20200224

सन्तेको स्मृतिमा चोरको सरदार खड्के र चोथाले गोकुले

Image may contain: 1 person- सन्तोष चिमरिया
यो, म अलि सानै हुँदाको प्रसंग हो । को को थिए त्यो दिन , अहिले मलाई प्रष्ट सम्झना छैन, तर खड्गे र गोकुले चाहिँ थिए , त्यो म दाबीका साथ भन्न सक्छु । खड्गे हामी मध्येको नेतो थियो । किनकि उ थियो , चपर-चण्डाल र गफाडी । उ कस्तो सम्म गफ दिन्थ्यो भने, हाम्रा घरमा सिंगडा र जेलबी फल्ने रुख छ भन्थ्यो । पछि बिरुवा पलाएपछी तिमीहरुलाई पनि दिन्छु भन्थ्यो । गोकुले चाहिँ खड्गेकोमा रसबरीको पनि रुख छ भन्थ्यो । हामी उसका कुराले मन्त्रमुग्ध हुन्थ्यौं । सबैभन्दा मन्त्रमुग्ध त गोकुले हुन्थ्यो । उ खड्गेको ब्याक्तित्वबाट यति प्रभावित थियो कि, बारम्बार खड्गेको नक्कल गर्न खोज्थ्यो । तर उसको तित्राका जस्ता मुखबाट खड्गेका जस्ता रसिला, भरिला, गुलिया र मिठा गफ किन निस्किन्थ्यो !
त्यसैले उ बोलेको सुन्नु भनेको , चैते धुपको मध्यान्ह १२ बजे, नांगो डंडेल्नामा एक भारी खस्रेटोको घाँस बोकेर उकालो चड्नु जस्तै हुन्थ्यो ।
तर गोकुले बोली र बेहोराले जे जस्तो भएपनि खड्गे उसलाई खुब काखी च्याप्थ्यो । फुर्क्याउथ्यो । प्रतिभावान छ भन्दिन्थ्यो । यति भनेको सुन्दा, गोकुले चाहि साच्चै प्रतिभावानै रहेछु कि क्याहो जस्तो गरेर गजक्क पर्थ्यो र बत्तिसी देखाएर ङिच्च हास्थ्यो । दुई चार दिन यसरी फुर्क्याएपछी, खड्गे गोकुलेलाई आफ्नो स्वार्थ अनुकुल
मजाले प्रयोग गर्थ्यो ।
पछिल्लोपटक खड्गेले, गोकुलेलाई फुर्क्याउनुको कारण चाहिँ थापाकाजीको केराबारीको एक घरी केरा थियो । दुईचार दिन गोकुलेको प्रशंसा गरेपछी , एक साँझ खड्गेले गोकुलेलाई काजीको केरा चोर्न पठायो ।
खड्गेले, "केही हुदैन , म छु। म रुख माथी चडेर हेर्छु" भनेर भनेपछि गोकुले पनि केरा चोर्न राजी भयो ।
उ पहिला पहिला पनि लिच्ची, आँप, काँक्रो, कुखुरा चोर्न जान्थ्यो र खड्गेको चतुर्‍याइँले सफल पनि हुन्थ्यो । चोरेको भागबाट चार बीस आफू राखेर एक बीस गोकुलेलाई दिन्थ्यो । गोकुले नाथेलाई त्यो पनि पगित्तो हुन्थ्यो ।
तर यो पटक गोकुलेले उभो फर्केर केरा हेर्दै मात्रै के थियो, काजीले च्याप्प गोकुलेको गर्धन अठ्याई हाले । गोकुलेले भाग्न खोज्यो तर सकेन । एकछिन त सुसु गर्न आको भनेर बाठो पल्टिन खोज्दै थियो, काजीले दुई झापड दिएपछि चाहिँ साच्चैको सुसु गर्यो ।
अरु दुईचार लात्ती, दुईचार झापड खाएपनी खड्गेको नाम लिएन है । नेतृत्वप्रती बफादार भइ रह्यो । रुख चडेर सबैतिर नियाली रहेको मुख्य योजनाकार खड्गेको नाम लिएन । बरु सबै बद्नामी आफ्नै शीरमा लियो । सबै थप्पड आफ्नै गालामा थाप्यो ।
उता खड्गे चाहिँ , साझ परेपछि रुखबाट कसैले नदेख्ने गरि खुत्रुक्क ओर्लियो र लुसुक्क घरतिर लाग्यो ।

आजका दिनसम्म पनि हाम्रो गाउँमा गोकुले, "केराचोर" का नामले बद्नाम छ । हाम्रा गाउँका सोझा गाउलेहरुलाई वास्तविक केरा देखि कुखुरासम्म चोर्ने, चोरहरुको सरदार र योजनाकार को थियो भन्ने थाह छैन । ती बिचराहरुलाई अझैसम्म पनि चोथाले गोकुले नै चोर हो भन्ने भ्रम छ ।
नोट - यो मेरो बाल्यकालको वास्तविक घटना हो । कसैको नाम र चरीत्रसंग मेल खाए संजोग मात्रै हुनेछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक