20201006

प्राध्यापक खगेन्द्र लुइँटेल माथि लज्जास्पद 'बौद्धिक चोरी' का आरोपै-आराेप, प्रज्ञा–प्रतिष्ठानद्वारा छानबिन समिति, समाचारको लुइँटेलले गरे खण्डन

सबैभन्दा पहिला लोक सम्बादले प्रकाशित गरेको समाचार, जुन जस्ताको तस्तै:    

कुनै पनि विश्वविद्यालय दिने  गरिमामय प्राज्ञिक/शैक्षिक पद हो प्राध्यापक अर्थात् प्रोफेसर ।   विश्वविद्यालयले प्रोफेसर दिने आ-आफ्ना मानकका आधारमा दिने गर्दछन् । यसरी पुरा गर्नु पर्ने शर्त  विश्वविद्यालयलाई गुहराममा परेर प्रोफेसर हुने एक खालको होड नै चल्ने गरेको छ । यसमा पनि  पिएचडी लगायतका अध्ययन अनुसन्धानमा समेत 'बौद्धिक चोरी' गरेर  प्राध्यापक हात पारेको  विषयमा समय-समय बहस र विवाद हुने गर्छन् । तर  बहस बहसमा मात्र सीमित हुने गरेका छन् । एक पटक 'बौद्धिक चोरी' चाेरी गरेर प्राप्त गरिमामय प्राज्ञिक/शैक्षिक पदको हुर्मत लिने काम आजीवन भर भइरहेको हुन्छ । 

विश्वविद्यालयमा कार्यरत शिक्षकले अर्काको सारेरै विद्यावारिधि गर्छन् र चोरी गरेर लेखेका पुस्तकहरू सेवा आयोगमा बुझाएर प्राध्यापक बन्छन् भने त्यस्ता प्राध्यापकले दिएको ज्ञान, पढाएका विद्यार्थी र शिक्षाको स्तर कस्तो होला ? भनी बारम्बार प्रश्न उठ्ने गरेका छन् ।  प्राध्यापक भनेको त्यस्तो गरिमामय प्राज्ञिक/ शैक्षिक पद हो जसप्रति सधैँ अरूको शिर श्रद्धाले झुक्छ तर हाम्रो देशमा कुनै कुनै यस्ता पनि प्राध्यापक रहेकाे पाइएकाे छ जसले सिङ्गो प्राज्ञिक क्षेत्र, प्राध्यापक पद र विश्वविद्यालयको नै बदनाम गराउने काम भइरहेका छन् । त्यसरी प्राज्ञिक क्षेत्रलाई बदनाम गराउने एक  परिचित नाम हाे – नेपाली केन्द्रीय विभागमा कार्यरत डाक्टर उपाधिधारी प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेल ।

आफूलाई नेपालको एक नम्बरको 'हात्ती' प्राध्यापक र अरू सबैलाई 'भुसुना'  भन्दै  क्षुद्रता व्याकता गर्ने लुइँटेल प्राध्यापकले 'चोरेरै' विद्यावारिधि गरेको र अर्काको सारेर लेखेका पुस्तकहरू सेवा आयोगमा बुझाएर प्राध्यापक भएको अनेक तथ्यहरु सार्वजनिक भइरहेका छन् । 

आफूलाई निकै नैतिकवान् र अरू सबैलाई अनैतिक र भ्रष्ट मात्र देख्ने लुइँटेल स्वभावका प्राध्यापकले केही वर्षअगाडि त्रिविको नेपाली विषयको आफू आधिकारिक व्यक्ति भएको देखाउन देशबाहिर जाँदा आफू नेपाली केन्द्रीय विभागको प्रमुख भएको परिचय दिएकाे आलाेचना भएकाे थियाे ।  अनधिकृत रूपमा नेपाली केन्द्रीय विभागको प्रमुखको भिजिटिङ कार्ड बनाई बाँड्दै हिँड्ने गरेको र आसामको गोहाटी विश्वविद्यालयबाट पाठ्यक्रम बनाउने नाममा कहीँ नपढाउने आफ्नी पत्नीलाई समेत विशेषज्ञ बनाई ठुलो रकम हात पारेको आराेप सम्बन्धित विश्वविद्यालयका शिक्षकहरूले लगाउने गरेका छन् ।

त्यस काण्डपछि उनी त्यसतर्फ फर्केर जान पनि नसकेको सोही विश्वविद्यालयका प्राध्यापकहरू बताउँछन् । त्यस्तै आफूलाई मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जालको स्वघोषित अध्यक्ष बताउने र कुनै आधिकारिक जिम्मेवारीमा पनि नरहेका लुइँटेलले भाषा सपार्न आफूले  मात्र लिएको  गर्न  सक्ने भन्दै भाषा संरक्षण अभियानका नाममा हाल इम्बोस्ट नम्बरका सम्बन्धमा सर्बोच्च अदालतबाट भएको फैसलाको विरोध गर्न भनी देशविदेशबाट रकम सङ्कलनकाे अभियानमा सकृय रहेको आराेप लागि रहेकाे छ । 

अर्काको कुनै रचना वा अंश सन्दर्भ स्रोतको उल्लेख  समेत नगरी 'सारेर' आफ्नो कृति बनाउनु नेपालमा मात्र होइन, संसारमै गम्भीर अपराध मानिन्छ र यसमा प्रतिलिपि अधिकार ऐन आकर्षित भई चोरीका अपराधमा कार्बाहीको भागिदार पनि हुनुपर्छ तर हामी कहाँ चाहिँ अर्काका रचना चोरी गरेर प्राध्यापक भएका लुइँटेल जस्ता प्राध्यापकहरू निर्धक्क छाती फुलाएर हिँडिरहेका मात्र हाेइन अरुलाई नैतिक पाठ पढाई रहेको पाइन्छ ।

 प्राध्यापकले विश्वविद्यालयमा शोधविधि पढाउँछन् । त्यहाँ अनुसन्धानको नैतिकताका बारेमा पढाउँदा के के गर्दा 'बौद्धिक चोरी' ठहर्छ भनेर पनि पढाइन्छ । यसरी नैतिकताको पाठ पठाउने प्राध्यापक आफैँले लेखेका सबै पुस्तक चोरीका ठहरे भने के हुन्छ ? विश्वविद्यालयमा अहिले यस्तै भएको छ । यसरी चोरी गरेर पुस्तक लेख्ने र विद्यावारिधिको शोधप्रबन्ध समेत तयार गर्ने जस्तो नैतिक र प्राज्ञिक अपराधकाे आराेप लागेको छ खगेन्द्र लुइटेललाई ।

यस किसिमका  'बौद्धिक चोरी' अनैतिक, गैरजिम्मेवार र प्राज्ञिक मर्यादा विपरीत कार्य गर्नु लज्जाकाे विषय हाे । प्रतिलिपि अधिकार ऐन विरुद्धको कार्यलाई त्रिवि  र प्रज्ञा–प्रतिष्ठान जस्ता स‌ंस्थाबाट प्रोत्साहन हुनुलाई झनै रहस्यपूर्ण ढंगले हेरिएकाे छ ।यस सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, प्रज्ञा–प्रतिष्ठान जस्ता  निकायको ध्यान आकृष्ट हुनु  हुन जरुरी छ ।

लुइटेल आफैँ शोधविधि पढाउँछन् तर उनका प्रायः सबै पुस्तक चोरी गरेर लेखिएकाे पाइएको छ । कतिसम्म भने सन्दर्भ सामग्रीमा अङ्ग्रेजी र संस्कृतका अरू नै पुस्तक राख्ने र आफूले चोरेका हिन्दी र नेपालीका पुस्तक चाहिँ नराखी विज्ञ पाठकका आँखामा छारो हाल्ने प्रवृत्तका रुपमा नै  देखाइएकाे छ । केही वर्षअघि साझा प्रकाशनबाट प्रकाशित पुस्तकबाट आफ्ना स्नातक र उच्च माध्यमिक तहका पुस्तकमा रचना हुबहु राखेबापत उजुरी परी दुई दिन हनुमान ढोकाको हिरासतमा बसेर  हर्जाना तिरी छुटेका तथा आफूले लेखेको ‘लोकवार्ताविज्ञान र लोकसाहित्य’ (२०६३ सहलेखन) पुस्तकमा प्रसिद्ध साहित्यकार तुलसी दिवसको ‘नेपाली लोककथा’ (२०३२) किताबबाट आफ्ना किताबका ३९० देखि ४२७ सम्मका ३८ पेज हुबहु सारेर राखेको पाएपछि तुलसी दिवसले उजुरी गरेपछि क्षतिपूर्ति सहित चोरिएका सबै पेजमा स्टाम्प लगाएर यी तुलसी दिवसका किताबबाट लिएका हुन् भनी उल्लेख गर्न बाध्य हुनु परेकाे थियाे । यो पुस्तक विद्यार्थी पुस्तक भण्डारहरुमा सजिलै देख्न सकिन्छ । 

प्राध्यापक लुइँटेलले लेखेका र अनुसन्धान गरेका भनिएका प्रायः सबै पुस्तकमा अरूका पुस्तकबाट कुनैमा जस्ताको तस्तै र कुनैमा चाहिँ भाषान्तर गरी सारिएको आराेप लाग्ने गरेकाे छ । कुनै अंश कुनै किताबबाट र कुनै अंश कुनै किताबबाट मिसमास गरी तलमाथि पारेर पाठकलाई झुक्याउने काममा प्राध्यापक लुइँटेललाई 'सिद्धहस्त' काे आराेप लाग्ने गरेकाे छ । यति मात्र होइन, लुइँटेलले आफ्नो निर्देशनमा विद्यार्थीले गरेका शोधपत्रबाट समेत हुबहु सारेर लेख रचना लेख्ने गरेको पीडित विद्यार्थीहरूको गुनासाे गर्ने गरेका छन् । उनले गरेको विद्यावारिधि र लेखेका पुस्तकमा गरेको चोरीका केही नमुना र उदाहरण  यसप्रकार रहेका छन्  । 

चोरीकाे पहिलाे आराेप 
खगेन्द्रप्रसाद लुइटेलले ‘कविताको संरचनात्मक विश्लेषण’ शीर्षकमा विद्यावारिधि गरेका हुन् । उक्त शोधग्रन्थ पुस्तकाकार रूपमा विद्यार्थी पुस्तक भण्डारबाट प्रकाशित छ । यस शोधको पृष्ठ २५८ मा विम्बलाई चिनाउने विद्वान्हरूको परिभाषा दिइएको छ र ती परिभाषा र त्यसको सामग्री राधाकृष्ण प्रकाशन, नयाँ दिल्लीबाट प्रकाशित केदारनाथ सिंहको ‘आधुनिक हिन्दी कविता में बिम्बविधान’ (सन् १९९४) कृतिको पृष्ठ २५ बाट हुबहु सारिएको छ भने त्यसको सन्दर्भ खुलाइएको छैन  । जसको केही नमुना यसप्रकार रहेको छ-


बिम्ब एक प्रकारका शब्दचित्र हैं । बिम्ब वस्तु औं के आन्तरिक सादृश्य का प्रत्यक्षीकरण हैं । बिम्ब ऐन्द्रिय माध्यम के द्वारा आध्यात्मिक अथवा तार्किक सत्यों तक पहुचने का एक मार्ग हैं । बिम्ब एक अमूर्त विचार अथवा ‘भावना’ की पुनर्रचना हैं । बिम्ब दो विरोधी संवेदनाओं अथवा अनुभूतियों का आन्तरिक तनाव (टेन्सन) हैं । (केदारनाथ सिंह, पृष्ठ २५)

बिम्ब एक प्रकारको शब्दचित्र हो । बिम्ब वस्तुको आन्तरिक सादृश्यको प्रत्यक्षीकरण हो । बिम्ब ऐन्द्रिय माध्यमद्वारा आध्यात्मिक अथवा तार्किक सत्यसम्म पुग्ने एउटा मार्ग हो । बिम्ब एक अमूर्त विचार अथवा भावनाको पुनर्रचना हो । बिम्ब दुई विरोधी संवेदना अथवा अनुभूतिको आन्तरिक तनाउ हो । (खगेन्द्रप्रसाद लुइँटेल, पृष्ठ २५८)

              

यसरी नै मोहनराज शर्माको ‘समकालीन समालोचना’ नामक कृतिको पृष्ठ ९७ देखि १४३ सम्मको ‘कविताको संरचना’ र ‘कविताको भाषा’ शीर्षकको सामग्रीबाट यताउता पारेर लुइँटेलले आफ्नो विद्यावारिधि शोधप्रबन्धमा र कृतिमा समेत समावेश गरेका छन् । यति मात्र नभएर मोहनराज शर्माकै ‘शैलीविज्ञान’ नामक कृतिको पृ. ८ देखि ११ सम्मबाट लुइँटेलले आफ्नो कृतिको पृष्ठ ६० देखि विषयवस्तु र वृक्षरेखासमेत जस्ताको तस्तै राखेका छन् तर कुनै पादटिप्पणी वा सन्दर्भको उल्लेख गरेका छैनन् । यसो नगर्नुलाई  सरासर 'बौद्धिक चोरी' को रुपमा लिइएको छ । 

चोरीकाे दाेस्राे  आराेप 

खगेन्द्रप्रसाद लुइटेलले विद्यार्थी पुस्तक भण्डारबाट ‘पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त’ नामक पुस्तक प्रकाशित गरेका छन् । उक्त पुस्तक हिन्दीका विभिन्न पुस्तकबाट सारेर सन्दर्भसमेत उल्लेख नगरी तयार पारिएको छ । उनले ‘परिष्कारवाद’ शीर्षकको पृष्ठ २६७ देखि २८० सम्मको सामग्री राधाकृष्ण प्रकाशन, नयाँ दिल्लीबाट प्रकाशित निर्मला जैन र कुसुम बाँठियाको हिन्दी पुस्तक ‘पाश्चात्य साहित्य चिन्तन’ (सन् १९९४) को ‘अभिजात्यवाद और नव्यआभिजात्यवाद’ पृष्ठ १४३ देखि १५४ सम्मबाट भाषान्तर गरी चोरिएको छ ।  त्यसैगरी लुइँटेलको यही पुस्तकमा रहेको ‘स्वच्छन्दतावाद’ शीर्षकको पृष्ठ २८१ देखि २९३ सम्मको अर्को सामग्री विश्वविद्यालय प्रकाशन वाराणसीबाट प्रकाशित भगीरथ मिश्रको हिन्दी पुस्तक ‘पाश्चात्य काव्यशास्त्रः इतिहास, सिद्धान्त और वाद’ (सन् १९८८) को ‘स्वच्छन्दतावाद’ पृष्ठ २३५ देखि २४० सम्मको सामग्री चोरी गरिएको  छ । यसको केही अंश भने निर्मला जैनबाट पनि चोरी गरिएको छ । यसै गरी पुस्तकमा पाश्चात्य समालोचनाका प्रायः शीर्षक हिन्दीका प्रतापनारायण टण्डन, गोपीचन्द नाराँग लगायतका पुस्तकबाट सारिएका छन् । पुस्तकबाट सारिएका अंशः

आभिजात्यवाद के समर्थक रचनाकार इसिलिए रचना को स्वतःस्फूर्त सृजन नमानकर सायास निर्मित कलाकृति मानते हैं । आभिजात्यवाद कला मे परिष्कृत रुचि, जीवन की व्यापक दृष्टि के साथसाथ विवेक और भावना तथा वस्तु और रुप आकार के सन्तुलन को प्राथमिकता देता हैं । रचना के अंतरंग पक्ष मे मर्यादित औदात्य, आत्मा की गरिमा, स्वच्छता और प्रशान्ति पर बल दिया वाता हैं तथा विचारौं मे व्यवस्था और स्पष्टता पर । अभिव्यक्ति मे सादगी, सन्तुलन और सानुपातिक संरचना इन रचनाकारौं का लक्ष्य होता हैं । (निर्मला जैन र कुसुम बाँठिया, पृ. १४७) 

साहित्यिक कृति स्वतःस्फूर्त सिर्जना नभएर प्रयासपूर्ण कलाकृति हो । यसका लागि परिष्कृत रुचि, व्यापक जीवनदृष्टि, बुद्धि, विवेक तथा संयत सन्तुलनलाई प्राथमिकता दिनुपर्छ । कृतिको आन्तरिक पक्षमा मर्यादापूर्ण उदारता, आत्मगौरव, शुद्धता, स्वच्छता तथा विचारमा स्पष्टता र व्यवस्थितता हुनुपर्छ । साहित्यकारको लक्ष्य सरल, सहज, सन्तुलित र समानुपातिक संरचनाको निर्माण हुनुपर्छ । (खगेन्द्र लुइँटेल, पृ.२७७) 

उक्त कृतिको पूर्वीय साहित्य सिद्धान्त खण्डमा त खुलमखुला 'बौद्धिक चोरी' गरिएको छ । यसको पृष्ठ ४० देखि ५५ सम्ममा रहेको रस सम्प्रदायसम्बन्धी सामग्री नेसनल पब्लिसिङ हाउसबाट प्रकाशित डा. नगेन्द्र लिखित ‘रीतिकाव्य की भूमिका’ बाट सारिएको छ । उनले यस पुस्तकको पृष्ठ ३२ देखि ८८ सम्मबाट कतै सोझै कतै भाषान्तर त कतै केही छाडेर सारेका छन् भने यही पुस्तकबाट उनले अलङ्कार, रीति, ध्वनि र वक्रोक्ति सिद्धान्तका पाठहरू पनि सारिएकाे छ ।  कतिपय पाठहरू केशवप्रसाद उपाध्यायका पुस्तकबाट पनि सारिएका छन् । यसरी पूरा पाठ उल्लेख गरे पनि त्यसको सन्दर्भ स्रोत कतै पनि दिइएको छैन र सन्दर्भ सामग्रीमा समेत यस पुस्तकको नाम उल्लेख गरिएको पाइँदैन । 

चोरीकाे तेस्राे  आराेप 

खगेन्द्रप्रसाद लुइटेलको ‘लोकवार्ताविज्ञान र लोकसाहित्य’ (२०६३ सहलेखन) पुस्तक विद्यार्थी पुस्तक भण्डारबाट प्रकाशित छ । यस पुस्तकको पृष्ठ ३९० देखि ४२७ सम्मका ३८ पेज सामग्री तुलसी दिवसको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट २०३२ सालमा प्रकाशित ‘नेपाली लोककथा’ पुस्तकबाट जस्ताको तस्तै 'बौद्धिक चोरी' गरिएको हुँदा लेखकले उजुरी गरेपछि यी पेजहरू ‘तुलसी दिवस (सं.) नेपाली लोककथा (२०३२) बाट’ भन्ने छाप लगाई विक्रीवितरण गरिएको र जरिवाना तिर्न बाध्य पारिएको कुरा त्यही समयमा सार्वजनिक भएको थियो। यसको एउटा उदाहरण यसताे  छ :


        
चोरीकाे चौथाे  आराेप 

खगेन्द्रप्रसाद लुइँटेलको तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट ‘कविता सिद्धान्त र नेपाली कविताको इतिहास’ (२०६०) नामक पुस्तक प्रकाशित छ । यो नेपाल प्रज्ञा–प्रतिष्ठानको परियोजनाअन्तर्गतको कार्य हो । यस पुस्तकको सैद्धान्तिक खण्ड आफ्नो विद्यावरिधि शोधप्रबन्ध ‘कविताको संरचनात्मक विश्लेषण’ (२०५८) बाट हुबहु सारिएको  आराेप छ । यसबाट उनले 'बौद्धिक चोरी'का साथै आर्थिक अनियमिततासमेत गरेको पुष्टि हुन्छ् । आफ्नो पूर्व प्रकाशित कुनै सामग्रीलाई पछि गरिएको अनुसन्धान प्रतिवेदनमा हुबहु समावेश गर्नु पनि 'बौद्धिक चोरी' नै मानिन्छ ।  यसबाट पाठकहरू मात्र होइन, अनुसन्धान गराउने संस्थालाई पनि ठगेको ठहर्छ । आश्चर्य त के छ भने प्रज्ञा–प्रतिष्ठान जस्तो प्राज्ञिक संस्थाले यस्ता चोरी गरिएका सामग्रीहरूको परीक्षण नगरी समेत पहुँचका आधारमा  कृतिका रूपमा छाप्नु दुर्भाग्यपूर्ण कार्यका रुपमा लिइएको छ । यसरी नै यस पुस्तकका सबै सामग्री विद्यार्थीका थेसिस र लेखकका पुस्तकबाट चोरी गरिएका कुरा प्राध्यापक र विद्यार्थीका बिचमा बहसको विषय बन्ने गरेको छ ।   

यसै गरी लुइँटेलद्वारा नै लिखित र प्रज्ञा–प्रतिष्ठानबाटै प्रकाशित ‘नेपाली उपन्यासको इतिहास’ (२०६९) प्रज्ञाकै अनुसन्धान परियोजना अन्तर्गत तयार भएको पुस्तक हो । यो अनुसन्धानात्मक कार्य भए पनि यसमा अनुसन्धान विधिको प्रयोग नगरिएकाेमा आलोचना हुने गरेकाे छ ।  यसो हुनुको मूल कारण चोरी नै हो । यसका मूल सामग्रीमा कहीँ कतै पनि सन्दर्भको उल्लेख गरिएको छैन । यसका सामग्री राजेन्द्र सुवेदीको ‘नेपाली उपन्यासः परम्परा र प्रवृत्ति’, कृष्णचन्द्रसिंह प्रधानको ‘नेपाली उपन्यास र उपन्यासकार’, कृष्णहरि बराल र नेत्र एटमको ‘उपन्यास सिद्धान्त र नेपाली उपन्यास’ र विभिन्न लेख तथा विद्यार्थीका थेसिसबाट चोरी गरी प्रज्ञा–प्रतिष्ठानलाई समेत  ठगी गर्न लुइँटेल सफल देखिएका छन् । यसमा  पनि प्रज्ञा–प्रतिष्ठानका अमुक विगतका र वर्तमान केही पदाधिकारीहरुकाे सम्लगनता रहेकाे पाइएकाे छ । 

चोरीकाे पाँचौ आराेप 

 खगेन्द्र लुइँटेलले आफूले धेरै पुस्तक लेखेको भन्न रुचाउने  गरेका छन् । उनका ‘नेपाली कविता’ (२०५४),  ‘नेपाली निबन्ध’ (२०५४), ‘नेपाली कविता र आख्यान’ (२०५५), ‘नेपाली गद्य, भाषासाहित्य र इतिहास’ (२०५५), ‘नेपाली गद्य र भाषासाहित्य’ (२०५५), ‘नेपाली कविता, नाटक र इतिहास’ (२०५७) आदि पुस्तकमा समावेश गरिएका रचनाहरू लेखकको स्वीकृतिविना राखिएका र विश्लेषण सामग्री पनि विभिन्न विद्यार्थीका शोधपत्र र प्रकाशित अरूका सामग्रीबाट सारेर तयार गरिएका हुन् भन्ने कुरा बौद्धिक वृत्तमा बहस हुँदै आएको हो ।  

यसरी त्रिवि जस्तो उच्च प्राज्ञिक गरिमा बोकेको संस्थामा रहेका प्राध्यापकबाट नै यस किसिमका  'बौद्धिक चोरी' अनैतिक, गैरजिम्मेवार र प्राज्ञिक मर्यादा विपरीत कार्य गर्नु  लज्जाकाे विषय हाे । प्रतिलिपि अधिकार ऐन विरुद्धको कार्यलाई त्रिवि  र प्रज्ञा–प्रतिष्ठान जस्ता स‌ंस्थाबाट प्रोत्साहन हुनुलाई झनै रहस्यपूर्ण ढंगले हेरिएकाे छ । यस सम्बन्धमा त्रिभुवन विश्वविद्यालय र प्रज्ञा–प्रतिष्ठान जस्ता  निकायको ध्यान आकृष्ट हुनु  हुन जरुरी छ । समयमा नै ध्यान नजाने हाे भने प्राज्ञिक क्षेत्र अराजक हुने र बदनाम हुने त निश्चत  नै छ । 

***********************

 लुइँटेलले गरे खण्डन  

विगत तीन दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा प्राध्यापनरत म खगेन्द्रप्रसाद लुइटेल हाल प्राध्यापक जस्तो गरिमामय पदमा रही राष्ट्रिय रूपमा मात्र नभएर अन्तर्राष्ट्रिय रूपमा समेत पहिचान बनाएको व्यक्ति भएको कुरा सर्वविदितै छ ।

२०७७ आश्विन १६ गते ‘प्राध्यापक खगेन्द्र लुइँटेल माथि लज्जास्पद बौद्धिक चोरीको आरोपै–आरोप’ शीर्षकमा मेरो मान, प्रतिष्ठा र इज्जतप्रति ईर्ष्या गर्ने केही व्यक्तिले भुपराज खड्का सम्पादक रहेको लोकसंवाद नामक अनलाइन पोर्टललाई दुरुपयोग गरी बेनामे लेखमा प्रेस काउन्सिल नेपालले जारी गरेको ‘पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६)’ का ‘‘पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य’’ खण्डअन्तर्गत दफा ४(१), ४(३), ४(५), ४(६) एवं ‘‘पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने’’ खण्डअन्तर्गत दफा ५(१) ५(२) ५(३) ५(५) ५(१०), मुलुकी अपराध संहिता २०७४ को भाग ३ को परिच्छेद–२ गाली बेइज्जतीसम्बन्धी कसूरको दफा ३०५, ३०६ र ३०७ एवं विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ समेत उल्लङ्घन हुने गरी अनलाइन सामग्री प्रकाशन गरेको पाइयो ।

निज भुपराज खड्का सम्पादक रहेको अनलाइन पोर्टल ‘लोकसंवाद’ ले पत्रकारिताका विश्वव्यापी मूल्यमान्यता, सिद्धान्त, आचारसंहिता एवं नेपालका प्रचलित कानुन र प्रेस काउन्सिल नेपालले जारी गरेको प्रचलित पत्रकार आचारसंहिताको समेत उल्लङ्घन हुने गरी अत्यन्त निकृष्ट भाषामा तथ्यप्रमाणहीन, भ्रामक, झुठा, कपोलकल्पित, गैरजिम्मेवार, मनगढन्ते एवं एकतर्फी सामग्री प्रकाशन गरेर पीतपत्रकारिताको हदैसम्मको नमुना प्रस्तुत गरी म निःस्वार्थ ढङ्गले नेपाली भाषाको श्रीवृद्धिका लागि आफ्नै पैसा खर्च गरी अभियानकै रूपमा निरन्तर संलग्न रहेको व्यक्तिलाई सार्वजनिक रूपमा बदनाम गर्ने, चरित्रहत्या गर्ने र बेइज्जती गर्ने दुष्प्रयास गरेको देखियो । अतः सो सामग्री यथार्थपरक, वस्तुनिष्ठ र सत्यतथ्य नभएको एवं कुनियतवश आएको हुनाले यथार्थ तपसिलबमोजिम भएको हुँदा यसप्रकार खण्डन गर्दछु :

तपसिल

‘‘आफूलाई नेपालको एक नम्बरको ‘हात्ती’ प्राध्यापक र अरू सबैलाई ‘भुसुना’ भन्दै क्षुद्रता व्याकता (व्यक्त) गर्ने लुइँटेल प्राध्यापकले ‘चोरेरै’ विद्यावारिधि गरेको र अर्काको सारेर लेखेका पुस्तकहरू सेवा आयोगमा बुझाएर प्राध्यापक भएको अनेक तथ्यहरू सार्वजनिक भइरहेका छन्’’ भन्ने जस्ता निम्नस्तरीय आरोप लगाउनु मात्र पनि दण्डनीय अपराध हो । ‘नेपालीको सबैभन्दा स्तरीय र मानक शोधप्रबन्ध’ भनी शोधनिर्देशक विद्वान् प्रा. मोहनराज शर्माले नै उल्लेख गर्नुभएको मेरो विद्यावारिधि शोधकार्यलाई निराधार आरोप लगाउने तथा ‘‘अर्काको सारेर लेखेका पुस्तकहरू सेवा आयोगमा बुझाएको’’ भन्ने झुठा र कपोलकल्पित ढङ्गले भ्रम सिर्जना गरी मेरो प्रतिष्ठामा आँच पु¥याउने दुष्प्रयास गरिएको हुँदा अनलाइन पोर्टलमा उल्लेख गरिएको कुरालाई सप्रमाण पुष्टि गर्न म चुनौती दिन्छु ।

‘‘त्रिविको नेपाली विषयको आफू आधिकारिक व्यक्ति भएको देखाउन देशबाहिर जाँदा आफू नेपाली केन्द्रीय विभागको प्रमुख भएको परिचय दिएको र अनधिकृत रूपमा नेपाली केन्द्रीय विभागको प्रमुखको भिजिटिङ कार्ड बनाई बाँड्दै हिँड्ने गरेको’’ भन्ने कुरा मेरो चरित्रहत्या गर्ने दुराशयले भ्रम फिँजाउन गरेको दुष्प्रचार मात्र हो । म नेपाली केन्द्रीय विभागको प्रमुख नभएको हुँदा विभागका प्रमुखको भिजिटिङ कार्ड बनाई बाँड्दै हिँड्ने त के कुरा कार्ड बनाउने भन्नेसमेत कल्पनाबाहिरको कुरा हो । मैले सधैँ आफ्नो आधिकारिक परिचय नै लेखेर, बोलेर वा कुनै कार्डमार्फत दिने गरेको छु र मलाई मेरो यथार्थ परिचयबाहिरको कुनै पगरी गुथ्नु कहिल्यै आवश्यक छैन । मैले केकसरी, कुन ठाउँमा, को व्यक्तिलाई विभागीय प्रमुखको भिजिटिङ कार्ड दिएको हो भन्ने कुरा सप्रमाण पुष्टि गर्न म चुनौती दिन्छु ।

मलाई असमको गौहाटी विश्वविद्यालयले नेपाली विषयको स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण गर्न लगाई त्यहाँको ‘स्पेसल कोर्स एड्भाइजर’ समेत बनाएको हो र मेरै नेतृत्वमा त्यस विश्वविद्यालयबाट २१ वटा पाठ्यपुस्तक छापिएका छन् । ‘‘आसामको गौहाटी विश्वविद्यालयबाट पाठ्यक्रम बनाउने नाममा कहीँ नपढाउने आफ्नी पत्नीलाई समेत विशेषज्ञ बनाई ठूलो रकम हात पारेको’’ भनी नितान्त भ्रम छर्न खोजिएको छ । यसमा विश्वविद्यालयको नियमानुसार पाउने पारिश्रमिकबाहेक अन्य ठूलो रकम हात पार्ने भन्ने कुरै हुँदैन । विश्वविद्यालयमा बसेर भ्रष्टाचार गर्न पल्केकालाई मात्र ठूलो रकम कसरी हात पर्छ भन्ने थाहा होला । विदेशमा समेत नेपाली भाषाको श्रीवृद्धि गर्ने पुण्यकार्यका क्रममा मैले कैयन बौद्धिक कामहरू स्वयंसेवकका रूपमा निःशुल्कसमेत गरेको कुरा जगजाहेर छ । यसमा थप केही कुरा बुझ्न मन हुनेले गौहाटी विश्वविद्यालयमा बुझ्ने कष्ट गरेमा मात्र पनि सत्यतथ्य स्पष्ट भइहाल्छ । लीला लुइटेल नाताले मेरी पत्नी भए पनि लेखकका रूपमा पहिचान बनाएको व्यक्तित्व हो । अन्तर्राष्ट्रिय स्तरको एउटा विदेशी विश्वविद्यालयले कसैको नाताका आधारमा बौद्धिक प्राज्ञिक काममा संलग्न गराउँदैन । त्यसका लागि स्पष्ट योग्यता र पहिचान चाहिन्छ । लीला लुइटेलको लेखकीय योगदान पहिचान गरेर नै गौहाटी विश्वविद्यालयले आफ्नो कार्यक्रममा संलग्न गराएको हो । लीला लुइटेलका कृतिहरू गौहाटी विश्वविद्यालयमा मात्र समावेश नभई उत्तरबङ्ग विश्वविद्यालयका पाठ्यक्रममा समेत समावेश हुनाका साथै भारतीय प्रकाशनबाट निजका अनुसन्धानमूलक कृति पनि प्रकाशन भइसकेका छन् । ती सबै यथार्थलाई छायामा पार्ने दुष्प्रयासस्वरूप सो अनलाइनमा ‘‘त्यस काण्डपछि उनी त्यसतर्फ फर्केर जान पनि नसकेको’’ भन्ने कुरा निराधार हो । हाल त्यो कार्यक्रम नै नरहेकाले त्यस कामका लागि त्यहाँ जाने भन्ने कुरै रहेन । मित्रहरूसँगको अनौपचारिक भेटघाट तथा घुमफिरका लागि म आफ्नो अनुकूलताअनुसार परिवारसहित जानेआउने गरिरहेकै छु । यसर्थ मेरो मात्र नभई मेरो परिवारसमेतको प्रतिष्ठामा आँच आउने गरी यस्तो हुँदै नभएको कपोलकल्पित कुरा लेख्नु निन्दनीय र दण्डनीय पनि छ ।

‘‘आफूलाई मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जालको स्वघोषित अध्यक्ष बताउने र कुनै आधिकारिक जिम्मेवारीमा पनि नरहेका लुइँटेलले भाषा सपार्न आफूले मात्र लिएको गर्नसक्ने भन्दै भाषा संरक्षण अभियानका नाममा हाल इम्बोस्ट नम्बरका सम्बन्धमा सर्बोच्च अदालतबाट भएको फैसलाको विरोध गर्न भनी देशविदेशबाट रकम सङ्कलनको अभियानमा सकृय रहेको’’ भन्ने कुरा सरासर गलत हो । म नेपाल सरकार गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँमा २०७४–५–५ मा दर्ता नं. ११५ मा दर्ता भएको संस्था मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको साधारण सभाबाट निर्वाचित अध्यक्ष हुँ । यस सञ्जालको नेतृत्वमा त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सरकार शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, उच्च माध्यमिक शिक्षा परिषद्लगायतका निकायबाट बिगारिएको नेपाली भाषालाई मानकीकरण गरिएको कुरा सर्वविदितै छ । कुनै आधिकारिक जिम्मेवारीमा पनि नरहेका भनिएका सन्दर्भमा म त्रिभुवन विश्वविद्यालयको प्राध्यापकजस्तो गरिमामय र जिम्मेवार पदमा रहेको कुरा पनि सर्वविदितै छ । ‘‘भाषा संरक्षण अभियानका नाममा हाल इम्बोस्ट नम्बरका सम्बन्धमा सर्वोच्च अदालतबाट भएको फैसलाको विरोध गर्न भनी देशविदेशबाट रकम सङ्कलनको अभियानमा सकृय रहेको’’ भन्ने कुरा मेरो चरित्रहत्या गर्ने ढङ्गले गरिएको अत्यन्त निराधार एवं तथ्यहीन कुरा हो । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अङ्गे्रजीमा राख्ने पक्षमा सर्वोच्च अदालतको फैसलाबाट नेपाली भाषाको पहिचानमा आघात पर्ने भएकाले कोही पनि सचेत नागरिकले यो फैसलाको आलोचना गर्नु स्वाभाविकै हो । म मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको अध्यक्ष भएका नाताले र नेपाली भाषाको संरक्षण हुनुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति भएका कारण मैले नेतृत्व गरेको यस सञ्जालले सो फैसलाको आलोचना नगर्ने कुरै भएन । म र मैले नेतृत्व गरेका सञ्जालबाट गरिएको विरोध र आलोचना सो फैसला अदालतकै तहबाट सच्चियोस्, नेपाल सरकारले इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गरोस् भन्ने अभिप्रायबाट गरिएको हो । यस सञ्जाल र यससँग सम्बन्धित कुनै पनि पदाधिकारीले भाषा अभियानका क्रममा कहिल्यै पनि कुनै व्यक्ति या संस्थाबाट एक रूपैयाँ पनि सङ्कलन गरेको छैन । आरोप लगाउनेले यसको पुष्टि गर्न आवश्यक भएकाले त्यससम्बन्धी प्रमाण पेस गर्न म चुनौती दिन्छु ।

‘‘अर्काका रचना चोरी गरेर प्राध्यापक भएका लुइँटेल जस्ता प्राध्यापकहरू निर्धक्क छाती फुलाएर हिँडिरहेका मात्र होइन अरूलाई नैतिक पाठ पढाई रहेको’’ भन्नेसमेत बेहोरा उल्लेख गरिएकामा अरूको कुरा मेरो हकमा सरोकारको विषय रहेन । मेरा सन्दर्भमा भने उल्लिखित आरोप सरासर झुठा, कपोलकल्पित र चरित्रहत्या गर्ने नियतले आएको देखिन्छ । ‘‘चोरी गरेर पुस्तक लेख्ने र विद्यावारिधिको शोधप्रबन्ध समेत तयार गर्ने जस्तो नैतिक र प्राज्ञिक अपराधको आरोप लागेको छ खगेन्द्र लुइटेललाई’’ भन्ने कुरा सरासर गलत हो । यो कुरालाई सप्रमाण पुष्टि गर्न म चुनौती दिन्छु ।

‘‘लुइटेल आफैँ शोधविधि पढाउँछन् तर उनका प्रायः सबै पुस्तक चोरी गरेर लेखिएको पाइएको छ’’ भनिएका सन्दर्भमा सो कुरा व्यक्तिगत लान्छना लगाई मेरो प्रतिष्ठामा खलल पुगोस् भन्नेबाहेक अरू केही पनि होइन । म विश्वविद्यालयमा शोधविधि पढाउँछु भन्ने कुरा सत्य हो । म मेजर इङ्लिस र संस्कृत पनि पढेको मान्छे भएकाले म अधिकांशतः अङ्ग्रेजी एवं संस्कृतका प्राथमिक सामग्री नै प्रयोग गर्छु र यो शोधको धर्म पनि हो भन्ने कुरा मलाई राम्रो जानकारी छ तर मैले चोरी गरेर पुस्तकहरू लेखेको भन्ने कुरा मिथ्या आरोप हो । यस्ता झुठा र भ्रामक सामग्री प्रकाशन गर्नेलाई यो आरोप पुष्टि गर्न म चुनौती दिन्छु ।

‘‘केही वर्षअघि साझा प्रकाशनबाट प्रकाशित पुस्तकबाट आफ्ना स्नातक र उच्च माध्यमिक तहका पुस्तकमा रचना हुबहु राखेबापत उजुरी परी दुई दिन हनुमान ढोकाको हिरासतमा बसेर हर्जाना तिरी छुटेको’’ भन्ने कुरा सरासर झुठा हो र मेरो चरित्रहत्या गर्ने दुराशयले प्रेरित छ । मैले साझा प्रकाशनबाट प्रकाशित पुस्तकबाट स्नातक र उच्च माध्यमिक तहका पुस्तकमा रचना हुबहु राखेको त के कुरा यस खालका किताब लेखेको पनि छैन र प्रकाशित भएको पनि छैन । म कसको उजुरीमा कहिले हिरासतमा रहेको र यसका लागि कुन मितिमा, केकसरी कोकसलाई केकति हर्जाना तिरेको हो प्रमाण पेस गर्न म चुनौती दिन्छु ।
७) मैले लेखेका पुस्तक तथा अनुसन्धानात्मक कृतिमा मेरो निजत्व स्पष्ट झल्कन्छ । अरू पुस्तकबाट लिइएका सामग्रीहरूमा सन्दर्भस्रोत खुलाइएकै छ र कुनै पनि जिम्मेवार विद्वान्ले गर्ने काम पनि त्यही हो । मेरा निर्देशनमा तयार भएका शोधपत्रबाट हुबहु सारिएको भन्ने कुरा सरासर झुठा हो । यस्तो झुठा सामग्री प्रकाशन गर्नेलाई आफ्नो आरोप पुष्टि गर्नसमेत म चुनौती दिन्छु ।

माथि उल्लेख गरिएबाहेक मलाई लगाइएका अन्य आरोपहरूबारे तल बुँदागत रूपमा स्पष्ट पारेको छु

मैले ‘कविताको संरचनात्मक विश्लेषण’ शीर्षकमा विद्यावारिधि गरेको हुँ र यो कृति पुस्तकाकार रूपमा प्रकाशित पनि छ । बिम्बबारे विभिन्न विद्वान्का नाम र तिनीहरूका परिभाषा आवश्यक सन्दर्भसहित मेरो विद्यावारिधि शोधप्रबन्धको पृ. १९२ मा स्पष्ट रूपमा दिइएको छ । नामसहित विभिन्न विद्वान्का परिभाषा दिँदा सन्दर्भ दिनु आवश्यक नपर्ने विश्वव्यापी अभ्यास भए पनि त्यसमा स्पष्टतः पादटिप्पणीसहित सन्दर्भ दिइएको छ । त्यसका लागि मेरो विद्यावारिधि शोधप्रबन्ध हेरे भइहाल्छ । पुस्तकाकार कृतिका रूपमा प्रकाशन गर्दा पनि विश्वमै प्रचलित अभ्यासअनुरूप विभिन्न विद्वान्का नामसहित परिभाषा दिइएको छ । विद्वान्का परिभाषा भाषान्तर नगरी प्रस्तुत गरिने व्यावहारिक अभ्यास हो । मेरा बारेमा भ्रम छर्ने बदनियतले पुस्तकमा दिइएका विद्वान्का नाम हटाई विभिन्न परिभाषालाई अनुच्छेदका रूपमा प्रस्तुत गरी भ्रम फैलाउने दुष्कार्य गरिएको छ । एउटा प्राज्ञिक व्यक्तित्वको छवि धमिल्याउने दुराशयले सत्यतथ्य तोडमोड गरी भ्रामक र गलत समाचार प्रकाशन गर्ने यसप्रकारको दुष्कार्य घोर निन्दनीय, आपत्तिजनक एवं जघन्य अपराध हो ।

मोहनराज शर्माको ‘समकालीन समालोचना’ र ‘शैलीविज्ञान’ नामक कृतिबाट आफ्नो विद्यावारिधि शोधप्रबन्धमा जस्ताको तस्तै राखेको तर कुनै पादटिप्पणी वा सन्दर्भको उल्लेख नगरेको भन्ने कुरा सरासर गलत हो । मोहनराज शर्माको पुस्तकको नामसमेत ठीक लेख्न नसक्नेले दिएका कुरा सही हुने कुरै भएन । मेरो विद्यावारिधिको शोधनिर्देशक नै प्रा. मोहनराज शर्मा रहेको र उहाँले नै यस शोधप्रबन्धलाई ‘नेपालीको सबैभन्दा स्तरीय र मानक शोधप्रबन्ध’ भनी आफ्नो मन्तव्यमा उल्लेख गर्नु भएको तथ्यबाट यो आरोप भ्रामक र तथ्यहीन भएको स्वतः स्पष्ट हुन्छ । यदि मैले उहाँको सामग्री त्यसरी राखेको भए उहाँले मेरो शोधप्रबन्ध कसरी स्वीकार गर्नुहुन्थ्यो र त्यस्ता कुरा कसरी उल्लेख गर्नुहुन्थ्यो ? शोधनिर्देशकको मन्तव्य र प्रकाशित पुस्तकाकार कृतिमा लेखिएको मोहनराज शर्माको भूमिका यसैसाथ संलग्न छ ।

विद्यार्थी पुस्तक भण्डारबाट प्रकाशित ‘पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त’ नामक पुस्तक हिन्दीका विभिन्न पुस्तकबाट सारेर सन्दर्भसमेत उल्लेख नगरी तयार पारिएको भन्ने कुरा भ्रम छर्ने दुष्प्रयास मात्र हो । पाठ्यपुस्तकको प्रयोजनका लागि लेखिएको यो पुस्तक तयार पार्दा पाश्चात्य सिद्धान्तका लागि अङ्ग्रेजीका र पूर्वीय सिद्धान्तका लागि संस्कृतका आधिकारिक ग्रन्थको प्रयोग गरिएको छ । लेखनमा यथासम्भव प्राथमिक सामग्रीको प्रयोग गर्नु सर्वमान्य सिद्धान्त हो । स्थापित सिद्धान्तका परिभाषा, प्रवृत्ति जुन भाषामा लेखिए पनि एउटै हुने कुरा सर्वविदितै छ । शोधग्रन्थ र पाठ्यपुस्तकका सन्दर्भसामग्रीको उल्लेख गरिने तरिका फरक हुने हुनाले आपूmले प्रयोग गरेका सामग्रीको उल्लेख सन्दर्भ ग्रन्थसूचीमा गरिएको छ । दिइएका उदाहरणमा सम्बद्ध व्यक्तिको नाम यथास्थानमा उल्लेख गरिएको छ । यसरी बौद्धिक अभ्यासको सर्वमान्य प्रचलनअनुसार गरिएको कार्यमा निकृष्ट हिसाबले आरोप लगाउनु गैरजिम्मेवार, आपत्तिजनक एवं निन्दनीय कार्य हो ।

विद्यार्थी पुस्तक भण्डारबाट प्रकाशित ‘लोकवार्ताविज्ञान र लोकसाहित्य’ (२०६३ सहलेखन) नामक पुस्तकमा तुलसी दिवसको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट २०३२ सालमा प्रकाशित ‘नेपाली लोककथा’ पुस्तकबाट जस्ताको तस्तै बौद्धिक चोरी गरिएको हुँदा लेखकले उजुरी गरेपछि ती पेजमा छाप लगाई बिक्री वितरण गरिएको र जरिवाना तिर्न बाध्य पारिएको भन्ने भ्रम छर्न खोजिएको छ । यस पुस्तकमा ‘नेपाली लोककथा’ नामक पुस्तकबाट केही लोककथाहरू साभार गरिएको छ । लोकसामग्रीको लेखक नभएर सङ्कलक मात्र हुनेहुँदा यो व्यक्तिको बौद्धिक सम्पत्ति नमानिने हुनाले यो सबैले प्रयोग गर्न पाइन्छ र त्यसलाई बौद्धिक चोरी मानिँदैन । यसमा ‘लेखकले उजुरी गरेपछि जरिवाना तिर्न बाध्य पारिएको’ भन्ने कुरा सरासर गलत हो । यसमा प्रकाशकले छाप लगाएको भन्ने कुरा मैले पछि मात्रै थाहा पाएको हुँ । यस सन्दर्भमा, प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा ४ अनुसार ‘‘कुनै… लोकगीत, लोककथा, उखान र सामान्य तथ्याङ्क जस्ता कुराहरूलाई व्यक्त वा वर्णन वा व्याख्या गरिए वा कुनै रचनामा समावेश गरिएको भए तापनि यस ऐन बमोजिमको संरक्षण प्राप्त हुने छैन’’ भन्ने स्पष्ट कानुनी व्यवस्था रहेको छ । यसरी कानुनी रूपमै स्पष्ट व्यवस्था हुँदाहुँदै मलाई बदनाम गर्ने उद्देश्यले मिथ्या आरोप लगाउनु र हुँदै नभएको उजुरी, जरिवानाका कुरा उठाउनु निन्दनीय मात्र नभई दण्डनीय कुरा पनि हो ।

तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित मेरो ‘कविता सिद्धान्त र नेपाली कविताको इतिहास’ (२०६०) नामक पुस्तकको सैद्धान्तिक खण्ड आफ्नो विद्यावारिधि शोधप्रबन्ध ‘कविताको संरचनात्मक विश्लेषण’ (२०५८) बाट हुबहु सारिएको भन्ने कुरा बेठीक हो । यी दुवै किताब भिन्न प्रकृतिका भएका र तिनमा उल्लिखित सन्दर्भसामग्रीको स्रोत खुलाइएको हुँदा लगाइएको आरोप झुठा हो । आपैmँले लेखेको कुराको केही अंश अर्काे आफ्नै किताबमा सन्दर्भसहित साभार गर्नुुलाई बौद्धिक चोरी मानिँदैन । यस किताबको सर्वाधिकार लेखकमै रहेको कुरा स्वयं प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित उक्त पुस्तकको अग्रभागमै मुद्रित भएकाले समेत यो आरोप निराधार छ । ‘‘यस पुस्तकका सबै सामग्री विद्यार्थीका थेसिस र लेखकका पुस्तकबाट चोरी गरिएका कुरा प्राध्यापक र विद्यार्थीका बिचमा बहसको विषय बन्ने गरेको छ’’ भन्ने निराधार कुराको पुष्टि गर्न म चुनौती दिन्छु ।

साथै प्रज्ञाकै अनुसन्धान परियोजनाअन्तर्गत तयार भएको पुस्तक ‘नेपाली उपन्यासको इतिहास’ अनुसन्धानात्मक कार्य भए पनि यसमा अनुसन्धान विधिको प्रयोग नगरिएका र सामग्री राजेन्द्र सुवेदीको ‘नेपाली उपन्यासः परम्परा र प्रवृत्ति’, कृष्णचन्द्रसिंह प्रधानको ‘नेपाली उपन्यास र उपन्यासकार’, कृष्णहरि बराल र नेत्र एटमको ‘उपन्यास सिद्धान्त र नेपाली उपन्यास’ र विभिन्न लेख तथा विद्यार्थीका थेसिसबाट चोरी गरिएको भन्ने कुरा सरासर गलत भएकाले यी सबै कुरालाई पुष्टि गर्न म सम्बन्धित व्यक्तिलाई चुनौती दिन्छु ।

म धेरै पुस्तक लेखेको भन्न रुचाउने व्यक्ति नभएर धेरै पुस्तक लेखेकै व्यक्ति हुँ । मैले धेरै पुस्तक लेखेकै कारण पुस्तक लेख्न नसक्नेहरूले मेरो ईष्र्या गरेका हुन् । मेरा प्रकाशित कृतिहरू देशविदेश जताततै उपलब्ध नै छन् । यीमध्ये कतिपय पाठ्यपुस्तकमा समावेश गरिएका रचनाहरू लेखकको स्वीकृति लिएरै राखिएका हुन् र त्यसबापत सम्बद्ध लेखकलाई प्रकाशकले लेखकस्व घरघरमै गएर दिएको छ । ‘‘विश्लेषण सामग्री पनि विभिन्न विद्यार्थीका शोधपत्र र प्रकाशित अरूका सामग्रीबाट सारेर तयार गरिएका हुन् भन्ने कुरा बौद्धिक वृत्तमा बहस हुँदै आएको’’ भन्नेजस्ता अनर्गल आरोप निकृष्ट छन् र तिनको पुष्टि गर्न म चुनौती दिन्छु ।

प्राध्यापक संसारकै प्रतिष्ठित र गरिमामय पद हो भन्ने कुरा संसारका विभिन्न मुलुकमा भ्रमण गर्दा पनि मैले राम्ररी बुझेको छु । मैले कुनै बौद्धिक चोरी, अनैतिक, गैरजिम्मेवार र प्राज्ञिक मर्यादा विपरीत कुनै कार्य आजसम्म गरेको छैन र पछि पनि गर्ने छैन । मेरो बौद्धिक एवं प्राज्ञिक क्षमतासँग प्रतिष्पर्धा गर्न नसकी मेरो उन्नति र प्रगतिमा ईष्र्या गर्ने कलुषित भावना भएका केही व्यक्तिको उक्साहटमा प्रायोजित ढङ्गले भ्रम सिर्जना गरी मेरो प्राज्ञिक छविमा आँच पु¥याउने नियतबाट ओतप्रोत भई मसँग एकपटक पनि सम्पर्क नै नगरी एकतर्फी रूपमा कपोलकल्पित, आधारहीन र तथ्यहीन कुराहरू उल्लेख गरी यस अनलाइन पत्रिकाको दुरुपयोग गरिएकामा खेद प्रकट गर्दछु । पातलो पर्दापछाडि बसेर यस्तो तुच्छ हर्कत गर्ने व्यक्तिका काला कर्तुतसम्बन्धी जन्मकुण्डली बाहिर ल्याउन मलाई बाध्य नपार्नसमेत सचेत गराउँछु ।

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालकोे नेतृत्वमा भएका भाषिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई निस्तेज पार्ने मनसायले भाषा विरोधी केही व्यक्तिबाट गरिएका यस्ता तुच्छ हर्कतबाट हाम्रो नेपाली भाषाप्रतिको लगाव तथा सम्मानभाव रतिभर डग्मगाउने छैन ।

- प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग
मिति ः २०७७ असोज १८ गते ।

********************

 प्रज्ञा–प्रतिष्ठानद्वारा प्राध्यापक खगेन्द्र लुइँटेले 'बौद्धिक चोरी' का बारेमा छानबिन समिति बनायो

काठमाडाैँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्को २०७७ असोज १८ गते आइतबारका दिन बसेको  बैठकले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेलको 'बौद्धिक चोरी' का  विषयमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न तीन सदस्य  छनबिन समिति नै  गठन गरेकाे  जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलको 'बौद्धिक चोरी' का बारेम लाेकसंबाद डटकमले २०७७  असाेज १६ गते शुक्रबार  प्राध्यापक खगेन्द्र लुइँटेल माथि लज्जास्पद 'बौद्धिक चोरी' का आरोपै-आराेप ! भन्ने  शिर्षकमा सम्पर्ण तथ्य- प्रमाण सहित समाचार प्रकाशित गरेकाे थियाे । प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेल समाचारलाई  लिएर आपत्ती जनाउँदै आउनु भएकाे  थियाे ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद् बैठकको निर्णयमा भनिएकाे छ-  त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलकोबौद्धिक चोरी भनी विभिन्न सञ्चार माध्यममा नेपाल प्रज्ञा–प्रतिष्ठानको परियोजनाअन्तर्गत प्रा.डा. लुइटेलद्वारा लिखित तथा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित अनुसन्धानात्मक पुस्तक ‘कविता सिद्धान्त र नेपाली कविताको इतिहास’ (२०६०) को सैद्धान्तिक खण्ड लुइटेलले आफ्नो विद्यावारिधि शोधप्रबन्ध ‘कविताको संरचनात्मक विश्लेषण’ (२०५८) बाट हुबहु सारेको  र यसबाट उनले ‘बौद्धिक चोरी’ गर्नुका साथै प्रज्ञा–प्रतिष्ठानलाई गुमराहमा राखी आर्थिक अनियमिततासमेत गरेको तथा यसैगरी लुइँटेलद्वारा नै लिखित र प्रज्ञा–प्रतिष्ठानबाटै प्रकाशित ‘नेपाली उपन्यासको इतिहास’ (२०६९) नामक अनुसन्धान विधिको प्रयोग नगरी उनले लेखेको पुस्तकलाई  प्रज्ञा–प्रतिष्ठानले छापेको भनेर प्रज्ञा–प्रतिष्ठानप्रति समेत प्रश्न उठाइएको पाइएकाले सो सम्बन्धमा  सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ ।'

नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्ले  प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख प्रा. दिनेशराज पन्तको संयोजकत्वमा गठित उक्त छानबिन समितिमा  प्राज्ञ परिषद् सदस्यद्वय प्रा.डा. हेमनाथ पौडेल र प्रा.डा. गोपीन्द्र पौडेल सदस्य रहनुभएको छ ।

यसका अलवा बैठकले प्राज्ञ सभाको ३५ औँ बैठक मङ्सिरको चौथो साता बोलाउने निर्णय गरेको छ । यसै गरी उक्त बैठकले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) का  कारण निर्धारित मितिमा हुन नसकी स्थगित भएको राष्ट्रिय कविता महोत्सव मङ्सिरको चौथो साता भौतिक दूरी कायम गरी सम्पन्न गर्ने गरी प्रज्ञा भवन, कमलादीमा आयोजना गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय कविता महोत्सवको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ । निर्णयअनुसार अब कविता महोत्सवमा प्रथम हुनेलाई ५० हजार,  द्वितीय हुनेलाई ४० हजार र तृतीय हुने तीन जनालाई जनही ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ । यसअगि नगद पुरस्कारको राशि ३०, २५ र २० हजार रहँदै आएको थियो । 

यसै गरी बैठकले सवारी साधनमा प्रयोग गरिने इम्बोस्ड नम्बरमा  देवनागरी लिपिको नेपाली भाषाको प्रयोगलाई यथावत् कायम राख्ने सम्बन्धमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर लिखित पत्रसहित  अनुरोध गर्नुभएकोमा प्रधानमन्त्रीले  कुलपति गङ्गाप्रसाद उप्रेतीज्यूसँग देवनागरी लिपिको नेपाली भाषा यथावत् कायम रहने आश्वासन दिँदै मातहतका निकायहरूलाई निर्देशन दिनुभएको र त्यस्तै गरी प्रतिष्ठानका तर्फबाट देवनागरी लिपिको नेपाली भाषाको प्रयोगलाई यथावत् कायम राख्न अनुरोध गरी लिखित र सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायद्वारा   हस्ताक्षरित पत्रसहित सदस्य सचिव उपाध्याय र प्राज्ञ परिषद् सदस्य प्रा.डा.हेमनाथ पौडेललेभौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङज्यूलाई भेटेर ध्यानाकर्षण गराउनुभएकोमा इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषाको देवनागरी लिपिकै प्रयोग गरिने प्रतिबद्धता प्रकट गर्नुभएकोमा सोका निम्ति प्रधानमन्त्री र मन्त्री प्रति धन्यवाद व्यक्त गरेको प्रतिष्ठनकाे बैठक पश्चात जारी प्रेस नाेटमा उल्लेख गरिएको छ ।  -  लोक सम्बाद


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक