20200410

डा. रवीन्द्र पाण्डेका अत्यन्त उपयोगी सुझाव सबैले पालना गरौ, कोरोना भाईरस बाट बँचौं

Image may contain: Rabindra Sameer, outdoorबिदेशमा रहनुभएका आदरणीय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु !
अहिले तपाईंहरू यो शताब्दीकै अकल्पनीय मोडमा हुनुहुन्छ | यहाँहरु भित्र अन्तर्निहित राष्ट्रप्रेम, संस्कृतिप्रेम तथा उदार मनको कारण नेपालमा भएका भूकम्प, बाढी तथा अन्य प्राकृतिक बिपत्तिमा पुर्याउनु भएको योगदान अतुलनीय छ | परिस्थितिजन्य कारणले यहाँहरु जुन देशमा रहेपनि मन नेपालमै रहेको हामी सबैले महशुष गरेका छौं |
तपांइहरूको पसिनाले प्राप्त रेमिट्यांसले देश चलेको तथ्य हामीले बुझेका छौं। आवश्यक परे राज्यले यहॉहरू सबैलाई स्वदेश ल्याउन सक्नुपर्छ। राज्य चाहिने यस्तै संकटको समयमा हो।
आफु बसेको देश तथा सहरमा भइरहेको हताहत तथा बढ्दो संक्रमितको संख्याले यहाँहरु जुन पीडामा हुनुहुन्छ, त्यो हामीले अनुमान गर्न सक्छौं | यस्तो बेला यहाँहरुले दह्रो आत्मबल, संयम तथा धैर्यता राख्नु जरुरि छ | हाम्रो सानो हेल्चेक्र्यांइले आफ्नो तथा परिवारको स्वास्थ्यमा अकल्पनीय अवस्था आउन सक्छ | तसर्थ फुकी फुकी
पाइला चाल्नु अत्यावश्यक छ |
यस्तो बेला शारीरिक, मानसिक तथा आध्यात्मिक स्वाथ्य बलियो बनाउन सम्भव भएका यी उपायहरु आजदेखि नै अपनाउनुहुन बिनम्र अनुरोध गर्दछु |
- रोगसँग लड्ने इम्युनिटी पावर बढाउनको लागि सुपरहर्ब जस्तै मोरिंगा, गानोडर्मा, जिन्सेन, जिंकोबाइलोबा, यार्सागुम्बामध्ये जे जे पाउनुहुन्छ, अनलाइन खरिद गरेर नियमित सेवन गर्नुहोला |
- Vitamin C, B6, B12, E Zinc भएको Multi Vitamin तथा fish Oil नियमित सेवन गर्नुहोला | यसले तपाइंको रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै भाइरसको Mulltiplication लाई रोक्न मद्दत गर्दछ |
- चिनियाहरुले अपनाएको बिधि तातोपानी दिनमा ५-६ गिलास पिउने, दिनमा १-२ पटक पानीको बाफ लिने, सुप खाइरहने गर्नुहोला |
- खानामा नेपाली मसलाका अत्यधिक Variety प्रयोग गर्नुहोला | जस्तै : लसुन, प्याज, बेसार, मरिच आदि ||
- सागसब्जी तथा फलफुल नियमित सेवन गर्नुहोला |
- घरभित्र हल्का व्यायाम, योग तथा ध्यान गर्नुहोला |
- दैनिक डायरी लेख्ने बानी गर्नुहोला |
- कमेडी सो, फ्लिम, पुस्तक, Motivational Speech तथा पारिवारिक माहोलमा कोरोना कहर ब्यबस्थापन गर्नुहोला | सामाजिक संजालले चिन्ता बढाउने काम गर्छ | तसर्थ यसको प्रयोग एकदम कम गर्नुहोला |
- रातमा ७-८ घण्टा र दिनमा १ घण्टा सुत्ने गर्नुहोला |
- तनाब, चिन्ता तथा पीरलर इम्युनिटी पावर घटाउँछ | तसर्थ आत्मबलको प्रबर्धन गर्न मनोरंजन गर्नुहोला |
- घरमै ब्लडप्रेसर तथा Blood Glucose हेर्दै गर्नुहोला | ( BP Set तथा Glucometer बाट ) ||
- नियमित औषधिसेवीहरुले औषधि नछोड्नुहोला |
- काम तथा ब्यबसायमा बेहोर्नुपरेको घाटाको चिन्ता नलिनुहोला | हामी स्वस्थ रह्यौं भने मेहेनत गरेर त्यो खाडल पुर्न सक्नेछौं |
- सामान्य रुघाखोकीसंग डर नमान्नुहोला |
- नेपालीहरु फोन / इन्टरनेटमार्फत नियमित सम्पर्कमा रहनुहोला | यसले आत्मबल बढाउनेछ |
- अबको १ महिनापछि हामीले यो कष्टबाट त्राण पाउने छौं |
- तपाईंहरु नेपालभन्दा अत्यधिक सुबिधा सम्पन्न देशको स्वास्थ्य सेवामा हुनुहुन्छ | तसर्थ संक्रमण भइहाले पनि डर मान्नुपर्दैन |
तपाईंहरू एक्लै हुनुहुन्न | हामी ३ करोड नेपाली, मातृभूमि नेपाल, आराध्यदेव पशुपतिनाथ, स्वयम्भुनाथ तथा शक्तिपीठहरु तपाईहरुसंग छौं / छन् | हरेक देशका नागरिकको आन्तरिक शक्ति फरक फरक हुन्छ | हामी सबैको आन्तरिक शक्ति पनि फरक फरक हुन्छ | हाम्रो तुलना अरुसंग हुँदैन | तसर्थ आफ्नो शक्ति र स्वास्थ्यमा विश्वास गर्नुहोला |
यहाँहरुको जीवन सुन्दर, सुरक्षित रहोस् |

***************

आज हाँस्य कविताको पालो : 

कन्फ्युज भएको हुनुपर्छ कोरोना भाइरस पनि !

Image may contain: Ram Prasad Khanalकेही दिन यता
मेरो चाल चलन देखेर
कन्फ्युज भएको हुनुपर्छ
कोरोना भाइरस पनि !
बुढी माउँ पकाउँछिन्
जोत्ने दाइले झैँ
म स्याम्म बजाउँछु
एक थाल भात
महँगो तरकारी
आलु जत्तिको पनि अडिलो नहुने
भन्नका लागि मासु भनिने
बोईलर कुखुराका झाम्टाहरू !
सिन्की सकियो
मस्यौरा सकियो
झान झुन पार्दा सबै सकियो
म भात बहादुर
कोरोना बहादुरसँग तर्सिएँ

काम धाम छोडेर
थन्किएका बेला घर
पहिले पहिले
मोइसँग लफन्नाएको आटो
मकैको रोटी सम्झिँदै
कोदो, फापर जस्तै देखिने पिठोको रोटी
बुढी माउँ जे जे दिन्छिन्
घैँटे पेटमा सिन्की खाँदे जस्तै
खाँदी रहेको छु म आजकल
काम नगरी खान कहाँ पाइन्छ ?? भन्थे मान्छेहरू !
इस् गर्छु काम !
बुढी माउँ किचनमा पकाउंछिन
म स्याम्म खान्छु
जब भरिन्छ घैँटे पेट
बिस्तारामा जान्छु
किनकि
बसेर टिभी हेर्न मिल्दैन
अनि,
बिस्तारामा कहिले उत्तानो परेर
कहिले घोप्टी परेर
कहिले कोखे परेर
फोन बाटै हेर्छु टेलिभिजनहरू
बिना पैसा सित्तैमा कजिन्छु
जुकेरबर्गको फेसबुकमा
गुगलको युट्युब रोला जस्तो गर्छ
मलाई आइजन भनेर
अनि म त्यता पनि जान्छु
समाजसेवी भावना छ मेरो
म कसैसँग ज्याला मजदुरी लिन्न
उनीहरूका लागि काम गर्छु
बुढी माउँ फेरी चिया नास्ता लिएर आउंछिन
म मिठा मुखले बजाउँछु
बजाउँदा बजाउँदै थकाई लाग्न थालेको छ
सुत्दा र बस्दा दिक्क लाग्न थालेको छ
उठ
खाऊ
बस
सुत
मेरो दिन चर्या यस्तै भएको छ आजकल !
बरु,
यस पटकको अनुभबले लाग्यो
काम गर्न नखोज्ने काम चोरहरु
बसी बसी खान खोज्ने ठगहरु
काममा जान भन्दा मरे झैँ गर्नेहरु
बिचरा तिनीहरुलाई
 कति गाह्रो हुँदो हो सधै घरमै बस्न
फिल्म र सिरियलहरु हेर्दै
समय कटाउन !
मलाई ति बिचराहरु देखी
दया लाग्न थालेको छ अहिले
तिनको बन्दी जिबन सम्झेर
रुन मन लागेको छ अहिले ! 
केही दिन यता
मेरो चाल चलन देखेर
कन्फ्युज भएको हुनुपर्छ
कोरोना भाइरस पनि !
यस्तो अल्छी मनुवालाई लगेर के गर्नु ?
शायद यसै भन्दै होला कोरोना यमराज !
धुलो धुँवा फोहोर
उकालो ओरालो
घाँस दाउरा
पानी पँधेरो
खेत बारी
सबै सबै पचाइसकेको म मनुवा
उसले चिनेछ क्यारे
लिन आउने हिम्मत गरेको छैन
म कति ज्याद्रो छु
उसले बुझे जस्तो छ
त्यसैले हिम्मत गरेको छैन
मलाई लिन आउने !
आयो भने मैले पनि जानेको छु
त्यसलाई पचाउन !
आइजन न मात्रै
निसास्सिएर मर्छस् बाबु तँ म सँग
तँ भन्दा पनि म खतरा छु !
ज्याद्रो छु
गाई गोठमा जन्मिएको हुँ
सक्दैनस् बाबु सक्दैनस् तैँले
फुर्ती गर्दै नगर !
मेरो भर पर्दै नपर !
ढाँट्या भए मरिजाम !
- रामप्रसाद खनाल, हाल भर्जिनिया अमेरिका, अप्रिल ७, 2020
***************************

कविता : श्रीमती !

न भएर सुख
न नभएर सुख
न तल पारेर सुख
न त टाउकोमा चढाएर सुख !
क्रेडिट कार्डको बिल जस्तो
घोट्दा चाल नपाइने
बिल आउँदा तिर्दिन भन्न नपाइने
ब्याजको स्याज जोडिए जस्तो
खोइ ॠण  पनि कस्तो हो कस्तो  !
न तिरेर चुक्ता हुने
न बाँचुन्जेल मुक्त हुने
गलाको पासो
ससुरालीको नासो

गर्नु को सँग गुनासो
मरे पछि मात्र
छुटकारा पाइने पासो
चुप्प लागेर बस्नु पर्ने
बोले हुन्छ बोली फासो !
हाँसिदिँदा पनि टेन्सन
रोइदिँदा पनि टेन्सन
ससुरालीमा कुकुर बिरामी पर्दा
हुन्छ झन् टेन्सन
घर तिरको कुरा गर्नुस्
सुरु हुन्छ पार्किन्सन !
आफ्ना सबै भुलेर
उनको बनिदिनु पर्ने
जस्ता भए पनि उनीहरू
"वाह मेरा ससुराली" भनिदिनु पर्ने
कुरा गर्‍यो कुराकै दुःख
बरु भारी बोक्ने गधाले पाएको होला सुख
यति हुँदा पनि भन्छन्
अझै लोग्ने हुन्छस् ??
भो बाबु भो न रो कति रुन्छस्
बा आमा र दाइ थुम्थुम्याउँछन !
सङ्गी साथी धाप मार्दै भन्छन्
"भो न रो यार न रो"
बरु ढुङ्गो रसाउला
उनीहरू रसाउँदैनन्
ए सुन त,
अलिकति लगा
मनको पिर भगा
नाचौँ सबै गीत लगा
" माया बैगुनी,
नभै नहुनी !"
बादल मडारिएको छ
आकाश दुम्म छ
आँधी आउला जस्तो छ
हुरी चल्ला जस्तो छ !
तै पनि रुन्चेहरु
"माया बैगुनी, नभै नहुनी" गीतमा
दारुको तालमा नाच्दैछन !
एकले अर्कालाई हेर्दै कम्मर भाँच्दैछन  !!

- रामप्रसाद खनाल, हाल भर्जिनिया अमेरिका, अप्रिल ८, २०२०

यो हाँस्य कविताका घटना तथा पात्रहरु काल्पनिक हुन । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक