(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20181125

अमरेशकुमार सिंहले माओवादीलाई शान्तिप्रक्रियामा ल्याउने कार्यमा सहयोगी भूमिका निर्वाह गरेकोमा पश्चाताप गरे


नेपाली काङ्ग्रेसका युवा नेता तथा सांसद (सङ्घीय संसद् सदस्य) डा. अमरेशकुमार सिंहले माओवादीलाई शान्तिप्रक्रियामा ल्याउने कार्यमा सहयोगी भूमिका निर्वाह गरेकोमा पश्चाताप गरेका छन् । हिंसात्मक एवम् ध्वंशात्मक गतिविधिमा रहेका माओवादीलाई लोकतान्त्रिक शक्तिका रूपमा रुपान्तरण गर्दै राजनीतिक मूलधारमा ल्याउने उद्देश्यले आफूले भरमग्दुर प्रयत्न गरेको तर माओवादी बाह्र वर्षमा पनि सुध्रिन नसकेको उनले बताए । माओवादी नेतृत्व मुलुक समृद्ध तुल्याउन नभई आफू तथा आफ्ना सन्तान, नातागोता र आसेपासेलाई धनी तुल्याउन लागिपरेको आरोप लगाउँदै उनले कथित जनयुद्धकालीन हतियारको उन्माद माओवादीहरूमा अझै कायम रहेको दाबी गरे । हालै आफ्नो गृहजिल्ला सर्लाहीमा नेकपा (पूर्वमाओवादी) का कार्यकर्ताद्वारा काङ्ग्रेस कार्यकर्ताको हत्या गरिएको घटनाप्रति आक्रोश जनाउँदै डा. सिंहले भने– ‘माओवादीलाई शान्तिप्रक्रियामा ल्याएर गल्ती गरिएछ, त्यसैको पाप लाग्यो ।’
० माननीयज्यू, हिंसात्मक गतिविधिमा रहेको माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन तपाईं निकै सक्रियताका साथ लाग्नुभयो, शान्तिप्रक्रियामा आइसकेपछिको यो बाह्र वर्षमा माओवादी रूपान्तरण भएको महसुस गर्नुभएको छ ?
– हो, म शुरुदेखि नै शान्तिप्रक्रियामा लागेको व्यक्ति हुँ । यसरी लागिपर्नुको कारण देशमा हत्या–हिंसा बन्द होस् र शान्ति अनि विकासको बाटोमा देश अघि बढोस् भन्ने नै थियो । तर, शान्तिप्रक्रियामा बाह्र वर्षभन्दा बढी समय खर्च भइसक्यो, जनताले तिरेको कर र देशको ढुकुटीबाट अर्बौं रकम खर्च भइसक्यो । तथापि, माओवादीको चरित्र अझै ‘चेन्ज’ हुन सकेको छैन । यतिबेला माओवादी र एमाले मिलेर ‘नेकपा’ बनेको छ, तर त्यसभित्रको एमाले लोकतान्त्रिक छ भने त्यसभित्रकै एक घटक माओवादीचाहिँ अहिले पनि हत्या–हिंसामा प्रवृत्त, जसरी पनि धनी बन्ने ध्येय बोकेको, चन्दा असुली गर्न उद्यत् देखिन्छ । अर्थात् पुरानो चरित्र उसमा अझै कायम देखिन्छ । यसको ज्वलन्त उदाहरणका रूपमा हालै सर्लाहीस्थित मेरो निर्वाचन क्षेत्रमा घटाइएको एक घटनालाई लिन सकिन्छ । नेपाली काङ्ग्रेसका कार्यकर्तामाथि गोली प्रहार गरी हत्या गरिएको उक्त घटनाले मलाई के महसुस गराइरहेको छ भने माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन लागिपरेबापत मलाई पाप लागेको हो ।
० किन यस्तो महसुस गर्नुभयो तपाईंले ?
– किनकि शान्तिप्रक्रियामा आउँदानआउँदै माओवादीहरूमा ‘धनी’ बन्ने प्रवृत्ति देखियो । उद्योगपतिदेखि सर्वसाधारणसम्मलाई धम्क्याउने, पैसा असुल्ने र अकुत रकम जम्मा गर्ने ‘ट्रेन्ड’ माओवादीमा देखियो । हो, राजनीतिमा पैसाको आवश्यकता पर्छ, अर्थात् पैसा भन्ने कुरा एउटा ‘निड’ हुन्छ अर्को ‘ग्रिड’ हुन्छ । माओवादी नेतृत्वमा पैसाको ग्रिड (लोभ) छ निड (आवश्यकता) होइन । माओवादी मूल नेतृत्व भनेपछि को हो र को रातारात धनी बनेको छ भन्ने त आमनेपाली जनताले बुझेकै छन् । १२ वर्षअघिको उहाँहरूको लवाइखवाई अनि विभन्न पुँजीपतिहरूसँगको उठबस, उनीहरूसँगको व्यापारमा लगानी जो देखिँदै छ, यो ठूलो विकृति हो । यसका साथै सर्लाही रामनगरलगायतका घटनाले के देखाउँछ भने शान्तिप्रक्रियाअन्तर्गत लडाकु समायोजनका नाममा, हतियार व्यवस्थापनको नाममा अर्बौं रुपैयाँ खर्च भएको छ र पनि माओवादी कार्यकर्ताहरू अहिले पनि अवैध हतियारले सुसज्जित छन् । त्यो कहाँबाट आयो ? अवैध हातहतियार त्यतिबेला पनि किन अनमिनको रोहवरमा जम्मा गरिएन ? सर्लाहीको घटना दिनदहाडै भएको छ । बन्दुक पड्काइएको छ, मानिस मरेको छ । त्यो बन्दुक कुनै सरकारी बन्दुक थिएन र कानुनी रूपले वैध बन्दुक त्यो होइन, अवैध हतियार हो त्यो । यस्तोमा खासगरी शान्तिप्रक्रियामा संलग्न व्यक्तिका नाताले हाम्रासामु प्रश्न खडा भएको छ कि अन्य राजनीतिक दल र नेपाली जनतालाई घाटा पुग्ने गरी हामीले पुलपुल्याएर जसरी माओवादीलाई शान्ति स्थापनाको नाममा ‘स्पेस’ दियौँ, यसैको पाप अहिले लागेको रूपमा मैले पछिल्ला घटनालाई लिएको छु । अन्तरिम संसद्मा एमालेबराबरको सिट दिनु, उसका लडाकुलाई मनपरी तलबभत्ता प्रदान गर्नु, ६–७ हजार लडाकु भएकोमा उन्नाइस हजारको माग स्वीकार गरेर तलब–भत्ता दिनु, त्यसअघि शुरुमा त अझ ३१ हजार सङ्ख्या भनेर रकम दिनु, यो सबैको पाप अहिले लागेकै हो हामीलाई ।
० अहिले तपाईंको जिल्लामा माओवादीले वितण्डा नमच्चाएको भए पनि तपाईं माओवादीबारे पुनर्विचार गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्नुहुन्थ्यो या पुग्नुभएको थियो त ? कि सर्लाही घटनापछि मात्र पाप लागेको अनुभूति भएको हो ?
– होइन, विगत दुई वर्षदेखि नै मलाई माओवादीको मौलिक चरित्र नसुध्रिएको अनुभूति हुँदै आएको हो । तीनपटक लोकतान्त्रिक प्रक्रियाको निर्वाचनमा सहभागी भइसक्दा पनि चरित्रमा सुधार नहुनु, रूपान्तरण भएको नदेखिनु त सामान्य कुरा होइन नि । त्यसमाथि सर्लाहीको घटनाले त मेरो आँखा छर्लङ्गै खोलिदियो । अर्थात्, सुतिरहेको मानिसलाई ब्युँझाइदियो यस घटनाले ।
० पाप लागेको महसुस त तपाईंलाई भएछ, अब यो पाप पखाल्न के गर्नुहुन्छ त ?
– या त माओवादीले स्पष्ट महसुस हुने गरी लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्नुपर्छ या त पहिलेकै व्यवस्थामा जानुपर्छ । माओवादीले सत्तामा बसेर आफ्नै कार्यकर्ताको हातबाट बन्दुक पड्काउन पाउँदैन । राज्यको बन्दुक पनि उसैसँग हुने अनि अवैध हातहतियार पनि उसैसँग हुने ? यो दुईवटै सास–साथ त जानै सक्दैन । जान दिइँदैन अब ।
० पहिलेकै अवस्थामा जाने भनेको के नि ?
– त्यो भनेको जोसँग अवैध हातहतियार छ उसलाई कानुनबमोजिम कारबाही हुनुपर्यो । मलाई के महसुस भइरहेको छ भने जुन सत्र हजार नेपालीको हत्या भएको छ, यो हिंसाविरुद्ध अहिलेसम्म एकजना पनि माओवादी नेतामाथि कारबाही नहुनु दुःखद छ । कुनै कारबाही नभएकैले यसरी उनीहरू साँढे बनेका हुन् । नेपालमै या हेगमा भए पनि कारबाही हुनुपर्थ्यो ।
० अबचाहिँ कारबाही हुनुपर्ने कि नपर्ने ?
– हुनैपर्छ नि ! म त त्यसको लागि आन्दोलन गर्छु । माओवादी नेतृत्वमाथि कारबाही भएन भने यो देशमा दिगो शान्ति स्थापना हुनै सक्दैन । मलाई लागेको थियो कि शान्तिप्रक्रियामार्फत नै दिगो शान्ति भइहाल्छ भन्ने, तर माओवादीको व्यवहार र माओवादी नेतृत्वको उद्दण्डताका कारण देशमा शान्ति हुँदैन भन्ने मेरो ठम्याइ हो ।
० यसरी बाह्र वर्ष बित्दा पनि माओवादीको उद्दण्ड व्यवहारमा परिवर्तन नआउनु, शान्तिको पक्षमा नहुनुका मुख्य कारण के–के हुन सक्छ ?
– माओवादीको कथित जनयुद्ध जो थियो त्यो पीडित नेपाली जनताको ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेर आफू सत्तामा आउनका लागि मात्र भएको रहेछ भन्ने मेरो ठहर छ । जनजाति, मधेसी, थारू सबैको इमोसनल फिलिङ्स क्याच गरेर उनीहरूको समर्थन लिइयो र आफूलाई सत्ताको शिखरमा नेतृत्वले चढायो । तर, आज ती पीडित सबै वर्ग या तप्का जहाँको तहीँ छन्, तिनको जीवनमा कुनै सकारात्मक परिवर्तन आएको छैन । तामाङ, थारू, लिम्बू, मगर कुनै समुदायमा कुनै परिवर्तन आएन । २–४ जना मगर या सम्बन्धित समुदायका नेताको जीवनमा व्यापक परिवर्तन आयो होला, तर आमतप्का अहिले पनि उही पीडामा छ । ती पीडित जनताको सहादत, आँसु, पसिनाको बलमा माओवादीका मुट्ठीभर नेताहरू धनी भए, शक्तिशाली बने, सत्ताधारी र पदनामधारी बने । तर, त्यो सत्ता र पद देशको सुशासन र समृद्धिका लागि भएन, बल्कि आफू र आफ्ना सन्तान, नातागोता धनी बन्न र बनाइनका लागि प्रयोग गरियो ।
० ६२/६३ तिर अर्थात् १२ बुँदे सम्झौता हुनुअघि जब तपाईंले प्रचण्डलाई भेट्नुभयो, त्यतिबेला यिनीहरू रूपान्तरण हुनै नसक्ने प्राणी हुन् भन्नेचाहिँ लाग्दै लागेको थिएन ?
– त्यतिबेला त्यस्तो बोध भएन । त्यतिबेलाको बोली–व्यवहार सुन्दा–देख्दा त उहाँहरू साँच्चै देश र समाजको परिवर्तन वा रूपान्तरणकै लागि अघि बढ्नुभएको छ भन्ने महसुस भयो । म त शुरुदेखि समावेशी लोकतन्त्र, गणतन्त्र, सङ्घीयताको पक्षधर व्यक्ति, यदि दुई समृद्ध छिमेकीको बीचमा रहेको हाम्रोजस्तो देशले यी कुरालाई सही हिसाबले अवलम्बन गर्न सक्यो भने देश छिट्टै विकसित र समृद्ध बन्छ भन्ने सोचका साथ म शान्तिप्रक्रियालाई सफल तुल्याउन लागेँ । तर, अहिले १२–१३ वर्षपछि त हामीले समृद्धिका नाममा के पायौँ भन्दा माओवादी नेतृत्वकै कारणले या पटक–पटक कम्युनिस्ट नेतृत्वकै सरकार बनेको छ, तर युवाहरूले रोजगारी पाएनन्, उनीहरू मलेसिया, कतार, साउदीजस्ता मुलुकमा श्रम बेच्न जान बाध्य हुनुपर्यो । देशका स्कुल–कलेज र विश्वविद्यालयहरू ध्वस्त पारियो, जुन–जुन मन्त्रालय माओवादीको हातमा पर्छ त्यो–त्यो अस्तव्यस्त र ध्वस्तै तुल्याइयो । शिक्षा, स्वास्थ्य मन्त्रालयपछि अहिले गृहमन्त्रालय ध्वस्त पारिँदै छ । म राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यका नाताले खुलासा गर्न चाहन्छु कि प्रहरीको उच्च (महानिरीक्षक तहको) प्रशासनको प्रतिवेदन छ कि माओवादीको नेतृत्वमा गृह प्रशासन भएपछि १० प्रतिशतले हत्या–हिंसाजस्ता अपराध बढेको छ । राजनीतिक सिद्धान्तसँग मेल खाइरहेकै छैन, ठ्याक्कै उल्टो भइरहेको छ । देशमा दुईतिहाइको कम्युनिस्ट सरकार छ भने यस्तो बेला हत्या–हिंसालगायतका अपराध कम हुनैपर्थ्यो । ल एन्ड अर्डर मजबुत हुनुपर्छ यस्तो अवस्थामा । तर, झन् ल एन्ड अर्डर बिग्रेको छ । यसो हुनुमा माओवादी मानसिकताकै हात छ । माओवादी नेतृत्व (गृहमन्त्री) चाहनुहुन्छ कि आफ्ना कार्यकर्तालाई दण्डहीनताको अवस्थामा राखेपछि समाजमा द्वन्द्व भड्किन्छ । आफ्नो कार्यकर्तालाई जस्तोसुकै अपराधमा छुट दिने, हत्याहिंसालाई बढावा दिने, सैद्धान्तिक रूपले इतर पक्षलाई चाहिँ निहुँ झिकी–झिकी ठेल्न र पेल्न खोज्ने प्रवृत्ति माओवादीको स्पष्टै देखिएको छ । यसले अब यिनीहरू सच्चिन नसक्ने रहेछन् भन्ने महसुस गराएको छ ।
० बाह्रबुँदे सम्झौता हुँदै गर्दाको अवस्थामा चाहिँ उहाँहरूको भनाइ के थियो ?
– उहाँहरू त्यतिबेला लाचार अवस्थामा हुनुहुन्थ्यो । बलियो अवस्थामा भएको भए वार्तामै आउनुहुने थिएन । राज्यको तर्फबाट त्यसबेला दबाब थियो र माओवादी नेतृत्व उपेक्षित अनुभूति गरिरहेको थियो । अन्तर्राष्ट्रिय माहोल पनि त्यस्तै थियो । मुख्य कुरा त काङ्ग्रेसबिना उहाँहरूको वैतरणी पार हुनेवाला थिएन । मलाई यतिबेला लाग्दैछ कि हाम्रा नेता गिरिजाप्रसाद कोइरालालाई पनि माओवादी नेतृत्वले झुक्याएको हो । आज गिरिजाप्रसाद हुनुभएको भए उहाँलाई पनि पक्कै पछुतो लाग्ने थियो कि बेकारमा यस्ता तत्वलाई शान्तिप्रक्रियामा ल्याइएछ भनेर । उहाँले त राम्रै मनसायले ल्याउनुभएको थियो, आफ्नो पार्टीलाई नै दाउमा लगाएर माओवादीलाई मूलधारमा ल्याउन कोसिस गर्नुभयो उहाँले र सक्नेजति सबै सुविधा दिनुभयो । एउटा खुलासा गरिदिऊँ, १ सय १६ करोडको बिल फर्स्योट गर्नका लागि जम्मा दुई लाइनको निर्णय गरियो र बाबुरामजीको क्याबिनेटले त्यसलाई लेखापरीक्षण पास गरियो, ता कि माओवादीको बेरुजु नठहरियोस् । तपाईं बताइदिनुस् कि कुनै नेपाली नागरिकले त्यो सुविधा पाउन सक्छन् ? जम्मा दुई लाइनको भौचरले एक अर्ब १६ करोडको हिसाब फर्स्योट हुन सक्छ ? यस्तो मिल्दैनथ्यो, तर गरियो । केको नाममा भन्दा शान्ति बहालीको नाममा । तर, राज्यले त्यत्रो सुविधा र त्याग देखाएर माओवादीलाई अवसर दिए पनि माओवादी सुध्रिएको रहेनछ, देशमा दिगो शान्तिको माहोल बनेको रहेनछ भन्ने हालैको सर्लाही घटनाले बोध गराएको छ । यस्तै हत्याहिंसा र बलात्कार बढ्दै जान्छ भने एमालेको नेतृत्वमाथि पनि अब औँला उठ्न थाल्नेछ, के माओवादीको यस्तो चरित्रमा पूर्वएमालेका नेता–कार्यकर्ताको पनि साथ र समर्थन रहिरहने त भन्ने सवाल स्वतः उब्जन्छ र आगामी दिनमा एमाले पनि कलङ्कित हुन्छ । पार्टी एक भएको भनिए पनि नेकपाभित्र दुईवटा घटक त प्रस्टै छँदै छ । अब एमाले घटकले आफू पनि माओवादी बन्ने कि माओवादीलाई आफूजस्तै लोकतान्त्रिक पक्षधर तुल्याउने भन्नेमा सोचेर कदम चाल्नु अपरिहार्य भएको छ । नेकपाको तल्ला तहमा एकताको प्रयास किन विफल भइरहेको छ भने एउटा लोकतान्त्रीकरणमा अघि बढेको पक्ष छ भने अर्को अझै पनि जनयुद्धको धङ्धङी बोकेर बाँचेको छ । अनि कसरी हुन सक्छ वास्तविक एकता ? शहर–बजार र मधेसमा भए बन्दुक ठोकिहाल्ने र पहाड या गाउँघरतिर लाठी–मुङ्ग्री र मुक्का बजाइहाल्ने माओवादी प्रवृत्तिलाई कसरी लोकतन्त्रप्रति प्रतिबद्ध ठान्ने ?
० अब कसरी सुधार्ने या पुनर्विचार गर्ने त ?
– यस्ता कुतत्वका विरुद्धमा समस्त लोकतान्त्रिक शक्ति एक हुनुपर्छ । लोकतन्त्रको पक्षमा उभ्याउनका लागि भरमग्दुर प्रयत्न गर्नुपर्छ । यति गर्दागर्दै पनि लोकतन्त्रको विरुद्ध जानेलाई राजनीतिक रूपमा सिध्याउनुपर्छ । ‘वर्तमान सरकारको तीन उपहार– हत्या, हिंसा र बलात्कार’ भन्ने बोली यतिबेला जताततै गुञ्जिएको सुनिन थालिएको छ । के पहिलेका कुनै सरकारविरुद्ध जनस्तरबाट यस्तो आवाज उठाइएको थियो ? यो तहको अपराध थियो ? नेपाल प्रहरी यति हतोत्साहित हुनुपरेको कहिल्यै थियो ? यो सबै माओवादी हाबी हुनुको परिणाम हो ।
० तपाईं यस्तो निष्कर्षमा पुग्नुभएको छ, तर तपाईंकै पार्टीका सभापतिले कतिबेला च्याप्पै समातेर प्रचण्डलाई प्रधानमन्त्री बनाइदिने हुन्, यसको त कुनै टुङ्गो छैन नि ?
– हाम्रा सभापतिले व्यक्तिगत रूपमा त्यसो गरिहाल्नुहोला भन्न सकिन्न । हाम्रो पार्टीका तमाम कार्यकर्ता एवम् नेताहरू र सभापतिसमेतको धारणा स्पष्ट छ कि नेकपाभित्रको माओवादी घटक नेपाली काङ्ग्रेसको हितैषी हुनै सक्दैन । हामीलाई प्रयोग मात्रै गर्न खोजिन्छ भन्ने बुझिसकिएको छ । प्रचण्डजीले गिरिजाप्रसादलाई राष्ट्रपतिमा धोका दिइसकेपछि बेलाबेला गोहीको आँसुु चुहाएको शैलीमा भन्नुभयो कि गिरिजाबाबुलाई राष्ट्रपति नबनाएर ठूलो गल्ती गरियो । त्यो अभिव्यक्ति पूरै नौटङ्की हो । कोइरालालाई प्रयोग मात्र गरिएको थियो, वास्तविक सहयोगी बनेकै होइन प्रचण्डजीहरू । जब–जब काङ्ग्रेसका लागि अलिकता कतै स्पेस आएजस्तो हुन्छ, त्यसबेला प्रचण्ड काङ्ग्रेसको विरुद्धमा उभिएका हुन्छन् । राष्ट्रपतिको पछिल्लो निर्वाचनमा र सभामुखको चयनमा पनि यस्तै भएको हो । नेपाली कङ्ग्रेसलाई झुक्याउने र झुकाउने चाल प्रचण्डले चाल्दै आएका छन्, तर म त माओवादी नेतृत्वसँग सङ्गत गरेको पात्र हुँ, किमार्थ झुक्किने र झुक्ने छैन । धेरै झुक्कियौँ होला, शान्ति र लोकतन्त्रका खातिर झुक्यौँ पनि होला, तर अब यो चल्दैन ।
० तपाईं त नझुक्किनुहोला, तर तपाईंको पार्टी–सभापति त पहिले पनि २–४ पटक झुक्किनुभयो, फेरि पनि झुक्किनुहुन्छ कि भनेको ?
– अब पनि त्यस्तो परिस्थिति आए त सभापतिलाई हामी आग्रह गर्छौं, दबाब दिन्छौँ । हामी हरदम लोकतन्त्रको पक्षमा उभिनुपर्छ । माओइज्मको पक्षमा उभिन हामीलाई कुनै जरुरी छैन भनी सम्झाउँछौँ हामी । माओवादीभन्दा कम्तीमा एमाले लोकतान्त्रिक पार्टी हो, त्यसैअनुसार अघि बढ्न प्रेरित गर्छौं । एमालेको आफ्नैखाले जालझेल त होला, तर ऊ लोकतन्त्रको विरुद्धमा जाँदैन । तर, माओवादी त मौका पाउनेबित्तिकै फेरि लोकतन्त्रको विरुद्धमा जान्छ, फेरि हत्या–हिंसा मच्चाउँछ र निरङ्कुश शासनतिर जान्छ ।
० यस्तो यथार्थ हुँदाहुँदै पनि फेरि पनि प्रचण्डको साथ लिएर काङ्ग्रेसको साङ्गठनिक शक्ति मजबुत तुल्याउने रणनीति काङ्ग्रेस नेतृत्वले अवलम्बन गर्न लागेको चर्चा चलेको छ त ?
– यस्तो कुनै सम्भावना छैन । यो कुरा त कपोलकल्पित हो भनेर बुझ्दा हुन्छ । राजनीतिमा हरेक खालको चर्चा चल्छ, तर यथार्थमा यो हुन सक्दैन ।
० यसको मतलब अब काङ्ग्रेसले प्रचण्डहरूलाई काँधमा बोक्दैन भन्नेमा तपाईं ढुक्क हुनुहुन्छ ?
– म ढुक्क पनि छु, कथम् त्यस्तै परेमा जस्तो अभियान छेड्नुपर्छ त्यसविरुद्ध छेड्न म हरदम तत्पर रहनेछु ।
० माओवादीहरू सुध्रिएनन् भन्ने निचोडमा त तपाईं पुगिसक्नुभएछ, अब राजनीतिक निकासका लागि प्रजातान्त्रिक शक्तिहरूबीचको एलायन्सले नै काम चल्छ कि थप अरू पनि आवश्यक पर्ला भन्ने ठान्नुहुन्छ ?
– राजनीतिमा सबै अहिले नै भनिहाल्ने स्थिति पनि छैन, घटनाक्रम कसरी अघि बढ्छ भन्ने कुराले पनि फरक पार्छ । तर, एउटा कुराचाहिँ के भने माओवादीहरू सुध्रिएका छैनन् । कुनै न कुनै प्रकारको हिंसाको माध्यमबाट नै उहाँहरू सत्ता कब्जा गर्न चाहिरहनुभएको छ, लोकतन्त्रमा विश्वास नराख्ने भएकाले चुनावी राजनीतिमा पनि विश्वास गर्दैन माओवादी नेतृत्वले, लोकतन्त्रमा जनता बलिया हुन्छन् जब कि माओवादी भनेको नेता बलियो हुने पद्धति हो । यो मूल भिन्नता छ हामी र माओवादीमा । यसरी हामी लोकतान्त्रिक संस्कार बोकेका र माओवादी यसको ठीक विपरीत उभिएकाले माओवादी र काङ्ग्रेसको कुनै मिलनबिन्दु हुनै सक्दैन ।
० माओवादीलाई शान्तिप्रक्रियामा ल्याएर पापै गरिएछ भनी तपाईंले भनिहाल्नुभयो, व्यक्तिगत तवरले यो पाप पखाल्न अब के गर्नुहुन्छ त ?
– लोकतन्त्रको पक्षमा म आन्दोलनको शुरुवात गर्छु । आन्दोलन विभिन्न प्रकारको हुन्छ, हाम्रो आन्दोलन अहिंसात्मक हुन्छ, त्यो विभिन्न चरणको हुन सक्छ, तर देशमा लोकतन्त्र कसैले नमासोस् भन्ने ध्येयका साथ लोकतन्त्रको विरुद्धमा जुन–जुन शक्ति उभिन खोज्छन् त्यसको विरुद्धमा आवाज बुलन्द गरिन्छ । अहिलेका लागि लोकतन्त्रको विरोधी शक्ति भनेको माओवादी नै रहेको मेरो ठहर छ । यो बुझाइका साथ बीपी र गान्धीको आदर्श वा सिद्धान्त मान्ने व्यक्ति हुनुका नाताले म यो अभियान मधेसबाटै शुरु गर्छु । मधेसमा कुनै पनि हत्या–हिंसाको राजनीतिलाई स्थान दिइनेछैन । मधेसी भूमि र मधेसका जनता त्यस्ता तत्वको विरुद्धमा हरदम उभिने छन् । झापादेखि कञ्चनपुरसम्मकै नेतृत्व लिने अठोट मैले गरेको छु । हामीले आगामी दिनमा चाल्ने कदमले नेपालको लोकतन्त्र सुदृढीकरणमा भूमिका खेल्नेछ, साथै कुनै पनि प्रकारका हत्याहिंसाको विरुद्धमा उभिने हाम्रो सत्प्रयासले विधिको शासन स्थापनाका लागि बल पुर्याउनेछ । कानुन आफ्नो हातमा लिएर हत्या–हिंसालाई बढावा दिनेहरूलाई कुनै हालतमा बलियो हुन दिइनेछैन ।
० तपाईंले अब गर्ने भनेको आन्दोलनमा सीके राउतले पनि साथ–समर्थन जनाए भने उनलाई स्थान दिने कि नदिने विचार छ नि ?
– सीके राउतजीको आन्दोलन छुट्टै किसिमको छ । हामी लोकतान्त्रिक पक्षधर हुनाले उनीसँग हाम्रो कुनै लेनदेन रहनेछैन । हामी एउटै नेपाल चाहन्छौँ र नेपालभित्र बसेर नेपाली जनताको समृद्धिका साथै लोकतान्त्रिक शासन–विधि हुर्काउने हाम्रो अभीष्ट हो । नेपाली जनताको अधिकार र लोकतन्त्रको भविष्य सुरक्षित गर्नका लागि हाम्रो आन्दोलन हो । - घटना र बिचारबाट 

GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक