20200714

नारायणगढ-मुग्लिन सडक पुनः धसिएसँगै सवारी एकतर्फी सञ्चालन

मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः धसिएसँगै त्यस ठाउँमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार यसअघि सो ठाउँमा थप धसिएपछि खतरा बढेकाले सवारी सञ्चालन रोकिएको हो । उहाँले सोमबार बिहान यसअघि धसिएको ठाउँमा थप धसिएपछि ग्राबेल हालेर सवारी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । धसिने क्रम थपिएपछि सडकमा ड्रम राखेर एकतर्फी बनाइएको उहाँले जानकारी दिनुभयो ।
सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएको थियो । अधिकारीका अनुसार १७ किलोमा तीनदेखि तीन दशमलव पाँच मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटभन्दा बढी सडक धसिएको छ । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ । त्यसै ठाउँमा विसं २०६० मा सडकमुनिबाट एङ्कर पर्खाल दिएर निर्माण गरिएको थियो । त्यसैमा समस्या आएको जनाइएको छ ।
सो क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर पर्खालले काम गर्न छाडेको हो । दुई वर्षअघि सो सडक विस्तारको काम गरिएको हो । सडक निर्माण गरिएको एक वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा छ दशमलव पाँच मिटर फराकिलो सडक ७० मिटर लामो भाग धसिएको छ । ती दुवै ठाउँमा मर्मतका लागि बोलपत्र आह्वान गरिएको भए पनि बोलपत्र नपरेको सडक विभागले जनाएको छ ।
अधिकारीले धसिएको ठाउँ बढ्दै गएमा थप जोखिम हुने बताउनुभयो । भित्तापट्टि अग्लो पहाड भएकाले विस्तार गर्न कठिन छ । अविरल वर्षा भइरहेकाले सो सडकको ठाउँठाउँमा पहिरो खस्ने र पन्छाउने काम जारी नै रहेको उहाँले जानकारी दिनुभयो । यो सडक राजधानी भित्रने र बाहिरिने प्रमुख मार्ग हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक