20200729

प्रचण्ड र शक्तिहरूले त, यो सिद्धान्तलाई प्रयोगद्वारा प्रमाणित गरेका मात्रै हुन !!

शक्ति बस्नेतले गोठै जलाएका हुन् । मान्छे बस्ने गोठ ! उनको भनाइ पुरापुर ठिक छ । तर , कसैलाई यो गलत छ भन्ने लाग्छ भने ,यसको दोष नेपाली कांग्रेसलाई जान्छ। यसको जिम्मेवारी ,प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लिनुपर्छ । नेपाली कांग्रेसमा पनि प्रकाशमान सिंहले लिनुपर्छ । अझ, उनका स्वर्गीय बाउ ,गणेशमान सिंहले लिनुपर्छ।
सन्ते बौलायो भन्ने तपाईलाई लाग्यो होला, हैन ? । तर पख्नुस ! म मानसिक रुपमा सन्चै छु । मसंग आफ्नो भनाइ पुष्टि गर्ने बलियो तर्क छ । कसरी ? भन्ने तपाईंको प्रश्न हो भने, ध्यान दिएर सुन्नुस । उहिले नै नेपाल खाल्डोमा भेला भएका मानिसलाई देखाउँदै , गणेशमानले नेपाली जनता भेडा हुन् भनेर भनेका थिए। यो नेपाली जनताको चरित्रको सैद्धान्तिक भाष्य थियो । अलिकति थपुं, सैद्धान्तिक भाष्य मात्र थियो , यो प्रयोगद्वारा प्रमाणित
भइसकेको थिएन। गणेशमानको यो भाष्य, यो सिद्धान्त, उड्दै उड्दै गएर प्रचण्डका कानमा ट्वाङ्ग ठोकियो । अनि, उनले यो सिद्धान्तलाई प्रयोग गरेर हेर्ने विचार गरे । सुरुमा पश्चिमका २/४ जिल्लालाई उनले प्रयोगशालाका रुपमा प्रयोग गर्ने विचार गरे । अनि,संसारले चपरी मुनि पुरेर इतिहासमा थन्क्याई सकेको साम्यवादको चारो " नेपाली जनता" ले देख्ने गरी झुण्ड्याई दिए ।
नभन्दै गणेशमान 200% सही प्रमाणित भए । साम्यवाद खडा गर्न भन्दै , भेडाहरु गुटुङ्टुङ भिरमा उक्लिँदै, खोलामा हाम्फाल्दै गर्न थाले । दश वर्षमा, गणेशमानको सिद्धान्त प्रयोगद्वारा पुर्णरुपमा सफल प्रमाणित भयो । प्रचण्ड र उनका जनरलहरुले अग्रगामी छलाङ हानेर , गोठबाट दरवारमा बसाइँसराइ गरे । शक्ति बस्नेत पनि प्रचण्डका खास जनरल हुन् । उनलाई नेपाली जनता भेडै हुन् भन्ने कुरामा , कहिलै, कुनै दुविधा थिएन । आज छैन पनि । त्यसैले "नेपाली जनता" बस्ने "गोठ" जलाइदिए । नेपाली जनतालाई प्रयोगद्वारा भेडा प्रमाणित गरिसकेपछि , उ बस्ने ठाँउ के हुन्छ ? के हुन्छ भन्दा ,भेडीगोठ हुन्छ । अनि गोठलाई गोठ भनेर भन्न के को आइतबार ?
त्यसैले कसैलाई यो भेडीगोठ होइन भन्ने लाग्छ । मान्छेकै घर हो भन्ने लाग्छ भने, त्यसले शक्ति बस्नेतलाई होइन, गणेशमान सिंहलाई गाली गर्नु पर्छ । नेपाली जनता भेडा हुन् , भन्ने सिद्धान्तका प्रतिपादक उनै हुन् । प्रचण्ड र शक्तिहरूले त, यो सिद्धान्तलाई प्रयोगद्वारा प्रमाणित गरेका मात्रै हुन ।
 सन्तोष चिमरिया 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक