20200407

आत्मबलले कोरोनालाई जित्न सकिन्छ : डा. रवीन्द्र पाण्डे

Image may contain: one or more people, eyeglasses and suitराजनीतिज्ञ तथा साहित्यकार बिपी कोइरालालाई युवा अवस्थामै घाँटीको क्यान्सर भयो | त्यो बेला अहिलेजस्तो परीक्षण र उपचार सुलभ थिएन | यहि अवस्थामा उनले महत्वपूर्ण राजनैतीक तथा साहित्यिक उचाइ पाए | उनका सिर्जनामा कतै पनि क्यान्सरको पीडा तथा हीनताबोध देखिएन | बोली मसिनो हुँदै नसुने हुनेबेलासम्म उनी अनबरत संघर्षमा रहे | उनीसंग भएको प्रचुर आत्मबल नै उनको सुखायु तथा दीर्घायुको कारण बन्यो |
पूर्ब प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई फोक्सोको क्यान्सर थियो | तत्कालिन अवस्थामा उनी जति सक्रिय नेपाली कांग्रेसमा कोहि पनि थिएन | एकपटक उनी प्रोस्टेट ग्रन्थीको अप्रेसन गर्न बैंकक गए | आज जसो उनको अप्रेसन भयो | भोलिपल्ट उनी ठमठम हिंड्दै हाम्रो एयरपोर्टमा सलामी ग्रहण गरे | जतिसुकै बिरामी भएपनि उनी सुकिलो भएर बस्थे | यो सबै आत्मबलको कारण सम्भब भएको थियो |
हाम्रा प्रधानमन्त्री केपी शर्माओली जेलमा बस्दा अल्सर र आन्द्राको टीबीले ग्रस्त भएका थिए | देख्ने जो कोहिले पनि उनी बाँच्छन् भनेर कल्पना पनि गर्दैनथे | उनमा भएको बिशाल आत्मबलको कारण उनी बाँच्न सफल भए | दुई दुई पटक मृगौला प्रत्यारोपण गरे, दर्जनौं पटक डाइलाइसिस गरे, अचानक एपेन्डिक्स फुटेर तथा पेटभरी
फैलिएर निकै गम्भीर अवस्थामा पुगे | तुरुन्त शल्यक्रिया गरेर उनी बाँचे | उनको दुर्लभ कुशलताको मुख्य कारकतत्व आत्मबल नै हो |
२ बर्ष आयु तोकिएका साहित्यकार जगदीश घिमिरेले मृत्यु शैय्यामा अन्तर्मनको यात्रा लेखे | त्यो पुस्तकले उत्तम शान्ति पुरस्कार तथा मदन पुरस्कार पायो | उनी साहित्यिक सेलिब्रेटी बने | बोलाएका सबैजसो क्रार्यक्रममा गए, लेखनलाई निरन्तरता दिए, अनुजलाई प्रोत्साहन दिए | सकस उपन्यास लेखे | पुराना पुस्तकलाई पुनमुद्रण गरे | तामाकोशी सेवा समाजमार्फत उनले मन्थलीमा पुर्याएको योगदान अनुकरणीय छ | २ बर्ष पाएको आयुलाई उनको व्यस्तता तथा आत्मबलको कारण उनी ७ बर्ष बाँचे |
क्यान्सर जितेकी यसोदा कृष्ण श्रेष्ठ भाउजु, मनिषा कोइराला, डिप्रेसन जितेकी दीपिका पादुकोणदेखि हजारौं /लाखौं व्यक्तिहरु छन्, जो मृत्युको मुखबाट फर्किएर आफ्नो जीवन सार्थक बनाएका थिए, बनाइरहेका छन् | ती हाम्रा रोल मोडेल हुन् |
कतिपय व्यक्ति यस्ता हुन्छन् जो सानो समस्यासंग पनि डराएर, आत्तिएर मनोरोगी बनेका छन्, कम्जोर बनेका छन् तथा आत्महत्यासम्म गरेका छन् |
अहिले विश्वव्यापी महामारीको रुपमा संसारलाई मुठीमा राखेको कोरोना भाइरसको कारण सतर्क हुँदै आफ्नो काम गर्ने धेरै छन् | उनीहरुले यसको सहि जानकारी राखेका छन् तसर्थ यो समय छिटो बित्नेमा उनीहरु ढुक्क छन् | यहि फुर्सदको समयमा उनीहरुले भविष्यको खाका कोरेका छन् | अर्कोथरीका मान्छेहरु यति धेरै आत्तिएका छन् कि उनीहरुले जीवनको अँध्यारो बाहेक केहि देखेका छैनन् | कोरोना भाइरस लागेपनि ८५ % व्यक्तिलाई सामान्य लक्षण देखिएर आफै निको हुन्छ | ७ -८ प्रतिशत अस्पताल बसेर सामान्य उपचार पछि स्वस्थ हुन्छन् भनर ७-८ % आइसीयु तथा भेन्टिलेटरमा उपचार गर्नुपर्ने हुनसक्छ | त्यसको आधिलाई मात्र खतरा हुन्छ | अहिले संसारका पचासौं ल्याबमा कोरोना संक्रमण बिरुद्धको खोप तथा औषधि पत्ता लगाउन बैज्ञानिकहरु निरन्तर लागिरहेका छन् | नयाँ खोप परिक्षणको चरणमा छ | सार्स, मर्स लगायत भाइरल रोगमा चलाइएक औषधि, मलेरिया तथा बाथमा प्रयोग हुने औषधि तथा सेकेण्डरी इन्फेक्सनको लागि एन्टिबायोटिकको सफल प्रयोग भइरहेको छ | एक देशले अर्को देशलाई सहयोग गरिरहेका छन् | कोरोना संक्रमण शिखरमा पुगेकोले अब ओर्लने क्रममा छ | तसर्थ डर मान्नुपर्ने अवस्था छैन |
हामीले आफ्नो जीवनचक्र बुझ्ने हो भने पनि डर मान्नुपर्ने कारण देखिदैन | जन्म, वृद्धि, क्षय तथा मृत्युको चक्र हामी सबैले पुरा गर्नुपर्छ | यसमा कोहि पनि अपवाद रहन सक्दैन | मृत्युको डर हो भने मृत्यु कोरोना भाइरसमा मात्र लुकेको हुँदैन | मृत्यु त हाम्रो पलपलमा रहेको छ | कसको के कारण कहिले मृत्यु हुन्छ भन्ने कुरा कसैलाई केहि थाहा छैन | त्यस्तै जन्म र मरण हाम्रो हातमा छैन भन्ने हो भने आफ्नो हातमा नभएको कुरामा के को डर ? हामी रंगमंचका पात्र हौँ भने आफ्नो भूमिका निभाउनु हाम्रो कर्तब्य हो | शास्त्रमा भनेको छ – आत्मा न जन्मन्छ, न मर्दछ | जसरी हामीले कपडा फेर्छौं त्यसरी नै आत्माले शरीरलाई फेर्ने हो |
हामी सबैको आत्मबल सगरमाथा जस्तै उच्च होस् | यो उचाइ कायम गर्नको लागि पाइला पाइलामा सतर्क बनौं | चिन्ता होइन चिन्तन गरौँ |

****************

आज हाँस्य कविताको पालो : कन्फ्युज भएको हुनुपर्छ कोरोना भाइरस पनि !

Image may contain: Ram Prasad Khanalकेही दिन यता
मेरो चाल चलन देखेर
कन्फ्युज भएको हुनुपर्छ
कोरोना भाइरस पनि !
बुढी माउँ पकाउँछिन्
जोत्ने दाइले झैँ
म स्याम्म बजाउँछु
एक थाल भात
महँगो तरकारी
आलु जत्तिको पनि अडिलो नहुने
भन्नका लागि मासु भनिने
बोईलर कुखुराका झाम्टाहरू !
सिन्की सकियो
मस्यौरा सकियो
झान झुन पार्दा सबै सकियो
म भात बहादुर
कोरोना बहादुरसँग तर्सिएँ
काम धाम छोडेर
थन्किएका बेला घर
पहिले पहिले
मोइसँग लफन्नाएको आटो
मकैको रोटी सम्झिँदै
कोदो, फापर जस्तै देखिने पिठोको रोटी
बुढी माउँ जे जे दिन्छिन्
घैँटे पेटमा सिन्की खाँदे जस्तै
खाँदी रहेको छु म आजकल
काम नगरी खान कहाँ पाइन्छ ?? भन्थे मान्छेहरू !
इस् गर्छु काम !
बुढी माउँ किचनमा पकाउंछिन
म स्याम्म खान्छु
जब भरिन्छ घैँटे पेट
बिस्तारामा जान्छु
किनकि
बसेर टिभी हेर्न मिल्दैन
अनि,
बिस्तारामा कहिले उत्तानो परेर
कहिले घोप्टी परेर
कहिले कोखे परेर
फोन बाटै हेर्छु टेलिभिजनहरू
बिना पैसा सित्तैमा कजिन्छु
जुकेरबर्गको फेसबुकमा
गुगलको युट्युब रोला जस्तो गर्छ
मलाई आइजन भनेर
अनि म त्यता पनि जान्छु
समाजसेवी भावना छ मेरो
म कसैसँग ज्याला मजदुरी लिन्न
उनीहरूका लागि काम गर्छु
बुढी माउँ फेरी चिया नास्ता लिएर आउंछिन
म मिठा मुखले बजाउँछु
बजाउँदा बजाउँदै थकाई लाग्न थालेको छ
सुत्दा र बस्दा दिक्क लाग्न थालेको छ
उठ
खाऊ
बस
सुत
मेरो दिन चर्या यस्तै भएको छ आजकल !
बरु,
यस पटकको अनुभबले लाग्यो
काम गर्न नखोज्ने काम चोरहरु
बसी बसी खान खोज्ने ठगहरु
काममा जान भन्दा मरे झैँ गर्नेहरु
बिचरा तिनीहरुलाई
 कति गाह्रो हुँदो हो सधै घरमै बस्न
फिल्म र सिरियलहरु हेर्दै
समय कटाउन !
मलाई ति बिचराहरु देखी
दया लाग्न थालेको छ अहिले
तिनको बन्दी जिबन सम्झेर
रुन मन लागेको छ अहिले ! 
केही दिन यता
मेरो चाल चलन देखेर
कन्फ्युज भएको हुनुपर्छ
कोरोना भाइरस पनि !
यस्तो अल्छी मनुवालाई लगेर के गर्नु ?
शायद यसै भन्दै होला कोरोना यमराज !
धुलो धुँवा फोहोर
उकालो ओरालो
घाँस दाउरा
पानी पँधेरो
खेत बारी
सबै सबै पचाइसकेको म मनुवा
उसले चिनेछ क्यारे
लिन आउने हिम्मत गरेको छैन
म कति ज्याद्रो छु
उसले बुझे जस्तो छ
त्यसैले हिम्मत गरेको छैन
मलाई लिन आउने !
आयो भने मैले पनि जानेको छु
त्यसलाई पचाउन !
आइजन न मात्रै
निसास्सिएर मर्छस् बाबु तँ म सँग
तँ भन्दा पनि म खतरा छु !
ज्याद्रो छु
गाई गोठमा जन्मिएको हुँ
सक्दैनस् बाबु सक्दैनस् तैँले
फुर्ती गर्दै नगर !
मेरो भर पर्दै नपर !
ढाँट्या भए मरिजाम !
- रामप्रसाद खनाल, हाल भर्जिनिया अमेरिका, अप्रिल ७, 2020


*****

कोरोना भाईरसको आतंक छ, घर मै बन्धक भएका बेला गीत संगीत सुन्नुस, हेर्नुस । गीत संगीत पनि आफैमा एक प्रकारको मलम हो भन्छन !

गीतहरु शुरु गर्नुभन्दा पहिला म र मेरी श्रीमती दुबै तपाईं हामी सबैको सुस्वास्थ्यका लागि, कोरोना भाईरस आतंकको अन्त्यका लागि भगवान सँग प्रार्थना गर्दछौं      

                                FOR MORE SONGS AND VIDEOS PLEASE CLICK THIS LINK BELOW:
HTTPS://WWW.YOUTUBE.COM/USER/RAMPDKHANAL/VIDEOS?VIEW=0&SORT=P&FLOW=GRID&VIEW_AS=SUBSCRIBER


कोरोना महामारीकै अर्को युद्ध मैदान अमेरिकाबाट नेपाल र नेपालीहरुको नाममा !

Image may contain: 2 people- रामप्रसाद खनाल  
अलिकति रुघा लागे जस्तो भएको छ, टाउको दुख्ने र अनइजी महसुस पनि भएको छ । म आफै पनि तीन दिन देखी घरमै आइसोलेशनमा बसिरहेको छु । हाल म बसिरहेको देश अमेरिका चाइनिज कोरोना भाइरसको चपेटामा परिसकेको छ । यी पङ्ती लेख्दा सम्म अर्थात् मार्च २३ तारिख बिहान ११ बजे सम्मको पछिल्लो तथ्याङ्क अनुसार ४५९ जना भन्दा बढी अमेरिकनहरूको "रामनाम सत्य" भैसकेको छ भने ३५,१७९ जनामा चाइनिज कोरोना भाइरसको सङ्क्रमण भैसकेको छ । मृत्यु हुने र सङ्क्रमितको सङ्ख्या मिनेट मिनेटमा थपिरहेको देख्दा शङ्कै शङ्का र त्रासले होला सन २०२० नै मेरो अन्तिम वर्ष हुने त होइन भनेर मनमा डर पनि लागिरहेको अवस्थामा छ । मनमा डर पनि किन नलागोस् - संसार भर १५४१९ भन्दा बढीले जिब्रो टोकिसकेका छन् भने ३५३७५९ भन्दा बढी सङ्क्रमितहरू जीवन र मृत्युको दोसाँधमा छन् ।

जति सुकै डराउन्न, आतङ्कित हुन्न भन्दै अरूलाई सान्त्वना प्रदान गर्दै गरे पनि आफ्नै मन भित्रै कता कता कथामा सुनेको यमराज साँच्चै कस्सिएर हामीहरूलाई लिन आएकै त होइन ? जस्तो पनि मनमा उत्पन्न भइरहेको छ । मै हुँ भन्ने देशहरू, संसारका सर्बशक्तिमानहरुको ओठ तालु सुकिसकेका छन् र अहिले संसार पहिलो र दोस्रो विश्व युद्ध पछिको नसोचेको भयङ्कर भाइरस विश्वयुद्धमा फसेको छ ।

मर्ने कसैलाई रहर हुँदैन तर अहिले मान्छे सङ्क्रमित नभएको वा नमरेको सहर विरलै कल्पना गर्न थालिएको छ । संसारका १९३ देश र टेरेटोरीमा कोरोना भाइरस रूपी यमराज छिरिसकेको छ । थाहा छैन यो यमराजले अब कतिको राम नाम सत्य बनाएर छाड्ने हो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक