20191107

धनी हुने रहर छ भने यसरी गर्नुस् बचत !


यज्ञ बञ्जाडे
काठमाडौं — धेरै पैसा कमाएर धनी बन्ने रहर अधिकांशलाई हुन्छ । तर, चाहदा चाहदै पनि अधिकांशको त्यो रहर पुरा हुन सकेको हुदैन । धनी बन्नका लागि सबैभन्दा पहिले तपाइंसँग बचत गर्ने चाहाना हुनुपर्छ । हुनत पैसा जोगाउने र बचत गर्ने चाहना अधिकांशमा हुन्छ । तर, चाहँदा चाहँदै पनि सबैले पैसा जोगाउन सकिरहेका हुदैनन् । साँच्चै पैसा बचत गरी सही ठाउँमा उपयोग गर्न चाहनुहुन्छ ? त्यसो हो भने यी उपायहरु पयोगी हुन सक्छन ।

आवश्यक ठाउँमा मात्र खर्च
जबसम्म खर्च घटाउनु हुन्न तबसम्म बचत हुन सक्दैन । त्यसैले आफ्ना खर्चका शीर्षकहरू केलाउनु होस् । ती मध्ये कुन बढी र कुन कम महत्वपूर्ण हुन् छुट्टयाउनुहोस् । त्यसको आधारमा पैसा खर्च गर्नुहोस् । अफिसका साथीहरूसँगै खाजा खान जाने गर्नुहुन्छ भने ‘गोइङ् टुगेदर, पेईङ् सेपरेट’(सँगै खाने तर अलग–अलग तिर्ने) बानी बसाल्नु होस् । सबै साथीहरूको बिल आज तपाईले तिर्ने र भोलि अर्काले तिर्नु नराम्रो त होईन । तर, सबै साथीहरूको स्वभाव एकै प्रकारका हुँदैनन् । आफ्नो पालोमा उनीहरूले पैसा नर्तिन विभिन्न बाहना गर्न सक्छन् । यस्तो स्थितीमा तपाईको मात्र खर्च बढी हुन सक्छ । आज साथीले खाएको खाजाको पैसा नतिर्दा भोलीलाई तपाईको खाजाको लागि पैसा बचत भईरहेको हुन्छ ।
धेरै उत्साहित नहुनुहोस
के तपाईको तलब बढेको छ ? पदोन्नती भएको छ ? कुनै खुशीको दिन हो ? यस्तो बेलामा सतर्क हुनुहोस । साथीहरूबाट शुभकामनाका साथै भोजभतेरको आग्रह पनि आउन सक्छ । साथीहरूले भनेकै भरमा अनावश्यक खर्च गर्दा तपाईको पैसा धेरै खर्च हुन्छ । यस्तो अवस्थामा आफ्नो वास्तविक धरातल नबिर्सनुहोस । आवश्यक ठानेमा मात्र उचित पैसा खर्च गर्नुहोस । यस्ता क्षेत्रमा प्रयोग हुने पैसालाई बचत गर्न सकेमा भविष्यमा ठूलो आर्थिक समस्या सुल्झाउन सकिन्छ ।
आवश्यक सामानमात्र खरिद
श्रीमान–श्रीमती र साना छोराछोरीसँगै किनमेल गर्न जाँदै हुनुहुन्छ ? त्यसो हो भने बिचार पुर्‍याउनु होस् । तपाईंका छोराछोरीले बजारमा देखिने आकर्षक सबै वस्तु किन्न जिद्धी गर्न सक्छन् । उनीहरूको माग अनुसार किनमेल गर्दा धेरै खर्च हुन सक्छ । तपाईका बाल–बच्चा र श्रीमान–श्रीमतीको बढी ढिपी गर्ने बानी छ ? हो भने, किनमेलमा जाँदा उनीहरूलाईसँगै नलैजानुहोस । उनीहरुका लागि पनि आवश्यकता अनुसार आफैले सामान खरिद गर्नुहोस । नियमित रुपमा होटल तथा रेष्टुरेण्टमा खाना खाने बानी छ ? अव त्यसलाई कम गर्नुहोस । तपाईंले घरमै पनि राम्रा परिकार बनाएर खान सक्नुहुन्छ । घर बाहिर खानाका लागि जति खर्च लाग्छ  । त्यसले तपाईको सम्पूर्ण परिवारलाई खान खुवाउन पुगेर पनि बचत हुन सक्छ । बाहिरको खानाको तुलनामा घरमै पकाएर खाँदा तपार्इंको स्वास्थ्य बिग्रने सम्भावना पनि कम हुन्छ । यसले स्वास्थ्य उपचार खर्च पनि कम हुन्छ ।
एकै ठाउँमा मात्र किनमेल
पैसा बचत गर्नका लागि तपार्इंले जहाँपायो त्यही किनमेल गर्न छोड्नु होस् । एकै ठाउँमा किनमेल गर्दा विक्रेतासँग राम्रो सम्बन्ध बन्ने भएकाले केही सस्तोमा सामान पाइन सक्छ । किनमेल गर्न जाँदा धेरै मोलतोल (बार्गेनिङ) गर्नुहोस् । वस्तुको परिमाण भन्दा गुणस्तरलाई ध्यान दिनुहोस । आज तपाईले किनेको गुणस्तरीय वस्तुले लामो समयसम्म त्यसको आवश्यकता टर्न सक्छ । यसो गर्दा तुरुन्तै उक्त वस्तु खरिद गर्ने आवश्कता हुदैन । परिणाम बचत वृद्धि हुन्छ ।

पैसाको महत्व 
लामो समयसम्म फेला नपरेको/डुबेको तपाईको पैसा उठ्ती भएको छ ? चिट्ठा, उपहार मार्फत ठूलो रकम हात परेको छ । यदि हो भने, त्यसलाई सही सदुपयोग गर्नुहोस । त्यत्तिकै आएको त हो भनेर अनावश्यक खर्च नगर्नु होस् । तपाईले कसैलाई ऋण दिनु भएको छ भने समयमै उठाउनुहोस् । लामो समय भएपछि ऋण उठाउन अप्ठ्यारो पर्नसक्छ ।
आजैदेखि बचत
नियमित बचत गर्ने बानी आजैदेखि शुरू गर्नुहोस । आजको सानो बचतले पूँजी निर्माणमा ठूलो सहयोग हुन्छ । आज  खर्च गर्दा भोलीको बारेमा पनि सोच्नुहोस । भोलीका लागि केही बचत गर्नुहोस । बचत बैंकिङ तथा वित्तीय संस्थामा गर्नुहोस् । त्यसो गर्दा बचत सुरक्षित हुनुका साथै ब्याज पनि पाइन्छ । यसरी संकलन भएको बचतबाटै बैंकले ऋण प्रवाह गर्ने भएकाले त्यसले आर्थिक गतिविधिमा पनि महत्वपूर्ण योगदान पुग्छ ।

देखासिखी नगर्नुहोस 
अरुको देखासिखी गर्ने बानी धेरैमा हुन्छ । सबै अवस्थामा त्यस्तो बानी राम्रो हुदैन । अरुको देखासीखी गरी अनावश्यक/अनुत्पादक क्षेत्रमा खर्च नगर्नूहोस । आफ्नो क्षमता र आवश्यकताका आधारमा मात्र खर्च गर्नुहोस । ‘अरु घोडा चढे भन्दैमा आफु धुरी चढ्ने’ गल्ति नगर्नुहोस । यही बानीले पनि धेरै रकम बचत गर्न सकिन्छ ।
नियमित बचत
नियमित बचत गर्ने बानीले पनि ठूलो रकम जम्मा गर्न सकिन्छ । कर्मचारी संचयकोष, नागरिक लगानीकोष, बिमा, बैंक तथा वित्तीय संस्थामा बचत गर्नु राम्रो हो । यस्ता बचतले व्यक्तिको हातमा नगद कम हुने भएकाले अनावश्यक खर्च नियन्त्रण हुन्छ ।
अन्त्यमा, पैसा जोगाउन सजिलो छ । त्यसकालागि तपाईंको दृढ इच्छाशक्ति चाहिन्छ । प्रत्येक पटक खर्च गर्नु अघि एक पटक सोच्नुहोस । तपाई कहाा र किन खर्च गर्दै हुनुहुन्छ ? त्यसको उपयोगीता के र कति छ ? यत्ति कुरामा मात्र ध्यान दिन सक्नुभयो भने छिट्टै तपाईंले सोचेको भन्दा बढी बचत गर्न सफल हुनुहुनेछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक