20190119

वृन्दावनमा एक महिनाव्यापी धनुर्मास व्रतकथा (श्री व्रतम्) सम्पन्न !

ह्यारिसबर्ग पेन्सलभेनिया / श्री कृष्णद्वारा रचित रासलिलाझैं भगवान रंगनाथ र गोदा माताबीचको कथामहिमा दर्शाउँदै भक्तहरुलाई ईश्वरीय लिलाको प्रेरणा बुझाउने एक महिनाव्यापी धनुर्मास व्रतकथा (श्री व्रतम्) यही जनवरीको १४ का दिन सम्पन्न भयो ।
श्री स्वामी चक्रपाणी आचार्य (सिताराम अधिकारीजी) बाट कथा प्रवचन भएको सो एक महिने कार्यक्रम स्थानीय सामाजिक संस्था ‘हिन्दू धर्म तथा सांस्कृतिक संगठन’-ओ.एच.आर.सी. को आयोजनामा सम्पन्न
भएको हो ।
ह्यारिसबर्ग नगरकै स्थानीय हरे-कृष्ण मन्दिरमा सम्पन्न सो समापन कार्यक्रममा एक महिनाभरि चलेको सो व्रतकथा व्यवस्थापनमा लगातार योगदान दिने महानुभावहरुलाई अभिनन्दन पनि गरिएको थियो ।
अभिनन्दित हुनेहरुमा कथावाचक गुरु स्वयं, स्वयंसेवी श्री ठाकुर घिमिरे, श्री कैलाश धिताल, श्री श्याम धिताल र श्री सुमन अधिकारी रहेका थिए । उहाँहरुले गर्नुभएको सामाजिक योगदानको उदाहरण हेरेर समाजका युवा र नयाँ पुस्ताका बालजिज्ञासुहरुलाई पनि समाजसेवाको उत्प्रेरणा मिल्ने आशा राखिएको ध्यन्यवाद ज्ञापनको क्रममा ओएचआरसी-का अध्यक्ष श्री तुलाराम नेउपानेले बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेउपानेले धनुर्मासको कार्यक्रम शुरु भएदेखि समापनको दिनसम्म मन्दिर निर्माण अनुदान राशीमा कुल एक लाख, दुइ हजार, चार सय २१.७० अमेरिकी डलर संकलन भएको पनि बताउनु भयो ।
“विभिन्न स्थानमा आयोजन गरिएका कथावाचनका श्रोता र समस्त स्थानीय भक्तभागवतहरुले आ-आफ्नै गक्ष अनुसार स्वतःफूर्त गरेका आर्थिक अनुदान त छँदैछ, कथावचक आचार्य स्वयंले एक महिनाभरिको आफ्नो समयको निशूल्क लगानीका साथमा कार्यक्रमको समापनमा एक हजार आठ (१००८) डलर मन्दिर निर्माण कोशमा दान गर्नुभएर हाम्रो समाजलाई एउटा बलियो उदाहरण पेश गर्नुभएको छ”-अध्यक्ष नेउपानेले भन्नुभयो । उहाँले अझ जोड दिँदै भन्नुभयो,“धार्मिक-सांस्कृतिक कार्यक्रमहरुमा पठन-पाठन तथा प्रवचन गर्ने धेरै गुरु-आचार्यमध्ये स्वामी श्री चक्रपाणी समाजमा नयाँ परम्पराको नजिर बसाल्ने एक सूत्रधार बन्नुभएको हामीले महसूस गरेका छौं । समाजलाई दिशानिर्देश गर्न चाहनेहरुले यसरी नै ऐतिहासिक अडान लिएर अघि बढ्नुपर्छ । यस्ता अनेक उदाहरणीय कार्यका साथै एकताबद्ध समाजको अस्तित्वनिर्माणमा महत्वपूर्ण योगदान गर्नुभएका स्वामीजीप्रति हामी विशेष आभार व्यक्त गर्दछौं ।”
धार्मिक, सांस्कृतिक, सामाजिक कार्यक्रमहरुको आयोजना गर्नलाई आफ्नो सामाजिक स्थल, कक्ष, भवन केही पनि नभएका कारण हिन्दू-विशेष गरी नेपालीभाषीका सामाजिक/सांस्कृतिक महत्वका अनेकौं कार्यक्रमहरु गर्नै नसकिरहेको अवस्थालाई बुझेर सो भवन निर्माणका खातिर प्रत्यक्ष/अप्रत्यक्ष योगदान दिनुहुने सबै व्यक्तित्वहरुलाई अध्यक्ष नेउपानेले धन्यवाद ज्ञापन गर्नुभयो ।
हिन्दू धर्म तथा संस्कृतिप्रेमी सारा स्थानीयवासीहरुको लागि हुने गरी ह्यारिसबर्गमा एउटा सामुदायिक भवन स्थापना गर्ने उद्देश्यमा नव-हरिहरधाम परियोजना लिएर ओएचआरसी द्रूत्ततर गतिमा केही वर्षदेखि नै क्रियाशील बन्दै आएको छ । 
श्री तुलाराम नेउपानेले
अध्यक्ष: हिन्दू धर्म तथा सांस्कृतिक संगठन (ओह्र्क)




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक