20200729

" ओए पापी चोले ! नचिनेजस्तो गर्छस मुर्दार , बाहिर निस्की । तसंग कुरा गर्नुछ ।"

Image may contain: 1 person
- सन्तोष चिमरिया 
चोले !
चोले !!
" ओए पापी चोले ! नचिनेजस्तो गर्छस मुर्दार , बाहिर निस्की । तसंग कुरा गर्नुछ ।"
तल एउटी छोरीमान्छे बेपत्तासंग चोले / चोले भन्दै चिच्याई रहेकी छ । मध्यरात छ । चकमन्न छ । चरो मुसो छैन । घडी हेरें, ठ्याक्क १२ बजेको रहेछ । भुत /पिचास निस्किने कुबेला पारेर, को कराउछ भनेर यसो पर्धा उठाएर हेरे ।
आधा जलेको अधकल्चो शरीर लिएर, एउटी आईमाई ठिङ्ग उभिएर कराउँदै छ । उसको शरीरबाट अझैसम्म धुवाँ निस्किरहे छ । भुतको सेतो पहिरन हुन्छ भन्थे, यसो हेरेको, उसले पनि ठ्याक्कै सेतो सारी लगाएकी छ । आधै जलेर उब्रेको जगटा फिंजिएकि छ । भ्रम हो कि ,भनेर मैले आँखा मिचेर फेरि हेरे । तर भ्रम होइन रहेछ । दृश्य एकदम प्रष्ट छ । उ रिसाएकी छ । उत्तेजनामा छ । आबेग र आक्रोशले स्वर थरथर काँपिरहेको छ । र त्यही काँपीरहेको स्वरमा उ अझैसम्म कराइ रहेकी छ ।

" मलाई चिनिनस चोले डाका ! म गीता हो। गीता ढकाल। हाम्रामा कौडा खेल्न मुन्टिन्थिस त हरामी। "

उ अझैसम्म चिच्याइ रहेकी छ । तर जुन चोलेलाई उसले बोलाएकि हो, त्यो चोलेको चालचोल छैन । यस्तो लाग्छ, चोले खुब डराएको छ र कतै कुनामा डरले थरथर काप्दै लुकिरहेको छ । अस्तित्वमै नभएको जस्तो स्वाङ पारिरहेको छ । तर ऊ, चोलेलाई तथानाम गाली गर्न छोडेकी छैन ।

" थुक्क चोले पापी, तं पनि, म जसरी नै , अपगती परेर मर्नु परोस । तेरो लासपनि आधा जलोस र आधा गिद्द्ले लुछोस । "
अब चाहीँ मेरो सातो गयो । "म जस्तै मर्नु परोस् । " भनेर उ चिच्याउदै छ । के यो जिउँदो मान्छे होइन ? समय, अवस्था र शरीर हेर्दा पनि भुत होइन भन्न सक्ने अवस्था छैन । मेरो मनमा यस्तै तर्क वितर्क चलिरहेका थिए । उ आफै आफ्नो परिचय दिन थाली हाली ।

" म भुत हु चोले , भुत । तेरो फैसलाले मेरो शान्त आत्मालाई भड्काएको छ, पापी । बाहिर निस्कि । तंसँग आमने-सामने बसेर बहस गर्नुछ।"
यहाँ भन्दा बढी मैले हेर्न सकिन । सुन्न सकिन । हत्तपत्त जनै छामे । ज्यानमा जनै थिएन। जनै लाउने गरेको भए पो , जनै होस् । जनै नै नभएपनि , एक राउन्ड गायत्री मंत्र जपेर म सिरक भित्र गुटुमुटु भए ।

वातावरण एकछिन चकमन्न भयो । घडीको टकटक आवाज बाहेक अरु केही सुनिएन ।अलि ढुक्क जस्तो भयो । गायत्री मन्त्र भनेको, गायत्री नै हो, जस्तो लागेर आयो । अनि बिस्तारै उठेर झ्यालबाट चियाउन गए । हो , त्यो गीता हुं भन्ने, आधा जलेकी भुत त्यहाँ थिइन् । यो पटक चाहिँ , मन पुरापुर ढुक्क भयो । गायत्री मंत्रप्रतिको विश्वास र श्रद्धा बढेर दोब्बर भयो । अनि म ढुक्कले निदाउन तिर लागे।

यसो निदाउने उपक्रममा, झुपुक्क मात्र के भएको थिए, फेरि त्यही आवाज तर शान्त भावमा , मेरो एकदम नजिक आएर कानैमा फुस्फुसायो ।
सन्ते !
सन्ते !!
सन्ते भाई !!!

म झसङ्गसँग बिउँझेर ,जुरुक्क उठे । उ ठिङ्ग अगाडि उभिएकी रहिछ । मैले चिच्याउन खोजेँ तर सकिन । भाग्न खोजे, हातखुट्टा चलेनन्। फेरि गायत्री मन्त्र जप्न खोजे तर, ॐ भुर भुर , ॐ भुर भुर मात्र भयो । मन्त्र पुरै दिमागमै आएन । तर पनि , म प्रयास गर्दै रहे.....
"ॐ भुर , ॐ भुर्र ॐ........
" कुनैपनि मन्त्रले न्यायको चेतना दबाउन सक्दैन सन्ते । "
उसले आधा जलेको हातले, मेरो मुख थुन्दै भनी । अनि बडो सान्त भएर, म सुतेकै खाटको छेउमा बसेपछि मेरो मुख छोडदिई ।

" डराउनु पर्दैन , म तिमीलाई केही गर्दिन ।"

अनि एकछिन पछि मलाई बोलाई ।
" सन्ते !"
" हजुर ।"

मेरो, रुंला रुंला परेको बच्चाको जस्तो सानो स्वर निस्कियो ।

" म गीता ढकाल हुं, चिनेउ ?"
" को गीता ढकाल ? चिनिन । "
" त्यसो भए एउटा कथा सुन । सुन्छौ ?"
" हुन्छ ।"
" एक समयमा , यो पृथ्वीमा म पनि ज्युँदै थिए । अनि त्यो दिन म घरैमा थिए । अनि उ अचानक मेरो घरमा आयो । "
"को घरमा आयो ?"
"रंन्जने । मेरो बुढो । पुलिसको हाकिम। "
"किन ?"
म डराएकै थिए, डराएर सोधे ।

"मलाई मार्न ।
अनि, त्यसपछि के भयो, तिमीलाई थाहा छ ?"
मैले टाउको हल्लाएँ ।
"थाह छैन ।"
" त्यसपछि, त्यसले मेरा टाउकामा रडले हान्यो । अनि महादेवका जटाबाट गंगा बगेजस्तै, मेरो टाउकोबाट रगतको भल बग्यो । मेरा आँखा अगाडि अन्धकार छायो र म ढले । मेरा ससाना दुई वटा छोरा थिए ,मैले तिनलाई सम्झे । तिनलाई सम्झेर ,तिनकै लागि भएपनि बाच्नु पर्छ जस्तो लाग्यो । अनि मैले टाउको उठाए । आँखा खोले
अनि हात जोडेर आफूलाई नमार्न अनुनय गरे । "

" अनि ?" मैले हत्तपत्त सोधेँछु । डर अलिअलि कम भएको रहेछ ।

"दोस्रोपटक, उसले झन जोडले प्रहार गर्यो । मैले अन्तिमपटक मेरा मुटुका टुक्राहरुलाई सम्झे । अनि त्यसपछि छाएको अन्धकार कहिल्यै फाटेन । फेरी कहिले उज्यालो भएन । मैले आँखा खोल्न सकिन।"

"अनि ?"
म अरु जिज्ञासु हुन थाले । कथा सुने जस्तो हुन थाल्यो । डर भाग्दै गयो ।

"अनि त्यसले मलाई , बोरामा पोको पारेर गाडीमा हाल्यो । जंगलमा लग्यो र पेट्रोल छर्केर आगो लगाएर भाग्यो । म आधा मात्रै जल्न सके । पुरा जल्न पनि पाइन । "

उसले दायाँबायाँ हेरी । नजिकै राखेको एक जग पानी घट्घटी पिइ । अनि सोफामा गएर , एकछिन चुपचाप बसी । मेरा पनि हातखुट्टा चलेछन् । अलि सजिलो गरी बसेर सोधेँ ।
" अनि त्यो हत्यारा समातिएन ? "

"त्यो समातेपछि त बल्ल मेरो आत्माले सान्ती पायो । म मुक्त भए । तर..... ?"

" तर के ? "

" तर चोलेले गर्दा सबै उल्टियो । चोलेको हातमा,त्यो बसेको जेल चाबी थियो । चोलेले छल गरेर चावी खोलिदियो र ऊ बाहिर आयो । अनि बैकुण्ठमा आनन्दले बसेको मेरो आत्मा, यो पृथ्वीमा झर्न बाध्य भयो । अनि म चोलेसंग जवाफ् माग्न बाध्य भए । तर चोले बाहिर निस्किंदै निस्किएन । डरले घरभित्रै मुसो लुके जसरी लुकेर बसेको छ । "

" अनि मलाई कसरी चिन्नु भयो ? यहाँ किन आउनु भएको ?"

" तिमी पनि फेसबुके होइनौ ?"

" खै होला, सबैले त्यसै भन्छन् ।"

" तिमीहरु जस्तै फेसबुके र टुईटरेहरुले हल्ला गरि दिनाले, मैले न्याय पाउने सम्भावना फेरि बढेको छ । फेरि मेरो असान्त आत्माले सान्ती पाउने सम्भावना बढेको छ । म , मेरा नाबालक छोराहरू टुहुरा बनाउने हत्यारा रन्जनेलाई जेलमै सडेको हेर्न चाहान्छु । अनि मात्र यो लोकबाट मुक्त भएर , स्थायीरुपमा बैकुण्ठ जान सक्छु । तर तिमीले त मेरो बारेमा केही लेखेनौं ? किन ? तिमीलाई मसँगै वैकुण्ठ जान्न मन छ ?"
उसको अन्तिम लाईनले मलाई अलि धम्क्याए जस्तो लाग्यो । अनि मैले हत्तपत्त जवाफ फर्काए ।

" नाइँ नाइँ ! अहिले तत्काल उता जाने मेरो कुनै योजना छैन ।"
" त्यसोभए केहि लेख । "
" हुन्छ म लेख्छु ।"
"पक्का ।"
" पक्का ।"
" पक्का ।"
"पक्का ।"

कोखामा मर्नेगरी कुईनाले लागेपछि भने, म झसङ्ग भएर ब्युझेछु । उठेर वरिपरि हेरेँ, उ थिइनँ । बरु बुढी पो , एक कुईनो बजाईवरी उठेर बर्बराउदै रहिछ ,

" मध्यराती के पक्का / पक्का भन्दै चिच्याएको ?"

" सपनामा पक्काको घर बनाउँदै रहेछु । "

" सपनामा त तिमीले सुनकै छानो पनि हाल्छौ नि । बिपनामा मात्रै हो , झुप्रो हाल्न नसक्ने त "

यती जवाफ फर्काएर उ भित्तातिर फर्केर घुर्न थाली ।
म बैकुण्ठ जानका डरले,मोबाइलमा फेसबुक खोलेर सपना साभार गर्न थाले ।
हैट ! सपना ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक