20201008

शीर्षक जुर्न बाँकी कविता !

मान्छे मारेर जेल बसेको मान्छे, 
राजनेता हुने देशमा !
मान्छे मार्ने, 
खसी बोका काटे जस्तै काट्ने 
गला रेट्ने र आलो रगत पिउने,   
तातो रगत पिउने राक्षसहरू    
मन्त्री, प्रधानमन्त्री र नेता हुने देशमा 
डा. गोविन्द केसी,
तिमी जन्मिनु नै गलत थियो 
दले, झोले, खोले र नबोलेहरुको भीडमा 
कसले सुन्छ तिम्रो कुरा ?
कसले बुझ्छ तिम्रो कुरा ?
धेरै पटक मरेका हामी जिउँदा लासहरू, 
आर्यघाट पुग्न पालो कुर्नेहरूको भिडमा, 
कसले बुझ्छ तिम्रो महात्मा ?
कसले सुन्छ तिम्रा बोलीहरू ?
यो त आँखा देख्ने,
तर अन्धाहरूको अन्धो बस्ती हो !
यो त कान सुन्ने,
तर बहिराहरूको बहिरो बस्ती हो !
सत्य, न्याय, नैतिकता, धर्म, 
सबै सबै हराएको बस्ती हो 
अपराधीहरूका पछि लागेर 
राम्रो कर्म हराएको बस्ती हो 
डा. केसी, भो अब भ्रम नपाल 
व्यर्थैमा हामी जिउँदा लासहरूका लागि  
तिम्रो अमूल्य जीवन नफाल 
किनकि, यो विवेक गुमाएको बस्ती हो 
हामी जस्ता जिउँदा मुर्दाहरूको बस्ती हो !
- रामप्रसाद खनाल   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक