20200825

अमेरिकाका वरिष्ठ भाइरस विज्ञ डा. एन्थोनी फाउचीले दिए चेतावनी, खोप सुरक्षित तथा प्रभावकारिता प्रमाणित नभएसम्म हतारो गर्न नहुने !

 अमेरिकाका वरिष्ठ भाइरस विज्ञले कोभिड–१९ को खोपमा हतारो गर्न नहुने चेतावनी दिएका छन् । खोप सुरक्षित तथा प्रभावकारिता प्रमाणित नभएसम्म हतारो गर्न नहुने डा. एन्थोनी फाउचीले चेतावनी दिएका हुन् । त्यस्ता कार्यले खोप विकासको काममा असर गर्ने डा. फाउचीले समाचार संस्था रोयटर्ससँग बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खोपको परीक्षण प्रक्रिया पूरा नभई प्रयोग थाल्ने योजनाको तयारीमा रहेको खबर आइरहेका बेला डा. फाउचीले चेतावनी दिएका हुन् ।

खोप चाँडै नै प्रयोगमा ल्याएमा आउँदो नोभेम्बरमा हुने चुनावमा निर्वाचित हुने सम्भावना बलियो हुने विश्लेषणसहित ट्रम्पले हतारो गर्न थालेको दाबी गरिन्छ । डेमोक्र्याटहरुले राजनीतिक स्वार्थका लागि ट्रम्पले अमेरिकीको ज्यान जोखिममा पार्ने तयारी गरेको आरोप लगाएका छन् ।

शनिबार ट्रम्पले ट्वीट मार्फत युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले खोपको परीक्षणका लागि औषधि कम्पनीलाई बाधा पुर्‍याएको आरोप लगाएका थिए।

अहिले विकासको क्रममा रहेका खोपहरु आकश्मिक रुपमा प्रयोगका लागि स्वीकृति प्रदान गर्ने गरी ट्रम्प प्रशासन लागि परेको दाबीसहितको खबर द फाइनान्सियल टाइम्सले प्रकाशित गरेको छ । खोपको परीक्षणका लागि १० हजार मानिस स्वतन्त्र रुपमा तयार भएका छन् । तर खोपले स्वीकृति पाउनका लागि ३० हजार भन्दा बढी मानिसमा परीक्षण गरिएको हुनु पर्छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वमा सबैभन्दा बढी प्रभावित देश अमेरिकामा अहिलेसम्म ५७ लाख ४० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । कोभिड–१९ बाट मृत्यु हुनेको संख्या अमेरिकामा एक लाख ७७ हजार भन्दा बढी रहेको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ ।

समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजेका प्रमुख डा. फाउचीले परीक्षण नभएका खोपको प्रयोगमा हतारो गर्दा अरु परीक्षणहरुलाई प्रभावित पार्न सक्ने चेतावनी दिएका छन् ।

पूर्ण रुपमा परीक्षण नसक्दै खोपको प्रयोगका लागि आपतकालीन स्वीकृति (इयूए) दिन नहुने डा. फाउचीले बताए । खोप सुरक्षित र प्रभावकारी रहेको प्रमाण स्पष्ट रुपमा स्थापित नभएसम्म प्रयोगमा ल्याउनै नहुने डा. फाउचीले बताए ।

विश्वभर कोरोना भाइरसविरुद्धका खोपहरु निर्माणको क्रममा छन् । त्यसमध्ये अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको खोपलाई प्रमुख मानिएको छ । प्रमुख औषधि उत्पादक कम्पनीहरुले निर्माणाधिन खोपहरुको प्रभावकारिता थाहा पाउनका लागि पछिल्ला हप्ताहरुमा बिस्तारित परीक्षण थालेका छन् ।

यता नेपालमा चीन, रुस र बेलायतमा बनेका कोरोना भाइरसबिरुद्धको खोपको क्लिनिकल ट्रायल गरिने भएको छ। चीनमा बनाइएको भ्याक्सिन १ हजार जनाका लागि ट्रायल गर्न प्रस्ताव आइसकेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।

विश्वमा विभिन्न सातवटा कम्पनीले भ्याक्सिन निर्माण गरी क्लिनिकल ट्रायलको तेस्रो चरणमा पुगेको अवस्था रहेकाले ती मध्ये तीनवटा कम्पनीसँग मिलेर नेपालमा पनि क्लिनिकल ट्रायल गर्न प्रस्ताव गरिएको उनले बताए। सदस्यसचिव ज्ञवालीले रुसमा बनेको भ्याक्सिन, चीनमा बनेको भ्याक्सिन र अक्सफोर्ड विश्वविद्यालयको समुहले बनाएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा पनि गर्न प्रस्ताव गरिएको बताए।

त्यसमध्ये चिनको होङसी कम्पनीले निर्माण गरेको भ्याक्सिन एक हजार जनाका लागि ट्रायल गर्न प्रस्ताव आइसकेको उनले बताए।

त्यस्तै रुसमा निर्माण भएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा गर्न र उत्पादन सम्भाव्यता भए नेपालले पनि भ्याक्सिन बनाउनका लागि लगानी गर्ने सम्बन्धमा प्रस्ताव गरिएको बताए।

उनले नेपालका लागि रुसी राजदूतसँग आफैले भेटेर क्लिनिकल ट्रायल र उत्पादनका लागि चिठी लेखेर दिएको बताए।

तेस्रो चरणको क्लिनिकल ट्रायल गर्नका लागि पनि केही प्रक्रिया पूरा गर्नुपर्ने सदस्यसचिव ज्ञवालीले बताए।

नेपालमा ‘सेन्ट्रल इथिकल रिभ्यु बोर्ड’ एनएचआरसी अन्तर्गत विभिन्न विषय विज्ञहरु सहितको स्वतन्त्र बोर्ड रहेको र त्यहाँ छलफल भएपछि मात्रै क्लिनिकल ट्रायलका लागि स्वीकृतिको चरणमा लगिने बताए।

क्लिनिकल ट्रायलका लागि इथिकल रिभ्यु बोर्डबाट पास भइसकेपछि औषधि व्यवस्था विभागमार्फत लाइसेन्सका लागि अनुमति माग्ने बताए।

बोर्डबाट लाइसेन्स प्राप्त भएपछि मात्रै क्लिनिकल ट्रायलको कार्यान्वयन गरिने पनि उनले स्पस्ट पारे। भ्याक्सिनको क्लिनिकल ट्रायलका लागि स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको पनि उनले बताए।

क्लिनिकल ट्रायलका लागि प्रधानमन्त्री स्तरबाट स्वीकृति लिनु नपर्ने पनि ज्ञवालीले स्पस्ट पारे। त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लिडिङ अर्गनाइजेसनको रुपमा रहेको र उसले पनि क्लिनिकल ट्रायलका विषयमा हेरिराखेको हुनुपर्ने उनले बताए।

सबै चरणका क्लिनिकल ट्रायल पास भएका भ्याक्सिनलाई डब्लुएचओले पनि स्वीकृति दिने विश्वास गरिएको पनि उनले बताए।

यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका अनुमति प्रदान गरिएको बताएका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक