20200111

साना दुःखले हामी असभ्य भएका हौँ र ?

■ देवप्रकाश त्रिपाठी
अबोध बालबालिका ‘क’ या ‘ए’ अक्षर चिनेका दिन आफू ‘जान्ने’ भएको महसूस गर्छन् र ‘क’ नचिन्नेहरूका माझमा तिनको आत्मविश्वास र फुर्ति बेग्लै देखिन्छ । जान्ने सिलसिला जीवनभर चलिरहन्छ र यसको अन्त्य कहिल्यै हुन्न भन्ने बुझेका दिन मात्र व्यक्ति आफ्नो धरातलमा उभिन आइपुग्छ । एउटा मानिसको दिमाग र जिन्दगी सबै विषयमा जानकार बन्न अपर्याप्त हुन्छ, तर जीवन बिताउन आवश्यक पर्ने न्यूनतम ज्ञान पनि राखिएन भने एउटै जिन्दगीमा पटक–पटक उपेक्षा र अपमानको सामना गरिरहनुपर्ने हुन्छ । दहीका विषयमा विद्यावारिधि गर्ने मानिस दूध पिउन नजान्दा असभ्य ठहर हुनसक्छ । ‘जिन कोड म्यापिङ’ गर्ने या अर्कै सौर्य मण्डलका बारेमा दख्खल राख्ने व्यक्ति नाक कोट्याउने बानीका कारण समाजमा उपेक्षित र तिरष्कृत बन्न सक्छ ।

तर हामी नेपाली एक्काइसौँ शताब्दीमा पनि पश्चिमेली आँखामा पूर्ण असभ्य छौँ र यसका अनेकौँ कारण छन् । असभ्य रहिरहनका लागि पनि हामीले कम दुःख गर्नुपरेको छैन । फ्रान्सेली लेखक सिल्भाँ लेवी र स्वीस भुगर्भ बेत्ता टोनी हेगनले आफ्नो पुस्तकमा प्रसिद्ध चिनियाँ यात्री ह्वेन साङको भनाइ भन्दै ‘हिमालयदेखि दक्षिणतिर विश्वासघाती, धोखेबाज, धुर्त र स्वार्थी मानिसको बसोबास रहेको’ ब्यहोरा उल्लेख गरेका छन् । यदि छैठौँ शताब्दिका यात्रीको भनाइलाई साँचो मान्ने हो भने हामीले आफूलाई ‘खानदानी जालि फटाहा’ ठान्नुपर्ने हुन्छ । जाली–फटाहाहरू कहिल्यै सभ्य हुन सक्दैनन् र सभ्य मानिस जाली–फटाहा बन्न सक्दैनन् ।
संसारका हरेक वस्तु परिवर्तनशील छन् र परिवर्तनशील हुनुको अर्थ अस्थायी र अस्थिर छन् भन्ने हो । त्यसैले मानिस आफू नियमित आकस्मिकताको परिणाम भएर पनि स्थिरताको निम्ति सदा तड्पिइरहन्छ र स्थिरतामा आनन्द महसूस गर्ने गर्दछ । मानिसको जीवनमा सबैभन्दा जटिल अवस्था सङ्क्रमणकाल र विपत्ति (सङ्कटकाल)ले पैदा गर्छ । विपत्तिका बेला सबै प्राणीको ध्यान एउटै कुरामा केन्द्रित रहन्छ– ‘आफू कसरी बाँच्ने ?’ आफूलाई बचाउने प्रयास गरिरहँदा व्यक्तिले आफ्नै कारण कतिले ज्यान गुमाइसकेका हुन्छन् भन्ने कुराको हेक्का राखेको हुँदैन । परिवारका सदस्य तथा नातेदारहरूलाई सङ्कटमूक्त गर्ने चेत पनि विपत्तिका समयमा दोस्रो प्राथमिकताको विषय बन्ने गर्छ । आफू सुरक्षित भइसकेपछि मात्र मानिस आफ्नाहरूको याद गर्दै उनीहरूको सुरक्षाप्रति चासो दर्शाउन थाल्छ, र यो अस्वाभाविक पनि होइन । बाँच्नका लागि जेसुकै गर्ने प्रक्रियाको गति तीव्र हुने हुँदा कसको टाउकोमा टेकेर उफ्रिएको या कसलाई डुबाएर उत्रिएको जस्ता कुरामा व्यक्ति संवेदनशील पनि हुँदैन ।
हामी नेपालीको दैनिकीमाथि दृष्टिगोचर गर्दा सधैं विपत्तिको मानसिकतामा रहेको दर्शाउँछ । ढिला आएर माझमा बस्न, लाइन मिचेर भाँडो भर्न, नियम मिचेर सवारीसाधन चलाउन, जथाभावी बाटो काट्न, कसैका विषयमा नकारात्मक कुरा सुन्नेवित्तिकै विनाप्रमाण प्रचारप्रसारमा जुट्न, अर्काको दुःखमा रमाउन, अरुहरूको असफलतामा खुशी हुन, कसैले बोलिरहेका बेला बीचैमा बोल्न, कच–कच आवाज निकाल्दै मुख खुला गरेर चपाउन, गाउँ–टोल नै थर्किने गरी चर्को आवाजमा बोल्न, बाटोमा फोहोर गर्न, आफूलाई मन परेको गीत–सङ्गीत टोल थर्किने गरी ‘हाइस्केल भोलुम’मा बजाउन हामी नेपालीलाई कसैले सिकाउनै पर्दैन, हुर्कंदाहुर्कदै आफैं जान्दछौँ र आफ्नो जीवनशैली बनाउँछौं । त्यसले गर्दा असभ्य प्रवृत्ति कतै हाम्रो ‘जिन’मै विकास भइसकेको त छ छैन भन्ने प्रश्नमा पनि विचार गर्नुपर्ने भएको छ ।
पूर्वीय संस्कृति र सभ्यताले हामीलाई बाबुआमा भगवान हुन् भन्न सिकाएको हो, गुरुलाई देवताको रुपमा पुज्न, प्राणी, वनस्पति र पर्यावरणको संरक्षण गर्न, सानालाई माया तथा दुःखीप्रति करुणभाव दर्शाउन र मान्यजनसमक्ष झुक्न सिकाएको हो । आफ्ना अनादीकालीन मूल्य–मान्यता र संस्कारको उपेक्षा गर्दै हामीले पश्चिमा छाडापन तथा विकृतिहरूको अनुशरण–अनुकरण गऱ्यौँ, आफ्ना मूल्यवान मौलिक परम्परा छोडेर जीवन चलाउन खोज्दा हामी असभ्य मानवमा रुपान्तरित हुन आइपुगेका छौँ ।
लाखौँ मानिसको जीवनलाई भन्दा आफ्नो एक झोला पेटलाई ज्यादा महत्व दिने, एउटा तुच्छ पद पाउनका निम्ति हजारौँ मानिसको गला रेट्न तयार हुने र एक अँगालो परिवारका निम्ति सिङ्गै देशसँग सौदाबाजी गर्ने स्तरका मानिस जो यहाँ ठूलो सङ्ख्यामा पैदा भइरहेका छन्, यसो हुनुमा हाम्रो शिक्षानीति मूख्य रूपले जिम्मेवार रहेको यथार्थलाई हामीले आत्मसात गर्न सक्नुपर्दछ ।
हाम्रो पाठयक्रम (शिक्षा नीति) ले हामीलाई थप आत्मकेन्द्रित हुन सिकाएको छ । जहाँ सुविधा मिल्छ त्यही देशलाई आफ्नो ठान्ने र आफ्नो जन्मभूमिसँग पराया व्यवहार गर्ने तहमा पुऱ्याउन सबैभन्दा ठूलो योगदान यहाँको शिक्षानीतिले पुऱ्याएको छ । लाखौँ मानिसको जीवनलाई भन्दा आफ्नो एक झोला पेटलाई ज्यादा महत्व दिने, एउटा तुच्छ पद पाउनका निम्ति हजारौँ मानिसको गला रेट्न तयार हुने र एक अँगालो परिवारका निम्ति सिङ्गै देशसँग सौदाबाजी गर्ने स्तरका मानिस जो यहाँ ठूलो सङ्ख्यामा पैदा भइरहेका छन्, यसो हुनुमा हाम्रो शिक्षानीति मूख्य रूपले जिम्मेवार रहेको यथार्थलाई हामीले आत्मसात गर्न सक्नुपर्दछ ।
मानिसका पाँच जन्मजात प्रवृत्तिमध्ये मनोविज्ञानले मानेको युयुत्सा (झगडा गर्ने) र आर्जनात्मक प्रवृत्ति पनि हुन् । आर्जन गर्न र झगडा गर्न मानिसलाई कुनै प्रकारको प्रशिक्षण दिनु नपर्ने यथार्थले पनि मनोविज्ञानको निष्कर्श सही भएको पुष्टि गर्दछ । पश्चिमी जगतले लामो सङ्घर्ष र उतारचढावपूर्ण मार्ग तय गरी सभ्यता र शिष्टताको उचाइमा आफूलाई पुऱ्याएको हो । हामी पश्चिमाहरूको राम्रा अभ्यास अनुकरणमा रुचि राख्दैनौँ, त्यहाँका विकृति जति आधुनिकताको नाममा रातारात अनुशरण गर्ने गर्छौं । त्यहाँ एक दिनमा एक व्यक्तिले सयौँपटक ‘सरी’ र ‘थ्याङ्क यू’ शब्द प्रयोग गरिरहेका हुन्छन्, हामी वर्षभरिमा सातपटक ‘धन्यवाद’ र ‘माफ गर्नुहोला’ जस्ता शब्द प्रकट गर्दैनौँ । पश्चिमाको अश्लिलता, अराजकता र नकारात्मकता जति अनुकरण गर्छौं र आधुनिक जीवनशैली अवलम्बन गरेका ठान्छौँ ।
आफूलाई सभ्य बनाउन चाहने मानिसले जम्मा एउटा वाक्य आफ्नो दिल–दिमागमा ‘सेट’ गर्दा हुन्छ– त्यो ‘मेरा कारणले अरु कसैलाई दुःख हुन्छ कि’ भन्ने हो । तर कुन–कुन कुराले अरुलाई दुःखाउन सक्छ भन्ने तत्वज्ञान भने मानिसमा हुनैपर्छ । आफ्ना अभिभावक, सामाजिक एवम् पारिवारिक परिवेश, सङ्गत र शिक्षा नै व्यक्तिका निम्ति ज्ञान तथा जानकारीका मूख्य श्रोत हुन् । असभ्यतामा रमाइरहेको व्यक्ति या समाजले नयाँ पुस्तालाई सभ्यता सिकाउन सक्दैन । धेरै मसिना कुराहरू बुझ्न नसक्दा हामी नेपाली सभ्यहरूका अघिल्तिर असभ्य प्राणी ठहर भइरहेका छौँ । त्यस्ता मसिना कुन–कुन कुरा हुन् जसले हामीलाई सभ्य बन्ने बाटोमा अवरोध पैदा गरिरहेको छ ?
(१) फोहोरी परिवेश र जीवनशैली हुनु ।
(२) नाक कोट्याउनु ।
(३) कसैले बोल्दै गरेका बेला बीचमै उछिनेर बोल्नु ।
(४) ठूलो आवाजमा बोल्नु ।
(५) चर्को आवाजमा गीत–सङ्गीत सुन्नु ।
(६) कच–कच आवाज निकाल्दै मुख खुला गरेर चपाउनु ।
(७) समूहमा खाना खाँदा खानेकुरामा जथाभावी हातले छुनु ।
(८) सँगै रहेकाहरूको हेक्का नराखी फटाफट एक्लै खाइरहनु ।
(९) कुनै पनि पेय पदार्थ पिउँदा आवाज निकाल्नु ।
(१०) बाटोमा हिँड्दा अन्य यात्रीलाई धक्का दिँदै या छुँदै हिँड्नु ।
(११) बीच बाटोमा उभिएर वार्तालाप गर्नु ।
(१२) दुई जना या केही सीमित व्यक्ति मात्र कुराकानी गरिरहेको ठाउँमा सोझै प्रवेश गर्नु ।
(१३) कसैको कार्यकक्ष, शयनकक्ष या भोजनकक्षमा प्रवेश गर्नुअघि आवाजको सङ्केत (Knock) नगर्नु ।
(१४) सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना नगर्नु ।
(१५) अति आपतकालीन स्थितिमा बाहेक हर्न बजाउनु ।
(१६) सडक–लेन अनुशासन तोड्नु ।
(१७) जथाभावी बाटो काट्नु ।
(१८) सार्वजनिक सवारी साधन (गाडी या विमान) चढ्दा र ओर्लिंंदा या अन्य कुनै काममा उछिनपाछिन गर्नु ।
(१९) धुले या हिले सडकमा सवारी साधन द्रुत गतिमा चलाएर पैदलयात्रीलाई कुनै पनि किसिमले कष्ट दिनु ।
(२०) जेब्रा–क्रसिङमा पैदलयात्रीलाई बाटो काट्ने मौका नदिएर सवारी साधनको गति बढाउनु ।
(२१) सडकमा धुम्रपान या मध्यपान गर्दै हिँड्नु ।
(२२) कसैका अघिल्तिर बस्दा खुट्टा हल्लाउनु ।
(२३) मान्यजनका अगाडि खुट्टा खप्ट्याएर बस्नु ।
(२४) खाना चपाउँदै वार्तालापमा सहभागी हुनु ।
(२५) झुठो बोल्नु ।
(२६) अन्य मानिसका अगाडि डकार्नु ।
(२७) बाटोमा मन लागेको ठाउँमा थुक्नु ।
(२८) मानिसका अघिल्तिर खोक्दा या छ्युँ गर्दा रुमालले मुख नछोप्नु ।
(२९) खाइरहेको ठाउँमा खकार्नु या नाक सफा गर्नु ।
(३०) सार्वजनिक स्थलमा खकार्नु ।
(३१) खाना खाँदा काँटा–चम्चाको आवाज निकाल्नु या हात–थाल चाट्नु ।
(३२) कुल्ला गरेर पानी निल्नु ।
(३३) सूचि गरेपछि हात नधुनु ।
(३४) मानिसका अघिल्तिर कान कोट्याउनु या जिउ कन्याउनु ।
कुनै व्यक्ति सभ्य या असभ्य भएको थाहा पाइने केही आधारभूत सङ्केत (मापदण्ड) यी हुन्, तर असभ्यताको सङ्केत उल्लिखित चौतिस व्यवहारले मात्र देखाउँछ भन्नेचाहिँ होइन । यद्यपि उल्लिखित कुराहरूमा मात्र ध्यान पुऱ्याएर व्यवहार गर्ने हो भने एउटा व्यक्ति सभ्य देखिने धेरै सम्भावना रहन्छ । एक्काइसौँ शताब्दिको एक चौथाई अङ्श बित्न लाग्दा पनि हामी नेपाली असभ्य रहिरहनुको एउटा कारणचाहिँ आफैं सभ्य हुन नखोज्नु पनि हो । जनावर अर्थात पशुपक्षीहरू जन्मजात प्रत्ययका आधारमा बाँचिरहेका हुन्छन्, तिनका जीवन व्यवहार एउटा सीमामा रहेर चलिरहेको हुन्छ । तर मानिसमा विवेक नामको तत्वगुण पनि हुने भएकोले तिनको गलत व्यवहार सधैं क्षमायोग्य मान्न सकिँदैन । दर्जनौँ अवाञ्छित व्यवहारलाई युगौँदेखि निरन्तरता दिएर मात्र हामी असभ्यको पहिचान कायम राख्न ‘सफल’ भएका हौँ । त्यसैले भन्न सकिन्छ– ‘हामी साना दुःखले असभ्य बनेका होइनौँ ।’ तर के हामी अझै पनि सभ्य बन्नेतिर लाग्नै नमिल्ने हो र ?
devprakash9@hotmail.com
- Ghatana ra Bichar 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक