20201111

कोरोनाको भय बिच प्रधान्मन्त्रीको हेलिकप्टरबाट अनुगमन, यता बामदेबलाई खुल्यो बाटो

 


नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख भन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङमा  मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज २ हजार ५ सय ६९ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको जानकारी दिनुभयो ।

आज १० हजार ८१ वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा काठमाडौ उपत्यकामा १ हजार २ सय ६१ जना सहित देश भरमा जम्मा २ हजार ५ सय ६९ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो । आज काठमाडौका ९ सय ७६, ललितपुरका २ सय ४ र भक्तपुरका ८१ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी आज थप १ हजार ६ सय ६६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी आज देश भरमा गरी ३८ हजार ९ सय १२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।सक्रिय संक्रमित मध्ये २८ हजार ३ सय ९३ जना होम आइसोलेसन तथा १० हजार ५ सय १९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै कोरोना भाइरसबाट आज थप २६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हाल सम्म कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार १ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसै बिच प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले उत्तर–दक्षिण कोशी राजमार्गको आज हेलिकप्टरबाट अनुगमन गर्नुभएको थियो । उक्त मार्ग चीन, भारत र नेपाललाई जोड्ने देशकै महत्वपूर्ण बाटो रहेको बताउँदै यसका लागि सरकारले प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संखुवासभाको किमाथाङ्का सडक खण्डको पहरा छिचोल्न नेपाली सेनालाई जिम्मा दिइसकिएको र सडक ट्रयाक खुलेपछि भएपछि कालोपत्रसम्मको काम क्रमशः हुने बताउनुभयो । उत्तर–दक्षिण कोशी सडक निर्माणपछि किमाथाङ्का निकै नजिक हुने उहाँको भनाइ छ ।

उहाँले आफू जनताबाट निर्वाचित भई स्थिरताका लागि सरकार प्रमुख भएकाले कसैले राजीनामा माग्दैमा नदिने दोहोर्याउनुभयो । उहाँले पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा फुटको हल्ला चलाइए पनि त्यस्तो हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकार परिर्वतन नहुने बताउँदै भन्नुभयो, “म जनताको विश्वासले सरकारमा आएको हो । अहिले सरकार परिर्वतन हुँदैछ भन्ने हल्ला चलाउनु वा मेरो राजीनामा माग्नु व्यर्थ छ ।”


प्रधानमन्त्री ओलीले अरुण तेश्रोको कामबाट आफू सन्तुष्ट रहेको बताउनुभयो । उहाँले आज अरुण तेश्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माण क्षेत्र पुखुवा र ड्याम निर्माण क्षेत्र फ्याक्सिन्दा दोभानको हवाइ अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा अरुण तेश्रो जलविद्युत परियोजनाका कार्यकारी प्रमुख अरुण धिमानले प्रगति विवरण पेश गर्नुभएको थियो ।प्रधानमन्त्री ओलीसँग भौतिक पूर्वाधार यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, प्रतिनिधिसभाका सदस्य राजेन्द्रप्रसाद गौतम, राष्ट्रियसभाका सांसद परशुराम मेघी गुरुङलगायत सङ्खुवासभामा स्थलगत अनुगमनमा आउनुभएको थियो ।

उता सर्वोच्च अदालतलको संवैधानिक इजलासले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम गर्न र मन्त्री बन्नबाट रोक्न अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासले सो आदेश गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताउनुभयो । उहाँले निवेदनमा माग भएको अन्तरिम आदेश जारी भएन अब मुद्दाको अन्तिम सुनुवाइले मात्र सो कुराको टुङगो लगाउने बताउनुभयो । उहाँको राष्ट्रियसभा सदस्य नियुक्ति हाल यथावत रहनेछ र उहाँलाई मन्त्री बनाउन बाटो खुला हुनेछ । - तस्बिरः राजन काफ्ले/गोप  



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक