20190308

मैले प्रयोग गरेको उखानकाे शब्दले दिने अभिधार्थका कारण कसैलाई चोट पुगेको भए त्यस प्रति म क्षमा याचना गर्छु - कोमल वली

Image may contain: 3 people, people smilingचर्चित लोक गायिका एबम राष्ट्रिय सभा सदस्य कोमल वलीले एक प्रेस बिज्ञप्ती जारी गर्दै भनेकी छिन - "मेरा प्रिय समर्थक, मेरा अग्रज र मलाई सधैं हौसला दिनुहुने तपाईंहरु सबैलाई नमस्कार । म विश्वस्त छु, अहिले राष्ट्रिय सभा सदस्यको हैसियतले मैले मेरै समाजका समस्याहरुलाई त्यहाँ आवाज उठाउने प्रयास गरिरहेको कुरा
तपाईंहरुले बुझ्नु भएकै छ । मलाई विश्वास छ, परिस्कृत र समुन्नत समाज, विकसित र शिक्षित समाज बनाउन मेरा कदममा तपाईंहरुको पनि साथ हुनेछ ।

हाम्रो समाज विकसित भए हामी सबै खुसी हुन्छौँ, सबैले न्यायको प्रत्याभूति गर्न पाउँछौँ भन्ने मेरो विश्वास छ । यसका लागि हामीले यसअघि पढ्दै आएका, सुन्दै आएका र भन्दै आएका कतिपय प्रसङ्ग अब परिवर्तन गर्नु पर्ने भएको छ । यो प्रक्रिया भनेको अनलर्निङ अर्थात् पुनर्सिकाइको प्रक्रिया हो । म पनि अनलर्निङको प्रक्रियामा छु, हाम्रो समाज पनि यही प्रक्रियामा छ । हामीले यो प्रक्रिया अझ छिटो उपलब्धिमूलक बनाउनु पर्ने आवश्यकता छ, जसका कारण हिजोका कुविचार, कुव्याख्या तथा नमिठा शब्दहरु, भनाइहरु, उखानहरु, उत्पीडनहरु, समस्याहरु, सोचहरु, विचारहरु, मानसिकताहरु परिवर्तन हुँदै जाउन् ।

यो सन्दर्भ पछिल्लो समय मैले कान्तिपुर टेलिभिजनकाे एउटा कार्यक्रममा दिएको अभिव्यक्तिबाट सिर्जित बहस, तरङ्गलाई जोड्न निकालेकी हुँ । त्यस कार्यक्रममा मलाई जीवित हुँदा नै केही राम्रो कर्म गर्न मन भएको तर मृत्युपछिको सम्मानलाई विश्वास नगर्ने भन्ने मेरो भावना अभिव्यक्त गर्न मैले एउटा परम्परागत लाेक उखान प्रयोग गरेकी थिएँ ।
सामान्यतः उखानलाई यसले प्रवाह गर्ने अभिप्राय वा व्यङ्ग्यार्थ वा लक्ष्यका दृष्टिले  मात्र महत्त्व दिनुपर्छ । नेपाली लाेक जीवनमा यस्ता धेरै परम्परागत उखानहरू छन् जसले व्यञ्जनात्मक रूपमा अर्थ दिन्छन् । कुनै कुनै उखानहरूका शब्द तहमा देखिने अभिधार्थले कुनै जाति वा वर्गलाई हाेच्याउने वा उच्याउने किसिमका भूमिका खेलेकाे देखिन्छ । त्यसैले बदलिंदाे समयमा त्यस्ता उखानहरू प्रयाेग गर्दा हामीले विशेष सावधानी अपनाउनु जरुरी छ ।्"     

वलीले बिज्ञप्तिमा अगाडि भनेकी छिन  - "नेपाली समाजमा प्रचलित त्यो उखान मैले अपर्झट भनेकी थिएँ, त्यो प्रसङ्गमा जोडेकी थिएँ । मेरो मस्तिष्कमा तत्कालीन समयमा यसले पुर्याउने हानी, यसले मेरै समाजको एउटा समुदायलाई चोट पुर्याउन सक्छ भन्ने कल्पनासमेत थिएन । यो त विविध सन्दर्भमा उखान प्रयोग गर्ने बानीको आकस्मिकता मात्र थियो । त्यो उखानको सन्दर्भ मैले योजना बनाएर गरेकी थिइनँ, आकस्मिक प्रयोग थियो !

विडम्बना ! त्यो आकस्मिक प्रयोगलाई अहिले एउटा ‘इस्यु’ बनाएर ममाथि सामाजिक सन्जालमा प्रहार भइरहेको रहेछ । जसले मैले भनेका शब्दहरुबाट आफ्नो मन दुखेको बताउनु भएको छ, उहाँहरुबाटै ममाथि त्योभन्दा बढी असभ्य शब्द प्रयोग भएको सामाजिक सन्जालमा भेटेकी छु । यसबाट मैले निष्कर्ष निकालेकी छु– हाम्रो समाजमा अनलर्निङको प्रक्रिया अझ आवश्यक छ, अझ प्रभावकारी रुपमा अगाडि बढ्नु पर्ने हुन्छ ।

यसबीच मेरो भनाइका कारण आफूलाई चोट पुगेको ठान्नुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अनुरोध गर्न चाहन्छु– मन नदुखाउनुहोस्, कोमल वली कसैका लागि छुरा बन्ने सोच्दिनँ र म नेपालका मात्र होइन, विश्वका सबै जाति, समुदायप्रति उच्च सम्मान भाव राख्छु, राख्नेछु । त्यसैले त्यो कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ । मैले प्रयोग गरेको उखानकाे शब्दले दिने अभिधार्थका कारण कसैलाई चोट पुगेको भए त्यस प्रति म क्षमा याचना गर्छु ।
अन्त्यमा त्याे उखान प्रयाेगकाे लक्ष्य कुनै समुदायकाे मर्यादाका अाँच पुर्याउनु नभएकाे र मेराे सबै जाति तथा समुदायप्रति समान उच्चसम्मान रहेकाे व्यहाेरा समेत विनयतापुर्वक अनुराेध गर्दछु ! "
धन्यवाद
- कोमल वली
सदस्य, राष्ट्रिय सभा

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक