20191214

व्हाइट हाउस अगाडि जाउँ, भारतीय ज्यादतिको बिरोध गरौँ !


सदियौँ देखी हामी हाम्रो छिमेकी देश भारतबाट हेपिँदै, मिचिँदै, थिचिँदै आएका छौँ । हाम्रा सिमानाहरू सारिँदा, नेपाली भूभाग भारत तिर पारिँदा, हाम्रो पानी हामीलाई उपयोग गर्न नदिई बाँध बाँधेर सीमा पारी झारिँदा हामी नेपाली माथि कति अन्याय र अत्याचार भएको छ त्यसको कुनै लेखाजोखा छैन । रोटी बेटीको हाम्रो सम्बन्ध भन्दै छिमेकी राष्ट्र भारतले हामी माथि गर्दै आएको थिचोमिचो इतिहास देखी आज सम्म निरन्तर जारी छ । कालापानी, लिपुलेक, लिम्पिया धुरामा मात्र होइन नेपाल भारत सीमा क्षेत्रका हजारौँ हेक्टर नेपाली भूभाग हडप्ने, रातारात सीमा सार्ने, नेपाली भूभाग आफ्नो तिर पार्ने भारतीय गिद्दे दृष्टि अत्यन्त खेद जनक छ ।

यो कुरा कसैबाट पनि छिपेको छैन कि हाम्रा धेरै जसो नेपाली राजनीतिक पार्टी र तिनका नेताहरू आफ्नो राजनीतिक स्वार्थको लागि भारतसँग बारम्बार लम्पसार परिरहँदा, भारतसँग सन्धि सम्झौता गरिरहँदा नेपाल र नेपाली जनतामाथि ठुलो घात भइरहेको छ । पछिल्लो समय भारतले जारी गरेको नक्सामा भारतले नेपाली थुप्रै भूभागहरू आफ्नो तिर पारेको घटनाले राष्ट्रलाई माया गर्ने हरेक नेपालीहरू मर्माहत र आक्रोशित हुनु स्वाभाविकै छ ।           

अन्तर्राष्ट्रिय कलाकार मञ्च भारतीय पक्षबाट इतिहास देखी वर्तमान सम्म भएका सिमा मिचाई, थिचोमिचो, अन्याय, अत्याचारको घोर भर्त्सना गर्दछ । सँग सँगै हाम्रा धेरै जसो नेपाली राजनीतिक पार्टी र तिनका नेताहरू आफ्नो राजनीतिक स्वार्थको लागि भारत सँग बारम्बार लम्पसार परिरहँदा, भारतसँग सन्धि सम्झौता गरिरहँदा नेपाल र नेपाली जनतामाथि ठुलो घात भइरहेको प्रति दुःख व्यक्त गर्दै त्यस्ता राष्ट्रद्रोहीहरुको निन्दा पनि गर्न चाहन्छ ।


यसै सन्दर्भमा यही डिसेम्बर १५ तारिख आइतबारका दिन भारतीय ज्यादतीका विरुद्ध अमेरिकाको राजधानी वासिङ्टन डिसी स्थित व्हाइट हाउस अगाडि बिहान १० बजे देखी १ बजे सम्म हुने नेपालीहरूको स्वतःस्फूर्त विरोध प्रदर्शनमा पूर्ण रूपमा ऐक्यबद्धता जनाउँदै अन्तर्राष्ट्रिय कलाकार मञ्च पनि उक्त विशुद्ध राष्ट्रिय महत्त्वको विषयमा सहभागी हुने घोषणा गर्दछ । कालापानी, लिपुलेक, लिम्पिया धुरा सहित कैयौँ नेपाली भूभागहरू माथि भारतीय कब्जाको विरोध गर्न, यो ज्यादतीका विरुद्ध संसारकै ध्यान आकर्षण गर्न आयोजित उक्त कार्यक्रममा सहभागिताका लागि सबै कलाकारहरू, नेपाली समुदायमा हार्दिक अपिल पनि गर्दछ ।

नेपाल छ र हामी नेपाली रहन पाएका छौँ । आफ्नो मातृभूमि सबैका लागि प्राण भन्दा प्यारो हुन्छ । हामी नेपालीलाई पनि हाम्रो नेपाल प्राण भन्दा प्यारो लाग्नु स्वाभाविक छ र हुन्छ । हामी संसारको जुनसुकै ठाउँमा रहेका या भएका भए पनि नेपाल हाम्रो हो र नेपाली माटो प्राण भन्दा प्यारो छ भन्ने कुरामा अन्तर्राष्ट्रिय कलाकार मञ्च प्रतिबध्द छ र रहिरहने छ । धन्यवाद ।
   
रामप्रसाद खनाल - अध्यक्ष
अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति
अमेरिका

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक