20190709

म यस कारण अन्तर्राष्ट्रिय जागिर छाडेर राजनीतिमा आएँ : सिद्धी अर्याल

अन्तर्राष्ट्रिय जागिर र त्यसैसँग प्राप्त सुखसुविधा छाडी जन्मभूमि फर्किएर राजनीतिमा लाग्ने मेरो निर्णयबाट चिन्नेजान्ने सबै अचम्ममा परेको हुनुपर्छ।
राजनीतिबाट पृथक रही व्यक्तिगत र पारिवारिक उपलब्धिमै रमाएर मुलुकको दुर्दशा र नेतागणको दुश्कर्मबारे टिप्पणी गर्नु संसारका अधिकांश समाजको प्रवृत्ति हो। सम्भवत: नेपालजस्ता अविकसित समाजहरूमा त्यो प्रवृत्ति व्यापक छ। त्यसले पढेलेखेका, इमानदार पेसाकर्मीहरू आम रूपमा राजनीतिबाट टाढै रहन चाहन्छन्।
मुलुकको दुरावस्था देख्दादेख्दै म पनि आजसम्म राजनीतिबाट टाढै थिएँ। धेरै सोच र चिन्तनपछि मैले आफ्नो भौतिक उपलब्धिको आकासलाई सीमित पारेरै सही, केही गर्ने उमेर छँदै आफ्नो क्षमतालाई मुलुकको सेवामा समर्पण गर्ने निर्णय लिएको छु।

काम सिलसिलमा विश्वका धेरै विकासोन्मुख देश घुमेर त्यहाँका वास्तविकता नजिकबाट हेर्ने मौका पाएँ। द्रुत गतिमा विकासको छलांग लगाउन सफल मुलुकको सुरूआती विन्दुलाई सम्भव बनाउने तत्त्वहरूबारे बुझेँ।
गएका बीस-पच्चीस वर्षमा लाओस र कम्बोडिया कसरी बदलियो, अफ्रिकाका तन्नम देशहरूले कसरी कोल्टे फेरे, विकसित देशहरूले के कारणले आफ्नो सुशासन, प्रगति र स्थिरता कायम गर्न सके भन्ने मैले आफ्नै आँखाले देख्ने अवसर पाएँ।
ती देशका कयौँ स्थानीय, क्षेत्रीय र केन्द्रीय सरकारका अधिकारीसँग काम गर्ने अवसर पाएँ। त्यसपछि पन्ध्र सयभन्दा बढी युवा प्रतिदिन विदेसिन बाध्य नेपाल आमाको दुर्भाग्य झल्झली सम्झेर रसाएका आँखामा हरहमेसा एउटै प्रश्न आउँथ्यो। हाम्रो यो दुरावस्था कहिलेसम्म?
सानै छँदा आमा र दिदीभाइ गुमाएका र दस कक्षापछि काठमाडौँ आई फुपूको घरमा बसी स्नातक गरेका मेरा बुबाले नेपाल औद्योगिक विकास निगमको सहायक स्तरबाट सेवा सुरू गर्नुभयो। त्यहीँबाट शाखा प्रमुखका रूपमा अवकाश लिउन्जेलसम्म हामी तीन छोराछोरी र बुबाआमालाई आम नेपाली मध्यमवर्गीय परिवारलाई पर्ने आर्थिक कठिनाइले कहिल्यै छाडेन।
सानो छँदा एक महिना हाम्रो स्कुलको शुल्क र अर्को महिना असनका नीलरत्न साहुको रासनको पैसा तिर्नुपर्दाको तनाव र वेदना कहिल्यै बिर्सन सक्दिनँ।
परिवारको स्वास्थ्य उपचारका लागि समेत स्रोत नहुने ती दिनहरूले ल्याउने चिसोपन त्यति बेला मेरो बल र संकल्पमा बदलिन्छन्, जब बुबाआमाको बोली याद गर्छु। आफ्नो जीवनभरको कमाइबाट माटोले गारो लगाएको भुइँतले तीनकोठे घरलाई कार्यालयबाट तलब काट्ने गरी लिइएको निर्माण कर्जाले दुईतले बनाई तीनै सन्तानलाई पढाउने र आ-आफ्ना हिसाबले सफल बनाउने मेरा बुबाले बारम्बार भन्ने गर्नुहुन्थ्यो, 'घुसको पैसाले सन्ततिलाई पोल्छ, बरू दु:ख होस्, पापको कमाइमा बाँच्न नपरोस्।'
सरल रूपमा बुझ्ने हो भने, नेपालको हालको दुरावस्थाका लागि शतप्रतिशत जिम्मेवार त्यही पापको कमाइमा बाँचेको एउटा सानो वर्ग छ, जसमा न मानवीय संवेदना छ, न देशप्रेम छ, न आफ्नै सन्तानको भविष्यप्रतिको चेतना नै छ।
त्यो वर्गले नेपाली समाजको ठूलो खण्डलाई विकृत बनाएको छ र देशलाई भित्रभित्रै खोक्रो पारेको छ। सम्पूर्ण परिपाटी नै त्यो भ्रष्ट सञ्जाललाई बढावा दिन बसालिएजस्तो लाग्छ।
यो परिपाटी कसरी बदल्ने? हिजो मेरो बालापनमा आर्थिक अभावका कारण मैले भोगेका दु:ख, तिनका बाबजुद मेरा अभिभावकले लिएको नैतिक मार्ग र हाम्रो परिवारको सीमित समृद्धिले मलाई भित्री मनमै यो विश्वास दिएको छ, कुकर्म नगरी पनि उन्नति गर्न सम्भव छ।
पाप गर्न अन्तरआत्माले कसैलाई प्रेरित गर्दैन। यदि प्रणाली र पद्धति नै नैतिक बनाइयो भने, निष्पक्ष फैसलाले दोषीलाई कडा दण्ड दिने विश्वास जगाउन सकियो भने र राज्यले आफ्नो सीमित साधन र स्रोतले राजनीतिज्ञका आसेपासेको भरणपोषण नगरी विशुद्ध कल्याणकारी राज्यको कर्तव्य निर्वाह गर्न सक्ने हो भने हामी हालको परिस्थिति बदल्न सक्छौं।
हालको माहौलमा धेरैले राजनीतिलाई फोहोरी खेल र राजनीतिज्ञ भनेको मूलत: भ्रष्ट, अनैतिक र जिम्मेवारीलाई न्याय गर्न नसक्ने व्यक्तिका रूपमा हेर्छन्। बहुसंख्यक नेपाली जनताको अपेक्षाअनुसार पुराना दलहरूभित्रै रही स्वच्छ राजनीतिको बाटो हिँड्ने ती दलका साथीहरूको दसौं वर्षको प्रयाससमेत टुप्पादेखि जरासम्म फैलिएको विषाक्तता हटाउन विफल भएको हामी सबैले देखेकै छौं।
यस्तो निराशाजनक परिस्थितिमा आशाको किरणका रूपमा आएको सुसंस्कृत राजनीति र पद्धतिमा आधारित सहभागितामूलक लोकतन्त्र, समतामूलक समाजको परिकल्पना, कल्याणकारी लोकतन्त्रको विचार बोकेको र देश रूपान्तरणको दृढता तथा इमानदारीले भरिएको साझा पार्टीलाई मेरो जीवनको नयाँ मार्गका रूपमा चुन्न पाएकोमा हर्षित छु।
मलाई थाहा छ, नेपाल र विदेशमा बस्ने धेरै असल नेपालीहरू अझै पनि के साझा पार्टीले साँच्चिकै देश परिवर्तन गर्न सक्ला त भन्ने आशंका लिएर ‘पर्ख र हेर’ को अवस्थामा बसेका छन्। त्यो आशंका ममा पनि नआएको होइन।
सबैले आशंका मात्र गर्ने र आत्मविश्वास नजगाउने हो भने हरेक दिन कुकृत्यले लिप्त पुराना पार्टीबाट देश बन्ला त? बन्दैन भन्ने हो भने कसै न कसैले त अग्रसरता लिनै पर्थ्यो र म पनि त्यही अग्रसरताको अंश बनेको हुँ।
नेपालको उन्नति विदेशीले ल्याउने परियोजानबाट मात्र होइन, हामी नागरिकले गर्ने नैतिक व्यवहार, मौलिक र सामाजिक परम्पराको संरक्षण, सम्वर्द्धन, समयानुकूल परिवर्तन र परिपालनाबाट हुन्छ।
मेरो अनुभवमा निष्ठावान कर्मचारीहरू र नागरिकहरूले राष्ट्रहितलाई सर्वोपरी राख्ने हो भने अन्तर्राष्ट्रिय सहयोग र सद्भावलाई समेत परिणाममुखी बनाउन सम्भव छ। यही विश्वासका साथ साझा पार्टीको केन्द्रीय सदस्यका रूपमा नेपाल आमाको सेवामा समर्पित भई पार्टीका सिद्धान्तले निहीत गरेका आदर्श पालन गर्दै निम्न मूल्य र मान्यतालाई मन, वचन र कर्मले पालना गर्ने प्रण गर्छु।
- कर्मठ भई राष्ट्र निर्माणमा कडा परिश्रमका साथ काम गर्नेछु।
- आफ्नो काममा सम्पूर्ण रूपले नैतिक आचारसंहिता पालना गर्नेछु।
- कुनै पनि परिस्थितिमा राष्ट्रिय हित र स्वार्थमा सम्झौता नगरी पूर्ण नैतिकतासाथ जिम्मेवारी वहन गर्नेछु।
- हालसम्मका परिवर्तनले छुन नसकेका बहुसंख्यक नेपाली दाजुभाइ दिदीबहिनीका भोगाइ र दु:खहरूलाई कहिले पनि नबिर्सिएर आफ्ना हरेक निर्णय उहाँहरूलाई केन्द्रमा राखेर लिनेछु।
- आफ्ना काम, प्रक्रिया र निर्णयहरू पूर्ण रूपमा पारदर्शी राख्नेछु।
(डा. अर्याल सयवटा भन्दा बढी राष्ट्रमा कार्यरत परामर्शदातृ संस्था क्युइडी ग्रुपका एसिया क्षेत्रका निर्देशक थिए।)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक