड्दो जाडोले
गर्दा स्टार्ट हुन नसकेको दैनिकी । यस्तै यस्तै बाहाना देखाएर आउन नसकेको स्पष्टीकरण दिन चाहान्छु ।

तर म यहाँ किन आइन भन्दा पनि, किन आए त्यो महत्त्वपूर्ण छ । किनकि म आज पनि आइन, दुई शब्द बोलिन र बधाई दिइन भने इतिहासले मलाई माफी नगर्न सक्छ । समाजवाद उन्मुख समाजले अस्विकार गर्न सक्छ । म इतिहासमा जुदास जस्तै कलंकीत हुनसक्छु । अर्को डर- आज म अनुपस्थित रहे भने, अरिंगालले चिलेर मेरो जिर्ण देह बैकुन्ठे हुन सक्छ । अत म आए । म आउनै पर्यो । आए र आउनै पर्यो भन्दा पनि म ल्याइए । नयाँ युगको उद्घाटन समारोहमा मलाई जन्मको संजोग र इतिहासले ल्याएर खडा गरिदिएको छ । त्यसैले म आएको होइन, ल्याइएको हुं भन्ने मेरो धारणा हो । 

हेर्नुस युगपुरुष तिनै हुन, जसले समयलाई दुई खण्डमा बिभाजन गर्न सक्छ । अथवा गर्ने ल्याकत राख्छ । जस्तै कि सुधारवादी यहुदी युवक जिसस । संसारमा अहिले समय, जिसस भन्दा अगाडि र जिसस भन्दा पछाडि भनेर बिभाजित छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल पनि समयको त्यो बिन्दु आइपुगेको रहेछ । समय बिभाजित हुन ठिक्क परेको रहेछ । अथवा भनौं समयलाई सुत्केरी ब्यथाले च्यापी सकेको रहेछ । तर जसरी जुदासले समयको पदचाप सुन्न सकेन, म पनि समयलाई सुत्केरी ब्यथा लागेर चिच्याएको सुन्न नसक्ने गरि बहिरो भएको रहेछु । आज बिहानै पो समय सुत्केरी भएर नयाँ युग पाइसकेको रहेछ । आइ मिन नयाँ युगको शुरुआत भइ सकेको रहेछ । प्रात कालमै सो सम्बन्धि दिब्य ज्ञानमय सु-समाचार राष्ट्रिय दैनिकहरुमा बडे बडे फोटो र अक्षरमा देखेपछि मलाई कता कता लाज लागेर आयो । आफैलाई आफू समृद्ध युगको जुदास जस्तो लागेर आयो । खैर आफ्नो भुललाई संच्याउन पाइन्छ । आज म आफ्नो त्यही भुलसुधार गरौं भनेर आएको । युगले नबोलाएको भए, जाडोमा उङ्दै घाम ताप्नुको मजा जुन छ, त्यो समृद्ध पुराण भट्याउनुमा पटक्कै छैन । 

युग आजबाट सुरु भएकाले बिक्रम संवत् , नेपाल संवत् , इस्बि संवत् लगायत यो संवत् र त्यो संवत् कुनै संबतको काम छैन । आजैका मितीबाट हामीले ओली संवत् - ०१ सुरु गर्नुपर्छ । अब संघीय लोकतान्त्रिक गणतन्त्रको समय बिभाजन गर्नुपर्छ । ओली आउनु पुर्ब र ओली आइसकेपछि गरेर समयलाई टुक्र्याई दिनुपर्छ । जसले गर्दा समय र समृद्धिको कथा बुझ्न र व्याख्या गर्न सजिलो होस । समृद्धिपुर्ब र समृद्धि पश्चात् अर्थात अरु नजिकै र निजि भएर भन्नुपर्दा ओलीपुर्ब ( B.O) र ओली पश्चात् ( A.O.) । 
जसरी जिसस आउनुपुर्ब संसार असभ्य, अधर्मी, गरिब, स्वार्थी र कामुक थियो । ओली आउनुपुर्ब पनि नेपाल बर्बाद थियो । मान्छेहरुले नपत्याउन सक्छन, तर ओलिपुर्ब २०७४ साल सम्म नेपालमा भ्रष्टाचार हुन्थ्यो । कमिसन प्रचलनमा थियो । सरकारी कलम देखि वाईडबडी जहाज किन्दा सम्म ओलीपुर्बमा भ्रष्टाचार र कमिसन चल्थ्यो । 
B.O.2074 अर्थात ओलीपुर्ब २०७४ अगाडि बलात्कार हुन्थ्यो र अपराधीहरु पक्राउ पर्दैनथे । जतासुकै अन्याय ब्याप्त थियो । न्यायको हाहाकार थियो । किलोका किलो सुन तस्करी हुन्थ्यो र गोरेहरु पक्राउ पर्थे तर महागोरेहरु बचेर निस्कन्थे । सेन्डिकेट थियो । महंगी थियो । कालाबजारी थियो । जनजीवन कष्टकर तर भिआईपी जीवन मोजमा थियो । भिआईपीहरुका निम्ति अरर्बौंको घर र करोडौंका गाडीहरुको इन्तेजाम हुन्थ्यो । अर्थात छोटकरीमा भन्नुपर्दा, ओलीपुर्ब जे थियो बर्बाद थियो । खत्तम थियो । सत्यनास थियो । 
तर.......
तर जसरी जिसस सबै युगका, सबै पापीहरुका निम्ति, सुलीमा चडे ,त्यसपछि चमत्कार भयो । दैबका आफ्नै पुत्रको बलिदानले संसार एकाएक सभ्य र धर्मी भयो । धनी, निस्वार्थी र इन्लाईटेन्ट भयो । अरुका पाप मोचनका खातिर उनी सुलीमा चडेपछी पृथ्वीबाट अनन्त कालका निम्ति पाप नामेट भएर गयो । र च्याउ उम्रे सरी छ्याछ्याप्ती जतासुकै धर्मैधर्म उम्रन थाल्यो । 
त्यसरी नै ओली संवत् ०१ सुरु भएपछि नेपालमा समृद्धि नै समृद्धि उत्पत्ति हुन थाल्यो । आकाशमार्गबाट जोर वाईड बडीमा समृद्धि पैठारी हुन थाल्यो र भ्रष्टाचार र कमिसन जस्ता कुरा स्यालको सिङ हराए जस्तो एकाएक हराएर गए । भ्रष्टाचार निर्मुल मात्रै के भएको थियो, च्याउ पलाए जस्तो गरि जताततै न्याय पलाउन थाली हाल्यो । न्यायका निम्ति भोकै बस्नुपर्ने दिन गए । गोलि खानुपर्ने युगको अन्त्य भयो । जसले गर्दा छपक्कै सुशासन कायम भयो । अपराधीहरु दन्डित हुन थाले । निर्दोष र निमुखाको अपराधीकरण रोकियो । ओली संवत सुरु भएको ९ महिना पुग्दा नपुग्दै एकाएक संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल - छ्या नेपालबाट आहा: नेपालमा परिणत भयो । अर्थात छोटकरीमा भन्नुपर्दा एउटा ओलीयुग सुरु भएर संघीय लोकतान्त्रिक गणतन्त्रमा समृद्धि र शुसासन छेलोखेलो हासिल भयो । 
यो अवसरलाई सदुपयोग गर्दै तपाईंहरुलाई यसो ओलियुग अन्तर्गतको समृद्धिबर्षको शुभकामना पनि दिउ । तपाईंहरुका शुभकामना पनि ग्रहण गरौं । धेरै भयो भेटघाट छैन, यहि बाहानामा यसो भेटघाट पनि गरौं भनेर म उपस्थित भएको हुं । मेरो उपस्थिति तपाईंहरुका निम्ति खासै नरमाइलो नै भएन होला । हस्त ओली संवद ०१ को पुनः हार्दिक मंगलमय शुभकामना दिदै बिदा हुन चाहान्छु । 
जय समृद्धि ! 
जय शुशासन !!

GO TO HOME PAGE


Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक